पूर्वलडाकुको मदिरा पसल

कविता
रोशन शेरचन

काठमाडौँ — रातभर निद्रा पर्दैनतन्द्रामा उही दृश्यहरु नाचिरहन्छन्रिस उठ्छ, हुन्डरी चल्छ, ऐंठन हुन्छ आफैंसँग हार्छु गिलासमा खन्याएर पिउँछुर चैनले सुत्छु

रातभर निद्रा पर्दैन
तन्द्रामा उही दृश्यहरु नाचिरहन्छन्
रिस उठ्छ, हुन्डरी चल्छ, ऐंठन हुन्छ
आफैंसँग हार्छु
गिलासमा खन्याएर पिउँछु
र चैनले सुत्छु

अचम्भ लाग्छ
कसरी फेरियो समय ?
न्याय र समानताको निम्ति
गोलाबारूद बोकेर डााडाकााडा कुदेको हिजैजस्तो लाग्छ
आाखामा सपनाका चल्लाहरु कोरलेर
रातो घाममुनि
रातो मार्च गरेको हिजैजस्तो लाग्छ
विचित्र लाग्छ
कसरी पछारियो आकाश र
रोकियो नदीको प्रवाह ?

अयोग्य भई फर्केको सााझ
चराहरु तर्सिएर मलिन आकाशतिर उडेका थिए
आलै छ सम्झना
थकथकीले रातभर गााजिरह्यो
मानौं द्वारपाल हो त्यो चार प्रहरको
बुझ्नै सकिना
योद्वा उही हो
कसरी भयो ?
कोही योग्य
कोही अयोग्य ?

हिजोका हाम्रा नायकहरु चिल्लो वाहनमा गुड्न थाले
भाषा फेरियो
उठबस फेरियो
वर्गशत्रुलाई गोलीले उडाउन प्रशिक्षण दिनेहरु
मञ्च, मन्त्रालय, संसद्, निवासमा,
कमिसनखोर, मदिरा व्यापारी र करछलीसाग देखिन थाले

कसरी बिर्सूं ?
मदिरा बेचेकोमा
कृष्ण गुरूङको भाटा कारबाही
पिंडुलाको सुम्ला समाउादै कस्तरी थुचुक्कै बसेथ्यो ऊ
कस्तरी थर्थराउादै आसु चुहाएथ्यो ?
र हात जोड्दै माफी मागेथ्यो ?
आखिर ऊ बा थियो
सन्तानको भविष्यले सायद उनलाई गलाएथ्यो
छोरीेहरुका अगाडि कस्तरी
लाज र भयले कालोनीलो भाथ्यो ?
कमरेड सम्झनाले कृष्णको स्वास्नीको टाउकोमै
मदिरा खन्याइदिइन्
अचम्म, उनी डराइनन् बरू
अवाक् देखिइन्
मानौं प्रश्न गर्दै छिन्
मैले के ठूलो त्यस्तो अपराध गरें ?

एक दिन
मेरो अगिल्तिर पनि उभियो
जीवनका क्रूर पृष्ठहरु
मानौं मैले परीक्षा दिनैपर्छ
जहान पाल्नैपर्‍यो
मन निचोरेर टिनको बाकसबाट
निखिा्रदै गएको अयोग्य लडाकु भत्ता निकाले
सााझ सहरको साागुरो गल्लीमा बोर्ड झुन्डियो
सर्वहाराको मुक्तियात्रामा निस्केको म...
आफ्नो शिर त्यति नुहेको कहिल्यै देखिना
त्यो रात बेस्सरी रोएा

हप्ता, महिना, वर्ष बिते
पसल चलेकै छ
कमिसनखोर, भ्रष्ट कर्मचारी, राजनीतिकर्मी
पत्रकार, वकिल, विद्यार्थी,
खाडी उड्ने युवा
असफल प्रेमी
र क्रान्तिकारी कवि
सबै खाले ग्राहकहरु आउाछन्
जहान पालेकै छु
तर निद्रा फर्काउन सकिना
ग्लानिले थिच्छ
पश्चात्तापले पोल्छ
कृष्णको निन्याउरो अनुहार सम्झनाको पर्दामा घुमिरहन्छ
उसका छोरीहरुका चारजोर भयग्रस्त आाखाले लखेटिरहन्छ
फेरि आफैंसाग हार्छु र
ओछ्यानबाट उठ्छु ।

प्रकाशित : पुस २८, २०७५ ०८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

निबन्धका बाटा    

निबन्ध
रोशन शेरचन

काठमाडौँ — आफ्नै अनुभवबाट कुरा थाल्दा उपयुक्त होला । स्कुले जीवन घरबाट टाढा बित्यो । घर भैरहवा, स्कुल पोखरा । एक कक्षाबाटै छात्रावासको जीवन । सानै उमेरमा घरबाट टाढिनुपरेको नियास्रोलाई तर स्कुलको भव्य पुस्तकालयले कम गर्‍यो । मैच्याङ गुरुमा र अटन सरले उसै मनमोहक पाराले कथा सुनाउँथे । हामी हलचल नगरी मुग्ध हुन्थ्यौं । साहित्यतिर आकर्षित हुने कारण ती कथाहरू बने । 

साझा प्रकाशनले (?) निकाल्ने जासुसी किताबहरूमा विशेष रस बस्यो । नबसोस् पनि किन ? ती किताबहरू रोमाञ्च, षड्यन्त्र, सनसनी र नाटकीयताले भरिएको हुन्थ्यो । थोरैको नाम मात्र सम्झन्छु । दीर्घबाहुको बिषालु इच्छापत्र, शरद निरौलाको ब्ल्याक सेप्टेम्बर । एसके दिनको उपन्यासको नाम बिर्सें । सम्झन सकेको अरू दुई उपन्यासहरू, भेनिसका हिप्पीहरू र सानीआमाको हत्यारा । ती उपन्यासहरूको रोमाञ्चकताले नै मलाई पुस्तकको संसारतिर धकेलेको रहेछ । उपन्यासकार युधीर थापा त त्यस समयको बादशाह नै थिए । ‘हुरीको लहर’, ‘संगमरमरको ढुङ्गा’, ‘सिस्टर कल्पना’, ‘झरनाको मीठो पानी’ आदि पढन्चु सर्कलमा हिट थियो । प्रकाश कोविदको उपन्यास ‘नोयो’ हात पर्‍यो । लाइब्रेरीबाट हो वा साथीमार्फत । शरणार्थी विषयमालेखिएको उक्त उपन्यासले मलाई निकैद्रवित बनायो । कोविदकै ‘अर्को जन्म’ र ‘देउता’ ले थप भावविह्वल बनायो । जयधमालाको (?) उपन्यास ‘पागल’ त उत्कर्षमै थियो । पाँच, छ कक्षा उक्लेपछि भने हिन्दी सत्य कथातिर लहसिएँ । विशेष कर्नल रञ्जितका हिन्दी जासुसी उपन्यास । त्यो उमेरमा गम्भीर पुस्तक पढ्न सम्भव थिएन । उमेरले आफूसँग रुचिको स्तर पनि सँगै बोक्दो रहेछ । त्यसलाई कसै गरे पनि उमेरको काँधबाट झार्न सक्दैनौं । लहडमै यी पुस्तकहरूले पढ्ने रुचि भने जगाइदियो ।
प्रमाणपत्र तह उत्तीर्ण गरेपछि भने गम्भीर साहित्य पढेछु । अहिले थाहा भो । धच गोतामेको ‘घामका पाइला’, शंकर लामिछानेको ‘अब्स्ट्रयाक्ट चिन्तन प्याज’ पारिजातको ‘शिरीषको फूल’, विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’ र ‘नरेन्द्र दाइ’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, विजय मल्लको ‘अनुराधा’, सरुभक्तको ‘पागल बस्ती’ आदि । वन विज्ञान अध्ययन संस्थाबाट रेन्जरको डिग्री लिई जिल्ला वन कार्यालय, काठमाडौंमा नियुक्ति लिएँ । थानकोटस्थित केन्द्रीय वन नर्सरीमा खटिएँ । वन नर्सरी मात्र जिम्मामा परेकाले समय उब्रन्थ्यो । नर्सरीको असारेको बोट नजिक दुबोको चौरमा उब्रेको समयसँग बसेर काठमाडौंको न्यायो घाममा निकै पुस्तकहरू पढें । अमेरिकी र ब्रिटिस लाइब्रेरीको सदस्य बनें । नयाँसडकको ओशो अध्ययन केन्द्रको पनि सदस्य बनें । पठनको भोक तीव्र । समय छेलोखेलो । पुस्तक ल्यायो, पढ्यो । पढ्यो, फिर्ता गर्‍यो, फेरि अर्को ल्यायो । लती भन्न मिल्छ भने, त्यो वर्गीकरणमा म पनि क्रियाशील सदस्य । त्यो भूतसवार सम्झँदा अहिले छक्क पर्छु । त्यो क्रम करिब दुई, अढाई वर्ष चल्यो । दिउसो वन नर्सरीमा रेन्जर जागिर । लगनटोलमा डेरा गरी बस्थें । दूध लिन एकाबिहान उठ्नैपथ्र्यो । त्यसपछिको समय त्यसै बितिरहेको थियो । आरआर क्याम्पसमा बिहानी कक्षा छ भनेपछि भर्ना भएँ । अंग्रेजी साहित्य र राजनीतिशास्त्र लिई ।
‘झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स्’ पुस्तकले मलाई गहिरोसँग बिथोल्यो । उक्त पुस्तकमा मानिस कुनै आधारभूत प्रश्नमा कुन हदसम्म घोत्लिन्छन् भन्ने देखाइएको छ । यस्तो एकोहोरो घोत्लिरहने पात्रको कथाले पनि पाठकलाई आकर्षित गर्दा रहेछन् भनेर थाहा पाउँदा चकित परें । त्यो पुस्तकको प्रोटागनिस्टले धेरै वर्षसम्म भूतले झैं मेरो मानसलाई लखेटिरहयो ।
यो पृष्ठभूमि बताउनुको कारण छ । त्यो के भन्दा, पाठकमा पुस्तक र स्रष्टाहरूको प्रभाव पर्छ । प्रभाव स्वाभाविक हो । जति कलिलो उमेर, उत्ति गहिरो प्रभाव । कलिलो उमेरलाई त्यसैले निर्माणाधीन वर्ष भनिन्छ । फरमाटिभ इयर । पठनयात्राको क्रममा प्रभावका केन्द्रहरू बदलिन्छ तर सायदै प्रभावमुक्त हुन सकिन्छ । मान्छेको समाजमा सयौं उत्कृष्ट पुस्तकहरू छन् । कुनै लेखकबाट पनि म प्रभावित छैन भन्यो भने कि त ऊ अद्भुत विलक्षण प्रतिभा हो । वा ऊ सत्य बोलिरहेको छैन । वयस्क हुँदै जाँदा लाग्दै गयो, जीवनमा तर नाटकीयता अपवादमा मात्र छ । नाटकीयता जीवनको नर्मस् होइन । जीवन मूलत: कारण र परिणामकै अन्योन्याश्रित सम्बन्धबाट सञ्चालित छ । विचारलाई बढीभन्दा बढी वस्तुपरक ढंगले सोच्न नसके, पुस्तककै संसार पनि भ्रमपूर्ण हुन्छ । त्यसले अल्मलाउँछ । आखिर पुस्तक लेखकको मानसिक निर्माण न हो । यस्तै आग्रहले गैरआख्यानतिर उन्मुख गरायो । तर कारणहरू त्यत्तिमै सीमित छैनन् ।
निबन्धतिर उन्मुख गर्न सघाउने कामुको ‘मिथ अफ सिसिफस’ निबन्ध एक हो । गम्भीर पाठकले पढ्नैपर्ने निबन्ध । सिसिफस हाम्रो मिथक होइन । ग्रिसेली हो । तर मिथक आफ्नै हुनुपर्दैन । मिथकले दिने अन्तरदृष्टि महत्त्वपूर्ण हो । मिथक सार्वभौम हुन्छ, त्यसैले भनिएको हो । मिथकमा सिसिफसलाई श्राप लाग्छ । उसले ढुंगालाई गुडाएर डाँडाको टुप्पामा लग्नुपर्छ । अत्यन्तै दु:ख गरेर ढुंगालाई डाँडाको चुचुरोमा लग्छ । तर गुरुत्वाकर्षणले त्यो ढुंगा तल झर्छ । आजन्म उसको काम नै के हुन्छ भने ढुंगा माथि पुर्‍याउने, सुस्ताउन पाएको हुँदैन, ढुंगा झर्न लाग्छ र फेरि ढुंगाको पछि सिसिफस ओरालो झर्न अभिशप्त हुन्छ । फेरि अर्कोपल्ट चढाउनुपर्ने । बारम्बार त्यही । भिँmझोलाग्दो पुनरावृत्ति । असफल हुन्छ भन्ने पहिल्यै थाहा पाएर पनि उनी त्यही कार्य गरिरहन्छ तर आत्महत्या गर्दैन । परिणाम निरर्थक हुन्छ भन्ने थाहा पाउँदा पनि मूर्खता दोहोर्‍याइरहन्छ । सिसिफसको कदम त्यस मानेमा विवेकसम्मत छैन । बरु विसंगत छ । आजका मान्छेका धेरै कदमहरू विसंगतिको नजिक भेटिन्छन् । सूक्ष्म दृष्टि पसार्ने हो भने हाम्रै समाजका अधिकांश मध्यमवर्गीय मानिसहरू दु:खमनाउ गर्न छाडिसके । बरु अटेरी भई फिस्स हाँस्छ, सजिलै माफी माग्छ र उही मूर्खता दोहोर्‍याइरहन्छ । हाम्रो राजनीतिक परिदृश्य पनि भिन्न छैन । भोट माग्दा पार्टीका उम्मेदवार हरेक पटक धेरै वाचा गर्छन् तर कहिल्यै पूरा गर्दैनन् । उही पुनरावृत्ति । संरचनामा आइसकेको संघीय गणतन्त्र अनुभूतिमा कहिले आउने हो ? जवाफ सरल छैन ।
धच गोतामे, शंकर लामिछाने, ईश्वरवल्लभ, भैरव अर्याल, कृष्णचन्द्रसिंह प्रधान, शिव अधिकारी, पारिजात, नारायण ढकाल, खगेन्द्र संग्रौला, गोविन्द वर्तमान, डीपी भण्डारी, शारदा शर्मा आदिका निबन्धहरू पढें । कान्तिपुरमा एकताका ईश्वर वल्लभ स्तम्भ लेख्थे । रिठ्ठो नबिराई म पढ्थें । त्यो जटिल थियो तर दुरूहै होइन । बुझिन्थ्यो । हामीकहाँ सरल भए राम्रो, सरल नभए नराम्रो मानिन्छ । मलाई त्यस्तो लाग्दैन । जटिलता र सरलता सापेक्षिक कुरा हुन् । मिहिनेत गर्दा वल्लभ बुझिन्छ । पाठकले रुचिको परिष्कार गर्दै र बुझ्ने क्षमतालाई बढाउँदै गए हिजो ‘अमूर्त, कठिन’ भनिएका पुस्तक बुझ्न सकिन्छ । त्यस्तै वाउ,
गज्जब, बुलन्द भनिएको पुस्तक कालान्तरमा औसत लाग्न सक्छ । परिवर्तनशील चेतना यथार्थ हो ।
जब लेखनतिर अग्रसर भएँ, पठन मत्थर बन्यो । केही कारणहरू छन् । प्रथमत:, उमेर घर्कंदै गएपछि अब छनोट गर्नुपर्छ भन्ने लाग्यो । दोस्रो, समय छेलोखेलो रहेन । तेस्रो, रुचिको प्राथमिकता फेरियो । लेख्न थालेपछि सेलेक्टिभ भएँ । प्रारम्भमा पठनको चौबाटोमा उभिएकाले जे भेटिन्थ्यो पढिन्थ्यो । कस्तो खाले पढ्ने ? क्रमश: प्रश्न तेर्सिन थाल्यो । केही जवाफहरू सामुन्ने पाएँ । जसले मलाई सार्थक जीवन बाँच्न ऊर्जा दिन्छ । जसले मेरो सोचाइलाई गतिशील बनाउन सघाउँछ । जसले समयलाई बूढो हुनबाट जोगाउँछ । जसले फरक विचारप्रति सहिष्णु हुन सिकाउँछ । जसले विज्ञानसम्मत भएर बाँच्ने आधारहरू दिन्छ । र, जसले मान्छेका संवेदनाहरूलाई सूक्ष्म ढंगले निरीक्षण गर्न सक्षम बनाउँछ । त्यस्ता पुस्तकहरूलाई नजिक राख्ने अठोट गरें । रोमाञ्चित बनाउने, क्षणभर इन्द्रियलाई बलात् आकर्षण गर्ने तर थाहै नपाई आत्मध्वंसी विचार जन्माउने अतिरञ्जताले भरिएको नाटकीय, सनसनीपूर्ण र सतही पुस्तकलाई हटाउँदै लगें ।
लेखनयात्रामा सिकाइ कहिल्यै नसकिने । बरु मान्छेको जिज्ञासा सकिएला, सिकाइको सम्भावना जहिल्यै रहने । सिकाइसम्बन्धी एउटा घटना । २०६८ सालमा निबन्ध संगालो ‘चम्पारण ब्लुज’ लेख्दाको । विगतमा दक्षिण अफ्रिकाको भ्रमण गर्ने अवसर पाएको थिएँ । जोहनसवर्गमा कार्यक्रम सकिएपछि आयोजक संस्थाले नजिकैको सोबेतोको भ्रमणको कार्यक्रम थियो । सहभागी हामी दस, एघार जना भाडाको भ्यानमा चार बजेतिर सोबेतो लाग्यौं । सोबेतो सबअर्व । जोहनसवर्ग जति आधुनिक, सोबेतो उत्तिकै जर्जर । गरिबीले आक्रान्त, पूर्वाधारको अभावमा बाँचिरहेको अव्यवस्थित बस्ती । नेल्सन मन्डेलाको घर सोबेतो नै रहेछ । मन्डेलाको घर... अकस्मात अफ्रिकी साथी करायो । उसले पनि ढिलो सम्झेको थियो । गुडिरहेको गाडीबाटै फर्केर झ्यालबाट हेरें । रूखले छेलिएकाले घर प्रस्ट देख्न सकिएन । थकथक लागिरहयो ।
त्यही र त्यस्तै सन्दर्भलाई लिएर नियात्रा लेखेथें ‘महान् नेल्सन मन्डेलाको देशमा’ । त्यो निबन्ध ‘चम्पारण ब्लुज’ मा समावेश छ । उपयोगी सुझाव पाउने आशामा निबन्धकार एवम् कवि गोविन्द वर्तमानलाई पाण्डुलिपि देखाएँ । हप्ता दिनपछि उहाँले बोलाउनुभयो । पाण्डुलिपि फिर्ता गर्दै उहाँले भन्नुभयो, ‘तिमीले नेल्सन मन्डेलालाई महान्चाहिँ धेरै भनेका रहेछौ तर मन्डेलाको महानताको चर्चा कम गरेको देखिन्छ । विशेषण झुन्डयाउनु पर्दैन बरु मन्डेलाले रंगभेदी आन्दोलनमा पुर्‍याएको योगदानको बारेमा विस्तृत लेख्नू । पाठकले त्यसपछि उनी महान् व्यक्तित्व रहेछन् भनेर बुझिहाल्छन् नि ।’
म छ्वाङ्ग भएँ । गोविन्द वर्तमानको सुझाव राम्रो लाग्यो । दर्जनौं ‘महान्’ विशेषण हटाएँ र मन्डेलाको योगदानको बारेमा खोजीनिधी गरें । पाण्डुलिपिकै कभरमा वर्तमानले निबन्धहरूको समग्र मूल्याङ्कन गर्नुभएको छ । रातो मसीले लेखेको त्यो कभर अझै सुरक्षित छ । २४ वटा निबन्धहरूमा, ५ वटा ‘क’ श्रेणीका, १३ वटा ‘ख’ क्षेणीका र ६ वटा ‘ग’ श्रेणीका । मूल्याङ्कनमा वर्तमान निर्मम तर उत्तिकै आदरणीय । मानवशास्त्री सुरेश ढकाललाई पनि पाण्डुलिपि देखाएँ । उहाँबाट पनि महत्त्वपूर्ण सुझाव प्राप्त भएको थियो । पुस्तकमा आभार गर्नचाहिँ बिर्सेछु । त्यसको अफसोसचाहिँ छ । समृद्ध समीक्षा चेतना भएका केही लेखकहरूलाई पाण्डुलिपि देखाउनु राम्रो अभ्यास रहेछ भन्ने बोध त्यस घटनापछि भयो ।
समालोचनाको केही व्यावहारिक सिद्धान्त पनि खोजें । एउटा सिद्धान्त नै रहेछ, ‘अब्जेक्टिभ कोरिलेटिभ’ । त्यो सिद्धान्तको सार रहेछ ‘नभन, बरु देखाऊ ।’ ‘डन्ट टेल, सो’ । यो सिद्धान्तको पालना साहित्यमा जरुरी रहेछ । अचेल कलाको सिद्धान्तप्रति यथाशक्य सजग हुन्छु । विशेषणहरूबाट साहित्यलाई बचाऔं भन्ने कथनमा तुक छ ।
निबन्धमा वैचारिक खोजीको प्रधान्यता हुन्छ । खोजीका वस्तुगत कारणहरू उभ्याउने प्रयास गरिन्छ । त्यसैले सहायक पुस्तकहरू पढ्न उन्मुख भइन्छ । निबन्धको सत्त्व नै वैचारिकता हो । निबन्धतिर उन्मुख हुनुको यौटा कारण पछिल्ला चरणमा पढिएका त्यस खाले पुस्तकहरूको प्रभाव पनि होला । भारतका चर्चित निबन्धकार आरके नारायणका अनुसार निबन्ध दुईथरीका हुन्छन् । ‘वस्तुपरक निबन्ध’ र ‘आत्मपरक निबन्ध’ । नारायणको धारणा खासै नौलो होइन । तर धारणामा देखिने आत्मविश्वास अचम्मको छ । प्रमाणपत्र तहमा उनको कथा ‘ओपन विन्डो’ पढ्नुपथ्र्यो । नारायणको ‘मालगुडी डेज’ कृतिमा आधारित धाराबाहिक उत्तिकै चित्ताकर्षक र लोकप्रिय छ ।
सम्भव भएसम्म क्लासिक कृतिहरू पनि पढ्नुपर्छ । क्लासिक कृतिहरू समयले नामेट पार्न नसकेका पुस्तकहरू हुन् । समयको बतासले उडाउन नसकेको । समयको वर्षाले बगाउन नसकेको । र, समयको घामले खुइलाउन नसकेको । निबन्ध साहित्यमा देवकोटा, धच गोतामे, पारिजात, शंकर लामिछाने, कृष्णचन्द्र सिंह प्रधान, भैरव अर्याल, नारायण ढकाल, गोविन्द वर्तमान, खगेन्द्र संग्रौला, श्यामल, अभि सुवेदी, भुपीन, राजन मुकारुङ, मोहन मैनाली आदि नपढ्दा केही गुम्छन् नै । राम्रा लेख्ने तर पढ्न बाँकी रहेका निबन्धकार पनि पक्कै छन् । पछिल्लो छिमलका निबन्धकारहरूलाई पनि पढ्नैपर्छ । आफ्नो इतिहास, संस्कृति र पहिचान खोज्ने प्रवृत्ति समकालीन निबन्धको खास उपलब्धि बन्यो । जर्नालिज्मको पृष्ठभूमिबाट आएका केही लेखकले निबन्धलाई वस्तुनिष्ठ बनाउन योगदान दिए । लैङ्गिक समानताको मुद्दामा उठेको बहसले गैरआख्यान विधालाई विषयगत हिसाबले समृद्ध बनाएकै छ । यद्यपि अधिकांश त्यसखाले रचनाहरू कलाको दृष्टिले उच्च कोटीको देखिँदैनन् । नौलो विचार सोचेर त्यसमा निबन्ध लेख्नुभन्दा उच्चकोटीको कलात्मक निबन्ध लेख्न कठिन छ । मेरो विचारमा । फुटकर निबन्धमार्फत राम्रो छाप छाडेका निबन्धकार सरिता तिवारी, सरस्वती प्रतीक्षा, मनु मञ्जिल, हाङयुङ अज्ञातका पुस्तक प्रतीक्षाकै विषय छ । निबन्धकार दीपक सापकोटाले सम्पादन गरेको ‘निर्बन्ध मोन्टाज’ निबन्ध साहित्यको विकासको चरण, निबन्धगत वैचारिकता र शिल्पीको वैविध्य थाहा पाउन निकै सान्दर्भिक छ । समकालीन निबन्ध साहित्यको सबल आँखिझ्याल बनेको छ, निर्बन्ध मोन्टाज ।
सूचना प्रविधिको विकासले पाठकहरूलाई उत्तिकै शक्तिशाली बनाएको छ । सायद निर्णायक पनि । चाहे आख्यान, चाहे गैरआख्यान । लेखक र पाठकबीचको नैसर्गिक दृष्टिभेद धेरै हेर्न, सुन्न र पढ्न पाइन्छ सामाजिक सञ्जालमा । पाठकअनुसार प्रतिक्रिया पनि थरीथरीका आउँछन् । थरीथरीका अनपेक्षित प्रतिक्रिया आउँदा लेखक आश्चर्यमा पर्नु, दु:खी हुुनु अस्वाभाविक होइन तर अपरिपक्वता हो । तर फेरिंदै गरेको यथार्थ के हो भने, अब लेखकले पाठकसँग अन्तरक्रियाको निम्ति तैयार हुनैपर्छ । सामाजिक सञ्जालले लेखक र पाठकलाई आमनेसामने ल्याइदिएको छ । सामाजिक सञ्जालको भूसतह पनि मरुभूमिजस्तो । दौडन जत्ति सकिन्छ, लुक्न कतै सकिन्न ।
लेखकको पाठकसँग प्रत्यक्ष संवाद हो, निबन्ध । निबन्धमा लेखकले सोझै भन्छ । कथा र आख्यानमा जस्तरी पात्र उभ्याउँदैन । आफैं उभिन्छ । तसर्थ निबन्धमा लेखक थप उत्तरदायी बन्नुपर्छ । पात्र देखाएर उम्कने सुविधा निबन्धकारलाई छैन । वस्तुपरक निबन्धमा त झनै छैन । निबन्धमा लेखक नै विचारको बाहक हो । गफै त हो नि... भन्ने भद्दा मजाक कहिलेकाहीं सुन्छु । त्यस्तो मजाकले सिर्जनात्मक ऊर्जा खोस्छ । कवि ईश्वरवल्लभको भनाइ सम्झन्छु, ‘लेखन गम्भीर कर्म हो । गद्य पनि लेख्नू भाइ’, उहाँले भन्नुभएको थियो । ‘गद्य कविको कसी हो’ उहाँको वाक्य सम्झन्छु । संस्कृतमा श्लोकै रहेछ । आफू प्रभावित भएको लेखकले केही भनिदिँदा प्रभाव धेरै पर्दो रहेछ । अहिले चाल पाउँछु ।
अगि केही आधारभूत प्रश्नहरूले मलाई बिथोलिरहेको थियो । त्यसैको उत्तर खोज्ने क्रममा जे पाए, त्यसैलाई निबन्धको रूप दिएँ । कथाभन्दा निबन्ध सजिलो छ । कथालाई जस्तो निबन्धलाई बाँध्नुपर्दैन । सीधासीधा भन्न मिल्छ । म यसै एकोहोरो, सरल रेखामा हिँड्न मन पराउने मान्छे । नजिकका साथी र पत्नी पनि त्यसै भन्छन् । भेडा वर्गमै जन्मेको हुँ । भेडाजस्तै स्वभाव । संयोग मात्र हो भेडा वर्गमा जन्मनु । तर हाँसो उठिराख्छ । तर म मिहिनेत गर्न नछाड्ने मान्छे । दत्तचित भएर लागिरहन्छु एकोहोरो । कथावाचन गर्ने मेरो पटक्कै सामथ्र्य छैन । अगि कथा नलेखेको होइन तर कथामा पनि निबन्ध नै बढी पस्ने । कथाको संरचनालाई बुझ्नै नसकेकाले कथातिर चियाउन छाडें । निबन्ध यात्राको प्रारम्भिककालमा ‘बुधबार’, ‘समकालीन’ र ‘प्रकाश’ साप्ताहिकको सहयोगले पनि यही क्षेत्रमा लाग्न उत्साह थप्यो । अन्नपूर्ण संरक्षणको जागिरले मनग्य घुम्ने अवसर दियो । बिस्तारै निबन्धको बाटातिर पाइला चालें । निबन्ध आफ्नो बाटो बन्न पुग्यो । निकटको विधा बन्यो निबन्ध । निबन्धलाई नजिक मान्ने व्यक्तिले निबन्धको सेरोफेरोमा आफ्ना व्यक्तिगत सोचहरू राख्नु स्वाभाविक नै हो । साहित्यमा एउटा क्लिसे छ— आफूले थाहा भएको विषयमा लेख्नु । सोचिल्याउँदा त्यही क्लिसेलाई निर्वाह गरिरहेको रहेछु । क्लिसे भए पनि आखिर त्यसको अर्थ सत्यको धेरै नजिक पनि त छ । हैन र ?

प्रकाशित : माघ २०, २०७४ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT