२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अब योग–पर्यटन !

साधना

काठमाडौँ — नेपाल योगका लागि जन्मभूमि हो । तैपनि हामीले आफूभित्र चिनाउन र समाजमा यसको प्रवाभ फैलाउन पनि सकेनौं । र, यसलाई विश्व बजारमा लैजान पनि सकेनौं । २०३६ तिरै मलाई के लाग्यो भने माघ १ गतेलाई योग दिवस मनाउनुपर्छ । मकर संक्रान्ति अथवा जनवरी १४ लाई विश्व योग दिवस भनेर पाल्पाबाट मैले मनाउन सुरु गरेँ । 

अब योग–पर्यटन !

नेपालका धेरै प्रधानमन्त्रीहरूलाई माघ १ गतेलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लैजान आग्रह गर्‍यौं । कसैले यसलाई मतलब गरेनन् । तैपनि आफ्नै किसिमले माघ १ लाई राष्ट्रिय योग दिवसको रूपमा मनाइरह्यौं । हामीले जे सक्थ्यौं, त्यो गरिरह्यौं ।

चार वर्षअगाडि भारतमा नरेन्द्र मोदी सरकारमा आए । उनले जुन २१ लाई विश्व योग दिवस मनाउनका लागि प्रस्ताव लिएर राष्ट्रसंघमा गए । योग विश्वभर फैलिएको छ, योग मार्फत विश्वभर आफ्नो गौरव बढाउने कुरा मोदीले बुझे । यो एउटा साझा विन्दु हुन सक्छ भनेर उनी प्रस्ताव लिएर गए । पहिलो विश्व योग दिवस मनाउन भारतले दिल्लीमा मात्रै तीन करोड खर्च गरेको थियो ।

मोदीले प्रस्ताव पेस गर्ने बेला नेपालमा सार्क बैठक थियो । हामीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई २१ जुन योगको दृष्टिले कुनै महत्त्वपूर्ण दिन होइन । माघ १ गते महत्त्वपूर्ण दिन हो भनेर सम्झायौं तर सुनुवाइ गर्नुभएन ।

मकर संक्रान्ति उत्तरयानको पहिलो दिन हो । आध्यामिक, सांस्कृतिक, बहुभाषिक, बहुसास्कृतिक दृष्टिले पनि यो महत्त्वपूर्ण दिन थियो । हाम्रो प्रस्तावमा विश्व योग दिवस मनाउने साख त गुम्यो नै । अब राष्ट्रिय रूपमा भए पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवस कायम गर्न शान्ति मन्त्रालयलाई अनुरोध गर्‍यौं । यो अनुरोधलाई मन्त्रालयले भने स्वीकार गर्‍यो । तत्कालीन शान्तिमन्त्री नरहरि आचार्यको प्रस्तावमा सरकारले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन स्वीकृति दिएको हो ।

योगलाई कसरी विस्तार गर्ने भन्नेमा सरकारको कुनै चासो छैन । वर्षमा एक दिन शिक्षा मन्त्रालयको संयोजनमा कार्यक्रम हुन्छ । बिहान प्रभातफेरी हुन्छ, सकिन्छ । दिवसको घोषणा गरेर नेपालको पहिचानलाई अघि बढाउनुपर्छ भनेर बनाएको योग पञ्चाङ्ग पात्रोलाई पञ्चाङ्ग निर्णायक समितिले अझै स्वीकृत गरेको छैन ।

नेपाली समाजको इतिहासमा तीनवटा सभ्यता पाइन्छ । शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता । शिव सभ्यता हिमालमा जन्मियो । बिस्तारै उत्तरमा चीनतिर र दक्षिणमा भारत हँुदै विश्वभर फैलिँदै गयो । जनक सभ्यता मिथिला सभ्यताको रूपमा जनकपुरमा जन्मियो । र, मिथिलाको रूपमा विश्वभर चिनिन्छ । बुद्ध सभ्यता लुम्बिनीमा जन्मियो । र, विश्वभर फैलियो । यी तीन नेपालका मौलिक सभ्यता हुन् ।

शैव सभ्यता नै विश्वको पहिलो सभ्यता हो । यसमा योग र तन्त्र जोडिएको छ । नेपालमा योग जन्मेको हो कि होइन भनेर बुझ्न ‘शिलालेखमा कहाँ छ ?’ भनेर देखाउन सकिने स्थिति छैन । योग जन्मेको त्यो आदिमकाललाई शिलालेखमा खोज्न सक्तैनौं । हामीले त्यो बेलाको लोक आख्यानलाई आधार मानेर धेरै कुरा खोज्ने हो । शिव अर्थात् शैव सभ्यता हिमालय क्षेत्रमा जन्मिएको हो । विश्वको अग्ला १० हिमालयमध्ये ८ नेपालमै छन् । धेरैमा सैंबलाई धर्मको दृष्टिकोणले मात्रै हेर्ने बानी परेको छ । खासमा यो सभ्यता हो । यो योगको आदिम सभ्यता थियो ।

योगलाई दुई किसिमले मात्रै हामीले बुझेका छौं । एउटा योग पश्चिमा देशले बुझेको र अर्को योगको मौलिक रूपमा बुझिने योग । पश्चिमाले योगको आसन मात्रै बुझेको छ । आसन योगको सानो हिस्सा मात्रै हो । योग एउटा सर्वांगिण जीवन पद्धति हो । हरेक मान्छेभित्रको सम्पूर्ण सम्भावनालाई उजागर गर्ने कार्य योग हो ।

विश्वको स्वास्थ्य बजारले योगलाई नै स्वस्थ जीवनको मूलतत्त्व मानेको छ । रोग लाग्नै नदिने, उपचार गर्न र सुन्दर देखिन योगको प्रयोग गरेको छ । जीवनशैली राम्रो बनाउन योगलाई उत्तम उपाय मानेको छ । हरेक देशका आफ्ना मौलिक व्यायाम पद्धति छन् । शरीर, प्राण र चेतनालाई एकै पटक व्यायाम गर्ने पद्धति योग हो ।

विश्वमा सबैभन्दा बढी ध्यानको विधितन्त्र भैरवतन्त्र हो । यसमा १ सय १२ वटा ध्यान विधि छन् । यी शिव–पार्वतीको संवादमा आएका ध्यान–विधि हुन् । पछिल्लो कालखण्डमा योगको सबैभन्दा राम्रो गन्थ्रको रूपमा पतञ्जली योग–सूत्र भनिन्छ । यसमा दार्शनिक विषय धेरै छन् । तर, प्रायोगिक र अभ्यासका कुरा हेर्दा गोरखनाथ हो । गोरखनाथको उपस्थिति नेपालकै सेरोफेरोमा सीमित छ । धेरैले गोरखनाथलाई राजा पृथ्वीनारायण शाहलाई आशीर्वाद दिने गुरुका रूपमा मात्रै लगेर बाँधेका छन् । गोरखनाथले योगको अभ्यासका लागि जति कुरा दिनुभयो, संसारमा अरू कसैले दिएको छैन । गोरखनाथ नेपालको हो, उसले दिएको योग विश्वविख्यात छ भनेर कहिल्यै पनि भनेनौं ।

हाम्रो विश्वविद्यालयमा इतिहास विभाग छ । त्यो विभागमा के भेट्नुहुन्छ ? केवल नेपालका राजा–महाराजाबारे गुनगान गरिएका शास्त्र मात्रै भेटिन्छ । नेपालको स्वास्थ्यको इतिहास ख्वै, विज्ञान, संस्कृतिको इतिहास ख्वै ? योगको इतिहास ख्वै ? सिंहदरबारमा स्थापना गरिएको वैद्यखाना मल्लकालीन हो । यो संसारकै सबैभन्दा पुरानो आयुर्वेद खाना हो । यसको इतिहास कहाँ छ ? चन्द्रनिघण्टुबारे सोधखोज कहाँ भएको छ ?

अब विश्वमा लडेर शक्तिशाली हुने दिन गयो । सभ्यता, सस्कृति र भाषालाई विश्वले आत्मसात् गरेमा मात्रै शक्तिशाली हुने हो । सरकारले नै नीतिगत रूपमा योगलाई प्रवद्र्धन गर्नुपर्छ । अहिले ‘योग पर्यटन’ चलेको छ । नेपालमा हरेक वर्ष ५ हजार पर्यटक योगका लागि मात्रै आउँछन् । नेपालमा योगलाई औपचारिक पढाइको रूपमा पाठ्यक्रममा हाल्नुपर्छ ।

(योग साधक तथा प्राकृतिक चिकित्सक पोखरेलसँग होम कार्कीले गरेको कुराकानी आधारित)

प्रकाशित : पुस २८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?