कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिमकोट सेरोफेरो

नियात्रा
धारापानीमा तिब्बती लोकप्रिय बियर ‘ल्हासा’ चाखेपछि मसहित खानपिनका स्वादेहरूको साझा स्वर थियो– ‘यो रस अलि तीतो रहेछ ।’ 
गंगा बीसी

काठमाडौँ — घटना यस्तो थियो— एक जना व्यक्तिले दारु खाएर टोलमा खुब हल्ला गरे । प्रहरीकहाँ गुनासो पुग्यो । जँड्याहालाई पक्रन प्रहरी आयो । प्रहरी पनि दारुले झ्याप्प रहेछन् । प्रहरीले ती जँड्याहालाई परीक्षण गर्न अस्पताल लगे । ओहो ! डाक्टर पनि दारुले झ्याप्प रहेछन् । लौ भन्नुस्— यो थिति हो कि बेथिति ? 

सिमकोट सेरोफेरो

काठमाडौं विमानस्थलमा पुगेको बेला फेथाईका कारण चिसोले हानेको थियो । जानु थियो हुम्ला, काठमाडौंभन्दा चिसो ठाउँ । काठमाडौंमै यति चिसो भएपछि हुम्ला कति चिसो होला ? मनमा केही डर लागेकै थियो । बरु कहरले काट्ने, हुम्ला जाने टुङ्गोमा पुगेको थिएँ ।


काठमाडांैबाट नेपालगन्ज उड्नुअघि हुम्लाको तापक्रम मोबाइलमा हेरे, माइनस ८ डिग्री सेल्सियस देखाएको थियो । काठमाडौंमा त्यस दिन पाँच डिग्री थियो । पुसको चिसो हुम्लामै पुगेर महसुस गर्न साथी कमलराज सिग्देलको प्रस्तावलाई स्वीकार गरेको थिएँ ।

***


तारा एयरको जहाज नेपालगन्ज विमानस्थल छाडेर सिधै उत्तरतिर लाग्यो । आकाश सफा थियो, मनमा डर थिएन । पहिलै सुनेको हो, हुम्ला जहाजबाट जाँदा दरिलो मुटु बनाउनुपर्छ किनकि हिमालछेउ पुगेपछि जहाजले पिङ खेल्छ । आकाशबाट पहाड र बेंसीका सुन्दर बस्तीको तस्बिर लिन साथीहरू व्यस्त थिए । माथिबाट बस्ती सुन्दर भए पनि पानी नपरेकाले होला, सुक्खा थियो । हुन त जाडो मौसममा जमिन सुक्खा हुन्छ ।


नेपालगन्जबाट हुम्ला पुग्न जहाजमा ४५ मिनेट लाग्छ । २५ मिनेट यात्रा सकेपछि उत्तरतिरका हिमालले स्वागत गर्न थाल्छन् । अझ नीलो आकाश भएका बेला पंक्तिबद्ध हिमाल बयान गरी साध्य हुँदैन । सिमकोट पुग्न रानीमत्ता, हाउरी, मुने लेक गरी तीन भीमकाय पहाड पार गर्नुपर्छ ।


कालिकोट, बाजुराको कोल्टी आकाश पुग्दासम्म जहाज ‘स्मुथ’ थियो । हिउँ परेका चुचुरा नाघ्दै जहाज उत्तर हानिदै थियो । ट्विनअटर जहाज चालक ढुक्कसँग जहाज उडाइरहेका थिए । हुम्ला नजिकिँदै आएको संकेत हिमालले दिंदै थिए, किनकि हिमाल नजिकिँदै थिए । ओहो † जहाजले बिस्तारै पिङ खेल्न थाल्यो । हामी दायाँबायाँ, तलमाथि हुत्तिन थाल्यौं जहाजसँगै । एयर होस्टेज भन्दै थिइन्, ‘बाहिर हावा चलेको छ । त्यसैले जहाज बढी हल्लियो । नआत्तिनुस्, जहाज ल्यान्ड गर्न लाग्यो ।’


बाहिर हेर्‍यौं, एयरपोर्ट देखिँदैन । जहाजले दायाँ मोड लिँदै थियो । गाउँ नजिकै आइसक्यो, एयरपोर्ट देखिँदैन । केही क्षणपछि सिमकोट विमानस्थल देखियो, जहाज अवतरण गर्‍यो । जहाजको ढोका खुल्यो, ओर्लने भर्‍याङ थिएन । जहाजको ढोकामै जोडिएको डन्डी टेकेर हाम फाल्यौं । साथी भन्दै थिए, ‘हुम्ला हो, ओर्लन जहाजको भर्‍याङ चाहिँदैन ।’ हाम फालेपछि सबैको अनुहारमा खुसी देखियो ।


हामी सिमकोट ओर्लंदा माइनस ६ डिग्री रहेछ । हिमाली जिल्लामा घाम तिखो हुने रहेछ । लुखुरे ज्यानमा करिब आधा दर्जन लुगा थिए । हुम्लाका कान्तिपुर सहकर्मी जयबहादुर रोकायाले ‘चिसो छल्ने तयारी दह्रो गरेर आउनू’ भनिसकेका थिए ।

***


सिमकोट बस्नेका लागि यो मौसममा हिउँ, हिमाल सामान्य कुरा हो । सिमकोट ओर्लनेबित्तिकै देखियो— तीनतिर हिमाल हाँसेरै उभिएका थिए । हिउँ बाक्लो नपरेकाले हिमालमा काला धब्बा पनि थिए । फोटोग्राफर लक्ष्मी ङाखुसीले त्यो दृश्य दुई क्यामरा र मोबाइलले ठाउँको ठाउँ कैद गरे । केही दिनका पाहुनाका लागि हिमाल, हिमाली जनजीवन जति सुन्दर हुन्छ, सधैं त्यहाँ बस्नेका लागि भने हुँदैन होला । यथार्थमा हुम्ली धैर्यका प्रतीक हुन् । उनीहरू अहिलेसम्म प्रदेश राजधानी सुर्खेत र केन्द्रीय राजधानी काठमाडौं गाडी चढेर आउन सक्दैनन् । आफ्नो हैसियतले सकेर, नसकेर उनीहरू जहाज चढेर सुर्खेत र नेपालगन्ज आउनुपर्छ । बरु उनीहरू गाडी चढेर सीमा हिल्सा हुँदै चीनको तिब्बतको ताक्लाकोट पुग्न सक्छन् ।


कान्तिपुर हुम्ला संवाददाता जयबहादुर भन्दै थिए— सडक विभागको गाडी रसुवाको केरुङ नाका हुँदै तिब्बतको बाटो पार गरी सडक मार्गबाटै हिल्सा र हुम्ला आइपुगेको छ । त्यही बाटो हुँदै सडक खन्ने डोजर पनि हुम्ला ल्याइएका छन् । सिमकोट वरिपरि आधा दर्जन जिप चल्छन्, ती सबै १३ लाख रुपैयाँ भाडा तिरेर हेलिकप्टरबाट ल्याइएका हुन् । ती गाडी हिल्सा र तल कर्णालीतिर चल्छन् ।

***


डाँडाफायको यात्रा । हेलिकप्टर चढेर गएका गाडी चढ्ने निधो भयो । जहाज चढेर गएको तरकारी, चामल, तेल, नुन, मसलाबाट बनेको खाना खाएपछि यात्रा सुरु भयो । हामी सिमकोटका पाहुना । गरिबीले खाएका दुब्ला अनुहार, आशामा बाँचेका ज्यान थिए त्यहाँ । हुने खानेको कुरै बेग्लै । घरमा तातोपानीको व्यवस्था, बाक्ला लुगा, पोषिला खानेकुरा, सबै सुविधा भोग्ने औंलामा गन्न सकिने हुनेखानेका प्रतिनिधि पनि थिए । हुम्लामा हिउँ पनि पर्छ तर, दिउसो चर्को घाम लाग्छ । त्यसले मान्छेको अनुहार डढाएर कालो बनाउँछ । ‘हुम्लीलाई हिउँले पनि हेप्छ, घामले पनि’,जयबहादुर दाइ भन्दै थिए—‘हुम्लीलाई प्रकृतिले नै हेप्छ ।’


हुम्लीलाई आफ्नो अनुहार घामबाट जोगाउनु छैन, बरु भोको हुनुबाट पेट जोगाउनु छ । त्यसैले त उनीहरू तीन दिन हिँडेर मुगुको गमगढी चामल लिन पुग्छन्, त्यति नै दिन हिँडेर तिब्बतको ताक्लाकोट पुग्छन् । खाद्य संस्थानमा घण्टौं

लाइन लाग्छन् ।


डाँडाफाय जान गाडी कुरेको झन्डै दुई घण्टापछि जहाजकै सानमा आयो— डबल क्याब बोलेरो जिप । त्यो जिप निकै व्यस्त रहेछ । अनुभवी चालक नरबहादुर लामा गाडी लिएर आए । नरबहादुरमा अप्ठ्यारो बाटोमा समेत बडो होसियारीपूर्वक गाडी चलाउने खुबी रहेछ ।


हिमालको ऐनासामु गाडीमा हिँड्नुको रमाइलो यहाँ शब्दमा व्यक्त गर्न कठिन छ । एमआई १७ हेलिकप्टरमा १३ लाख भाडा तिरेर सिमकोट ओरालिएको गाडी चढ्ने मौका थियो । चालक लामा दाइले सुनाए—‘यसले मुगु गमगढीबाट खच्चडले बोकेर ल्याएको तेल खान्छ । तेलको मूल्य प्रतिलिटर कम्तीमा २५० रुपैयाँ पर्छ । यो गाडी भाग्यमानी छ । हेलिकप्टरबाट आयो, खच्चडले बाकेर ल्याएको तेल खान्छ । म ड्राइभरचाहिँ दुखारी, सर ।’


लामा दाइले यथार्थमा ठट्टा मिसाएर भने । उनी हामीलाई डाँडाफायभन्दा माथि पाखोमा छाडेर ‘भोलि लिन आउँछु’ भन्दै सिमकोट फर्किए ।

***


सदरमुकामदेखि तीन/चार घण्टाको पैदल दूरीमा रहेको गाउँ । गाउँमा हिउँ थिएन । बारी मरुभूमिजस्तो सुक्खा । त्यहाँका अधिकांश बासिन्दा हिउँदमा पात झरेका रूखजस्ता दुब्ला, ख्याउटे । तर आत्मबल भने तगडा थियो, आफ्नै

पौरखले बाँचेका ।


हामी एक दिने पाहुनालाई देखेर स्थानीयले मसिनो स्वरमा भन्थे, ‘यिनीहरू पैसा कमाउन आएका होलान् । हाम्रो फुटा खिचेर जान्छन् । क्या क्या सोध्छन् । हामलाई क्यै न क्यै ।’


हैट, यो हामी सबैलाई व्यंग्य थियो । सबभन्दा ठूलो राज्यलाई व्यंग्य थियो । कोहीकोही सोध्थे, ‘तमी को हौ ? किन आका हौ ? फुटा खिच्या छौ । यी क्या छौ ?’

***


धारापारिमा रहेछ पुरानो होटल । सिमकोट–हिल्सा पैदलमार्गमा पर्नेे त्यो होटलमा आजभोलि कमै पाहुना आउने रहेछन् । ‘आजभोलि त्यति पाहुना आउँदैनन् । फाट्टफुट्ट आउँछन् । धेरै दिनपछि तपाईंहरू आउनुभयो’,होटल सञ्चालक ७० वर्षीय नरबहादुर शाहीले भने । हिल्सा हुँदै नजिकको ताक्लाकोट (तिब्बत) जाने पैदल रुट यही हो । अब भने यो रुट चल्ने छैन किनकि माथितिर सडक बनिसकेको छ ।


आगो ताप्दै गर्दा उनले ५० वर्षअघिको कुरा सम्झिए, ‘मैले ५० वर्षअघि ताक्लाकोट (हिल्सा नजिकको बजार)मा लगेर ६० रुपैँमा खसी बेचें । त्यसले नुन, कपडा किनेर ल्याएँ । त्यतिबेला हाम्रो बजार त्यही थियो ।’ उनको पसलमा अहिले पनि आधा सामान ताक्लाकोटबाट आउने रहेछ । कोक, बियर, चक्लेट तिब्बतबाट आएको थियो । त्यो सामान नेपालभन्दा सस्तो पर्ने भएकाले राखेको उनले बताए । धारापानीमा तिब्बती लोकप्रिय बियर ‘ल्हासा’ चाखेपछि मसहित खानपिनका स्वादेहरूको साझा स्वर थियो— ‘यो रस अलि तीतो रहेछ ।’


खानपिनपछि अब निन्द्राको पालो थियो । बोराको सिरानी भएको बेड । पातलो ब्लाङ्केट र साह्रो ओछ्यानमा आफूले लिएको स्लिपिङ ब्यागमा घुस्रेर साथीहरू घुर्न थाले । मसँग स्लिपिङ ब्याग थिएन, दुई ब्लाङ्केट ओढेपनि मुनिबाट चिसोले दनक दिइरहेको थियो । लगाएका करिब आधा दर्जन लुगासँगै सुते पनि निद्रा परे पो । रातमा पनि हिमाल स्पष्ट देखिने । तर, बाहिर चिसोले जान नसकिने । ट्वालेट सय मिटर टाढा रहेछ । जाडोमा लघुशंकाले उसैगरी चेपिरहने । मुश्किल भयो रात बिताउन ।

***


अर्को दिन बिहानै हामी ओखरको पोला (घाँजा) कोसेली खोज्न गाउँ पस्यौं । आधा किलोको दुई सय रुपैयाँ । स्थानीयले घाँजाबाट तेल निकालेर खान्छन् । कोही किन्न आए बेच्छन् पनि । स्थानीय मह रहेछ बिक्रीका लागि । ब्रेकफास्टका लागि कोदाको रोटी र साग थियो । त्यस्तो खाजा नभएको भए ओखर्‍यान पुग्न कठिन थियो । धेरै माथि पुगेपछि हिउँ भेटियो, केहीबेर हिउँ चिप्लेटी खेलेर थकाइ भुल्यौं । टोपी खस्ने उकालो चढेर नरबहादुर दाइले ल्याएको गाडी चढ्न जानु थियो— ओखर्‍यानसम्म ।


ड्राइभर नरबहादुर हामीलाई खोज्दै अलि तलसम्म आएका रहेछन् । पारि हिमाल, वारि सडक । त्यही सडक हिल्सा पुग्छ । अबको एक वर्षपछि त्यही बाटो हुँदै तिब्बतको सिमाना हिल्सा पुग्नेछन् । तीन किलोमिटर पहरो फुटाएपछि सिमकोटदेखि गाडी सिधै हिल्सा पुग्नेछन् । हिल्सा नाका व्यवस्थित भयो भने हुम्लाले काँचुली फेर्नेछ ।

सिमकोटबाट जस्ता पाता बोकेर आएका खच्चडले बाटो छेके । नरबहादुर दाइ भन्दै थिए, ‘यहाँका ट्राफिक यिनै हुन् सर । यी सडकमा आए गाडी रोक्नुपर्छ ।’

***


माथि डाँडाबाट सिमकोट सुन्दर देखिन्छ । विमानस्थल माथिको सदरमुुकाम बजारमा टिनका छाना थपिँदै गएका छन् । केही वर्षपहिले माटोका छत भएका घर थिए । आजभोलि गमगढीबाट खच्चड र सुर्खेत, नेपालगन्जबाट जहाजले जस्तापाता ओसार्छ । सिमकोटमा घरका छाना जस्तापाताले ढाक्न थालेको छ । ‘धनी सहरजस्तो देखियो, यहाँका मान्छे गरिब कसले भन्छ ?’,जयबहादुरले भने— ‘तर, दिनहु मौलिकता हराउँदै छ ।’ सिमकोटको पूर्वपट्टि भने पुरानो गाउँ छ, मौलिकता जोगाउने खालको ।


नोर्बु लामा, रलिङ होटल सिमकोटका मालिक । तीन बुबाका छोरा । अनौठो चलन छ— माथिल्लो हुम्लामा । बहुपतिप्रथा अझै देख्न सकिन्छ । हँसिला रहेछन् नोर्बु । ‘तीन बुबा छन्, कसको छोरा हुँ भन्नु ?’,उनले रमाइलो पाराले भने ।


सिमकोटको बजार बढ्दै रहेछ । अरू जिल्लाका सदरमुकाममा पहिलेभन्दा चहलपहल कम हुँदै गए पनि सिमकोटमा त्यस्तो छैन । सिमकोट निकै महँगो ठाउँ हो । दैनिक उपभोग्य खाद्यान्न, तरकारीलगायत अति महँगो छ । तर, दारुपानी तुलनात्मक रूपमा अलि सस्तो रहेछ । साँझ पर्दै गएपछि सिमकोट पनि झुम्दै जान्छ, जाडो मौसममा अझ बढी ।

साथीहरूले केही समयअघि सिमकोटमा रमाइलो घटना सुनाए । घटना यस्तो थियो— एक जना व्यक्तिले दारु खाएर टोलमा खुब हल्ला गरे । प्रहरीकहाँ गुनासो पुग्यो । जँड्याहालाई पक्रन प्रहरी आयो । प्रहरी पनि दारुले झ्याप्प रहेछन् । प्रहरीले ती जँड्याहालाई परीक्षण गर्न अस्पताल लगे ।


ओहो † डाक्टर पनि दारुले झ्याप्प रहेछन् । लौ भन्नुस्, त्यो घटनाको परिणाम के भयो होला ?

सिमकोटमा खाद्य संस्थानबाट भने जति चामल पाइँदैन । तर, त्यहाँका होटलहरूमा खाद्य संस्थानको चामलबाट दारु बनाइँदो रहेछ । त्यो दारुले बेलुका सिमकोट तताउँछ । बाहिरबाट आउने सिलबन्दी दारु भने जति पनि पाइन्छ, बरु चामल किन्न पाइँदैन । अनुभवी हुम्ली पत्रकार जयबहादुरको रमाइलो बुझाइ थियो— ‘हुम्ला कम छैन । हावापानीमा आत्मनिर्भर छ ।’

***


पुसे ठन्डीमा सिमकोटको एक रात । माइनस आठ डिग्री भए पनि रमाइलो । बच्चाहरूको जिउ स्पात रहेछ्, त्यो चिसोमा बाक्लो टोपी नलगाई मजाले खेलिरहेका थिए । चिसो र भोक सहने बानी रहेछ उनीहरूमा ।

सिमकोट छाड्ने बेला भयो । खाद्यान्न बोकेर जहाज सिमकोट विमानस्थल ओर्लने क्रम सुरु भइसकेको थियो । हामी विमान चढ्यौं, जम्मा छ जना मात्रै । अहिले सिमकोटको सिजन होइन, मानसरोवर तीर्थयात्रा सुरु भएपछि पर्यटकले भरिभराउ हुन्छ । सिमकोट हुँदै तिब्बतको कैलाश पर्वत र मानसरोवर जाने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

हिउँ परेका चुचुरा नाघेर नेपालगन्ज ओर्लेपछि ज्यानमा ऊर्जा थपिएको थियो । हिमालको चिनो थियो सम्झनामा—सुन्दर, शान्त र स्निग्ध ।


प्रकाशित : पुस २८, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?