मि–टुको सातपत्रे 

आवाज
कल्पना वान्तवा

काठमाडौँ — बेलायती २३ वर्षीया लेखक चाइडेरा ‘आफ्ना झोल्लिएका स्तनप्रति लज्जा अनुभूत गर्न इन्कार’ गर्छिन् । उनी सुझाउँछिन्—यदि कोही पुरुषले तपाईंलाई ‘किन तिम्रा स्तन झुन्डिएका ?’ भनेर सोधेमा भनिदिनुस्— ‘तिम्रा अण्डकोषचाहिँ किन झुन्डिएका नि ?’

मि–टुको सातपत्रे 

यसको सिना लोहारको धौँकनीसमान चलिरहेको छ, बहिनी ! तनिक सुनिलिऊँ, के गडबड छ...’ कानमा आलाको सुन्ने घुसार्दै त्यो बूढाले मेरी आमालाई बतायो र आलाको गोलो ढ्याक च्यापेको हत्केलाले दुख्ने गरी मेरो छाती थिच्यो, अनि मेरो कानमा साउती गर्‍यो— ‘केत बडबड भ्यागेल छै तोहर, दैया !’

त्यही महिना तुरिएको कात्तिकमा १३ वर्ष पुगेकी म, साथीहरूसँग खेलिसकेर साँझमा भर्खर घर फर्केकी थिएँ । आमा भान्सामा केही पकाउँदै हुनुहुन्थ्यो । घुर्मैलो अँध्यारोमा, सिकुवामा रहेको हातवाला काठको कुर्चीमा बसेको त्यो बूढाले, स्याँस्याँ गर्दै आएकी मेरो हात च्याप्प समाएर तान्दै छाती सुन्न थालेको थियो ।

अचानक आइलागेको अप्ठ्यारोको सकसले मलाई अलमल्याइदिएको थियो, छिनभरलाई । स्थितिबोध हुनासाथ जिउ झट्कारेर उछिट्टिँदै नजिकैको भर्‍याङ चढेर माथ्लो तला उक्लेँ, आमाको आदेश मेरो आङमा ठोक्किएको थियो, ‘ला मैयाँ ! यो फिका चिया लगेर बडालाई दे !’

लगत्तै फर्केर आमाको आज्ञा मान्दै त्यो ‘बडा’ नाउँधारी अगति बूढालाई चिया दिएर सम्मान गरिनँ मैले, त्यो बेला त्यतिचाहिँ गर्न फुक्काफाल थिएँ । माथि सुत्ने कोठामा गएर ओछ्यानमा गुडुल्किएँ ।


केही छिनअघि देह र आत्मामा लागेको मानमर्दनको गहिरो चोट साँच्चिकै हो कि होइन भन्नेमा पनि दोमन भइरहेको थियो । खासमा त्यो दुष्ट बूढाले के गरेको हो मलाई भन्ने यकिन भइरहेको थिएन किनकि त्यसअघिसम्म त्यस्तो खाले घटनाबारे न कतै सुनेकी थिएँ न त पढेकी नै थिएँ, यद्यपि कमिक्स, कथाकुथुङ्ग्रीका पुस्तक र उपन्यास पढ्न केही वर्षअघिदेखि नै थालिसकेकी थिएँ । तर, मैले त्यतिन्जेल पढेका किताबहरूमा पनि जबर्जस्ती करणीका महलहरू थिएनछन् । व्यावहारिक संसारको यो कालो पाटोबारे म पूरै अनभिज्ञ थिएछु । तर, मेरो बुझाइको घेरो सानो भए तापनि स्नेह र वासनाका हेराइ र छुवाइमध्ये फरक खुट्याउन सक्ने चेतनाको विकास ममा भइसकेको थियो, त्यसैकारण आफूमाथि जे घटित भयो त्यो अत्यन्तै घृणित थियो भन्ने आभास भइरहेको थियो । कसुरैबिना लघुताभासको अँध्यारोले मलाई गम्लङ्ग छोप्यो ।

***


रातको अँध्यारोमा, मेरो बिटुलिएको सानो–निम्छरो अस्तित्व कसैका सामु देखा नपरोस् भन्ने उत्कट चाह जाग्यो मनमा ! तीव्र चाहना गरेँ, यो रात कहिल्यै नसकियोस् र अब उसो मेरो जीवनमा बिहानी कहिल्यै नआओस् ! हो, किशोरवयको मनोहारी सिँढी चढेर स्वप्नमयी बादल र इन्द्रधनुषभैँm रङ्गीन जीवनका उमङ्ग र उल्लासलाई हातले छुन खोजिरहेकी मलाई, तानेर खल्र्याम्खुर्लुम् भुइँमा पछारिदिएको थियो नियतिको एक झट्काले । सतीसालको कलिलो वृक्षजस्ती हलक्क बढेर गगन चुम्न तम्तयार मलाई, लाग्ने बन्चराले घोचा बनाउन फेदैमा ठुन्क्याएर मेरो वृद्घि–विकासकै इतिश्री गरिएको थियो । त्यो मुर्दारले मेरो जिउ र आत्मसम्मानमा हात हालेको मात्रै थिएन, त्यसले त काकाबाबु, दाजु र मान्यजनद्वारा छोरीचेलीलाई स्नेहपूर्वक सम्बोधन गरिने नानु, बुनु, सानी, मैयाँ, छोरी र बाबाकै प्यारो रूप ‘नानी’ अर्थात् ‘दैया’ शब्दकै धोती खुस्काइदिएको थियो । अझ त्यसमाथि, आफ्नो कुकृत्यको अंशियार मलाईसमेत बनाउँदै मेरो कानमा त्यो घिनलाग्दो हरफ बोलेको थियो, मानौं त्यसअघि पनि मैले आफ्नो देहमा मनपरी छुन त्यसलाई छाडा छाडिदिएकी होउँm ! बाँच्ने क्रममा लज्जा र आत्मग्लानिको एक अतिरिक्त भार मेरो टाउकामा थपिएको थियो ।

त्यो बूढो, मेरा साथीहरूको बाबु थियो र थियो मेरो बुबाको मिल्ने साथी पनि, जसले मेरी आमालाई ‘बहिनी’ भन्थ्यो । आमा यदाकदा हाँस्दै त्यसको १५/१६ वर्षे कान्छो छोरोबारे घरमा सुनाउनुहुन्थ्यो, “आज श्यामले फेरि ‘चाची ! हम त कल्पना से सादी करबै !’ भनेर जिद्दी गर्‍यो, मैले ल ल गरिदिउँला नभनी धर पाइनँ...”

‘प्यारी साथीका बाबुले मलाई सायद त्यसो गरेनन् होला, छोरीसरहकी मलाई पक्कै त्यस्तो दुव्र्यवहार गर्ने सोँच्दैनन् होला, अवश्यै म झुक्किएँ, मलाई त्यस्तो लागेको मात्र होला, छातीमा औंला टँसाउँदा हुन सक्छ, बडाको हातको दबाब अलि बेसी भयो होला... ।’

मन बुझाउने यस्तैयस्तै कुराहरू कल्पेँ पनि, तर त्यो पातकी बूढाले बोलेको हरफ मेरो कानमा झीरजसरी रोपिएको क्रूर सत्यलाई कस्तै मनचिन्ते बहानाले झूटो साबित गर्न सक्दैनथे ! आफूमाथि भयानक दुर्घटना घटित भएको पक्कापक्की हुनासाथ आपैंmमा खुम्चिएर एक डल्लो परेँ । अर्कोतर्फ, ‘तेरा त कति ठूल्ठूला भएछन् दैया !’ ले मलाई नांगेझार पारेर सिस्नोपानीले झ्याम्झ्याम् हानेको पीडा भइरहेको थियो ।

भरखर विकसित हुन थालेका मेरा स्तन, स्कुल तथा हाटबजार जाँदा नदेखिऊन् भन्नाखातिर लुगाले सक्दो कसेर तिनलाई सपाट बनाउने, अनि त्यसमाथि दर्जीले सिलाइदिएको ‘बोटिस्’ नाउँको बाहुला र टाँकबिनाको कसिलो चोलो लाउँथें, अनि मात्र माथिबाट कमेज वा सर्ट । दिदी र दौंतरी सबै त्यसै गथेँ, मैले उनीहरूबाटै त्यसो गर्न सिकेकी थिएँ । बोटिस सिलाइमाग्न फेरि हक्की स्वभावका दिदीहरूको साथ लागेर जान पथ्र्यो, एक्लै जाँदा त दर्जीले पनि बाँकी राख्दैनथे, ‘ए ! मैयाँसापको पनि बोटिस् लाउने ट्याम आएछ ?’ भनेर ।

गाउँका सोझासीधा आमाहरूभैँm मेरी आमा पनि, वात्सल्य र प्रेम लुटाउन अनि ढाल बनेर छोरीको रक्षार्थ उभिन स्वस्फूर्त तयार रहनुहुन्थ्यो । तर किशोरवयमा प्रवेश गरेकी छोरीलाई ‘टिनएज ब्रा’ वा ‘स्पोर्टस् ब्रा’ लगाउन दिएर र प्रकृतिको स्वाभाविक नियम पछ्याउँदै विकसित हुन थालेका वक्षलाई सामान्य रूपमा लिएर हीनताबोधबाट मुक्त रहन परामर्श दिने हैसियतदेखि कोसौँ टाढा हुनुहुन्थ्यो । उसो त हटियामा सडक वारिपारि प्लास्टिक ओछ्याइएका दोकानमा हुपसियोले उनेर सुतीका सेता ब्रेसियर्स रंगीन रिबनहरूकै लस्करमा बिक्रीका लागि डोरीमा टाँगिएका हुन्थे तर त्यो किनेर लाउने हिम्मत कहाँबाट ल्याउनु ? जब कि आमाले नै कहिल्यै ब्रेसियर्स लगाउनुभएन । त्यो अधर्मी बूढाको निकृष्ट टिप्पणी, अप्रत्यक्ष रूपमा मेरी सोझी आमाको लालनपालनप्रति एउटा व्यङ्ग्य बनेर पनि दुखिरहेको थियो ।

मजबुत र घनिष्ठ पारिवारिक सम्बन्धभित्रको मान्छेले ममाथि त्यस्तो नकाम गर्‍यो भनेर पत्याउन मनले नमाने पनि तीतो सत्य त्यही थियो, आमाको अघिपछि फर्‍याक्फुरुक् गर्दै बुर्कुसी मारेर उपँ्रmदै खेलिहिँड्ने सानी मृगभैँm मलाई, अचानक झाडीबाट निस्केर हिंस्रक ब्वाँसाले जसरी मेरो गर्दनमा दाह्रा गाडेर ङ्याकेको थियो त्यो पाखण्डीले ! मभित्रको जीवन–रस खूनजसरी पिएर, मेरो चञ्चलता र चपलता सिध्याइदिएको थियो । उप्रान्त, साथीहरूसँग उफ्रीपाफ्री गर्दै खेल्न र निर्धक्क हाँस्न–बोल्न मलाई धक लाग्न थालेको थियो । धेरै समय लागेको थियो, आफूभित्रै त्यो पीडादायी अनुभव लुकाएर बाँच्न ।

उतिबेला त मन कुँडाउँदै छटपटिनुबाहेक अरू केही गर्न सकेकी थिइनँ, अहिले भए त्यो निर्लज्जलाई एक लात जमाएर हान्दै कुर्सीसहित समरसल्टको मजा चखाउँदै आँगनमा गुल्टाइदिन्थेँ र त्यसले बापजुनीमा नसुनेका गालीका पर्रा छुटाउँदै त्यसको सातो लिन्थेँ, ‘पापी बूढा ! तेरो एउटा खुट्टाले त चिहानको दरबाजामा टेकिसकेको छ, अर्को खुट्टा नर्कको देहरीमा आज छिराइस् ! अब तेरो बूढो हड्डीभित्रको चिलाइ मेटियो ?’ तर खै कुन्नि ! मन बुझाउने मेलो मात्र होला यो पनि मेरो ! काठमाडौँमा जागिरे बनेर छिरेदेखि, दिगमिग लाग्ने त्यस्ता दुव्र्यवहार बसमा, टेम्पोमा, माइक्रो बसमा र हिँडिरहँदा बाटैमा पनि खप्नु खपेँ तर चुइँक्क बोल्न वा डाँकोले निल्नधरि कहिल्यै सकिनँ । राति ओछ्यानमा पसेपछि भने, दिउँसोको त्यो छँदाखाँदाको कुहिना चुच्याएर मलाई घोच्ने पीडक जीवलाई पछाडिबाट एक लात दिएर ठाउँको ठाँवै ठहरै पार्दिनपथ्र्यो भन्ने अक्कल आउँथ्यो तर, ऐन–मौकामा पोलियोग्रस्तभैँm मेरा हातगोडा लुला हुन्थे । ज्याङ्गो नभएर सानो कदकाठीकी भएर पनि हो कि, जस्तालाई त्यस्तै फर्काउने बानीको साटो ममा अन्यायलाई चुपचाप सहने र कुना पसेर आँसु खसाल्ने अन्तर्मुखी व्यहोरा फस्टाउँदै गयो ।

त्यो बेला त हैन तर अहिले सम्झन्छु, एक पटक चार–पाँच वर्षकी ममाथि त्यस्तै घटना भएको थियो । राजविराजमा हाम्रो घरनजिकको पैनीपारिको ठूलो दुईतले घरको माथ्लो तलामा सायद खेल्दैखेल्दै पुगेकी मलाई, ठूलो केटाले ओछ्यानमा लडाएर केही नराम्रो गर्न खोज्दै थियो । ठ्याक्कै याद छैन तर केही नराम्रो हुनुअगावै म त्यहाँबाट निस्कन सकेकी थिएँ । त्यो ठूलो केटाका भाइबैनी अथवा भतिजा–भतिजीहरू मेरा साथी थिए क्यार, त्यही बखत कोही त्यहाँ आएको हुनुपर्छ र म जोगिएँ । अहिले सम्भँmदा मात्र पनि आङ जिरिङ्ग हुन्छ ।

अर्को एउटा नमीठो घटना पनि याद आउँछ कहिलेकाहीं, उदयपुरको एउटा थानामा बुबा हाकिम हुँदा सानी बहिनी र म एक दिउँसो आफ्नो क्वार्टरअगाडि खेलिरहेका थियौँ, नजिकैको पुलिस ब्यारेकका केही प्रहरीले ‘हाकिम साबकी छोरी पनि अब ठूली भइछन् ! जिउमा रङ्ग चढेछ’ भनेर आँखा झिम्काउँदै मलाई हेरेर हाँसेका थिए । उतिबेला छ कक्षामा पढ्दै गरेकी मेरो सारै नराम्रोसँग चित्त दुखेको थियो, मेरो जिउबारे बहुतै गलत र हेपाहा टिप्पणी गरिएको हो भन्ने भेउ पाएर !

***


पछिल्ला दुई बच्चा बेलाका घटना उतिसारो याद आउँदैनन्, खालि मानसपटलमा झुलुक्क झुल्किन्छन् । सम्झन चाहेँ भने तर पहिलो घटनाको घिनलाग्दो स्पर्श भने कुनै दुस्वप्नजस्तो टड्कारो बनेर मेरो ज्यानमा अझै टाँसिएको छ, र त्यो अधर्मीको कथनले मेरो देह विरूप छ अर्थात् मेरा स्तन ठूला हुनाले सामान्य र सुन्दर छैनन् भन्ने हीनताभास आजपर्यन्त दिलाइरहेको छ ।

त्यसपछि गाउँको त्रियुगा खोलामा धेरै पानी बगेर सप्तकोसीमा मिसियो । श्याम र हामी पनि छिप्पिन थाल्यौँ । ‘दाजु’ भनाउँदोको कुकर्मदेखि अन्जान मेरी आमाले ‘कल्पनासँग सादी गर्ने हैन त, श्याम ?’ भनेर जिस्काउँदा, श्याम लजाउन जान्ने भइसकेको थियो । मलाई भने आमाको जिस्काउनु र श्यामको लजाउनुसँग सरोकारै थिएन । मेरो उमेर पुगेपछि, माग्न आएका केहीमध्ये एकादुईलाई बुबाआमाले मन पराएर कुनै एकसँग मेरो बिहे गरिदिन चाहनुभएको थियो, तर मैले मानिनँ । अस्तित्वमा गडेको त्यो सर्पदंशजस्तो विषालु घाउ मभित्र अझै बल्झिरहेको थियो र बिहे भनेको दुलहाले मलाई जबर्जस्ती गर्ने त्यस्तै करकापको सम्बन्ध हो भन्ने डरले मन मस्तिष्क भरिएको थियो मेरो ! प्रेमबिनाको शारीरिक सम्बन्धको कल्पना गर्न आज पनि म सक्दिनँ, उबेला पनि पढिएका पुस्तकहरूले जगाइदिएका चेतनाको आधारमा देह–मिलन प्रेममा मात्र सम्भव छ भन्ने नै लाग्थ्यो । तर, प्रेममा परिहाल्ने आँट हतपती पलाएन, त्यसको कारणमा थियो उही भयानक अनुभव । प्रेमपछि बिहे हुन्छ र बिहेपछि दुलहाले सम्भोगको नाउँमा मेरो तनमनले थेग्न नसक्ने पीडा र यातना दिनेछ भन्ने त्रासले मलाई सदैव लखेटिरह्यो । प्रेममै सही, म त्यो त्रासदी झेल्न बिल्कुलै तयार भइनँ ।

तर, विडम्बना ! कालान्तरमा मैले यस्तो खुंखार प्रेम गरेँ कि प्रेमीले मेरो शरीर र मनलाई असह्य पीडा दिँदै मनलागी गिजोलिरहँदा प्रतिवाद नगरी मुढोभैँm लडिरहेँ । प्रेमको छुवाइ पनि सुकुमार, सुकोमल र कलात्मक चाहने मैले, त्यसैका नाउँमा चरम शारीरिक–मानसिक यातना दशकसम्म सहेँ ।

स्मृति–भण्डारको भोटे ताल्चा खोलेर त्यहाँबाट दु:खदायी अनुभवलाई खोतलीखोतली निकालेर पाठकसामु बिस्कुन लाउने रहर मलाई पक्कै थिएन, किनकि दुनियाँको चालामाला पनि फेसबुकको जस्तै छ, आफ्ना राम्रा कुराहरू मात्र देखाउने ! समाज झन् माप्पाको छ, अगाडि ‘बिचरा !’ भन्दै कन्नापछाडि ‘अबुई ! फलानीको जीवनमा त यस्तो नराम्रो भएको रैछ, नि ?’ भन्ने । अनि कसलाई इच्छा होला र दयाकी पात्र बन्ने ? तर मैले यसो गर्न चाहेँ, तथापि मलाई यो लेख लेखिसक्न बडो गारो भो । अरू लेखहरूसरह खरर लेख्नै सकिनँ, पुगनपुग महिना दिन लाग्यो । पीडादायी अतीत शब्दमा पोख्न हदैसम्म कठिन हुनेरैछ ।

‘मि–टु’ को विश्वव्यापी लहर नचलेको भए र दक्षिण लन्डनकी प्रख्यात अश्वेत ब्लगर, लेखक र ‘ह्यासट्याग स्यागी बुब्स म्याटर्स’ की अभियन्ता २३ वर्षीया चाइडेरा इग्रलाई हालसालै नपढेकी र उनको अन्तर्वार्ता ‘द मर्निङ सो’ मा नहेरेकी भए, मेरा अभिशप्त अनुभूति मेरो अवसानपछि मसँगै संसारबाट बिलाउँथे होलान् ।

***


हिजोअस्तिसम्म, मेरा स्तन ठूला छन् भन्ने हीनताबोध बोकेर झन्डै अवसादग्रस्त मनस्थितिमा अरूको नजरबाट तिनलाई ढाकछोप गर्नमै लागिपरिरहेँ । उता चाइडेराका चाहिँ, ब्रा नलाएका कारण किशोरावस्थामै स्तनहरू झोल्लिएर झुन्डिए । उनी आमालाई जहिल्यै भन्थिन्, ‘१८ वर्ष पुग्नासाथ जागिर खान्छु अनि जागिर खान थाल्नासाथ वक्षस्थलको सर्जरी गर्छु र राम्री हुन्छु ।’ तर, १८ की हुन्जेल उनमा सचेतना जागृत भयो कि प्रकृतिको स्वरूप मान्छे–मान्छेमा भिन्दाभिन्दै हुन्छ र ती सबै सुन्दर हुन्छन् । उनलाई बोध भयो कि, मेरो शरीर र अङ्गप्रत्यङ्ग जेजस्ता छन् ती मेरा हुन् । तिनलाई मैले मन पराउनुपर्छ, माया गर्नुपर्छ र अरूहरूले पनि म जे–जस्ती छु मेरो सोही रूपरङ्गलाई मन पराउनु र माया गर्नुपर्छ । अरूका आँखामा राम्री देखिन र राम्री कहलिन प्रकृतिविरुद्ध गएर म किन सर्जनलाई मेरो जिउमा कैँची चलाउन दिऊँ ? कहिल्यै ब्रा नलाउने चाइडेरा ठूलो डाँकोले भन्छिन्, ‘आफ्ना झोल्लिएका स्तनप्रति लज्जा अनुभूत गर्न म इन्कार गर्छु । र, यदि कोही पुरुषले तपाईंलाई ‘किन तिम्रा स्तन झुन्डिएका ?’ भनेर सोधे भने, भनिदिनूुस्— ‘तिम्रा अण्डकोषचाहिँ किन झुन्डिएका नि ?’

वास्तवमा, हाम्रो अध्ययन, अनुभव र सांसारिक परिघटनाहरूले जीवन–जगत्प्रतिको बुझाइ र बँचाइको व्यापकतामा विस्तार हुँदै जाँदो रहेछ । तर, त्यसो भन्दैमा अरूको देखासिकी गरेर, सफल जीवन बाँच्ने सूत्रहरू घोकेर र फलानाले जसरी नै गरेर आफ्नो जीवनलाई गजबको बनाउँछु भनेर चाहिँ कबै हुँदैन । जीवन भनेको नितान्त निजी भोगाइ हो रहेछ जसलाई आफूले बाहेक कसैले भोगिदिएर/बाँचिदिएर नहुने रैछ । जीवनले नै सिकाउने र मार्गदर्शन गर्दै लैजानेरैछ मानिसलाई !

कुरा बुझ्न थालेपछि मैले भोगेको त्यो प्रथम यौन दुव्र्यवहार र एक दशक खपेको प्रेमपीडापछिको लामो कालखण्डभरि जीवनले मलाई धेरै कुरा सिकायो–सधायो । मैले जानेँ कि यौनिकता भन्ने विषय व्यक्ति–व्यक्तिमा फरक हुन सक्ने निजात्मक शारीरिक–मानसिक प्रक्रिया रहेछ, यस सन्दर्भमा सबैलाई एउटै कसीमा राखेर जाँच्नु वा व्यवहार गर्नु मुख्र्याइँ ठहरिने रैछ । पाउलो कोएल्लोको उपन्यास ‘इलेवेन मिनट्स’ की प्रमुख नारी पात्र, यौनकर्मी पेसालाई अन्य व्यवसायसरह इमानदारीसाथ ससम्मान निर्वाह गर्नुपर्ने कर्तव्य ठान्छे र, सेवाग्राहीले मनखुसी उसको शरीरको उपभोग गर्दा पनि आपत्ति जनाउनु वा विरोध गर्नुको साटो राजीखुसीले आफूलाई समर्पित गर्छे । एक प्रकारले कुरो सही हो । दुनियाँभरका यौन व्यवसाय यसैगरी त चलिराखेका छन् ! यस्ता खाले व्यवहारमा, मैलेजस्तो प्रेम खोजेर साध्य पनि त छैन । अद्यापि, बाँच्नुको अन्तिम विकल्प अथवा टार्नै नसकिने भवितव्यका लागि कर नपरेसम्म, स्वयं भने प्रेमबिनाको सहवासको कल्पना गर्न अझै पनि सक्दिनँ ।

प्रकाशित : पुस २१, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?