२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हामीलाई कस्तो शिक्षा ?

समीक्षा
‘सिकाउने शैली’ लेखक खगराज बरालको सबैभन्दा नयाँ किताब हो । यो संस्मरणात्मक शैलीमा लेखिएको छ ।
डा. जयराज आचार्य

काठमाडौँ — बहालवाला शिक्षा सचिव खगराज बराल शिक्षा क्षेत्रमा चुर्लुम्म डुबेको व्यक्ति हुन् । प्रधानाध्यापककै छोरा । शिक्षाशास्त्र नै पढी स्नातकोत्तर । विसं २०४८ सालदेखि शिक्षाक्षेत्रमै काम गरिरहेका । उहाँले शिक्षा विषयमा व्यावहारिक अनुभवका आधारमा सयभन्दा बढी लेख र आधा दर्जन किताबहरू पनि लेखेका छन् । 

हामीलाई कस्तो शिक्षा ?

सिकाउने शैली (सांग्रिला बुक्स, २०७५) बरालको सबैभन्दा नयाँ किताब हो । यो संस्मरणात्मक शैलीमा लेखिएको छ । त्यसैले यो मीठो छ । पढ्दा कत्ति पनि बोर लाग्दैन । यस किताबमा जुनजुन कुराको चर्चा भएको छ, त्यसले नेपालको विद्यालयीय शिक्षाको चुनौतीपूर्ण अवस्थाका विविध पक्षलाई मार्मिक ढंगले उजागर गरेको छ । कथात्मक रूपमा नीति पढाउन सकिन्छ भन्ने कुराको राम्रो उदाहरण हितोपदेश हो । भनिएको छ ‘कथाच्छलेन बालानां नीतिस्तदिह कथ्यते’ । त्यसमा काग, कछुवा, मृग र मुसाको कथाको माध्यमबाट राजनीति र कूटनीति पढाइएको छ ।

मैले पढेको बरालको अर्को किताब शिक्षा र सिकाइ : सन्दर्भ विदेशको, प्रसंग नेपालको (सोपान, २०७४) हो । त्यो किताब उहाँले विदेशमा देखेका शिक्षा प्रणालीहरूको बारेमा छ । त्यसमा चीन, जापान, दक्षिण कोरिया, मलेसिया, श्रीलंका, संयुक्त अधिराज्य (बेलायत) मा देखिएका, उपयोगी र नेपालले सिक्नुपर्ने कुरा छन् । नेपाल सरकारका धेरै कर्मचारीहरूले विदेश भ्रमणको अवसरलाई त्यसरी सदुपयोग गरेको मलाई थाहा छैन ।


प्रस्तुत किताबमा बरालले तराई, पहाड र हिमाली जिल्लामा काम गर्दा गरेका अनुभवलाई उपयोगी ढंगले प्रस्तुत गरेका छन् । किताबमा दुई पेजदेखि चौबीस पेजसम्मका लामा–छोटा अध्याय छन् । पहिलो अध्याय बुलिङ (बुलिइङ) झन् मार्मिक छ । हामी धेरैले सानो छँदा विद्यालयमा आफूभन्दा अलि ठूला र बलिया साथीहरूबाट भोगेका दुव्र्यवहारका स्मृतिहरूलाई यसले ताजा बनाउँछ । यस अध्यायले उठाएको नीतिगत प्रश्न के हो भने यस समस्यालाई कसरी समाधान गर्ने ? यो विश्वव्यापी समस्या हो । केटाहरू मात्र होइन, केटीहरू पनि कमजोर साथी अथवा जुनियरलाई कक्षामा, बसमा, खेल मैदानमा दुव्र्यवहार गर्छन् । ‘एलिनोर यान्ड् किम’ भन्ने प्रसिद्ध अमेरिकी उपन्यासमा यो विषय आएको छ ।


नेपालको उच्च शिक्षामा पनि धेरै चुनौती र विसंगति छन् । तर, बरालको यो किताब हाइस्कुल (उच्च माध्यमिक) सम्मको शिक्षा बारेमा केन्द्रित छ । यस किताबमा बहुदलीय व्यवस्था पुनर्बहाल भएपछिका दशकहरूमा नेपाल सरकारले शिक्षाक्षेत्रमा चालेका कदमहरू र तिनको कार्यान्वयन पक्षमा देखिएका चुनौती र अनुभवहरूको विशद वर्णन छ ।


नेपाल सरकारले विद्यालयका शिक्षकहरूका लागि धेरै प्रशिक्षण (तालिम) कार्यक्रम पनि चलाएको छ । अधिकांश शिक्षकले प्रशिक्षण पाएका छन् । लामो समय शिक्षा क्षेत्रमा काम गरेका बराल स्वयं नै केही वर्ष प्रशिक्षक पनि हुनुहुन्थ्यो । बरालको यो किताब पढेपछि थाहा हुन्छ, प्रशिक्षण प्राप्त गरेका शिक्षकले प्रशिक्षणको सदुपयोग गरेका उदाहरण कमै छन् । फलत: नेपालका सरकारी विद्यालयहरूमा गुणस्तर धेरै उठ्न सकेको छैन किनकि प्राशिक्षण औपचारिकतामा मात्र सीमित भयो र शिक्षकहरूको आफ्नो योग्यता पनि कमजोर रह्यो । उदाहरणका लागि, यस किताबमा भएको ‘तालिमप्रतिको मनोवृत्ति’ भन्ने अध्याय मार्मिक छ । यस्तै कुराले किताब धेरै रुचिकर बनाएको छ । बझाङको अनुभव उस्तै रुचिकर छ । एसएलसीको परीक्षाफल निस्केपछि कतिपय विद्यार्थीहरूले असफलता वा गलत परीक्षाफलका कारण आत्महत्यासम्म गरेका कुरा छन् । त्यो पढ्दा त आँखाबाट आँसु नै आउँछ ।


‘अङ्ग्रेजी पढ्ने रहर’ भन्ने अध्याय यस किताबको सबैभन्दा लामो (चौबीस पेजको) अध्याय हो । चीन, जापान, कोरिया, मलेसिया, सिंगापुरमा अङ्ग्रेजीलाई प्राथमिकतामा राखी पढाइएको चर्चा छ । नेपालको देवघाट धाममा रहेका महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेदवेदांग आवासीय विद्यालय गलेश्वर आश्रमको अवलोकनका क्रममा संस्कृत पढिरहेको एक जना ६ कक्षाको विद्यार्थीले बरालको ‘के भएहुन्थ्यो’ भन्ने प्रश्नको उत्तर दिँदै भने, ‘मलाई यहाँ अङ्ग्रेजी विषयको पढाइ पनि भइदिएहुन्थ्यो जस्तो लागेको छ ।’


बरालको यस किताबको अन्तिम अध्याय ‘मेहनती स्कुल’ पनि लामो छ (अठार पेजको) । यस अध्यायमा नेपालका केही दुर्गम जिल्लामा खोलिएका तर राम्ररी नचलेका व्यावसायिक विद्यालयको चर्चा पढ्दा दु:ख लाग्छ । तर, मधुरेण समापयेत् भनेझैं मीठो चर्चा छ सुर्खेतको जनज्योति माध्यमिक विद्यालयको । यस विद्यालयको बारेमा लेखिएको कुरा (पेज २२४ देखि २४१ सम्म) त नेपालका शिक्षाविद् भन्नेहरूले र विकासको नारा कराएर नथाक्ने नेताहरूले पढ्नैपर्छ ।

जनज्योति माध्यमिक विद्यालय क्रमिक रूपमा प्राथमिक (२०२९), निम्नमाध्यमिक (२०३९), माध्यमिक (२०४८) र उच्चमाध्यमिक (२०६६) बनेको हो । त्यहाँ अहिले वरपरको जनताको जीवनसित सम्बन्धित कृषि, पशुपालन विषयमा जेटीएसम्मको पढाइ हुन्छ । विद्यालयले आफ्नो जग्गामा खेती गरेको छ, फलफूल लगाएको छ, बंगुर, बाख्रा पालेको छ, गाईपालन सुरु गरिएको छ, पोखरी बनाएर माछापालन गरेको छ, विभिन्न बोटहरू हुर्काएर जडीबुटी उत्पादन गरेको छ । विद्यालयका जग्गामा मौसमअनुसारका बाली झुलेका हुन्छन्, फलफूल फलेका हुन्छन् । लेमन ग्रास, कपूरजस्ता जडीबुटीका बोटबाट तेल निकालेर बिक्री वितरण गरिएको छ । विद्यार्थीले आफूलाई पढाइका साथसाथै खेतीबाली, माछापालन, गाईपालन, मौरीपालन, बाख्रापालन आदिको व्यावहारिक सिकाइमा व्यस्त बनाएका छन् । यो पढ्दा त युरोप वा अमेरिकाको कुनै नमुना विद्यालयको बारेमा पढेजस्तो लाग्छ । ठाउँ र आवश्यकताअनुसारको शिक्षा चाहिने हो । देशैभरि यस्तो भइदिए युवाहरूले कमाउनको लागि मुग्लान भासिनुपर्ने थिएन ।


त्यसकारण मलाई लाग्छ, सामान्यतया प्राथमिक तहमा आधारभूत नैतिक या चारित्रिक शिक्षा चाहिन्छ । माध्यमिक तहमा आधारभूत भाषा, गणित र विज्ञानमा केन्द्रित हुनुपर्छ । उच्च माध्यमिक तहमा जीवनोपयोगी व्यावसायिक शिक्षा दिनुपर्छ । जुनजुन विद्यार्थी त्यसभन्दा माथि जान सक्ने क्षमता राख्छन् तिनलाई थप व्यवस्थापन, विज्ञान र मानविकी तथा समाजशास्त्र पढाउन पर्छ । इन्जिनियरिङ, मेडिसिन पढ्न जानेहरूमा विशिष्ट योग्यता र क्षमता चाहिन्छ । कडा प्रवेश–परीक्षामार्फत तिनको छनोट हुन सक्छ । स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा अनुसन्धानात्मक पढाइ हुनुपर्छ । नेपालका लागि चाहिने शिक्षा त्यस्तो हो ।

प्रकाशित : पुस २८, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?