कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सपना भुलाई सारा...

स्मृति
ज्ञानु अधिकारी

काठमाडौँ — सुरुचिटोलस्थित लेखक अधिकारी निवासमा पुग्दा देखिएको दृश्य विष्मयकारी थियो— पढेर आधा अधुरै छाडिएका पुस्तक, रजिस्टर कापीमा लेखिएका उपन्यास पाण्डुलिपि, केही रिसर्च आर्टिकल, कोठामा अलपत्रझैं भेटिए । 

सपना भुलाई सारा...

सपना भुलाई सारा आँसु पिएर जाऊ

मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ

एक बिहान बानेश्वरको सुरुचिटोलस्थित लेखक शिव अधिकारी निवासमा पुग्दा यस्तो लाग्यो, यो गीत सायद उनले आफ्नै लागि लेखेका हुन् । पढेर आधा अधुरै छाडिएका पुस्तक, रजिस्टर कापीमा लेखिएका उपन्यास पाण्डुलिपि, केही रिसर्च आर्टिकल, खोजअनुसन्धानका केही महत्त्वपूर्ण सामग्री कोठामा अलपत्रझैं भेटियो । घरधनी नभएको घरको माथिल्लो तलाको एउटा बन्द कोठाभित्र १५ बर्षयता यी सामग्री यत्तिकै बसिरहेका छन् । लेखक अधिकारीको ५० वर्षकै उमेरमा २०६० पुस २७ गते निधन भएको थियो ।


एक समयकी प्रभावशाली कविसमेत रहेकी सरला बिष्ट शिव अधिकारीकी श्रीमती हुन् । शैली र सुक्ति दुई छोरीका साथमा आध्यात्मिक क्षेत्रमा लागेकी उनी भारत प्रवासमा छिन् । यसकारण पनि लेखक, कवि, पत्रकार अधिकारीका थाती रचना र योजना अलपत्रै छन् । उनका फुटकर लेख, निबन्ध र रचनाहरू कुनकुन पत्रिकामा प्रकाशित छन् ? प्रकाशित गर्नका लागि विभिन्न संस्था तथा व्यक्तिलाई दिइएका पाण्डुलिपि कुनकुन थिए ? यसबारे घरपरिवारका सदस्य पनि बेखबर छन् ।


साहित्यका सबै विधामा गरेर अधिकारीका कविता, उपन्यास, नाटक र निबन्ध गरी एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । २०२९ मा ‘बालक सिद्धार्थ’ शीर्षकको किशोर नाटक लेखेर सर्वप्रथम आफ्नो साहित्यिक चेत प्रस्तुत गरेका शिवको यो कृति एसियन सांस्कृतिक केन्द्र, जापानबाट पुरस्कृत भएको थियो । यो रचना अङ्ग्रेजी, हिन्दी, उर्दू र अन्य भाषामा समेत अनुवाद भएको छ ।


अधिकारीका विदिशा, चेष्टा, आखेट, पुँश्चली नामका उपन्यास र दिगन्त सारथि, हाडमासुको पहाड, सम्प्रति, हिमालको हालचाल आदि कवितासङ्ग्रह प्रकाशित छन् । यस्तै, त्रासदी मुद्राहरू, तासको जामा र अरू तीन नाटक, सिंहासन, अन्यथा आशयजस्ता नाटक कृति प्रकाशित छन् । उनका ‘विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व र विचार’ कृति तथा ‘कलकत्ता इज विग सिटी’, ‘जनआन्दोलन डायरी’, ‘टनकपुर उवाच’ जस्ता निबन्ध पनि स्मरणीय छन् ।


अधिकारी आफ्ना साहित्यिक रचनामध्ये तुलनात्मक रूपमा नाटक विधामा बढी सशक्त देखिन्छन् । परम्परागत लेखनभन्दा पृथक् बसेर अधिकारीले सामयिक विषयमा प्रयोगवादी नाटक लेखेका छन् । उनले समकालीन सामाजिक तथा राजनीतिक विसङ्गतिमाथि व्यङ्ग्य गर्दै स्वैरकल्पनाको प्रयोग गरेका छन् । २०४८ सालको नाटक महोत्सवमा प्रज्ञाप्रतिष्ठानमा प्रदर्शित ‘तासको जामा’ नाटक र यो संग्रहमा रहेको ‘आशमाया’ शीर्षक रचना टेलिनाटक रूपमा समेत चर्चित रह्यो । यस नाटकको ४० वटा शृङ्खला नेपाल टेलिभिजनबाट प्रशारण भएको थियो ।अधिकारीको साहित्यकार र पत्रकार गरी सिर्जनशील जीवनका दुई पाटो छन् । दुवै क्षेत्रमा उनी स्वतन्त्र र निर्बाध रूपमा अघि बढिरहे । बानेश्वरबाट शङखमूल जाने बाटोमा पर्ने आफ्नै घरमा सुरुचि पत्रिकाको अफिस खोलेपछि त्यस ठाउँको नाम सर्वप्रथम सुरुचि टोल उनैले राखेका थिए । २०३५ मा नेपाल ल क्याम्पसबाट जागिरे जीवन प्रारम्भ गरेका अधिकारीले साझा प्रकाशन, जनसंख्या आयोग, मीनभवन क्याम्पस आदिमा समेत जागिरे भए । सधैंभर स्वतन्त्रताप्रेमी अधिकारीले जागिरे जीवन स्वेच्छिक रूपमा त्यागेर पत्रकारिता र साहित्यमा समर्पणलाई आफ्नो रोजाइको क्षेत्र बनाएका थिए । २०४२ मा देशान्तर साप्ताहिक पत्रिकाको स्तम्भ लेखकका रूपमा पत्रकारिता प्रारम्भ गरेका उनी पछि त्यसै पत्रिकाको सम्पादक भए । उनी सुरुचि, नवसुरुचि साप्ताहिक पत्रिकाका साथै गोरखापत्र दैनिकमा सम्बद्ध रहे ।


शिव अधिकारीले आफ्नो जीवनकालभर समाजका विभिन्न विषय, पात्र र प्रवृत्तिमाथि कटाक्ष गर्दै लेखिरहे । प्रतिकूल परिस्थितिमा पनि निर्भीक विचार राख्ने यी अब्बल पात्रका बारे कहींकतै पनि चासो राखेको पाइदैन । उनका समकालीन पत्रकार–लेखक पनि अधिकारीबारे पूरै बेखबर एवं मौन देखिन्छन् । उनले लेखेका र नाम कमाएका केही पुस्तक अहिले बजारमा पाइँदैन ।


शिव जीवनको अन्तिम क्षणसम्म सक्रिय थिए । त्यतिबेला उनको लेखनको उत्कर्षकाल थियो । अनुभव, अध्ययन र

सङ्गतका कारण लेखन द्रुत बनिरहेका बेलामा उनी यो संसारबाट हराए । लेख्दालेख्दैको कविता पूरा गर्न पाएनन्, लेखिसकेको उपन्यासको नाम राख्नै बाँकी थियो । एउटा नाटकसङ्ग्रह प्रेसमा जान तयार थियो । उनी यसरी गए कि एकाएक आँधी रोकिएजस्तो भयो ।


धादिङको सिरुवानीमा सामान्य कृषक परिवारमा जन्मिएर सङ्घर्षमय यात्राबाट आफ्नो पृथक् पहिचान बनाएका उनी आज गुमनाम छन् । आसेपासे राख्न नसक्ने र प्रशस्त पैसा जम्मा गर्न नसक्ने साहित्यिक व्यक्तित्व सायद शिव अधिकारी ‘बेखबर’ रहेझैं रहने पो हुन् कि ?

प्रकाशित : पुस २८, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?