नेपथ्यका नायक

खेल
ए डिभिजन लिग पाँच वर्षपछि सुचारु हुँदा पनि मनाङमस्र्याङ्दी क्लबले उपाधि रक्षा गर्‍यो । करिब दुई करोड रुपैयाँ पुरस्कारको लिगमा मनाङ नाइजेरियाली प्रशिक्षक तोपे फुजाको रणनीतिअनुसार च्याम्पियन भएको हो ।
राजु घिसिङ

काठमाडौँ — ‘टच लाइन’मा उतिसारो देखिएनन् । र, खेलाडीलाई अह्राउने–कराउने गरेको पनि खासै देखिएन । अलि बढी नै शान्त देखिए । ठ्याक्कै यस्तै लाग्ने तोपे अयोडेजी फुजाको दिमाग भने निक्कै चलिरहन्छ, मनाङमस्र्याङदी क्लबको लागि । मनाङ सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमान आठौँपल्ट च्याम्पियन भयो । दुई खेल बाँकी छँदै उपाधि पक्का गरेको मनाङको यस च्याम्पियन यात्राका हिरो हुन् फुजा ।

नेपथ्यका नायक

फुजालाई लागोस (नाइजेरिया) बाट मुख्य प्रशिक्षक भनेर मनाङले काठमाडौं ल्याएको थियो । तर, उनले लिगमा मनाङको टच–लाइन सम्हाल्ने अवसर पाएनन् । मनाङको मुख्य प्रशिक्षक बने, सुमन श्रेष्ठ । पत्रकारहरूको सवाल जवाफ उनले नै दिए । प्रतिद्वन्द्वीमाथि खुलमखुला ‘सेटिङ’को आरोप पनि लगाए । यसमा एन्फा (अखिल नेपाल फुटबल संघ) मुकदर्शक बनिरहँदा उनी लिगकै उत्कृष्ट प्रशिक्षक पनि घोषित भए । मनाङको टचलाइन सम्हाल्ने र पत्रकार सम्मेलनमा बोल्ने बाहेकका सबै रणनीतिक काम भने फुजाले गरे । उनी कागजी रुपमा भने मनाङका सहायक प्रशिक्षकमात्र हुन् ।


असोज १३ मा लिग सुरु भयो । त्यसको एक महिनाअघि काठमाडौं आइपुगेका उनलाई मनाङले खेलाडीसँगै होस्टेलमा बस्न भनेका थिए । तर, उनले मानेनन् । ‘खेलाडीसँगै बसे भने मेरो कुुरा उनीहरूले गम्भीर रुपमा नलिन सक्छन् । त्यसैले बेग्लै बस्ने निर्णय गरे,’ सुन्धाराको एक सामन्य होटलमा बसिरहेका फुजाले भने, ‘खेलाडी र प्रशिक्षकबीच मित्रता हुनुपर्छ र उत्तिकै सम्मानजनक व्यवहार पनि ।’


घाँसरहित लैनचौर मैदानमा भएको मनाङको हरेक प्रशिक्षणमा आउजाउ गर्दा उनलाई विराज महर्जनले बाइकमा ‘लिफ्ट’ दिए । त्यस क्रममा बुझेका उनी विराजलाई धेरै कुटनीतिक मान्छन् । नेपाली राष्ट्रिय टिमका कप्तानको खेलबारे फुजाले भने, ‘सुरुमा विराजले निरन्तर गल्ती गरे । विपक्षीसँग जुध्नै जाँदैनथे । त्यसैमा सुधार गर्न सुझाव दिए । उनले आफूलाई सच्याए । लिग अघि बढ्दै जाँदा उनले राम्रो लय समाते ।’ उनले थपे, ‘विराजले मात्र होइन, हरेक खेलाडीले राम्रो प्रदर्शन गरे । सबैले आ–आफ्ना गल्ती सच्याउँदै गए । त्यसैले त च्याम्पियन भइयो ।’


२०६३ सालको ए डिभिजन लिगमा मछिन्द्रका मुख्य प्रशिक्षक रहेका फुजा गत बर्ष फागुनमा नेपाल घुम्न आएका थिए । उनलाई मनाङले सम्पर्क गरे, प्रस्ताव पनि । उनी यही बसे । उनी मनाङको टिम लिएर माई भ्याली (इलाम), दमक र उदयपुर गोल्डकप पुगे । तीनै प्रतियोगितामा मनाङ उपविजेता भयो । इलाम र उदयपुरको फाइनलमा थ्रीस्टारविरुद्ध हारेको मनाङलाई दमकमा उपाधि चुम्नबाट पुलिसले रोकेको थियो ।


फुजालाई मनाङले लिगको लागि भनेर मुख्य प्रशिक्षक बनाएर ल्याएको थियो । ‘हामी लिग जित्न चाहन्छौँ त्यसको लागि के गर्नुपर्‍यो भनेका थिए,’ क्लब व्यवस्थापनको वाचा स्मरण गर्दै उनले सुनाए, ‘तयारी थाले तर लिग हुन्छ हुन्छ भन्दाभन्दै भएन ।’ उनी अफ्रिका फर्किए । फेरि असोजमा लिग सुरु हुने भयो र उनलाई एक महिनाअघि ल्याइएको थियो ।


अघिल्लो सिजन नकआउट फुटबलमा सर्वाधिक सात उपाधि जितेको थियो, थ्रीस्टारले । त्यसैले उसैलाई लिगमा बलियो मानिएको थियो । मनाङले भने उपाधिविहिन दुर्लभ वर्ष बिताएको थियो । नकआउटमा आर्मी पनि चम्किरहेको थियो । तर, पाँच वर्षपछि ए डिभिजन लिग सुचारु भएपछि बलिया दाबेदार मानिएका थ्रीस्टार र आर्मीलाई पराजित गर्दै मनाङ कीर्तिमान आठौँपल्ट च्याम्पियन भयो ।


उसले १२ खेलसम्म निरन्तर जित हात पारेको थियो । २०४३ र २०४४ सालजस्तै शतप्रतिशत जित सहित च्याम्पियन बन्ने मनाङको सपना भने अन्तिम खेलमा मंगलबार फ्रेन्ड्सले अधुरो बनाइदियो । कमजोर मानिएको फ्रेन्ड्सले मनाङलाई एन्फा कम्प्लेक्समा १–० ले स्तब्ध पारिदियो ।


मनाङको टिममा त्यस्तो के परिवर्तन भयो, जसले उसलाई लिग जित्न गाह्रो भएन ? ‘रणनीतिक (ट्याक्टिकल) र शारीरिक रुपमा मनाङको टिम अनुशासित थिएन । व्यक्तिगत अनुशासनको अभाव पनि थियो । यी तीन पक्षमा थ्रीस्टार बढी अनुशासित थियो र उसले सफलता पनि पायो,’ फुजाले भने, ‘पहिलो दिन नै मैले टिमलाई एक बनाउनुपर्ने आवश्यकता देखेँ । टिमलाई एउटा रुप दिए, टिम बनाएँ । एकताबद्ध गरे । खेलाडीलाई व्यक्तिगत अनुशासन (दिमागी खेल) मा राख्न गाह्रो हुन्छ, त्यो पनि गरे । कसरी खेल्ने भनेर ट्याक्टिकल अनुशासन पनि ल्याइयो । अन्तत: खेलाडीहरूले रणनीतिक, शारीरिक र व्यक्तिगत अनुशासन पछ्याए ।’


त्यसैको प्रभाव हुनसक्छ, लिगको तेस्रो चरणमा थ्रीस्टार विरुद्ध मनाङका सबै खेलाडीले उत्तिकै मिहिनेत गरेका थिए । त्यसपछि उपाधि होडमा एक कदम अघि बढेको मनाङले अरु खेलमा पनि ‘टिम वर्क’लाई कायमै राख्यो । ‘इलाममा सेमिफाइनलमा आर्मीलाई पराजित गर्दा पहिलोपल्ट सबै खेलाडीले मिहिनेत गरेको देखेका थिए फुजाले । त्यसैलाई पछ्याउन उनले निर्देशन दिए । खेलाडीले कोसिस गरिरहे । अभ्यस्त भए । र, जिते पनि ।


प्लेमेकर हेमन

‘धेरै खेलाडीलाई आफ्नो प्रतिभा पनि थाह छैन रहेछ,’ १२ वर्षपछि नेपाली क्लब हेरेका फुजाले भने, ‘पहिला, खेलाडीको बलियो पक्ष र कमजोरी पहिचान गरे । अनि बलियो पक्षमा थप राम्रो गर्ने हौसला दिएं । कमजोरी सच्याउँदै अघि बढ्ने उपायबारे सहकार्य गरेँ ।’ उनले थपे, ‘हेमनमा धेरै प्रतिभा देखे । त्यसैले हाम्रो टिमको केन्द्र बनाएर हेमनलाई प्लेमेकर बनाएँ । उनी चल्यो (राम्रो खेल्यो) भने टिम चल्छ । र, उनले विश्वास गरेजस्तै निक्कै राम्रो खेले ।


फुजाले मिडफिल्डमा खुबै ध्इान दिए । भने, ‘मिडफिल्ड चलायमान हुनुपर्छ । यो खेलभन्दा पनि बढी हो । कहिले, कहाँ, किन ? खेलमा हामीले यी तीनको जवाफ मिडफिल्डमा खोज्नुपर्छ, जसले सफताको आधार तय गर्दछ ।’ उनले आक्रमक मुभको जिम्मेवारी हेमनलाई दिए भने डिफेन्सिभ मिडफिल्डमा विशाल राईलाई खेलाए । चोटसँग संघर्ष गर्दै भएपनि विशालले आत्मविश्वासपूर्वक राम्रो गरेको उनले बताए ।


चोटको पीडा

विंगर सुजल श्रेष्ठ हातको चोटको कारण पहिलो खेलपछि दसौं चरणमामात्र मैदानमा फर्किए । त्यो पनि पूरा ठीक नहुदैं । अर्का विंगर प्रकाश बुढाथोकी मनाङको जर्सी लगाएको पहिलो खेलमै हात फ्याक्चर भएपछि लिगबाट बाहिरिए । । पहिलो खेलपछि डिफेन्डर विमल बस्नेत अस्ट्रेलिया लागे । मनाङलाई समस्या पर्‍यो । मनाङले लिगको लागि ३१ खेलाडी दर्ता गर्‍यो तर उसको च्याम्पियन बन्ने अभियानमा १५–१६ खेलाडीकै बढी भूमिका रह्यो । त्यसबाहेक अरुलाई खेलाउनसक्ने अवस्था फुजाले द्ेखेनन् ।


फुजाले लिगको लागि ४–२–३–१ को संरचना बनाए । तर, खेलाडी अभावमा विपक्षीको रणनीतिलाई प्रभावहिन बनाउन उनले ४–४–२ पनि अपनाए । अगाडि एक्लो फरवार्डको रुपमा ओलावाले (आफिज) लाई खेलाएका उनले भने, ‘कुनै पनि टिमलाई तीन फरवार्डको चुनौती पन्छाउन गाह्रो हुन्छ । त्यसैले अलि अगाडि राखेर ओलावालेलाई सेन्टर फरवार्डको भूमिका दिए । मेरो तीन फरवार्डको आक्रमक खेलमा उनलाई अन्जन विष्ट र एडेलाजा सोमिडेले साथ दिए ।’


सुरुका ६ खेलमा ५ गोल (तीन पेनाल्टीसहित) गरेर अन्जनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसयता भने उनी उस्तै लयमा रहेनन् । ‘सँधै एउटै लयमा खेल्न कहाँ सकिन्छ र,’ प्रशिक्षक फुजाले भने, ‘एडेलाजा पनि सेन्टर फरवार्ड हुन् । तर, सुजल र प्रकाश घाइते भएपछि हामीसँग त्यो पोजिसनमा खेल्ने खेलाडी भएन । त्यसैले उनलाई साइडमा खेलाइएको हो । यसमा पनि उनले राम्रै खेले । आधुनिक फुटबलमा भर्सटाइल खेलाडी नै उपयोगी हुन्छ ।’


मोल्दोभाको एफसी ओलम्पियाबाट युईएफए कपको छनोट खेलेका नाइजेरियाली एडेलाजाले आई–लिग क्लब इस्ट बेंगाल र गोकुलमको अग्रपंक्ति पनि सम्हालेका छन् । उनीसँगै केरलाका डिफेन्डर मुहम्मद आसिफलाई फुजाले नै बोलाएका थिए । ‘आदित्य चौधरी र अनन्त तामाङ मनाङमा आउने कुरा थियो, भएन । त्यसैले आसिफलाई ल्याइएको हो,’ फुजाले भने । मनाङको सेन्टर–ब्याक आसिफ र सुरज बिकेले सम्हाले । दुवैको ‘फुट–वर्क’ कुशल छैन । त्यसैले यी दुईलाई फुजाले ‘बल आयो कि क्लियर गरिहाल्ने’ निर्देशन दिएका थिए । त्यसमा उनीहरू निपूर्ण देखिए ।


गोलकिपर विशाल श्रेष्ठ र राइट–ब्याक कमल श्रेष्ठको प्रदर्शनलाई फुजाले खुलेर प्रशंसा गरे । लेफ्ट–ब्याक विराज महर्जनको सुधारिएको खेलमा सन्तोष जनाए । उनीसँग डिफेन्समा आसिफ, सुरज, मिडफिल्डमा विशालको विकल्प थिएन । कमल र विराजको स्थान प्रवेश कुँवरले लिनसक्छन् । हेमेनको विकल्पमा डोना थापा भिक्टरको स्थानमा पुजन उपरकोटी छन् । तर, लिगमा पुजन स्वस्थ थिएनन् । ओलावालेको विकल्प दीपक राई हुन् । ओलावाले, सुजल, कमल र प्रकाशबिनाको मनाङले थ्रीस्टारलाई २–१ ले हराएको थियो । ‘क्षमताअनुसार खेलाडीलाई उपयोग गर्नुपर्छ,’ फुजाले भने ।


लिगअघि नकआउटका लगातार सात खेलमा थ्रीस्टारले मनाङलाई हराएको थियो । यसबारे फुजाले भने, ‘लिग र नकआउट अलग प्रतियोगिता हुन् । खेल पनि फरक हुन्छ । त्ग्यसैअनुसार खेलाडी छनोट गर्नुपर्छ ।’ एक महिनाको तयारीपछि लिगको उपाधि जित्नेमा ढुक्क रहेको दाबी गर्दै उनले थपे, ‘थ्रीस्टारविरुद्धको जितपछि खेलाडी आत्मविश्वासी भए । तर, सही टिम पाएकोले सही नतिजा निकालेर च्याम्पियन बन्नेमा म पहिलैदेखि विश्वस्त थिए ।’ उनी एएफसी कप २०१९ मा मनाङको टिमलाई पूर्ण रुपमा सम्हाल्न चाहन्छन् ।


उनले टिमको जहाँ कमजोरी थियो, बिदेशी खेलाडी ल्याएर त्यसलाई सुधार गरिदिए । मिडफिल्डमा भिक्टरको प्रभाव राम्रै देखियो भने डिफेन्समा आसिफ र फरवार्ड आफिज त अवार्ड नदिइएपनि लिगकै उत्कृष्टमा पर्छन् । आफिजले थ्रीस्टारका रन्जित धिमाल र आर्मीका भरत खवाससँगै सर्बाधिक सात गोल गरे । ‘ओलावाको घुँडामा समस्या छ तर लिगमा गोल गरे । त्यो नै टिमको लागि महत्वपूर्ण हो । गोल गर्ने क्षमता हेर्दा उनी यो लिगकै उत्कृष्ट फरवार्ड हुन्,’ फुजाले बताए ।

प्रतिभा र स्तर

पुलिसलाई लगातार तीनपल्ट ए डिभिजन लिग च्याम्पियन बनाएका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भन्ने गर्थे, ‘विपक्षीलाई खेल्ने समय र स्थान दिनु हुँदैन ।’ फुजाको फुटबल दर्शन पनि ठ्याक्कै मिल्छ । ‘गोल गर्न पनि बल पाउनुपर्छ । त्यसैले प्रतिद्वन्द्वीलाई खेल्ने बल खेलाउने समय र खेल्ने स्थान दिनु हुँदैन,’ उनले भने, ‘लिगमा धेरै प्रतिद्वन्द्वीले यसैमा गल्ती गरे । प्रतिद्वन्द्वीलाई कहिल्यै खुलेर खेल्नु दिन हुँदैन ।’

सन् २००५ मा मलेसियाको सबाह एफसीमा सहायकको रूपमा प्रशिक्षक करिअर सुरु गरेका फुजाले मछिन्द्र (२००६) पछि भरातमा सिमला योङ, मुम्बई युनाइटेड, मोहम्मडन स्पोर्टिङ, हिन्दुस्तान, टलिगन्ज अग्रगामी, पियरलेस र चेन्नाई एफसीको टिम सम्हालिसकेका छन् । उनले मछिन्द्रको टिम सम्हालेको बेला र पाँच वर्षपछि लिग सुचारु भएको अहिलेको अवस्मा नेपाली फुटबल स्तरमा ठूलै फरक देखेका छन् ।

‘अहिलेका खेलाडीमा धेरै प्रतिभा देखेको छु । तर, खेलको स्तर भने दशकअघिकै राम्रो थियो,’ ४२ वर्षीय उनले भने, ‘निरन्तर लिग सञ्चालन भयो भने मात्रै फुटबलको स्तर वृद्धि हुन्छ र व्यावसायिकता आउँछ । यस्तै आशा गरौं ।’

प्रकाशित : पुस २८, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?