कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

थिङस्या

सम्झना
गाउँमा आज गाडी पुगेको छ । थिङस्याको पातीको झुप्रो भएको पारि, आँखुको तीरैतीर गाडी गुड्छ आजभोलि ।
ध्रुव सिंखडा

काठमाडौँ — स्वाँरा खेतको कुलो । खहरेखोलाबाट आएको कञ्चन पानीको छाँगामा लगाइएको सुप्लाको धारामा रिठ्ठाले नुहाएर झाक्रो फिँजारेर बस्ने त उसको बानी नै थियो । फेरि घर भन्नु नै के थियो र ? 

थिङस्या

थिङस्यालाई सबैले ‘बोक्सी’ भन्थे । किनकि ऊ काली थिई । बूढी थिई । अलि चर्की पनि थिई । उसको लवाइ पनि त्यस्तै हुन्थ्यो । अलि झुत्रोझाम्रो पाराको । रिस उठ्यो कि ह्वाङ्ङ भोटे कुकुंंंरले झैं जसलाई पनि झम्टिहाल्थी । केटाकेटी नजिक परे र केही बिराम गरे भने तिनको टिप्पा लिन्थी । बुढ्यौलीसँगै प्राय: घर वरिपरि नै हुन्थी । उसलाई आफ्नै घरबारी, खरबारी पानीको कुवा, सुप्लाको धारो, अमराको रूख, बयरको झाङ, चुवाको फूल औधी माया लाग्थ्यो । त्योभन्दा पनि उसलाई औधी प्यारो थियो घरअगाडिको रिठ्ठाको रूख ।


स्वाँरा खेतको कुलो । खहरेखोलाबाट आएको कञ्चन पानीको छाँगामा लगाइएको सुप्लाको धारामा रिठ्ठाले नुहाएर झाक्रो फिँजारेर बस्ने त उसको बानी नै थियो । फेरि घर भन्नु नै के थियो र ? काली भएकीले कोहीकोही थिङ काली पनि भन्थे उसलाई । थिङ बूढाले जवान छँदै साहुको बारीमा सानो घरबार बसालेको थियो, स्वाँरा खेतको कुनामा । उसका छोराछोरी हुर्की बढिसकेका थिए । थिङ बूढा पौरखी थियो । घरमा एउटा लैनो भैँसी टुटाउँदैनथ्यो । निकै दुधालु काली भैँसी पाल्थ्यो थिङ बूढा । थिङस्या काली भैँसी भनेपछि हुरुक्कै हुन्थी । दिनको तीनचोटि कुँडो पकाएर खुवाउँथी । घरबारीको रखबारी गर्थी ।


उकालोको फेदीमा स्वाँराको कुनामा उसको घर थियो । साहुको भेडा, बाख्रा, गाई, भैँसी चराउन लैजाने बाटैमा उसको घरबारी र खरबारी थियो । त्यही घरबारी र खरबारीको बीचमा बाटो थियो । यदि बाख्राले उसको तुलफूल खाइदियो अथवा खरबारीको खर खाइदियो, गोठालाले अमरा र बयर खाएको देखी भने फरिया उचालेर झम्टिन्थी । प्रतिक्रिया दिन भोटेकुकुरभन्दा बढी थिई । किनकि उसले आफ्नो सानो संसारलाई जतन गरेर सम्हालेकी थिई । आफ्नो संसार अटेको सानो झुपडीलाई सुम्सुम्याउनु र संरक्षण गर्नु उसको दैनिकी थियो । त्यसलाई कसैले बिगार गर्न पाउँदैन थिए । घरमा जानेलाई औधी माया गर्थी । गोरस र झप्री केरा उसका घरमा टुट्दैन थियो । पाहुनालाई त्यसैले सत्कार गर्थी । गर्मीमा उसिनेको गिठ्ठा । सिस्नोको तरकारी । तारेको गँगटा । थिङस्याको झुप्रोका फरक स्वाद । कहिलेकाहीं त आगन्तुकलाई फुर्लुङबाट जिउँदै माछा पनि दिएर पठाउँथी । थिङ बूढा जाल हानेर आँखुको माछा मार्न खप्पिस थिए । एक साँझ घरमा पाहुना आए । तर, पेरुङ्गामा माछा थिएन । थिङस्याले बूढालाई भनी, ‘तरङ्गा आरे ।’ थिङ बूढा केही नबोली फुर्लुुङ भिर्छ, लौरो टेक्छ र जाल काँधमा हालेर स्वाँराको कुनाकुनै आँखुमा जाल खेल्न जान्छ । माछा छोपेर घर फर्किन्छ । रातको ८/९ बजे । चकमन्न वातावरण । थिङ बूढाको आवाज सुन्नासाथ बूढीले सोधिन्, ‘तरङ्गा छोप्यो त ?’ थिङ बूढा, ‘छोप्यो । १०/८ छप्कामै फुर्लुङभरि गो त । ल, ‘फुर्लुङ समाऊ ।’ बूढा पालीको भित्तामा जाल झुन्ड्याउँदै, ‘कालीको फरिको लगा हो त ?’ बूढी, ‘अँ कँुडो पनि खाई ।’ बूढाबूढीबीच घरधन्दाका कुरा हुँदाहुँदै बूढीले असला तार्न भ्याइसक्छे । पाहुनालाई ख्वाईवरि उनीहरू खान्छन् । बिचरो थिङ बूढाले उमेर छँदै सबै दाँत गुमायो । किनकि जवानी चढेदेखि नै आँखुमा जाल हान्दा दाँतले लौरो टोकेकाले समयअघि नै सबै दाँत फुक्ले । गाला खर्लप्पै गडेका थिए ।


भोलि हुन्छ । पर्सि हुन्छ । पोहोर साल बित्यो । यो वर्ष पनि बित्दै छ । आगुम साल पनि यसरी नै बित्नेछ । तर, थिङस्याको परिवारमा कुनै ठूलो परिवर्तन आउँदैन । उसको पूरै पुस्ता साहुको खेतबारी कमाएर बित्दै थियो । छोराछोरीको पाखुरा र पसिना पनि अर्कैको माटोमा भिज्दै थियो । निरक्षर थिए थिङस्याको परिवार । करिब साढे ३ दशकअघिको मेरो परिवेश हो यो । म हुर्के, बढेको र गोठाला गएको खेतबारी, खोला, खोल्सा, वनपाखा र गामबेंसीका यथार्थ हुन् यी ।


साढे ३ दशकपछि फर्किंदा बेंसीको स्वाँरा खेत पनि खोलाले बगाएछ । कुनामा रहेको थिङस्याको पातीको गोठको पनि नामोनिसान हराएछ । घरको छेउको झिङ्रिङ्ग परेको अमराको रूख, चुवाको ठुटा, घरमाथिको जंंगल बनेको खरबारी, तलको खहरे खोला र डम्म पातीघारी मात्र । घरै अघिल्तिरको बूढो धोध्रो रिठ्ठाको रूख जसलाई थिङस्या औधी माया गर्थी । ओखतीभन्दा पनि जतन गर्थी । चकमन्न, सुनसान खाली आँखको स्वाँ...स्वाँ... आवाज । साहुका गाई, बाख्रा लस्कर । गोठालाका सुस्केरा, सबै भँगाला सुकेझैं सुकेछन् । अतीत आँखुका कुइनेटातिरै भुमरीमा विलुप्त भएछ । थिङस्याको पातीको झुप्रो पनि पातीघारीले छोपिएछ । बिरानो त्यो ठाउँ छाडेर उसका छोरी र छोरा पनि माथि गाउँतिर बसाइँ सरेर घरजम गरेछन् ।


आज सहर गाउँ पसेको पनि धेरै भइसक्यो । थिङस्या र थिङ बूढा परलोक भइसके । तर, तिनका नाति–नातिनाले गाउँमै पढे । थिङस्याकी एक मात्र नातिनी पानमाया, छोरीकी छोरी । आज ऊ गाउँमै मास्टर्नी भएकी छे । स्कुल पढाउँछे पानमाया । कलधारामा नुहाउँछे । कुर्ता–सुरुवाल, जिन्स पाइन्ट, टिसर्ट फेरीफेरी पानमायाका पहिरन बनेका छन् । अहिले उसलाई के थाहा बज्यैले स्याहारसुसार गरेर हुर्काएको रिठ्ठाको रूख । के थाहा चुवाको रूख अनि पातीको फरिको । उसलाई के थाहा बज्यैले नुहाउने सुप्लाको धारा । गाउँको पूरै परिवेश फेरिएको छ । फुर्लुङ ंर तरङ्गा भुलिसकी पानमायाले । फन्टा र बोइलरको स्वादमा रमाउँछे ऊ अचेल । रिठ्ठालाई साबुन बनाएर नुहाएको बज्यैको विगत सुनी भने अनौठो लाग्छ— उसलाई र माछा मारेरै अतिथि सत्कार गर्ने बाजेको कथा पनि ।


गाउँमा आज गाडी पुगेको छ । थिङस्याको पातीको झुप्रो भएको पारि, आँखुको तीरैतीर गाडी गुड्छ आजभोलि । पानमाया त्यसैमा चढेर सदरमुकाम र राजधानी काठमाडौँसम्म आवतजावत गर्छे । तर, उसकी बजूले भने जिन्दगीभर गाडी देखिन । त्यो अन्दरो–बन्दरोबाट कहिल्यै बाहिर निस्कन पाइन । तर, पानमाया अहिले मास्टर्नी भएकी छ । उसका हातमा कोरियामा निर्मित स्यामसुङको मोबाइल फोन छ । फेसबुकमा मेसेज गाउँमै बसीबसी मज्जाले हेर्छे । टेलिभिजनमा आउने विभिन्न कार्यक्रम छुटाउँदिन । गाउँ–सहर पानी–पँधेरो बनिसक्यो । शिक्षा, सूचना र प्रविधिको पहुँचले पानमाया उजेलिएकी छे ।


जलुकीको पानी पिउने बजू थिङस्या जलुको तरकारी बनाउँथी । रिठ्ठाले नुहाउँथी । कुवाकी व्याङ । वरिपरिका अग्ला–अग्ला पहाड–पर्वत हेरेरै दिन गुजारी । निश्चल, नि:स्वार्थी थिङस्या । धेरै वर्षपछि पुग्दा म्हनी डाँडाको जीर्ण म्हनीले थिङस्याको स्मरण गरायो ।

प्रकाशित : पुस २१, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?