१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेरो कक्षाकोठाको मि-टु

विमति
मनीषा लम्साल

काठमाडौँ — एक ठाउँमा छात्रवृत्तिका लागि आवेदन तयारी गर्दा सिफारिस चाहिनेवाला थियो । एक जना प्राध्यापकले मलाई सहयोग गर्ने बताए । तर, जब आवेदन बुझाएपछि उनले जसरी शुभकामना दिने नाममा अंकमाल गर्दै मेरो कानमा जिब्रो हाले, त्यो व्यवहार मलाई सह्य थिएन ।

मेरो कक्षाकोठाको मि-टु

हाम्रो देशका शैक्षिक संस्थाहरूको हैसियत र हविगतबारेमा धेरैले धेरै कोणबाट बुझेका छन्, लेखेका छन् । म र मेरो साथीले केही दिनअगाडि प्राध्यापकबाट भएको यौन दुव्र्यवहारबारे सार्वजनिक रूपमा लेख्यौं । त्यसबाहेक पनि म उच्च शिक्षा लिने क्रममा मैले गुरु मानेका व्यक्तित्वबाट पटकपटक यौन दुव्र्यवहारमा परेकी छु । मलाई लाग्छ— ती घटनाबारे पनि खुलेर कुरा गर्न त्यत्तिकै जरुरी छ ।

विद्यालय जीवनको १२ वर्षसम्म म कसैसँग खासै नबोल्ने र साथी नबनाउने, घुलमिल नहुने अर्थात् एकलकाँटे स्वभावकी थिएँ । त्यसपछि भने केही साथी बनाएकी थिएँ । तर, जब माथिल्लो तहको पढाइ सुरु भयो, ज्ञान हासिल गर्ने क्रममा हरेक तहमा सुरु भयो दुव्र्यवहार सिलसिला ।

११ कक्षाको परीक्षाको पहिलो दिन मैले मोबाइल बोकेकी थिएँ (जुन नियमअनुसार बोक्न मिल्दैन भनिन्थ्यो ।) एक जना शिक्षक मछेउ आएर ‘यसरी मोबाइल बोक्न मिल्दैन । म राखिदिन्छु, पछि कलेजमा लिन आऊ’ भनेर उपाय सुझाए । उत्तरमा मैले पनि ‘हुन्छ’ भनें । परीक्षा सकेर जब मोबाइल लिन गएँ, ती शिक्षकले एकाएक मलाई भने, ‘सुन त, तिमीलाई मैले आज सपनामा देखेको थिएँ ।’

मैले ‘ए’ मात्रै भनें । उनले फेरि भने, ‘के भन न, नुहाउँदै त्यो पनि, नग्न ।’ म चुपचाप त्यहाँबाट निस्किएँ, हतारिंदै ।

यो सुनेर असहज त भयो तर के गर्ने भन्ने थाहा भएन । किनभने उनी कलेजमा उच्च पदमा थिए । मैले केही केटी साथीहरूलाई यो कुरा भनें । उनीहरू छक्क परे । र, उक्त शिक्षकसँग टाढा बस्ने निर्णय गर्‍यौं । अहिले युवा हुँदा त केही भन्न/गर्न कठिन छ । त्यो बेला त सोच्ने बुद्धि पनि थिएन भन्दा हुन्छ, अपरिपक्व सोच बढी भएको बेला थियो ।

बीए पढ्दाको पहिलो वर्ष कक्षा कार्य गर्दै गर्दा कक्षामै घुम्दै गरेका शिक्षक पछाडिबाट आएर उनको शरीरको तल्लो भाग मेरो शरीरमा घोट्न थाल्छन् । मलाई थाहा हुनासाथ म उनलाई हेर्छु । अनि आँखा छलेर अगाडि जान्छन् । त्यो मेरा लागि र यो घटना सुन्नेहरूका लागि असहज पक्कै थियो । यो सरासर यौन दुव्र्यवहार थियो । कलेजमा काउन्सिलर भएकाले साथीहरू लिएर कम्प्लेन गर्न गएँ । सिकायत गर्‍यौं र भन्यौं— केही कारबाही गर्नुभएन भने उसले भोलि अरूलाई पनि यस्तै गर्नेछ ।

कुनै कारबाही त भएन तर त्यो शिक्षकलाई चेतावनी दिएका छौं भनेर हाम्रो सिकायतलाई सामसुम पारियो । कक्षामा प्राय: सबै केटीहरू थियौं, त्यसैले एकजुट भएरै हिंड्ने निधो गर्‍यौं । फेरि त्यस्तो केही गर्‍यो भने प्रतिरोधमा उत्रने सहमति पनि भयो । लामो समयसम्म बीचमा केही भएको थिएन पनि । त्यसैले लाग्यो— कलेज प्रशासनले पक्कै चेतावनी दिएछ ।

तर, तेस्रो वर्षको अन्त्यतिर एक दिन मेरी एउटी साथीले सुनाइन्, उस्तै कहानी । त्यही शिक्षकले कक्षा चलिरहेकै बेला उसको पैतालाले साथीलाई खुट्टामा मुसार्न भ्याएको रहेछ । यो गम्भीर मामला लिएर हामी फेरि काउन्सिलरकहाँ गयौं । उनले फेरि चेतावनी दिने कुरा गरे, कारबाही गर्ने कुरै गरेनन् ।

अर्को वर्ष कलेज सकिएपछि मात्रै हामीलाई थाहा भयो— तिनै शिक्षकलाई यौन दुव्र्यवहारका कारण ललितपुरको

कुनै एक ठूलै कलेजले निष्कासन गरिसकेको रहेछ ।

आश्चर्य के भने हाम्रा शैक्षिक संस्थाहरू यौन दुव्र्यवहारका कारण कुनै शिक्षक निकालिँदा किन त्यही यथार्थ रूपमा विज्ञप्ति जारी गर्न सक्दैनन् ? किन खुलेर भन्दैनन् ? नयाँ शिक्षक राख्दा उसको आचरणबारे किन खोजीनीति गरिंदैन ?

***

अब एमए सक्दाखेरिको यौन दुव्र्यवहार । त्यो पनि अतिरिक्त ज्ञान आर्जन गर्ने शैक्षिक संस्थाको उपल्लो निकाय त्रिभुवन विश्वविद्यालयभित्रै । विश्वविद्यालयको प्राध्यापक हुनु भनेको ज्ञान हासिल गर्ने बाटो हिँड्दा र त्यसपछि आउने बाधा–व्यवधान छिचोलेर कसरी जीवन बाँच्न सकिन्छ भनेर केही सिकाउन सक्ने व्यक्ति पनि हो जस्तो लाग्छ ।

मलाई एक ठाउँमा छात्रवृत्तिका लागि आवेदन तयारी गर्दा चाहिने सिफारिसपत्रका लागि अनुरोध गर्नैपर्ने भयो । एक जना प्राध्यापकले मलाई सहयोग गर्ने बताए । कसैले ‘सजिलैसँग सहयोग गर्ने’ बताउँदैमा तत्कालै कसैको आचरणमा शंका गर्ने ठाउँ पनि रहन्न । तर, जब आवेदन बुझाएपछि उनले जसरी शुभकामना दिने नाममा अंकमाल गर्दै मेरो कानमा जिब्रो हाले, त्यो व्यवहार मलाई सह्य थिएन । उनको ‘ओहोदाधारी व्यक्तित्व’ लाई जसरी असाध्यै सम्मान गरेकी थिएँ, त्यो धेरै समय टिकेन ।

यहाँ म एक प्रतिनिधि पात्र मात्रै हुँ । शिक्षक र प्राध्यापकका यस्ता निन्दनीय चरित्र अरू धेरै हुन सक्छन् । अझ बाटो हिँड्दा र गाडी चढ्दा आइपर्ने घटनाको बेलिविस्तार लगाएर कहिल्यै सकिंदैन । मैले यो सबै लेखिरहँदा कसले गरेको, नाम किन नभनेको भनेर उल्टै मलाई नै प्रश्न गरिनेछ । अब यो अवस्थामा म कति जना पीडकको नाम भन्दै हिँडौं ? क–कसलाई भन्दै हिँडौं— फलानोले यस्तो गर्‍यो अथवा ढिस्कानोले उस्तो गर्‍यो भनेर ।

नाम भन्न सक्ने सामाजिक वातावरण भइदिएको भए त हाम्रो मन हलुका नै हुने थियो होला । आफूलाई स्वतन्त्र महसुस गरिंदो होला । तर, भनिसकेपछिको परिणाम भोग्दै गर्दा हाम्रो सुरक्षाको प्रत्याभूति राज्यको कुन अंग वा कुन चाहिं बौद्धिक गुटले दिन्छ ? के सरकारले, कानुनले मेरो भौतिक अथवा भावनात्मक सुरक्षाको ग्यारेन्टी गर्न सक्छ ? के पीडकको नाम भन्नु मात्रै समस्याको समाधान हो ? एउटा बालिकाको बलात्कारपछि निर्मम हत्या हुँदा त आँखैअगाडि दोषी लुकाइन्छ भने के सोचेर र देखेर विश्वास गर्ने हामीले ? कसलाई विश्वास गर्ने ?

कसैको व्यवहार र आनीबानी अथवा कसैको ओहोदामा पनि नेपाली समाजको पित्तृसत्तात्मक जरोले बढी प्रभाव राख्ने काम गरेको देखिन्छ । बाहिरी देशका महिलाले जे–जसरी पीडकको नाम सार्वजनिक गरे, हामीले पनि त्यसरी नै घटना बाहिर ल्याउनुपर्छ भनेर दबाब दिनु आफैंमा सह्य र सान्दर्भिक कुरा होइन । महिलाका मुद्दा र सुरक्षाका निमित्त समाज, प्रशासन र सरकार गम्भीर नरहेसम्म एउटा असुरक्षापछि अर्को भय थपिरहनुको अर्थ छैन ।

बरु केही बोल्न सुरु गरेका महिलालाई साथ र हिम्मत दिन सकेमा यसको केही अर्थ भेटिन सक्छ । र, मात्रै धेरै महिलाले आफूमाथि भएको यौन हिंसाबारे बोल्न सक्लान् । र, नेपालमा पनि मि–टु अभियानले गति लिन सक्ला । अन्यथा यो मामलाको निचोडबारे तत्कालै केही भन्न सकिने देखिन्न ।

प्रकाशित : पुस २१, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?