१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जो नहुँदा पनि सँगै छन्

पात्र
मदनमणि माड्सापको कठोर सर्त थियो– पहिले बिन्तीपत्र लेखेर माफी माग, त्यसपछि विचार गरुँला ।

काठमाडौँ — जीवनभर जो निमुखा भुइँमानिसका बोली थिए, भर्खरै तिनले सदाका लागि बोली बिसाए । जो गरिखाने जनका आँखाका नानी र ठगीखाने जीवात्का आँखाका कसिंगर थिए, तिनले फेरि कहिल्यै नखुल्ने गरी आँखा चिम्ले । र, कृतज्ञताभावले नतमस्तक हुँदै उदास मुद्रामा हामीले भन्यौँ— श्यामप्रसाद अब सशरीर हामीमाझ रहेनन् ।

जो नहुँदा पनि सँगै छन्

बरा यो लेखको आफ्नै दु:खद कथा छ । कुरा त्यस्तै डेढ वर्षअघिको हो । यो नरलोकमा कोही थिए, जो सदाका लागि अलप भए । जो दृष्टिबाट हराए भए, ती मेरो जीवनमा धेरै थोक थिए । लगत्तै ‘कोसेली’ का पुरुषोत्तम सुवेदीको खटन आयो— बूढाबारे केही लेखिपाऊँ न दा । सुवेदी ब्रोको खटन मानेर आदरभाव र शोकमिश्रित मुद्रामा यसो केही लेख्न बसेँ म । पाँच–सात सय शब्द लेखिनु के थियो ज्यानमा हठात् ऐय्याआत्थो सुरु भयो । र, म गंगालाल अस्पतालको शरण पर्न विवश भएँ । लेख अधुरै रह्यो । र, दैनन्दिनका नानाओली झैझमेलाहरूमाझ यो विस्मृत भयो । अहिले झल्यास्स सम्झना हुँदा केही थपथाप गरी यो दुखिया गनथन यहाँ प्रस्तुत छ । यो लेखका सहृदयी प्रेरक पुसु ब्रोलाई धन्यवाद नदिनु ठूलै बैगुन हुनेछ ।

***


जीवनभर जो निमुखा भुइँमानिसका बोली थिए, भर्खरै तिनले सदाका लागि बोली बिसाए । जो गरिखाने जनका आँखाका नानी र ठगीखाने जीवात्का आँखाका कसिंगर थिए, तिनले फेरि कहिल्यै नखुल्ने गरी आँखा चिम्ले । तिनका सोच्ने मस्तिष्क, बोल्ने जिब्रो र लेख्ने हातले सधैँका लागि विश्राम लिए । र, कृतज्ञताभावले नतमस्तक हुँदै उदास मुद्रामा हामीले भन्यौँ— श्यामप्रसाद अब सशरीर हामीमाझ रहेनन् † उनी अब केवल आफ्ना कृतिहरूको आलोकमा र हाम्रा स्मृतिहरूका पत्रमा जीवित छन् । माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी र मदनमणि दीक्षित आयुका हिसाबले असामान्य मानव हुन् । यी त्रिमूर्ति लोकलाई चकित तुल्याउँदै अपवादजन्य आयु भोग गरिरहेका छन् । सामान्यजनका लागि अठासी वर्षको आयु यथेष्ट हो । श्यामप्रसादले अठासीको खुट्किलो टेकेर पार्किन्सनपीडित जीवन त्याग गरे । तथ्यलाई सिरानी हालेर मस्त मुद्रामा सुत्ने कतिपय सञ्चार माध्यमले १० वर्ष थपेर श्यामजीलाई ९८ वर्षको आयु प्रदान गरे । कुम्भकर्णका यी निष्णात उत्तराधिकारीहरूको फर्माएसी उदारता स्तुत्य छ !

***


धरती स्पर्श गरेको साल संवत् १९८६, ठाउँ ललितपुरको सोलीथुम । गरिबी विकराल थियो । खानका दु:खले बा जोगनाथ कुम्ला–कुटुरा बोकेर वीरगन्ज झरे । आमा हुतकुमारीको काखमा पाँच वर्षका बालक थिए । ती हुन्, यिनै प्रिय श्यामप्रसाद । यी भोका आत्माहरू एकबारको जुनीको प्राण धान्न बहादुरशमशेरको मौजाको शरण गरे । भाबर गर्मी वीरगन्ज, त्यो पनि उबेलाको । अनिकालले गलेकी आमा हुतकुमारीलाई केही वर्षमै औलोले निल्यो । श्यामप्रसादले कखरा बासँग घरमै सिके । अनि अलि दिन भाषा पाठशालामा पढे पनि । जब बाले पनि आमाकै बाटो समाए तब सुरु भयो किशोर बयका श्यामप्रसादको अस्तित्वको कठोर संघर्ष । मनमा पढ्ने उपद्रो धोको थियो । जगत्का जटिलताहरू बुझ्न ज्ञानको तीव्र तृष्णा थियो । त्यसैले होला सायद तन्नम श्यामप्रसादले पुस्तक–पत्रिकाको धन्दा सुरु गरे । वीरगन्ज–अमलेखगन्ज रेलमा हकरी कर्म गर्दै उनले पुस्तक–पत्रिका बेचे । चुनदाम जोड्न ट्युसन पढाए । निरक्षरहरूका चिठ्ठी लेखिदिए र चिठ्ठी पढिदिए । अनि सानाकाँटीका श्यामप्रसादले सानै काँटीको पुस्तक पसल खोले । पसलको नाम सायद सुविचारित थियो— सेवा सदन । त्यसमा सायद उनका जीवनको प्रयोजन प्रतिविम्बित थियो— सेवा । उनी पारि रक्सौलबाट उधारोमा पुस्तक–पत्रिका ल्याउँथे । कहिले टिनका थोत्रा बाकसमा, कहिले जुटका झुत्रा बोरामा । पसलको देखाउने दाँत एउटा थियो, खाने दाँत अर्कै थियो । बाहिरी तहमा धार्मिक, जासुसी र कोकाशास्त्रीय पुस्तक राखिन्थे, भित्री तहमा दार्शनिक र राजनीतिक पुस्तक । त्यहाँ भूमिगत तहमा राहुल सांस्कृत्यायन, यशपाल आदि लुकिबसेका हुन्थे । दु:खजिलो गरी दुई–चार पैसा बचाएर श्यामप्रसाद त्रिजुद्ध हाइस्कुलमा भर्ना भए । उमेर थियो १५ वर्ष, पढ्ने कक्षा ५ मा ।


पुस्तकझैँ श्यामप्रसादका साथी पनि दुईथरी थिए । देखाउने साथी र लुकाउने साथी । लुकाउने साथीमा एक जना थिए धनुषचन्द्र गौतम । श्याम राजनीतिका गुरु, धच उनका चेला । ती मिलनसार जोडा पसलभित्र लुकेर वागी पुस्तक पढ्थे, साउतीको भाकामा राजनीतिक बात मार्थे । सार्वजनिक जीवनको थालनी कालमा श्यामप्रसाद कांग्रेसी राजनीतिका आज्ञाकारी शिष्य थिए । म जन्मेको सालमा अन्धकारको आवरणमा लुकेर श्यामप्रसादले वीरगन्ज नगरीभरि पर्चा छरे । कल्पना गर्दैमा आङ सिरिंग हुने राणा शासनविरोधी अग्निवर्षी पर्चा † पर्चाको हुंकारले वीरगन्जको घातक सन्नाटा भंग भयो र सहरैभरि सन्सनीका उत्ताल तरंगहरू उठे । यता म आमाको काखमा च्याँच्याँ रुँदै थिएँ, उता श्यामप्रसाद पर्चामा निरंकुशतन्त्र मुर्दावाद भन्दै थिए । मान्छे साना, उमेर सानो, सम्पर्क भने बडेबडे हस्तीहरूसँग । किसुनजीसँग, सूर्यप्रसाद, सुवर्ण र गणेशमानसँग । तिनकै प्रेरणा र आह्वानमा अत्याचारी राणा शासनलाई ढाल्न श्यामप्रसाद सत्याग्रहमा डटे । उनी पक्राउ परे, छुटे । फेरि पक्राउ परे, फेरि छुटे । भित्र र बाहिरको यो क्रम श्वास–प्रश्वासझैँ नित्य चलिरह्यो । राणशाही जेलमा तातो समयका एक से एक वागीहरू भेटिए । कवि युद्धप्रसाद मिश्र र गोपालप्रसाद रिमाल, धर्मरत्न यमि र सूर्यबहादुर भारद्वाज, र अलिपछि झर्झराउँदा तरुण कामरेड पुष्पलाल । ‘दिल्ली सम्झौता धोका हो’ को लाल तुमुल ध्वनिले कांग्रेसप्रति श्यामप्रसादको मोह टुटायो । र, उनी झ्याप्पै लाल वाम बने । संसारका मजदुरहरू एक होऔँ ! लाल क्रान्ति गरौँ, सत्ता खोसौँ, संसार फेरौँ ! बस्, यिनै सूत्रहरूको आवेगी लयमा बग्दै श्यामप्रसाद जौडे लाल वाम बन्दै गए ।


श्यामप्रसादमा गरिबीको अभिशापले अधुरै छुटेको औपचारिक पठनको अदम्य तृष्णा छँदै थियो । कम्तीमा पनि जिन्दगीमा म्याट्रिक त गरूँ— यो थियो आफ्नै छायाले झैँ उनलाई पछ्याइरहने एउटा धोको । त्रिजुद्ध हाइस्कुलमा उनले विन्ती बिसाए— सर, म्याट्रिक गर्न म पुन: भर्ना हुन पाऊँ । हेड मास्टरको उच्च आसनमा मान्यवर मदनमणि दीक्षित थिए । उसै त दीक्षित, त्यसमाथि ऊबेलाका † मदनमणि माड्सापले कठोर सर्त राखे— पहिले बिन्तीपत्र लेखेर माफी माग्, त्यसपछि विचार गरुँला । यो राणाविरोधी पर्चा र सत्याग्रहको कसुरबापतको माफी थियो । श्यामप्रसाद झुकेनन्, मदनमणि माड्सापले कृपा गरेनन् । खिन्न श्यामप्रसाद म्याट्रिकको घायल सपना अघि लगाएर सीमापारि मोतीहारीको शरण परे । तर, उनको सपना गरिबीको दुश्चक्रमा परी उडायो सपना सबै हुरीले भनेभैँm भयो ।

विचार प्रचारको प्रगाढ मोहले श्यामप्रसाद पत्रिकाहरूका सम्पादक बने । प्राय: उनका पत्रिकाको ध्वनिमा समाज सुधारको गुञ्जन हुन्थ्यो र अन्तर्यमा हुन्थ्यो क्रान्तिचेतको सम्प्रेषणको तीव्र आकांक्षा । कालक्रममा संगठन कर्म उनको दिनचर्याको अभिन्न अंग बन्यो । इतिहास भन्छ— विनयी, मृदुभाषी, मितभाषी र जुधारु श्यामप्रसादका कर्णप्रिय राजनीतक वचनहरूमा प्रभावकारिताको विछट्टको जादु थियो ।

***


श्यामप्रसादको जीवन चिन्तन, सिर्जना र संघर्षको नागबेली यात्रा हो । यो दीर्घ यात्राका अनेक उकाली र ओराली छन्, दृश्यमान् र अदृश्य अवस्था छन्, जय र पराजय छन्, अडान र विचलन छन्, गति र विराम छन् । कुरा २००४ सालको हो । भनिसकेँ, म वर्ष दिनको कलिलो मुना छँदा अठाह्र वर्षका श्यामप्रसाद राणा शासनविरोधी सत्याग्रहमा सामेल भएका थिए । उनको तन्नेरी जोस र उमंगले भरिपूर्ण हातले सत्य र न्यायको सुन्दर ध्वजा बोकेको थियो । श्यामप्रसादको ‘थुनुवाको डायरी’ यस तथ्यको जीवन्त प्रमाण हो । पछि वृद्ध श्यामप्रसाद ६२/६३ सालको शाही फौजी ताण्डवको प्रतिकारमा पनि सानका साथ खडा भए । इतिहासको फड्के किनारमा देखिजान्ने साक्षी हामी छौँ ।

***


विक्रमाब्दको बीसको दशकमा आशाका पखेटा चालेर उज्यालोको खोजीमा म काठमाडौँ आएँ । त्यो बेलासम्म श्यामप्रसाद कुन चराको नाम हो मलाई थाहा थिएन । वाम झुकाव र साहित्यको चाखले डोर्‍याएर मलाई भावनी घिमिरे, गोविन्द भट्ट, शान्तदास मानन्धर, जनकप्रसाद हुमागाईँ र टीआर विश्वकर्माका समीपमा पुर्‍याए । र, यिनै महानुभवका मुखारविन्दबाट मैले श्यामप्रसादको नाम सुनेँ । भवानी दाइ श्यामप्रसादको उतिविधि चर्चा गर्दैनथे । भट्ट, मानन्धर, हुमागाईं र विश्वकर्माका जिब्राका टुप्पामा श्यामप्रसाद सधैँ झुन्डिएका हुन्थे । तिनले ‘श्यामजी’ भनेर बडो आदरभावका साथ उनलाई पुकार्थे । यही बेला मेरो प्रगतिशील पाठशाला सुरु भयो । श्यामप्रसाद मेरा अदृश्य गुरु बने, र उनका कृतिहरू बने मेरा दृश्यमान् गृहकार्यहरू । मैले श्यामजीका चारवटा पुस्तक पढेँ । ‘बहिनीलाई चिठ्ठी’, ‘लेखक कसरी बन्ने ?’, ‘साहित्यसम्बन्धी दुई–चार कुरा’ र ‘तँ, तिमी, तपाईं, हजूर’ । श्यामजीका मैले पहिले पढेका पुस्तक पनि यिनै हुन्, मेरो चित्तको भित्तोमा दीघो छाप पार्ने उनका पुस्तक पनि यिनै हुन् । वास्तवमा यी चारवटा पुस्तक मेरालागि श्यामजीको नामकै पर्याय हुन् भने पनि हुन्छ । यीबाहेक श्यामजीका पछिका अरू अनेक मसिना पुस्तकहरू सम्झिन मैले कन्नुपर्छ ।


यी ती चारवटा पुस्तक हुन्, जसले नेपाली साहित्यमा माक्र्सवाद प्रेरित प्रगतिशीलताको शिलान्यास गरे । आफ्नो साधना र अभियान एवं चिन्तन र सिर्जनाको आलोकमा शिलान्यासकर्ता थिए थर किटेर लामिछाने भनिन नरुचाउने श्री श्यामप्रसाद । यी ती चारवटा पुस्तक हुन्, जसले अर्थयुक्त सरलतासाथ साहित्य सिद्धान्त र सिर्जनालाई सामान्य साक्षर पाठकछेउ पुर्‍याए र तिनको बोधक्षमताको नजिक ल्याए ।


यी चार पुस्तकमा कुनै ठूलो दर्शन, ठूलो सौन्दर्यशास्त्र, ठूलो समाजशास्त्र वा त्यस्तो कुनै विराट चिन्तन छैन । तथापि यी चार पुस्तकमा विछट्टको सरलतामा विशिष्ट अर्थ र महत्ता निहित छ । यी पुस्तकमा साहित्यको प्रयोजन र प्रकृति, साहित्यको प्रयोग र प्रभाव तथा साहित्यको आनन्ददायी, रुचि परिमार्जनकारी एवं जागरणकारी विशेषताको सरलतम व्याख्या छ । साथै यिनमा साहित्य र राजनीतिको अभिव्यक्तिजन्य पृथकता र अभिन्न नाता, साहित्यको पक्षधरता तथा साहित्यको हस्तक्षेपकारी एवं उन्नयनकारी सामथ्र्यको चर्चा पनि छ । श्यामप्रसाद प्रगतिशील साहित्यसम्बन्धी सैद्धान्तिक मान्यता वा सूत्रहरू प्रस्तुत मात्र गर्दैनन्, सिर्जनाको तहमा एक विशिष्ट शिल्पीका रूपमा तिनको प्रयोग र परीक्षण पनि गर्छन् । ‘तँ, तिमी, तपाईं, हजूर’ यस तथ्यको एक सानदार नमुना हो । विभेदकारी समाजका तहगत सम्बन्धहरू भाषामा कसरी प्रकट हुन्छन् ‘तँ, तिमी, तपाईं, हजूर’ यस कुरालाई हेर्ने वाचाल ऐना हो । ‘तँ, तिमी, तपाईं, हजूर’ आकारमा धेरै सानो तर जादुमय भाषा तथा विषयको गहनता र महत्ताका दृष्टिले धेरै ठूलो पुस्तक हो । जीवन–व्यवहारका झिनामसिना विषयहरूलाई उठान गर्नु, तिनलाई समाजका वर्गगत एवं सांस्कृतिक सन्दर्भ र सम्बन्धहरूमा प्रवेश गराउनु, र विस्मयकारी ढंगले जीवनको जटिल यथार्थको उद्घाटन गर्नु कुनै सजिलो काम होइन । श्यामजी यो गाह्रो काम गर्ने विशिष्ट खुबी भएका विरल श्रष्टा हुन् ।


श्यामजीको अभिव्यक्तिजन्य सरलताको विलोममा ईश्वर बराल, यदुनाथ खनाल र वासुदेव त्रिपाठी खडा हुन्छन् । हुनलाई यी दुवैथरी विचारकर्मी र सर्जकको भाषा नेपाली हो । तर, पछिल्ला तीन विद्वान् नेपाली भाषामा संस्कृतका दुरूह गाँठा पार्छन् । र, तिनको भाषाले सामान्य पाठकछेउ पुग्नुअघि नेपालीमा अनुवादको चर्को माग गर्छ । यो भाषागत जटिलता र सरलताको निर्माणमा कर्ताको कुन रुचि, रोजाइ, ग्रन्थि वा मनोविज्ञानले काम गरेको हुँदो हो ? के यो भाषागत पृथकता साहित्यको प्रयोजन र लक्षित पाठकको आवश्यकताद्वारा निर्धारित हुने हो ? हामीलाई जवाफ दिन ईश्वर बराल, यदुनाथ खनाल र श्यामप्रसाद जीवित छैनन् । तर, भाषाका गाँठाकर्मी श्री वासुदेव त्रिपाठी भने इहलोकमा ठम्ठम् हिँडिरहेकै होलान् ।

***


सात साल टेकेर २००९ साल आयो र ‘प्रगतिशील’ लेखक संघ जन्मियो । संघका जनक थिए उनै श्यामप्रसाद । श्यामजीसँग जाबो म्याट्रिकको डिग्री पनि थिएन । तर उनको नेतृत्वमा खडा भए बडेबडे नाम, दाम र डिग्रीधारी मान्यजनहरू । यथा कमणमणि दीक्षित, तारानाथ शर्मा, धर्मराज थापा आदि । म गम्छु, श्यामजीमा केही न केही विशिष्ट वैचारिक, नैतिक र कार्यकुशलताजन्य गुण भएर नै त यी सबको ढ्याके अहंंले उनको नेतृत्व स्वीकार सकार्‍यो होला । सत्र सालमा जब महेन्द्रको फौजीतन्त्रको तरबार उठ्यो, त्यसले प्रलेसको बध गर्‍यो । तथापि २०२४ सालसम्म श्यामजी खुलै थिए । तर चौबीस सालमा उल्का भयो । श्यामजी हठात् दृश्यपटलबाट अन्तध्र्यान भए । के कति कारणले ? के कस्तो प्रयोजनका लागि र कहाँ ? लोकले जान्न पाएन । केही वाम ब्रोहरू थिए, जो रहस्यमय भाकामा भन्थे— श्यामजी जीवित छन् । ती हाम्रै वरिपरि कतै छन् । उनको पार्टी छ । एक मात्र सही पार्टी । सच्चा जनवादी र नित्य गतिमान् पार्टी । श्यामजीको नचाहिँदो खोजीनीति र नाटीकुटी गर्नु प्रतिक्रियावादी दाउ हो । बस्, यसो भनिन्थो र जिज्ञासु शभचिन्तकहरूका मुख थुनिन्थ्यो ।


छयालीस साल आयो, र जनआवेगको आगोले लखेटेर निरंकुश निर्दललाई डाँडो कटायो । त्यो खुला परिवेशमा गुणग्राही लोकलाई श्यामजीको याद आयो । ती कतै छन् भने तिनलाई बाहिर निकाल्नुपर्‍यो । छैनन् भने छन् भनेर ठाँट्न छाड्नुपर्‍यो । यसरी लोक गज्र्यो । कोही थिए, जो श्यामजीलाई आफ्ना खल्तीको गोप्य गुडिया ठान्थे । ती कणहरू अति गोप्यतावादी कहलिन्थे । तिनलाई घेरियो, केरियो र ग्वाँ पारियो । कुरा सत्चालीस सालको हो । चाबेलमा वाम लेखकहरूको सानो भेला भयो । र, श्यामजी दकस मान्दै मानौँ असहज मनोदशामा कतै शून्यबाट अवतरित भए । भेलाको व्यग्र अपेक्षा थियो— श्यामजीले चौबीसवर्षे गुप्तवासको रहस्यको गाँठो फुकाउलान् । र, लोकलाई विशिष्ट कृति र अद्भुत स्मृतिहरूको कोसेली टक्य्राउलान् । दुर्भाग्यवश, त्यस्तो केही भएन । उनले यतिमात्र भने— चौबीस वर्षको गुप्त कथा समयले बताउँदै जाला । तर, नित्य गतिमान् समयले त्यो कहिल्यै बताएन । र, शयामजीको दैहिक अवसानसँगै लोकको दुर्दम जिज्ञासाको पनि अवसान भयो ।

***


कुरा श्यामजी रहस्यमय अन्धकारबाट उज्यालोमा निस्कनुभन्दा एक दशकअघिको हो । त्यो बेला शाही पञ्चायतको वधसँगै प्रगतिशील लेखक संघ वधस्थलबाट बौरिएको थियो । श्यामजीलाई त्यसको अध्यक्ष बनाउने मतो गरियो । पहिले यसका जनक उनै थिए, अब यसका संरक्षकरूपी अध्यक्ष उनै हुने भए । यो उनको सम्मान पनि थियो, हामीलाई उनका जीवन–अनुभवहरूबाट अनुप्राणित हुने अवसर पनि । ख्यालख्यालमै म संघको महासचिव बनाइने भएँ । भावुक हुँदै सोचेँ— श्यामजीको सान्निध्यमा रहन, उनीसँग सहकार्य गर्न र उनका विचार एवं अनुभूतिहरूबाट समृद्ध हुन पाउनु मेरो जीवनको गौरव हो । तर बूढासँग जब साक्षात् संगत भयो, हात लाग्यो निराशायुक्त शून्य र शून्य मात्र । र, मेरो महासचिव्याइँ मैलाई घाँडो भयो । मेरासामु श्यामजी जो थिए, ती उनका विचार, सिर्जना र संघर्षमा भेटिएका मौलिक श्यामजी किमार्थ थिएनन् । मानौँ ती केवल मौलिक श्यामजीका फिका कार्बनकपी हुन् । मानौँ चौबीस वर्षको एकान्तवासमा श्यामजी समयको धड्कन र इतिहासका पदचापहरूबाट सर्वथा विमुख भए । र, त्यो व्यर्थको एकान्तवासको सुस्त र शुष्क जीवन–प्रक्रियामा मानौँ श्यामजीभित्रको जीवन्त विचार र उत्ताल आवेगयुक्त श्यामजीको अवसान भयो ।


मौलिक श्यामजी आफ्नो लेखनीमा समाजका तीक्ष्ण आलोचक थिए । र, अभिव्यक्तिमा थिए ती निख्खर यथार्थवादी । कार्बन कपी श्यामजी नीति–उपदेश भएछन् । चिन्तन र सिर्जनामा नीति–उपदेश लेखनाथकृत ‘तँलाई मालुम छ कि यो कुरा मन’ सँगै थोत्रिएको थियो । त्यही थोत्रोको पट्यारलाग्दो प्रेतरुपी कार्बन कपी श्यामजीमा गोचर भयो । श्यामजीको नीति–उपदेशको ढपलाई एउटा रोचक दृष्टान्तमा हेरूँ । जीवनमा श्यामजीका पत्नी दुईवटी हुँदा भए । पहिली पत्नी सामान्य घरानाकी पुनु वाग्ले थिइन् । पुनुसँग श्यामजीको मागी विवाह भएको थियो । यी जोई–पोइ एक दशक मिलीजुली सँगै बसे । र, त्यसपछि जे भयो, त्यो अनर्थ भयो । श्यामजीले अनपढ र रुढीवादी भनेर सीधासादा पुनुलाई चटक्कै त्यागिदिए । पछि उच्च घरानाकी पठित शशीकलासँग श्यामजीको दाम्पत्य गाँसियो । विडम्बनावश, आफूलाई औधी माया गर्ने पुनुलाई श्यामजीले निर्ममतासाथ त्यागिदिए । श्यामजीले औधी माया गरेकी शशीकलाले उनलाई निर्ममता साथ त्यागिदिइन् । परित्यक्त पुनुको बाँकी जीवन वृद्धाश्रममा बित्यो । परित्यागकारी शशीकलाले एक कृषि प्राविधिकलाई दोस्रो जीवनसाथी रोजिन् । विचित्र संयोगवश, पुनु र शशी दुवैले २०६३ सालमा एकै वर्ष जीवन बिसाए । श्यामजीको जीवनमा पत्नी दुईवटी भए तर उनका जीवनको लामो कालखण्ड एकल त्रासदीमा बित्यो । लाग्छ, त्यो उनकै कृत्यद्वारा आमन्त्रित दु:खद परिणति थियो ।


गुप्त रहस्यबाट निस्केपछि श्यामजीले नीति–उपदेशको भाकामा मसिना पुस्तिकाहरू त कति लेखे कति † तिनमा वर्णित नीति–उपदेशको भाका प्राय: ‘दाम्पत्य जीवन कसरी सफल बनाउने ?’ टाइपको हुन्थ्यो । उनको आफ्नै जीवन–अनुभवको सापेक्षतामा अभिव्यक्तिको यो भाका अयथार्थवादी हो । जीवनमा भोगिएको जे हो त्यो नलेख्नु र जे कपोलकल्पित हो त्यो लेख्नु यथार्थवादविरोधी प्रवृत्ति हो । पूर्वयथार्थवादी श्यामजीले त ‘मेरा दाम्पत्य कसरी बिग्रिए ?’ भनेर पो लेख्नुपथ्र्यो । यस्तो लेखनी घतलाग्दो त हुन्थ्यो नै, त्यो सम्प्रेषणीय र न्यूनाधिक लोकोपयोगी पनि हुँदो हो । र, त्यो उच्च व्यासासनमा बसेर पण्डितजीले जप्ने नीति–वचनको अहंकारबाट मुक्त पनि हुँदो हो ।


मेरा यी वचनहरूमा श्यामजीको कठोर आलोचना पो भयो कि † होला, तर श्रद्धेय व्यक्तित्वको आलोचना अपमान होइन । जीवनमा निर्भूल कोही हुँदैन । प्रत्येक सद्गुणी मानव दुर्गुणसहित सद्गुणी हुन्छ । र, असल र खराब मानव सद्गुण वा दुर्गुणको मात्रा भेदले छुट्टिन्छ । यी यावत् दुर्वलता हुँदाहुँदै श्यामजी महान् लेखक र असल मानिस हुन् । त्यसैले त श्यामजीको स्मृतिसामु श्रद्धानत भई इस्माली लेख्छन्, श्यामजी ‘बाँचुन्जेल वाममार्गी भएरै बाँचे र प्रगतिवादी लेखक भएरै यस धरतीबाट बिदा भए ।’ सत्य हो, कम से कम आफ्नो अभिप्रायमा श्यामजी त्यसरी नै बाँचे, र त्यसरी नै बिदा भए ।

प्रकाशित : पुस २८, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?