पूर्ण रोक्काको पत्र

कविता
खेम बतास

काठमाडौँ — सरकार ! जय जनता !म जनता बाजेको फौजको उही सेना पूर्णबहादुर रोक्का

सरकार ! जय जनता !
म जनता बाजेको फौजको उही सेना
पूर्णबहादुर रोक्का

जोगबुढाको रंगुना खोला किनारमा
गिट्टी कुट्दाकुट्दै
कति बग्यो, बग्यो पसिनाजस्तो पानी/पानीजस्तो पसिना
पानीको छाल जसरी बढ्छ बर्खामासमा
त्यसैगरी यादको बाढी बढेर आउाछ
जनता बाजेका लागि ठाउा खाली छ यो मुटुको खल्तीमा
रंगुना खोला किनारमा बालुवा चाल्दाचाल्दै
कतिखेर जिन्दगीको चाल्लोबाट छिरेर गए
जीवनका तमाम अभिलाषाहरू
अब त सम्पत्तिको नाममा, यो बेल्चा, गैंती र बेल्चा मात्र छ ।
यो खोलामा पानीसाग मिसिएर
(अब त कोही छैन सानो ठूलो/छुवाछूत किन मानव चोला)
कति गाइयो गाइयो यी गीतका हरफहरू
यहाा किन बुझ्दैनन् रङ्गुनाको भाव कसैले ?
जसरी रङ्गुनाको छाल किनार भत्काएर बढाउाछ सीमा विस्तार
त्यसैगरी किन छर्दैनन् जनता दलको नयाा पर्चा
जनता दल आधा खाएर फलेको फल पनि होइन
यो कुनै बेलाको दिल्ली सम्झौता पनि कदापि होइन
कुटो कोदालोले संसार जित्न खोज्ने बेतकोटको हरियो रङको कसम
जनताको आासुमा पौडी खेल्ने थुप्रै जयदेव भट्ट
बेलाबेला बोराको मुख फुकेर किन फरार हुादै छन् जेलघरबाट
(अगाडि सवारी आयो पछाडि माल आयो, अ‍ैल साल ब्रमदेऊमा ठालुको काल आयो )
कति दिन यी गीतका हरफहरु मात्र बन्छन् यो मुलुकमा
किन यो देशमा आइङगरको नयाा अवतार जन्मिदैन ?
किन यो मुलुकमा पृथ्वी जयन्ती/एकता दिवस मात्र मनाइन्छ ?
किन मनाइादैन बहुसांस्कृतिक पहिचान दिवस ?
सूर्य गोलभेंडा बन्ने ठाउामा/सिरेटो ओढेर मनाइरहेकै छन् पुस पन्ध्र
माघी मनाउने मुल्ली थारुको जाल खोसेर
किन जल जमिन र जङ्गलबाट लखेटिादै छ ?
के मुल्लीले यो जुनीमा सिरानीमा देशको नक्सा च्यापेर निदाउन पाउादैन ?
माटोमा कहिल्यै नटेकेको आकाश बेलीको कसरी हुन्छ, जल जमिन र जङ्गल ?
यहाा प्रताप मल्लका आासुका रानीपोखरीहरुमा
सङ्क्रान्ति नुहाउन बानी परेका लालबहादुरहरु
दसौको भोलिपल्ट मेरा घरका भित्तामा
हातका पन्जा हेर्न आए भनिदिनेछु
कतै लुलानका जङ्गलका रुखका पातमा शीत खसेको देखे
सम्झनु, त्यै हुनेछ, तमरा पीपी पन्तको आासु
कतै, भिम्बा दियालको खुकुरीमा खिया लागेको देखे
सम्झनु, त्यो हाम्रै फौजको कााचो रगत हुनेछ
कतै, ओल्के दिन हिडेको रुपसिंह सिजापति भेटे
सम्झनु, सात सालको क्रान्तिको नयाा कोसेली दिन हिाडेको रहेछ
सरकार ! एक दिन यस्तो पनि आउाछ
त्यो मञ्जुश्रीले काटेको ठाउा चोभारजस्तै
फेरि काटेर थानकोटमा
जति बगेको छ मेरा पुर्खाको रगत पसिना
थोपा थोपाको हिसाब लिएर उल्टा बगोस् वाग्मती
पश्चिमी फााटहरूमा पर्खिरहेका छन् धानका बालाहरू

कुनै दिन यस्तो पनि आउाछ,
पर्चा पम्प्लेट र जुलुसमा उठेका हातहरू दसैंको बिदामा धान गोडिरहेका हुन्
र, घरका धुरीखााबाहरु मौन स्वीकृतिमा खुसीले लामो सुस्केरा फेरुन्
तिनको आाखाको कााचो रङमा बाकावीरको रगत तातेर
एक सय चार डिग्री सेन्टिग्रेडमा उम्लिओस् कर्णालीको पानी
पारपाचुके गरी यो देशसागको नाता फेरि
जोड्नका लागि
सुनेको छु, जनता बाजेको नाउामा नयाा सिनेमा बनेको छ रे
मेरो त खल्ती रित्तिएको पनि वर्षौं भइसक्यो
कसैले यो देशको बहिरो सरकारलाई भनिदिनु
जनता दलको एक कार्यकर्ता जिउादै छ ।

प्रकाशित : पुस २१, २०७५ ०९:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कार्टुन चित्रको उपहार

संस्मरण
दुर्गा दाइ मेरा प्रिय कलाकार । श्यारोनको पनि उनीसँग परिचय भएको थियो पोखरामा ।
अमोद भट्टराई

काठमाडौँ — राजदूत जेम्स मोरियार्टीको कार्यकाल सन् २००४ को जुलाईदेखि २००७ को मेसम्म थियो नेपालमा । नेपाली राजनीतिमा त्यो समय उतारचढावपूर्ण थियो । राजदूत मोरियार्टी प्रखर वक्ता थिए । तत्कालीन राजालाई होस् वा माओवादीप्रति उनी कटाक्ष गरिरहन्थे । तत्कालीन राजा ज्ञानेन्द्रलाई ‘यस्तै ताल हो भने हेलिकप्टरको पुच्छरमा झुन्डिएर भाग्नुपर्ला’ भन्दै खुलेर बोलिरहेका हुन्थे मोरियार्टी । 

अमोद, फुर्सद भएपछि एकै छिन मेरो कोठामा आऊ है । सल्लाह गर्नुछ,’ श्यारोन हड्सन–डिनले मेरो क्युटबिकलमा आएर भनिन् । मेरी हाकिम थिइन् उनी । कूटनीतिज्ञहरूको काम अह्राउने तरिका नै फरक ! त्यसमाथि श्यारोन साह्रै भद्र थिइन् । अद्यापि छिन् । ‘एकै छिन आऊ’ नभनेर ‘फुर्सद भएपछि’ जस्ता विशेषक जोडेर वाक्यलाई शालीन बनाउन उनी माहिर थिइन् । शालीनता, भद्रपन र कूटनीतिक भाषा त उनको विशेषता नै थियो ।

उनको कोठामा गएँ । ढोका लगाउने इसारा गरिन् । मैले ढोका लगाएँ । सन् २००७ मे महिना थियो त्यो ।
‘राजदूत मोरियार्टी आफ्नो कार्यकाल सकाएर फर्कंदै छन् । हामी उनलाई एक अविस्मरणीय उपहार दिन चाहन्छौँ सबै कर्मचारीको तर्फबाट । मलाई तिम्रो सहयोग चाहियो ।’ श्यारोनको आँखामा चमक थियो । कुनै रमाइलो कुरा भन्दै छिन् श्यारोनले भन्ने मलाई लाग्यो ।

‘हुन्छ, श्यारोन । म के गर्न सक्छु ?’
‘एउटा गजबको चित्रकला दिन मन छ हामीलाई सबै कूटनीतिक कर्मचारीहरूको तर्फबाट । तिमी वात्सायनसँग कुरा गर्न सक्छौ ? एउटा ठूलो आकारको कार्टुन बनाउन ? राजदूत मोरियार्टीको तीनवर्षे कार्यकालको सबै सन्दर्भ आउने गरेर ?’ उनी मुस्कुराइन् ।
म एकै छिन अलमलिएँ ।
‘हुन्छ, म कुरा गर्छु वात्सायनसँग,’ मैले मुस्कुराउँदै भनेँ वात्सायन उर्फ दुर्गा बराललाई सम्झेर ।
दुर्गा दाइ मेरा प्रिय कलाकार । श्यारोनको पनि उनीसँग परिचय भएको थियो पोखरामा । ‘समुन्नत नेपालको सपना’ शीर्षकमा प्रजातन्त्र विषयक चारपाने रंगीन चित्र–कथा ‘कमिक–बुक’ प्रकाशित गरेका थियौँ हामीले अमेरिकी राजदूतावासको तर्फबाट । लेखन अशेष मल्लले गरेका थिए भने चित्र कोर्ने काम योगेश खपांगीले । धेरै पटकको सल्लाह, बैठक र खेस्रा बनाएपछि उक्त कमिक प्रकाशित भएको थियो नेपाल अधिराज्यभरि वितरण गर्न–५० हजार प्रति । उक्त कमिकले निकै वाहवाही कमाएको म अझै सम्झन्छु । उक्त कमिकलाई पोखरेली सांस्कृतिक परिवारको आयोजनामा दुर्गा दाइले नै पोखरामा सार्वजनिक गरेका थिए, सेप्टेम्बर १९, २००६ का दिन । त्यसै कारण श्यारोनको दुर्गा बरालसँग परिचय थियो ।

‘अमोद, मेरो अर्को पनि कुरा छ तिमीसँग,’ उनले अझ मुस्कुराउँदै भनिन् । यस पटक मैले केही भन्नुअगाडि नै मरीच वा खुर्सानी र नुन हाल्ने भाँडो टेबलमा राख्दै श्यारोनले भनिन्, ‘हामीलाई राजदूत महोदय र उनकी श्रीमतीको छवि भएको यस्तो साल्ट एन्ड पेप्पर राख्ने माटाको भाँडो पनि चाहिएको छ । तिमी सहयोग गर्न सक्छौ यी बनाउन ?’
म दंग परेँ श्यारोनले देखाएको नमुना देखेर । माटोको ‘साल्ट एन्ड पेप्पर’ मा छविचित्र थियो दिवङ्गत राजा वीरेन्द्र र रानी ऐश्वर्याको ।

‘कहाँ बनाउँदो रहेछ यो ?’ मैले आश्चर्य मान्दै सोधेँ ।
‘कहाँ बनाउँछ त मलाई थाहा छैन । सायद भक्तपुरतिर । कुनै निकै सीप भएका कलाकारको सिर्जनात्मक आइडिया हो यो । तर, कहाँ कसले अर्डर लिन्छ, त्योचाहिँ मलाई थाहा छ ।’
श्यारोनले तत्कालीन राजदरबार नजिकैको एउटा पसल बताइन् मलाई । त्यस बेला हाम्रो कार्यालय दरबारमार्गस्थित याक एन्ड यती होटलको पूर्वोत्तर कुनामा रहेको एउटा ठूलो घरमा थियो । भोलिपल्ट गएँ म त्यस पसलमा । पसलमा हस्तकलाका सामान बेचिन्थे । एउटा कुनामा दिवंगत राजा रानीको छविचित्रयुक्त ‘साल्ट एन्ड पेप्पर’ राख्ने भाँडो देखेँ । म उत्ताउलिँदै त्यो भाँडातिर गएँ । उक्त भाँडो देखाउँदै भनेँ, ‘त्यस्तै साल्ट एन्ड पेप्पर बनाउन सक्नुहुन्छ अर्को व्यक्तिको चित्रमा ?’

पसलमा बसेकी महिलाले मलाई तलदेखि माथिसम्म हेरिन् र फेरि माथिदेखि तलसम्म हेरिन्— दुई पटक ।
‘कसको ?’ उनी मुस्कुराइन् ।

मैले खल्तीबाट तस्बिर निकालेँ । उनको मुखबाट एक्कादशी आवाज निस्कियो, ‘अमेरिकी राजदूत ?’ र मैले थपेँ, ‘र उनकी श्रीमतीको पनि ।’ तर राजदूत अग्ला थिए र श्रीमती राजदूत होचो कदकी । यसैअनुरूप दुई हप्ता जतिमा राजदूत जेम्स एफ मोरियार्टी र उनकी श्रीमतीको छविचित्रयुक्त साल्ट एन्ड पेप्पर राख्ने माटाको भाँडा तयार हुने भयो ।
‘अलिनो पनि नखाऊँ, नुनढिकी पनि नफोरूँ’ हुन सक्दैनथ्यो यी दुवै कार्यका लागि । पैसा अलिकति खर्चै हुन्थ्यो । त्यसका लागि श्यारोन तयार थिइन् । मैले साल्ट एन्ड पेप्पर राख्ने भाँडा तयार गर्न सम्भव भएको कुरा सुनाएँ । उनी असाध्यै खुसी भइन् ।

‘अमोद, एउटा उपहारको त टुंगो लाग्यो । अनि अर्को कहिलेसम्म होला ?’
‘म सोध्छु कलाकार वात्सायनलाई ।’ दुर्गा बरालको हँसिलो अनुहार अगाडि टक्कर आयो ।
‘धन्यवाद अमोद,’ श्यारोन मुस्कुराइन् । अनि म पनि ।
दुर्गा बराल उर्फ वात्स्यायनलाई फोन गरेँ मैले । उनी कुनै कूटनीतिज्ञभन्दा कम थिएनन् । जस्तो शालीन, सौम्य व्यक्तित्व, त्यस्तै मधुर आवाज, मीठो बोली । लामो छलफल भयो उनीसँग मेरो फोनमा–कस्तो ‘स्केच’ बनाउने राजदूत मोरियार्टीलाई उपहार दिन भन्नेबारेमा ।

राजदूत मोरियार्टीको कार्यकाल सन् २००४ को जुलाईदेखि २००७ को मेसम्म थियो नेपालमा । त्यस समयमा निकै उतारचढाव भएको थियो नेपाली राजनीतिमा, नेपाली समाजमा, नेपाली कला र साहित्यमा पनि । उनी नेपाल आउँदा भर्खरभर्खरै तत्कालीन राजा ज्ञानेन्द्रले नियुक्त गरेका प्रधानमन्त्री सूर्यबहादुर थापाले राजीनामा गरेका थिए । अनि शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । त्यसपछि ज्ञानेन्द्र शाहले त्यसको सात महिनामै देउवालाई अपदस्थ गरी आफ्नो हातमा शक्ति लिएका थिए । सन् २००५ फेब्रुअरी १ तारिख थियो । संयोग कस्तो पर्‍यो भने त्यसै दिन दूतावासको निम्तामा नेपालमा कार्यक्रम गर्न आएका एक प्रोफेसरका साथ राजदूतको कार्यकक्षमा नेपालसम्बन्धी छलफल चल्दै थियो । राजा ज्ञानेन्द्रले सञ्चारमाध्यममा सम्बोधन गर्ने समाचार आएपछि छलफलकै बीच टेलिभिजन खोलियो । टेलिभिजनमा ज्ञानेन्द्र शाहको मन्तव्य आइरहेको थियो । के भनिरहेका छन् राजा ? सबैलाई चासो थियो । म एक जना मात्र कोठामा थिएँ प्रस्ट नेपाली बुझ्ने । अरू पाँच–सात जना अमेरिकनहरू । अप्रत्याशित रूपमा राजाको मन्तव्यलाई सकेसम्म अनूदित गर्नुपर्ने भयो मैले । मैले कोसिस गरेँ । मेरो कोसिस जारी थियो । भाषणको समानान्तर अनुवाद गर्नुपर्ने । गाह्रो–साह्रै गाह्रो ! तर मैले धेरै बेर मिहिनेत गर्नुपरेन । राजदूतको सेक्रेटरीले भित्रबाट फ्याक्स ल्याइन् उक्त भाषणको प्रति । सायद यस्तो व्यवस्था गरिएको थियो तत्कालीन राजदरबारबाट कि राजाको भाषणसँगसँगै कूटनीतिक नियोगहरूमा फ्याक्सबाट भाषणका प्रति पठाइएको थियो । फ्याक्स ‘डेलिभर’ पनि भयो । राजाको भाषण पनि सकियो । टेलिफोनका लाइनहरू बन्द गरियो एकै पटक अधिराज्यभर । सन्नाटा छाएको थियो काठमाडौँमा । सन्नाटा छाएको थियो देशभरि । तत्काल संकटकाल घोषणा गरिएको थियो ।

राजदूत मोरियार्टी प्रखर वक्ता थिए । उनी निकै कडा मन्तव्य दिनमा प्रख्यात भएका थिए त्यसताका । तत्कालीन राजालाई होस् वा माओवादीप्रतिको कटाक्ष– प्राय: पत्रिकाका मुख्य शीर्षक भएर आउँथे । उनका बेलाबखतका सार्वजनिक अभिव्यक्ति, अन्तर्वार्ता, नीतिगत मन्तव्य प्राय: विवादित हुन्थे । तत्कालीन राजा ज्ञानेन्द्रलाई ‘यस्तै ताल हो भने हेलिकप्टरको पुच्छरमा झुन्डिएर भाग्नुपर्ला’ भनिएका आशयका अभिव्यक्ति वा ‘माओवादीले थोत्रो हतियार मात्र बुझायो’ भन्ने अभिव्यक्ति वा ‘नेपालीहरूले शान्तिपूर्वक हिंसारहित वातावरणमा बाँच्न पाउनुपर्छ’ भन्नेजस्ता अभिव्यक्ति सबै मिथकझैँ प्रसिद्ध हुन्थे— छापाहरूमा, टेलिभिजनहरूमा र सञ्चारमाध्यमहरूमा । यी अभिव्यक्तिहरूलाई ‘आन्तरिक मामलामा हस्तक्षेप’, ‘कूटनीतिक मर्यादाविपरीत’ जस्ता लाञ्छना पनि प्राय: लाग्थे । नेपाली समाजमा आफूलाई अनुकूल भए वाहवाह भन्ने, अनुकूल नभए गाली गर्ने प्रवृत्ति प्रशस्तै देखिन्थ्यो । तर, उनका ‘नेपाल–अमेरिका सम्बन्ध’ शीर्षकमा हुने सार्वजनिक मन्तव्य कार्यक्रमहरूमा सयौँ व्यक्तित्वहरूको उपस्थिति हेर्नलायक हुन्थ्यो ।

राजदूत मोरियार्टीले काठमाडौँ छाड्ने समयसम्म यो क्रम जारी भयो । सन् २००७ एप्रिलसम्ममा संकटकाल फिर्ता भएको थियो । पटकपटक आन्दोलनहरू हुन्थे । युद्धविराम हुन्थ्यो । युद्ध हुन्थ्यो फेरि । अमेरिकी सेन्टरमा त्यसैताका बम प्रहार भएको थियो । नेपालमा वर्षौँदेखि चल्दै आएको अमेरिकी पिसकोर कार्यक्रम बन्द भयो त्यसै बेला । हत्या, हिंसा, युद्ध, गृहयुद्धको शृंखला कायमै थियो । माओवादी र प्रतिपक्षको समन्वयमा प्रजातन्त्र बहालीको कोसिस पनि भइरहेको थियो । त्यसो हुँदाहुँदै उल्लेख्य कुराचाहिँ के भयो भने माओवादी पनि अन्तरिम सरकारमा बिस्तारै प्रवेश गरेको थियो एप्रिल सन् २००७ मा ।

‘के यी सबै कुरालाई एउटै स्केचमा उतार्न सकिएला त, दुर्गा दाइ ? ठूलो आकारको पाँच बाई सात फिट जतिको क्यान्भासमा वा त्योभन्दा नि ठूलो आकारमा ?’

मेरो प्रश्नको तत्काल फोनमा जवाफ दिँदै दुर्गा दाइले भने, ‘म तीन–चारवटा ड्राफ्ट स्केच बनाउँछु पहिला, अनि सल्लाह गरौँला नि, भाइ । म दुई–तीन दिनमा खबर गर्छु ।’ अनुहार त देखिनँ मैले उनको त्यस बेला तर मलाई पक्का थियो, उनी मुस्कुराएका थिए । अनुहार पनि त कहिलेकाहीँ देखिनु पर्दैन रहेछ, बोलीबाट नै मान्छे मुस्कुराएको देखिँदो रहेछ !
‘दाइ, कति जति पारिश्रमिक पर्ला ? त्यो पनि खबर पाऊँ, है ?’

‘हस्, हस्, भाइ । म दुई–तीन दिनमा खबर गर्छु,’ उनले दोहोराएर भने ।
साँच्चै दुई–तीन दिनमा केही खेस्रा चित्र मेरो इमेलमा आए । ‘कस्तूरी भनेपछि सुँघिरहनु पर्दैन’ भनेझैँ कसले बनाएको ? वात्स्यायनले ! आहा, खेस्रा चित्र नै यस्तो छ, झन् अन्तिम चित्र कस्तो होला ! हामी सबै रमायौँ ।
छवटा खेस्रा चित्र र त्यसमा लेखिएका कुराहरूलाई मिलाएर एउटा सिङ्गो अन्तिम चित्रमा के–के राख्ने भनेर श्यारोनलगायत हामीहरू दुई–चार जना मिलेर ‘आइडिया’ एकीकृत गर्‍यौं । अनि वात्स्यायनले त्यसैबमोजिम एउटा वडेमानको पूर्ण कार्टुन चित्र तयार गरे– जेम्स फ्रान्सिस मोरियार्टीलाई उपहारस्वरूप । अनि राजदूत महोदयले नेपाल छोड्नुभन्दा पहिले पाए, अविस्मरणीय कार्टुन चित्रको उपहार ।

प्रकाशित : पुस २१, २०७५ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT