कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुफाडाँँडा डायरी 

जलवायु
गुफाडाँडा पुग्दा सबै उपस्थित भइसकेका थिएनन् । डाँडा उजाड थियो । डाँडाबाट देखिने हिमाल कालापहाड बनेका थिए । हिमालमा हिउँ थिएन । 
विमल खतिवडा

काठमाडौँ — अघिल्लो दिन गाडीको ताँती देखिए पनि समापनको दिन त्यो संख्या झन्डै आधैले घट्यो । तामझामका साथ गाडी लिएर आउनेहरू अन्तिम दिनसम्म कार्यक्रमस्थलमा टिक्नै सकेनन् ।

गुफाडाँँडा डायरी 

पुस १६ गते सोमबार । अचानक सिन्धुपाल्चोक यात्रा तय भयो । एकाएक कार्यालयबाट आएको फोनमा सोधियो आयो, ‘गुफाडाँडा जान सक्छौ कि ?’ ‘हुन्छ’ भन्ने जवाफ दिए । मध्याह्नको १२ बज्नै लागेको थियो । कोठामा पुगेर एक जोर लुगा र ल्यापटप झोलामा हाले । हतारिँदै चाबहिलतिर हुइँकिएँ । अर्का फोटोग्राफरक सहकर्मी अंगद ढकाल पनि साथमा जाने भएका थिए । हामी साँँँखु–नरहसिंह–पौवा हुँदै मेलञ्चीतिर हुइँकिंदै थियौं । जोखिमयुक्त सडकमा सहकर्मी अंगदले निरन्तर मोटरसाइकल हुइँकाइरहे ।


मेलञ्ची पुलमा पुग्दा दिउँसोको साढे ४ बजिसकेको थियो । बाटो फराकिलो त बनाइएको थियो तर अव्यवस्थित थियो । मेलञ्ची बजारबाट गुफाडाँडा १६ किमि टाढा थियो । कार्यक्रमस्थलमा जेनतेन साँझको साढे ५ बजे हामी पुग्यौं ।


सम्मेलनमा सहभागिता जनाउन विभिन्न जिल्लाबाट आएका जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुखलाई जलवायु परिवर्तनले आआफ्नो जिल्लामा पारेको प्रभावबारे सोधखोज गर्न थालें ।


हतार गरेर विभिन्न जिल्लामा जलवायु परिवर्तनबाट परेको प्रभावलाई उजागर गर्दै उनीहरूकै भनाइ र फोटो राखेर समाचार काठमाडौं पठायौं ।


गुफाडाँडा २ हजार ५ सय मिटर उचाइमा अवस्थित छ । तर, पाहुनालाई बासको व्यवस्था मेलञ्ची बजारमा गरिएको थियो । हामी मिलेसम्म डाँडामै टेन्टभित्र बस्ने योजनामा थियौं । तर, समाचार कर्म सकिंदावर्दा कार्यक्रमस्थल वरपर नेपाल प्रहरी, सशस्त्र र क्याटरिङ चलाउने २/४ जना मात्रै थिए । त्यही सुरक्षाकर्मीसँगै लाइनमा बसेर खाना खायौं । राम्रोसँग नपाकेको काँचो भए पनि भोक टार्‍यौं । त्यो डाँडोमा रात जति छिप्पिँदै गयो, बढ्दै गएको चिसोले प्राण जाला कि जस्तो भयो । ठिहीले गर्दा खुट्टामा आइस् पसेजस्तै भयो । पहिला यो डाँडामा बाक्लो हिमपात हुन्थ्यो रे । केही वर्षयता हिउँ पर्न छाडेको रहेछ ।


छिप्पिएको साँझमा चिन्ता सुरु भयो बासको । टेन्ट त पाइयो तर स्लिपिङ ब्याग पाउन सकिएन । लगलग काँप्दै कता जाने र के गर्ने भन्दै निकै बेर अलमलमा परियो । जिल्लाका सहकर्मी अनिश तिवारीले अन्तिम उपायको रूपमा मेलम्ची नगरपालिकालाई गुहारे । नगरपालिकाका मेयर डम्बर अर्याल र उनका सल्लाहकार विनोद खनाल गाउँमै रहेछन् । अनिशले आफूहरू अलपत्र परेको दु:खेसो पोखे । रातको ९ बज्नै लागेको थियो । नगरपालिकाको गाडी लिएर एक सहयोगी आए । अनि गाडी चढेर मेलञ्ची झरियो । मेलञ्ची बजार पुग्दा रातको ११ बज्नै लागेको थियो । होटलमा बास पाउने कुरै थिएन । सल्लाहकार खनालले सुझाएअनुसार उनकै क्वार्टरमा गएर बास बसियो ।

***


भोलिपल्ट ब्हिान ८ बजे गुफाडाँडा पुग्दा सबै उपस्थित भइसकेका थिएनन् । डाँडा उजाड थियो । डाँडाबाट देखिने हिमाल कालापहाड बनेका थिए । हिमालमा हिउँ थिएन । कहीं कतै मात्र थोरै हिउँ देखिन्थ्यो । जुगल हिमाल, लाक्पादोर्जेलगायत हिमाल पत्रे चट्टानझैं मात्रै देखिन्थे । हिमाल हो कि पहाड ? छुट्याउनै गारो ।


भोलिपल्ट घोषणापत्र जारी गर्दै कार्यक्रम सकिंदै थियो । कार्यक्रमस्थलमा ७७ जिल्लाको नाम लेखेर राष्ट्रिय झन्डा फहराइएको थियो । आडैमा थियो जलवायु प्रतिमा । भित्र सम्मेलन चलिरहँदा सम्मेलनमा सहभागी हुन आएका फोटो खिच्न व्यस्त देखिन्थे । यो दृश्य हेर्दा लाग्थ्यो— उनीहरू सम्मेलनमा होइन, घुम्न आएका हुन् । सिक्न होइन, रमाउन आएका हुन् । तीन दिनको कार्यक्रम भनिए पनि २ दिन मात्र भयो ।


कोही औपचारिक कार्यक्रम सकिएलगत्तै गन्तव्यतिर लागे ।


देशभर जलवायु परिवर्तनको असर नराम्रोसँग परेको छ । कतै पानीका मुहान सुकेका, कतै हिउँ पर्न छाडेको त कतै मुख्य बालीको रूपमा रहेको अन्न उत्पादन घट्दै गएर अनिकाल लाग्ने खतरा रहेको गुनासो विभिन्न जिल्लाबाट आएकाहरूले गरे । त्यति मात्र होइन । समयमा पानी पर्न छाड्यो, फलफूलका बोट धमाधम सुक्न थाले, तराईमा भूमिगत जल फेला पर्न छाड्यो, सिमसार सुकिसके । यो विषयमा गहन रूपमा छलफल हुन सकेको देखिएन । प्रश्न गम्भीर थिए । समस्या ठूलो थियो । न समस्याको समाधान खोजियो, न अब के गर्ने भनेर निष्कर्ष निकालियो ।

कार्यक्रममा विज्ञले राम्रोसँग बुझाएर बोल्ने समय पाएनन् भने सबै सहभागीले आफ्नो जिल्लामा देखा परेका समस्या

राख्नै पाएनन् । १० बुँदे घोषणापत्र जारी गर्नु मात्र कार्यक्रमको उपलब्धि होइन । कार्यक्रम मात्र गर्ने तर जलवायु परिवर्तनको न्यूनीकरणमा ध्यान नदिने हो भने ठूलो विपत्ति निम्तने खतरा निश्चित छ ।

प्रकाशित : पुस २१, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?