३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

ढल्दै छ मकवानपुर गढी 

फोटो

काठमाडौँ — पाल्पाका राजा मुकुन्द सेनले आफ्ना चार छोरालाई राज्य बाँडेका थिए, मकवानपुरचाहिँ कान्छा छोरा लुहाङ् सेनको भागमा परेको थियो । आफ्नो राज्यलाई सुरक्षित गराउन उनै लुहाङ्ले संवत् १६२२ मा मकवानपुरमा ‘गढी’ बनाएको भन्ने भनाइ रहिआएको छ ।

ढल्दै छ मकवानपुर गढी 

नुवाकोटमा विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले संवत् १८१९ मा मकवानपुरलाई पनि आफ्नो राज्यमा गाभ्न सफल भए । त्यसबेला मकवानपुरमा दिग्बन्धन सेनले राज गरिरहेका थिए । युद्ध हारेको झोँकमा पृथ्वीनारायण शाहसँग बदला लिन राजा दिगबन्धन सेन आफ्नो मन्त्री कनकसिंह बानियाँलाई लिएर बंगालका नबाब मीर कासिम अलीसँग सहयोग माग्न पुगेका थिए । नबाब अलीको सहयोगमा २ हजार लडाकु र १ हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा १८१९ (माघ १०) मा आक्रमण भएको थियो । गढी उक्लने क्रममा सिकरकटेरीमा रातभर लडाइँ भएपछि नबाब फौज पराजित भएको थियो ।

मकवानपुर गढी हेटौंडाबाट १७ किमि उत्तर–पूर्वमा पर्छ । नेपाल एकीकरणको इतिहासमा जोडिएको मकवानपुर गढी अहिले पनि संरक्षण–संवद्र्धन कुरेर बसिरहेको अवस्थामा छ । सेन इतिहासको महत्त्वपूर्ण कालखण्डलाई आफ्नो गर्भमा राखेर बसेको मूलगढी र सानो गढी नेपालमा भएका गढीमध्ये सम्भवत: सबैभन्दा ठूलो हो । गढी सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र ७ फिट चौडाइ भएको पर्खाल लगाइएको छ, गढीभित्र १० फिट गहिरो खाडल बनाइएको छ । गढीभित्र भगवान् श्रीकृष्णको वत्सगोपाल मन्दिर छ भने अर्को सानो शिव मन्दिर पनि छ । दरबारहरूको बाँकी ठडिएको पर्खाल पनि जीर्णकाय छ । मकवानपुर गढी भोलिका सन्ततिका लागि नेपालको इतिहास र संस्कृति पढ्ने मात्रै होइन, हेरेर इतिहासमा गौरवबोध गर्न सकिने थलो समेत हो । यो इतिहासको संरक्षण–संवद्र्धन गर्न र सरोकार राख्नमा निकै ढिलाइ भइसकेको छ ।












प्रकाशित : पुस २८, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?