१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

असफल पोषणका २५ वर्ष 

सरोकार
डा अरुणा उप्रेती

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले नेपालका विभिन्न भागमा कुपोषणबाट बच्न ‘बालभिटा’ र ‘प्लम्पिनट’ जस्ता वस्तु जताततै बाँडेको छ । खोप लगाउन आउने प्रत्येक बालबालिकालाई ‘बालभिटा’ भिडाएर पठाइन्छ । यो ‘बालभिटा’ प्राय: बालबालिकाले खाँदैनन् भन्ने कुरा स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाले बारम्बार भने पनि स्वास्थ्य मन्त्रालयले वास्ता गरिरहेको छैन ।

असफल पोषणका २५ वर्ष 

केही हप्ताअघि नेपालमा पोषणसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यसमा मैले पनि भाग लिने अवसर पाएँ । त्यहाँ नेपालमा पछिल्लो २५ वर्षमा भएको पोषणसम्बन्धी सफलताका कथा/अध्ययन प्रस्तुत गरिएका थिए । भारत, अमेरिका, बेलायतबाट आएका अनुसन्धानकर्ताले नेपालको सफलताको कथा भन्दै गर्दा मेरो आँखामा बझाङमा कुपोषणबाट ज्यान गुमाएका बालिकाको खुबै सम्झना भयो ।


‘कुनै व्यापारी–कम्पनीलाई फाइदा पुर्‍याउन यो बालभिटा ल्याइएको हो,’ एक प्रसिद्ध बालरोग विषेशज्ञले मलाई एकताका भनेका थिए ।


यो अन्तर्राष्ट्रिय सम्मेलनमा पनि स्वास्थ्य मन्त्रालयले फेरि भन्यो, ‘बालभिटा ख्वाएर नेपाली बालबालिकाको स्वास्थ्यको स्थिति सुध्रेको छ ।’ मैले त्यो ठाउँमा उठेर भने, ‘महिला स्वयंसेविका यस कार्यक्रममा छैनन्, नत्र भने उनीहरूले भन्थे होलान्, यसरी बालभिटा दिएर बच्चाहरूको स्वास्थ्य राम्रो भएको छैन । किनभने बच्चाहरूले यो खाँदै–खाँदैनन् । स्वास्थ्य मन्त्रालयले यसरी नै व्यर्थको बालभिटा बाँडिरहँदा कुपोषण भएका बालबालिकाको स्थिति आँउदो २५ वर्षसम्म यही नै रहनेछ ।’


सम्मेलनमा नेपाल सरकारको सफल पोषण पुन:स्थापना केन्द्रमा ‘कसरी कुपोषित बालबालिकालाई घरेलु खानेकुराको माध्यमबाट नै ठीक पारिन्छ’ भन्नेबारेमा कतै प्रस्तुत गरिएको थिएन । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा पोषण पुन:स्थापन केन्द्र स्थापित गरेर कुपोषण भएका बालबालिकालाई ठीक पार्ने कार्यक्रम पनि सफलतापूर्वक चलाएको छ । त्यहाँ ‘बालभिटा’ दिएर होइन कि घरमा नै सजिलोसँग पाइने खानेकुरा ख्वाएर बिरामी ठीक पारिन्छ । यति मात्र होइन, अभिभावकलाई पनि कसरी सजिलो र सस्तो तरिकाले बालबालिकालाई पौष्टिक खाना ख्वाउन सकिन्छ भनेर सिकाइन्छ ।

***


पोषणलाई भिटामिन, फलाम चक्की, क्याल्सियम आदि टुक्राटुक्रामा पारेर मात्र हेरिने भएकाले सम्पूर्णतामा पोषणलाई हेर्दै–नहेरेको मलाई भान भएको भयो । कार्यक्रमपछि मन्त्रालयका एक उच्च पदाधिकारीले भने, ‘हामी रक्तअल्पता घटाउन केवल आइरन चक्की मात्रै बाँडछौं । तर, २०१६ को तथ्यांकले त नेपालमा महिलाको रक्तअल्पता त एक दशकअघिभन्दा बढेको छ भनेर देखाइएको छ । नेपालमा महिलालाई रगतको कमी हुने कारण त भिटामिन बी १२ को कमी छ भने पनि देखिएको छ । तर, हामीचाहिँ फलामको चक्की नै बाँडेर बस्छौं । अब हामी भिटामिन बी १२ बाँडेर गर्भवती परीक्षण गर्नेछौं ।’


नाम नभन्ने सर्तमा ती पदाधिकारीले मलाई यो ‘रहस्य’ सुनाएका थिए । जब स्वास्थ्य मन्त्रालयका पदाधिकारी नै आफ्ना कामसँग सन्तुष्ट छैनन् तर पनि स्वास्थ्य चौकीमा चाहिँ पठाइरहिएको छ—

लौह चक्कीहरू ।


त्यति ठूलो नेपालको पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको संस्कृति, विभिन्न जाति/जनजातिको खाना र त्यसले पोषणमा पर्ने प्रभावबारेमा ठूलो हलमा छलफल गर्नेे मौका नै दिइएन् । ठूलो हलमा छलफल हुँदा कुनै पनि महिला स्वयंसेविकाको कथा सफलता, चुनौती सुन्ने मौका पाइएन । ‘ठूला–ठूला विदेशी संस्थाले गरेका ठूला–ठूला अनुसन्धान’ र ‘ठूला–ठूला डाक्टरले प्रस्तुत गरेको’ अनुसन्धान सुनिरहँदा मलाई लागिरहन्थ्यो— किन बझाङ, बाजुराका कुपोषित बालबालिकाका बारेमा अनुसन्धान हुँदैन ? किन गर्भावस्थामा रक्तअल्पता भएका महिलाहरूको खाना के छ भनेर छलफल हुँदैन ? किन हामी सफलताको बारेमा कुरा गर्दा त्यस्ता बालबालिकाको फोटो हेर्न र छलफल गर्नै चाहँदैनौं जो कुपोषणग्रस्त भएर मरिरहेका छन् । किन हामी त्यही काम दोहोर्‍याइरहन्छौ जुन काम ‘ठीक छैन’ भनेर स्वास्थ्यकर्मीले भनिरहेका छन् ।

***


हाम्रा सांस्कृतिक मूल्य र मान्यताले पनि बालबालिका र महिलाको पोषणमा सकारात्मक वा नकारात्मक प्रभाव पार्छन् भन्ने कुरा पनि प्राय: पोषणसम्बन्धी गोष्ठीमा बहसमा आउने गरेको हुन्न । अनुसन्धान भन्नेबित्तिकै ठूलाठूला प्रयोगशालामा गरिने अनुसन्धान मात्रै होइन, समाजमा गएर पत्ता लगाइएका रीतिस्थितिको पनि त्यतिकै महत्त्व हुन्छ भन्ने कुरा प्राय: ठूलाठूला सभा/गोष्ठीमा बिर्सिइन्छ ।


त्यसैले पोषणको बारेमा हुने यस्तो ठूला सभा/गोष्ठीमा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने पौष्टिकताले भरिपूर्ण वनस्पति निगालो, सिस्नो, तामा वा कर्णालीमा पाइने अन्न आदिबारेमा विस्तृत छलफल हुने गरेकै छैन । उदाहरणका लागि पोषणसम्बन्धी त्यस सम्मेलनमा व्यावहारिक रूपमा ‘पोषण’ उत्तम पार्न सकिने गहत र जौसम्बन्धी एक अध्ययनलाई र पोस्टरको रूपमा मात्र देखाइयो । ती दुवै पोस्टर हेरेपछि मैले भनें—गहत, जौ आदिलाई भिजाएर टुसा निकालेर पकाउँदा यति धेरै पौष्टिक तत्त्व प्राप्त हुने रहेछ । योबारेमा त सकेसम्म बढी मानिसलाई थाहा हुनुपर्ने हो । स्वास्थ्य मन्त्रालयले त यो ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गरेर बालबालिका र गर्भवती महिलाको रक्तअल्पता सुधार्न कदम चाल्नुपर्ने हो ।


मेरो कुरा सुनेर कृषि अनुसन्धानका दुवै अनुसन्धानकर्ता मलिन हाँसो मात्रै हाँसिरहे ।

श्सायद यी अनुसन्धान विदेशीहरूले गरेका भए नेपालमा बडो ‘हाईहाई’ हुन्थ्यो । विदेशीहरूले भनेपछि स्वास्थ्य मन्त्रालयले पनि पत्याइहाल्थ्यो । त्यसो भएमा स्वास्थ्य मन्त्रालयले पनि ‘बालभिटा’ दिनुको सट्टा ‘उमारेको जौ र उमारेको ‘गहत’ को पिठो बनाएर बालबालिकालाई ख्वाउनु बेस हुन्छ’ भनेर भन्ने थियो कि ? तर, नेपालको कृषि मन्त्रालय र कृषि अनुसन्धान शाखाले गरेको व्यावहारिक भोजन र षोषण र पोषणका अनुसन्धान स्वास्थ्य मन्त्रालयसम्म पुग्दैनन् । पुगिहाले पनि त्यस्ता अनुसन्धान रद्दीको टोकरीमा मिल्कन्छ मात्रै ।

***


स्वास्थ्य मन्त्रालयको पोषण पुन:स्थापना केन्द्रहरूका बारेमा मैले विश्व स्वास्थ्य संघले स्रोत दिएर ४ वर्षअघि एक अनुसन्धान गरेकी थिएँ । त्यो अनुसन्धानमा मैले ‘घरेलु खानेकुराले बालबालिकालाई पर्याप्त पोषण दिन सक्छ’ भनेर अध्ययन/निचोड समेटेकी थिएँ । खानाका साथै बालबालिकालाई खेल, मसाज, स्पर्श पनि जरुरत पर्छ भन्ने अध्यन आधारलाई पनि मैंले राखेकी थिएँ । तर, त्यो अनुसन्धानलाई स्वास्थ्य मन्त्रालयका वरिष्ठजनका बीचमा प्रस्तुत गर्न नै दिइएन ।


मैले परामर्शदाता हिसाबले पाउनुपर्ने शुल्क त पाएँ । तर, स्वास्थ्य मन्त्रालयका ठूला अधिकारीबीच मलाई प्रस्तुत गरिएन । त्यो अध्ययनपछि मलाई झन् विश्वास भयो कि हामीसँग कुपोषणबाट बच्न पर्याप्त खाना छ, ज्ञान पनि छ । तर, किन प्रयोग गरिन्न भन्ने प्रश्न पनि छँदैछ ।

प्रकाशित : पुस २१, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?