स्वतन्त्रता र सौन्दर्य

तर्क
शैलिका छेत्री

काठमाडौँ — जब हर्मोनको चरम प्रक्रिया पन्छीमा हुन्छ, तब पन्छीको हूल प्रजननको निम्ति एक ठाउँबाट उडेर सुदूर ठाउँतिर स्थानान्तर गर्छ । त्यसबेला कैदमा रहेको माइग्रेटरी पन्छीचाहिँ पिँजडाभित्रै हर्मोनको उत्तेजनामा उड्ने निरन्तर संघर्षको कारण घाइते बन्छ । स्पष्ट छ, उड्ने स्वतन्त्रता गुमाएपछि जो कोही पनि घाइते बन्छ ।

डोरी र स्वतन्त्रता
डोरीले बाँधेको स्वतन्त्रता कस्तो हुन्छ ? सायद अभिधामा यसको उत्तर हुँदैन । यसको उत्तर पछिल्तिर एउटा कलात्मक टेक्सचर छ । हरेक उत्तरपछि अर्को प्रश्न उभिएकै हुन्छ । मानौं, सोध्यौँ, ‘स्वतन्त्रता के हो ?’ यसको उत्तर न मैले, न त अरू कसैले पनि सही तौरमा बुझेको विषय हो । आधुनिकतम चित्रकलाको नमुना हेरेपछि जसरी प्रत्येकले आफ्ना–आफ्नै थरीका व्याख्या दिन्छन्‌, यही हेर्ने, भोग्ने, बोध गर्ने वा भाइब्रेट गर्ने चरित्रभित्र कतै छ यो शब्द— ‘स्वतन्त्रता’ को समाजशास्त्रीय अर्थ ।

वास्तवमा स्वतन्त्रताको अर्थ के हो ?, संकीर्णतावादी रुझानदेखि पर व्यक्ति बनाम समूह, अन्तर्मुखी बनाम सामाजिक चेतनाबीचको वाइनेरी अपोजिसन्समा केही उत्तर होला । तर, त्यतिखेर घरीघरी मनमा एउटा प्रश्न आउँछ, हामी जन्म र मृत्यु अनि सामाज र परम्पराबीचको सीमित घेरोमाझ बन्दी रहँदा, हाम्रो स्वतन्त्रताको परिधि कति हदसम्म विस्तृत हुन्छ ? आखिर, त्यो व्यक्तिगत सत्य हो । मनुष्यमा कत्तै न कत्तै त यस्ता संकीर्णतावादी विचार निहित छ, जसको क्रूर प्रभावले जीवन जिउने स्वतन्त्रता तथा कलात्मक सौन्दर्यलाई भस्म गराउँछ । आखिर कति डोरीमुक्त छ स्वतन्त्रता ?

प्राचीन सौन्दर्य
कवि तुलसीदासद्वारा रचित ‘रामचरित्रमानस’ मा उबेलाका सामाजिक संकीर्णतावादी रुझानको बलियो उपस्थिति छ । कविले महाकाव्यमा आदर्श सामाजिक रूपरेखामा लोक, नीति, धर्म, ज्ञान, कर्मकाण्ड, भक्ति, वैराग्य, राजनीति तथा कूटनीतिको बयान गरे तापनि, त्यसबेलाको समाजमा सामाजिक, पारम्परिक, सांस्कृतिक, मनोवैज्ञानिक संकुचन थियो । त्यो उनको काव्यिक संवेगभरि छ । डा. रामविलास भन्छन्‌, ‘तुलसीको रामचरित्रमानसले राम भक्ति, वर्ण, जाति, धर्म आदिको कारण कसैलाई बहिष्कार गर्दैन । तर, तुलसीदासले मर्यादामा बाँधिएका पुरूष रामबारे चर्चा गर्दा सायद रामद्वारा मुक्तिकामी शम्बूकको वध भएको कुरा भुले होलान् ।’

यहाँ निर्धक्क एउटा नबुझेको कठिन पहेली मनमा उभिन्छ, शम्बूक मुक्तिकामी भए तापनि ऊ स्वतन्त्र प्राणी थियो । जीवनको प्रत्येक संवेदना उसमा पनि उत्तिकै उब्जिन्थ्यो होला । फेरि शम्बूकको वध किन हुनु ? त्यो पनि सामाजिक मार्यादाको सिङ्गो परिचय दिन मात्र ?

वास्तवमा त्यहाँ पनि प्राणीको जिउने अधिकार हनन भएको हो । स्वतन्त्रताले नै स्वतन्त्रता गुमाउने विम्बको यो प्राचीन सौन्दर्यले पनि स्वतन्त्रताका कुरा गर्नेहरूलाई धेरै केही भनिराखिदिएको छ ।

राजनीति र स्वतन्त्रता
आखिर, सबै राजनीति नै मानवद्रोही हुन्छ । राजनीतिक संगठन या संस्थाले मनुष्यको आत्मविवेकको हत्या गर्छ । त्यसैले आजको मानव जसरी अस्तित्व संकटको दौरबाट हिँडिरहेको छ, यो स्थिति अत्यन्त व्यापक अनि भयावह छ । धर्म, विज्ञान, भाषा, नैतिकता, आदर्श, जीवनदर्शन अनि आचरण मात्र नभएर स्वयंको अस्मिता अनि अस्तित्व पनि गम्भीर संकटमा छ । हुन पनि राजनीतिक पक्षबाट हेर्दा मनुष्य कति हदसम्म स्वतन्त्र बन्न सक्छन् र ?

हिन्दुस्तानमा प्रचण्ड ब्रिटिस साम्राज्यलाई सन् सैंतालीसमा महात्मा गान्धीको राजनीतिक उद्देश्य अनि विशुद्ध नैतिक अस्त्रको सफलतापूर्वक प्रयोगले, नैतिकतापूर्ण जनशक्तिको आधारमा, भारतबाट ब्रिटिस साम्राज्यलाई ध्वंस पार्दै, स्वाधीनताको मीठो स्वाद चखायो तर यस स्वाधीनता प्राप्तिपछि भारतमा चारैतिर लालझन्डाबाहेक केही देखिएन । त्यसको अर्थ स्वतन्त्रतापछि नै देश दबिएको समाज र उठेको समाजमा विभाजित बन्यो ।

देशको अधिकांश जनताले कंग्रेसी सत्ताको प्रभावले मानवमूल्यलाई कुल्चिएको मात्रै भेटाए, तर पनि यसैलाई प्राप्तिको रूपमा सत्ताले सम्पूर्ण देशको विकास मान्न थाल्यो । सायद विभाजित राजनीतिले तिरङ्गालाई कफन बनाएर मनाव चेतनालाई बेर्ने कार्य गर्‍यो । यसैकारण यसको शक्तिको दाउपेचले, स्वाधीनतापछि समाजमा त्यो अन्तर्विरोधी राजनीतिक चित्रमयताभित्र परस्पर विरोधी प्रेरणा, आवेग अनि कूटनीतिको अराजकतावादी स्वरको विकास गर्‍यो अनि त्यसैको छिटा दार्जिलिङमा पर्‍यो । त्यो अन्तरविरोध सुवास घिसिङको हरियो झन्डाको शासनमा उग्रद्रष्ट बन्यो अनि जनतालाई बंगालको अधीनमा नांगो–भोको तुल्याउँदै होमिदियो । अहिले आइडेन्टिटी क्राइसिस भोगिरहेका छौं ।
हुन पनि, कुनै राजनीतिक माग एकपक्षीय नरहेर सर्वतोमुखी क्रान्ति र विचारको रूपमा रूपान्तर भएपछि मात्रै त सफल बन्छ । यस राजनीतिक घर्षणबारे कवि पन्त बोल्छन्, “यस युगमा आर्थिक तथा राजनीतिक परिस्थितिको कारण शोषित प्रत्येक भूभागमा बढी संख्यामा नांगो अनि भोको जनताको प्रश्न सबैभन्दा आवश्यक अनि महत्त्वपूर्ण प्रश्न बनेर उभिन्छ । कारण मान्यता, रूढीवाद अनि परम्परा केवल कृत्रिम बोझ मात्र हुन् । यसको अन्तर्यमा निहित राजनीतिले मानवीय विकास मार्ग अवरुद्ध गर्छ, यसलाई हटाएर उदार आधुनिक दृष्टिकोणमा केन्द्रित रहेर मात्रै मानववादी दृष्टि ‘स्वतन्त्र अभिव्यक्ति’ बन्छ ।”

यस प्रकार, स्वाधीनताको मूल्यलाई केलाउँदै समकालीनतालाई एक दृष्टिबाट हेर्दा, झट्टै दिमागमा स्टिफेन स्पेडन्डरको ‘स्ट्रगल अफ द मर्डन’ ले दबाब दिन्छ । जसअनुसार समकालीन दुनियाँंमा संघर्षबाट सम्पृक्त बनेर मानव मूल्य अनि शक्तिलाई स्वीकार गरेर हिँड्‌दा एकतर्फ जीवन प्रतिक्रियाशील बोध हुन्छ त अर्कोतर्फ अतीत अनि भविष्यबाट निरपेक्ष रहेर युगको स्थिति–विशेष वा क्षण–विशेषप्रति आत्मीयताको भाव झल्किन्छ ।

यस परिप्रेक्ष्यमा वर्तमान जीवन, घटना अनि वास्तविक स्वरूप नवविकसित मूल्यबाट फुत्किएर संकुचित एवं संकीर्ण आयामतर्फ ढलेको पाइन्छ ।

सार रूपमा भन्दा, जीवन अव्यवस्थिति अनि स्वतन्त्रताहीनताले छट्‌पटिरहेको देखिन्छ ।
हुन पनि, मानिस कुन क्षेत्रमा पो स्वतन्त्र छ र ? अझ राजनीतिक दाउपेचभित्र मानव सोच बन्दी र अझ बाहुन्ने पो बन्छ ।

सात्र्र र स्वतन्त्रता
सात्र्रअनुसार यस सृष्टिको निर्माणपछिल्तिर केही विशेष कारण या उद्देश्य छ । तर, सृष्टि रचिन अनिवार्य थिएन । अनिवार्य थियो भने निरुद्देश्यताको थियो, जसले जीवनलाई सार्थक बनाउँथ्यो । यही अनिश्चितता नै सृष्टिको मूल लक्षण । यस प्रकारको सोचबाट मानव वैयक्तिक अनुभूतिलाई खुलेर अभिव्यक्त गर्दै ‘स्वतन्त्र’ बन्छ ।
सात्र्रले मनुष्यको ईश्वर, समाज, आदर्श, संस्था वा सत्ता प्रतिष्ठानप्रति उत्तरदायित्वको भावनालाई स्वीकार गर्दैनन् ‌तर मान्यता छ अपार स्वतन्त्रताले व्यक्तिलाई उशृङ्खल अनि उत्तरदायित्वहीन बनाउँछ । समाजमा अराजकता र विध्वंसकारी शक्ति बढेर जान्छ । तर, सात्र्रको समग्र दृष्टिबाट हेर्ने हो भने समाज स्वतन्त्र रहे, यहाँं प्रगतिशीलता, कर्मठता अनि आशावादिता बढेर, यसको उत्तोक्तर विकास हुन पुग्छ ।

ताव अफ फिजिक्स
संसारमा वर्तमान केही छैन, प्रकाश यात्राको कारण दृश्यसित सम्बन्धित हुनाले समयले सबैलाई भूत बनाइदिन्छ । हामी जो देख्छौं त्यो त्यही क्षणको नभएर केही अघिको घटना हुन्छ । सुदूर तारामण्डलमा भएको विस्फोट अहिलेकै विस्फोट हो र ?— त्यो घटना, प्रकाश यात्रा गर्दै पृथ्वीमा आइपुग्दा कति पुरानो घटना भइसकेको हुन्छ । त्यसरी नै भौतिक विज्ञानबाट चन्द्रशेखर लिमिटलाई राखेर हेर्दा पनि प्रत्येक कुराको सीमा भेटिन्छ । ताराहरू एकदेखि अनेकौं हुन्छन् तर समयान्तरमा फेरि सबै एकत्र भएर एक रूपमा जम्मा हुन्छ र पुन: अघिझैं विस्फोट तयारी हुन्छ । भनेपछि यो सबै प्रतिक्रिया पूर्णरूपले स्वतन्त्र घटित हुन्छ । यसै क्रमलाई पुष्टि गर्दै फित्रोज काप्राले पनि ताव अफ फिजिक्समा बयान गरेको विराट चुम्बकीय आकर्षण शक्तिको अस्तित्वबारेमा गरेको बयानबाजीले दिमागलाई एकै क्षण झस्काउँछ, कारण समस्त ब्रह्माण्डमा चलिआएको हरेक प्रतिक्रिया स्वतन्त्र हुन्छ, त्यसलाई नियन्त्रण गर्ने केही शक्ति पनि हुँदैन, त्यसैले त ब्रह्माण्ड अहिले पनि स्वतन्त्र रूपमा विस्तृत हुँदै छ । नयाँं ग्रह–नक्षत्र यसमा जोडिँदै छ । नयाँं सिर्जना देखा पर्दै छ । ईश्वरले रचेको ब्रह्माण्डको क्रिया–प्रक्रिया–प्रतिक्रिया स्वतन्त्र छ भने यही ईश्वरले बनाएको मानवचाहिँ किन संकुचनमा ? किन नियममा ? किन कठपुतली ? किन स्वतन्त्रताहीन ?

सात्र्र भन्छन्, ‘मानव पुरुषार्थी छ अनि आफ्नो नियति र भाग्यको निर्माता स्वयम्‌हुन्छ । मनुष्य परिस्थितिको चुनाउ गर्नुमा स्वतन्त्र नरहे तापनि परिस्थिति–विशेषप्रति आफ्नो स्वतन्त्र बाटो चयन गर्नु स्वतन्त्र रहन्छ ।

स्वतन्त्रता सूत्र
हो, मानव समाजमा प्रेमको नाममा यस्ता अप्रिय घटनाहरू दिनप्रतिदिन भई नै रहन्छन्, जहाँं प्रेमको मूल्यमा नारीले स्वयम्को अस्मिता अनि खुला चिताएको जस्तो जीवन बिताउनुबाट वञ्चित बन्छन् । कतै धार्मिक मान्यता जस्तै ‘कृष्णदासी’ र ‘देवदासी’ झैँ चलिआएको लिँडे अनैतिक मान्यतामा बाँधिँदै सकेसम्म नारी सत्ताधारी पुरुषको हातबाट सेक्सुअल प्लेजरको प्रतीक रूपमा शोषण हुनसम्म हुन्छ । यसै कारण पुरुष समाज नारीप्रति रहेको हीन अनि उदात्त अन्तर्विरोधले सधैं पुरुषलाई देवता र नारीलाई दासी बनाउँछ । यस प्रकारको वर्गशोषणबाट समाज मुक्त नहुँदा नै मनुष्यको साधारण सम्भावना अनि क्षमताको विकास हुँदैन । नारीलाई समाजले भोग सामग्रीको स्तरमा राखेर वेश्याको बीभत्स प्रतीक बनाएपछि, त्यस्तरी मान्यताको नाममा थुनिएको नारीभित्रको आत्मक्षयले समाजको आधा अनुहारको बयान गरिरहेको हुन्छ । आफैंमा थुनिएको नारीको आवाज कस्तो हुन्छ ? यतिखेर उसलाई स्वतन्त्रताको माने के हुन्छ ?

त्यो संवेदनालाई नाप्ने संवेदना कहाँ छ ? नारीलाई प्लेजरको वस्तु ठानेर समाजबाट नै निषेध गर्ने परपम्पराका मालिक को हुन् ? नारी हिंसा, हत्या, शोषणले तयार गर्ने मनोविज्ञान के हो ? यतिखेर स्वतन्त्रताको अर्थ कसरी न्यायिक र निर्णायक बन्न सक्छ ?

जस्तो गरी, व्यक्तिले प्रकृतिमा स्वतन्त्र उडिहिँड्ने माइग्रेटरी पन्छीको सुन्दरतामा लोभिएर शोकको नाममा त्यसलाई पिँजडामा कैदीबनाएर राख्छ ।

एउटा वैज्ञानिक अनुसन्धानअनुसार त्यसरी माइग्रेटरी पन्छीलाई कैदी बनाउँदा, वर्ड माइग्रेसनले स्पेस पाउँछ । त्यसबेला स्वत:स्फूर्त पन्छीमा उड्ने उत्तेजना उत्पन्न गराउने विशेष प्रकारको हर्मोन विकसित हुन्छ । भनिन्छ, ज्वालामुखीले धरतीमा महानाडी ईडा–पिंगला फड्‌काएझैं प्रभावशाली हुन्छ पन्छीमा त्यस हर्मोनको प्रक्रिया । अनि जब हर्मोनको चरम प्रक्रिया पन्छीमा हुन्छ, तब पन्छीको हूल प्रजननको निम्ति एक ठाउँबाट उडेर सुदूर ठाउँतिर स्थानान्तर गर्छ । त्यसबेला कैदमा रहेको माइग्रेटरी पन्छी चाहिँ पिँजडाभित्रै हर्मोनको उत्तेजनामा उड्ने निरन्तर संघर्षको कारण घाइते बन्छ । स्पष्ट छ, उड्ने स्वतन्त्रता गुमाएपछि जो कोही पनिघाइते बन्छ ।

प्रकृतिले स्वतन्त्र बाँंच्ने अधिकार दिएको प्राणीले परतन्त्र अधीनस्थ जिउनु वा स्वतन्त्रता गुमाउनुलाई संसारमा सभ्यता ठानिन्छ । समाज सोकल्ड स्वतन्त्रताले बनिएको छ । पुरानो यान्त्रिक भौतिकवादी डार्बिनको विचारअनुसार, ब्रह्मजगत्लाई निषेध गरेर यसमा डार्बिनको विकासवाद हालेर हेर्दा, स्वतन्त्रता कस्तो मोडमाउभिन्छ होला ?

कारण डार्बिनले संसारलाई मेसिन मान्छन् ‌र परिवेशलाई ज्ञान प्राप्तिको मूल स्रोत, यो हिसाबमा स्वतन्त्रता मनुष्यको नियति हो । डोरीले बाँधिएको स्वतन्त्रता अथवा स्वतन्त्रताको अर्थ नै बाँधिएको छ । त्यसरी नै सुफी कल्चरअनुरूप स्वतन्त्रता सायद ईश्वरत्व प्राप्तिपछि पाउने अलौकिक सुख होला ? वा मृत्युपछिको रहस्यमय मुक्ति ? जे होस्‌मलाई त लाग्छ हामी पल–प्रतिपल स्वतन्त्रता हराउने खेलिरहेका छौँ । स्वतन्त्रता हराउने बाँचिरहेका छौँ । अथवा बाँधिएको स्वतन्त्रताको सुरक्षा गरिरहेका छौँ । तपाईं नै भन्नुस् न, कस्तो हुन्छ मुक्तिको बाटो, यो कैद स्वतन्त्रताको निम्ति ?

प्रकाशित : पुस २८, २०७५ ०८:४५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सामाजिक सञ्जालको साङ्लो

बहस
यज्ञश

काठमाडौँ — एकदलीय, निर्दलीय र अधिनायकवादी सरकार भएका कतिपय देशहरूमा सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ भन्ने बहस एकातिर छ । राजनीतिक रूपमा संक्रमणमा रहेका वा कुनै कारण विशेषले अस्थिर देशहरूमा यो जोखिम बढ्दो छ ।

मिडिया रेस्पोन्सिबिलिटी इन द एज अफ डिसइन्फरमेसन’ शीर्षकको मेगामुर्रो फेलोसिपको सहभागीको रूपमा वासिङ्टन डीसी, आइवोवा, सान्टा फे (न्यू मेक्सिको) र टेम्पा (फ्लोरिडा) मा भएका अन्तरक्रिया र कुराकानी सुन्दा मनमा धेरै पटक चिसो पस्यो । डिसइन्फरमेसन, मिसइन्फरमेसन र फेक न्युजबारेका छलफलमा उठेका कुरालाई थोरै शब्दमा समेट्ने हो भने यस्तो लाग्थ्यो, सूचना र समाचारमाथि कालो बादल मडारिइरहेको छ । र, त्यो बादलको नाम हो— फेसबुक ।

डिक्सनरी डटकमले हरेक वर्ष कुनै एउटा शब्दलाई ‘वर्ड अफ द इयर’ (वर्षको शब्द) घोषणा गर्ने गरेको छ । २०१८ का लागि यसरी घोषित शब्द थियो— डिसइन्फरमेसन । यसैबाट अनुमान लगाउन सकिन्छ, यो कति ठूलो रोग बन्दै छ ।

विश्लेषकहरूले फेसबुक र अन्य सामाजिक सञ्जालले सत्य समाचारका लागि तीन प्रकारले खतरा बढाएको देखाएका छन् । गलत समाचार फैलाउने, प्रयोगकर्ताका सामग्री र उनीहरूबारेको जानकारी व्यापारिक प्रयोजनका लागि बेच्ने वा प्रयोगकर्तालाई थाहै नदिई उसको सूचना अरूलाई उपलब्ध गराउने र तेस्रो, समाचारमा सेन्सरसिप ।

एकदलीय, निर्दलीय र अधिनायकवादी सरकार भएका कतिपय देशहरूमा सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ भन्ने बहस एकातिर छ । राजनीतिक रूपमा संक्रमणमा रहेका वा कुनै कारणविशेषले अस्थिर देशहरूमा यो जोखिम बढ्दो छ । यस्ता देशहरूमा पत्रकारहरू पनि सुरक्षित छैनन् । टर्की, अफगानिस्तान, पाकिस्तानजस्ता देशहरू त सामाजिक सञ्जाल मात्र होइन, प्रेसमाथि नै नियन्त्रण बढ्दो छ । नेपालमै पनि बेलाबेला फेसबुकमाथि नियन्त्रण गर्नुपर्छ भन्ने गरिएको सुनिन्छ ।
अमेरिकन कंग्रेसमा जवाफ दिंदै फेसबुकका जुकरबर्ग

अर्कातिर सामाजिक सञ्जाल, खासगरी फेसबुक र ट्विटरले आम मानिसको आवाजलाई मुखरित गर्न मद्दत गरेको छ । सरकार, ठूला संगठन वा मिडिया हाउसलाई पनि जनता, उपभोक्ता र पाठकका प्रश्न/आलोचना सुन्न सामाजिक सञ्जालले बाध्य पारेका उदाहरण नेपालमै प्रशस्त छन् । यसरी हेर्दा फेसबुकलाई लोकतान्त्रिक मञ्चको रूपमा लिने गरिएको छ, जसले शक्ति सबैको हातमा पुर्‍याइदिएको छ । सत्ता वा शासकलाई प्रश्न गर्ने र आलोचना गर्न पाउने शक्ति सबभन्दा ठूलो शक्ति हो । नेपालका ठूल्ठूला आन्दोलन यही अधिकारका लागि भएका हुन् ।
***

फेसबुक वा ट्विटर आफैंमा समाचार उत्पादक होइनन् । यिनका संवाददाता वा सम्पादक छैनन् । तर, यिनले अरू कसैले उत्पादन गरेको समाचारलाई प्रसार गर्ने काममा भने क्रान्ति ल्याएका छन् । समाचार उत्पादक मिडिया जतिसुकै सानो होस् वा कुनै एक व्यक्तिको विचार होस्, त्यसलाई सजिलै, मिनेटभरमै लाखौं मानिसका बीच पुर्‍याउने काम सामाजिक सञ्जालले गर्छ ।

उदाहरणका लागि सन् २०१८ को एउटा तथ्यांक हेरौं । न्युज लिटरेसी प्रोजेक्टले गत वर्ष औसत एक मिनेटमा सामाजिक सञ्जालमा के–के हुन्छ भन्ने तथ्यांक सार्वजनिक गरेको थियो । त्यसअनुसार एक मिनेटमा फेसबुकमा ९ लाख ७३ हजार वटा लग इन भए । ट्विटरमा ४ लाख ८१ हजार ट्विट गरिए । स्न्याप–च्याटमा २४ लाख वटा एकाउन्ट खोलिए । ३७ लाख पटक गुगल खोजी गरियो । ह्वाट्स–एपमा ३८ लाखवटा सन्देश पठाइए । युट्युबमा एक मिनेटमा ४३ लाखवटा भिडियो हेरिए । र, एक मिनेटमा १ करोड ८७ लाखवटा इमेल पठाइयो ।

यो तथ्यांक हेर्दा यस्तो लाग्छ, पृथ्वीका सारा मानिस इन्टरनेटमै व्यस्त छन् । र, सबै काम वेबकै दुनियामा मात्रै हुन्छ । तपाईंको म्यासेज–बक्स वा वालमा हुने/देखिने यस्ता गतिविधिमध्ये कतिवटा समाचारसँग सम्बन्धित हुन्छन् । र, तीमध्ये कति गलत (फेक न्युज) होलान् ? तपाईं एक पटक सोच्नुस् ।

कोरिया टाइम्समा प्रकाशित एक समाचारअनुसार कोरियाको फेसबुकमा प्रसारित १० मध्ये ६ वटा समाचार फेक न्युज हुने गरेका छन् । समाचारमा कुनै कुरा गलत हुुनु/नमिल्नु गल्ती हुन्छ तर पूरै समाचार नै गलत तथ्यमा वा गलत उद्देश्यका साथ बनाइएको छ भने त्यो अर्कै कुरा हुन्छ । सामाजिक सञ्जालमा सजिलै फैलिने फेक न्युजको प्रसंग २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनपछि संसारभर निकै चर्चामा आयो । हालै ब्राजिलमा सामाजिक सञ्जालकै चरम दुरुपयोग गरी फेक न्युजलाई हतियार बनाएर दक्षिणपन्थी दलका उम्मेदवार राष्ट्रपति निर्वाचित भए । रुस र युक्रेनबीचको विवादमा पनि सरकारहरूले नै फेक न्युज प्रचारप्रसार गरेको भेटिएको छ ।
पत्रकार डाना प्रिस्ट

एउटा अर्को अध्ययनले ३२ वटा देशमा सरकारले नै सामाजिक सञ्जालमा समाचार फैलाउने र प्रतिक्रिया लेख्नका लागि मान्छे प्रयोग गरेको भेटिएको छ । फिलिपिन्स सरकारले ‘ट्रोल आर्मी’ नै खडा गरी एक जनालाई दिनको १० डलर दिने गरेको पाइएको थियो । केन्यामा त राष्ट्रपति चुनावताका प्रसारित फेक न्युजमा बीबीसी र सीएनएनका नक्कली लोगोसमेत प्रयोग भएको थियो ।

यी सबैलाई जित्नेखाले तथ्यांकचाहिँ अमेरिकाकै छ । २०१६ को डोनाल्ड ट्रम्प–हिलारी क्लिन्टन राष्ट्रपतीय प्रतिस्पर्धामा फैलाइएका फेक न्युजको संख्या निकै ठूलो छ । स्ट्यान्फोर्ड युनिभर्सिटीको जर्नलमा प्रकाशित खोजका अनुसार यो चुनाव अवधिमा फेसबुकमा मात्रै ३ करोड ८० लाख पटक फेक न्युज सेयर भएका थिए । यिनमा तीन करोड गलत समाचार ट्रम्पका पक्षमा लेखिएका थिए भने ८० लाख हिलारीका पक्षमा । यी सबै सेयर भएका समाचारमा भएका क्लिकको संख्याचाहिँ ७६ करोड थियो । यी फेक न्युजको मानिसमा प्रभाव कति पर्‍यो होला भन्नेचाहिँ अनुमान मात्रै गर्न सकिन्छ ।

सामाजिक सञ्जाल यस्तो जञ्जाल हो जहाँ प्रसारित समाचारको विश्वसनीयता जाँच्न कठिन छ । समाचारको स्रोत, लेख्ने व्यक्ति र प्रकाशन गर्ने संस्थाबारे ज्ञान नहुने पाठकका लागि सबै समाचार उस्तै लाग्न सक्छन् । र, गलत तथ्य फैलाउने वा मानिसलाई भ्रम छर्न तम्सिनेका लागि यही नै वरदान हुने गरेको छ ।
पानमा पेपर सार्वजनिक गर्ने आईसीआईजेका संस्थापक पत्रकार चाल्र्स लुइज

पानामा पेपर्सजस्तो ठूलो घोटालालाई सार्वजनिक गर्ने आईसीआईजेका संस्थापक एवं अमेरिकन युनिभर्सिटी स्कुल अफ जर्नलिज्मका प्राध्यापक चाल्र्स लुइस फेक न्युज र ‘ट्रोल आर्मी’ ले ठूला मिडियाको विश्वसनीयतामाथि आक्रमण गरिरहेको बताउँछन् । इन्भेस्टिगेटिभ रिर्पोटिङ वर्कसपका कार्यकारी सम्पादक लुइस यसको नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै मान्छन् । पछिल्लो दुई वर्षमा ट्रम्पले ५ हजार पटक झूट बोलेको उनी बताउँछन् । सीएनएन र न्युयोर्क टाइम्सका पत्रकारहरूलाईह्वाइट हाउसकै कार्यक्रमम ट्रम्पले ‘फेक न्युज’ को आरोप लगाउँदै दुव्र्यवहार गरेको उनी बताउँछन् ।
***

ट्युनिसिया र इजिप्टबाट सुरु भएको अरब स्प्रिङमा सामाजिक सञ्जालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भनेर फेसबुक र ट्विटरको संसारभर व्यापक प्रशंसा भएको थियो । तर, त्यसको केही वर्ष नबित्दै खासगरी फेसबुकलाई संसारभर गलत समाचार फैलाउनमा मुख्य दोषी मानिएको छ । गलत समाचारका साथै व्यापारिक प्रयोजनका लागि प्रयोगकर्ताको डाटा बेचेको आरोपमा फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गलाई अमेरिकी कांग्रेसले बयानसमेत लियो ।

फिलिपिन्स, ब्राजिल, भारत र म्यानमारमा पछिल्लो समय भएका धार्मिक र साम्प्रादायिक तनावमा फेसबुक र यही कम्पनीको स्वामित्व गरेको ह्वाट्स–एपबाट फैलिएका गलत समाचारको भूमिका निकै अहं मानिएको छ । बेलाबेला कुनै व्यक्ति वा समुदायबारे गरिने गालीगलौज र चरित्र हत्या (हेट स्पिच) गर्ने खालका समाचार, भिडियो वाइट पनि यिनमा प्रसारित भइरहेका हुन्छन् ।

के फेसबुक साँच्चि नै गलत समाचारको प्रसारण गर्न र सामाजिक सद्भाव बिथोल्न मुख्य हतियार बनिरहेको छ ? यसबारे वासिङ्टन पोस्टकी पुलित्जर पुरस्कार विजेता खोजी पत्रकार डाना प्रिस्टले डकुमेन्ट्री बनाएकी छन् । ‘द फेसबुक डेलिमा’ नामक यो दुई भागको डकुमेन्ट्री प्रिस्ट र पत्रकार जेम्स ज्याकोबी मिलेर बनाएका हुन् । यसमा भारत, फिलिपिन्स, अमेरिका र म्यानमारका केही घटनालाई लिएर त्यसमा फेसबुकको भूमिकाबारे प्रश्न उठाइएको छ ।

म्यानमारमा अल्पसंख्यक मुसलमान (रोहिंग्या)माथि गरिएका आक्रमण र उनीहरूको विस्थापनले संसारको ध्यान खिच्यो । तर, त्यसका लागि फेसबुक र ह्वाट्सएपको कसरी प्रयोग गरिएको थियो भन्ने यो डकुमेन्ट्रीमा देखाइएको छ । मुख्य आक्रमण हुनुभन्दा केहीअघिदेखि नै संगठित रूपमा उनीहरूका बारे गलत सूचना र समाचार फैलाइएको थियो । र, स्थानीय भाषामा सन्देशहरू पठाइएको थियो । अन्य ठाउँमा समेत यस्तै पाइएको डकुमेन्ट्रीको दाबी छ ।
अमेरिकाको न्यू मेक्सिको, सान्टा फेमा डिसेम्बर ४ देखि ७ सम्म चलेको ‘जर्नलिज्म अन्डर फायर’ मा डाना प्रिस्टले यो डकुमेन्ट्रीबारे बोलेकी थिइन् । कमिटी टु प्रोटेक्ट जर्नलिस्ट र सान्टा फेको थिङ्क ट्यांक सीआईआरले यो सम्मेलन आयोजनागरेका थिए ।

डकुमेन्ट्रीको दोस्रो भागमा यसको सुरक्षा शाखाका अधिकारी, फेसबुकका पूर्वकर्मचारी र फेसबुकबाट गलत सन्देश तथा हेट स्पिच फैलिइरहेको छ भनेर आवाज उठाउने अभियन्ताको अन्तर्वार्ता गरिएको छ । फेसबुकका पाँच जना कर्मचारीले यसको जवाफ दिएका छन् । र, सबैको जवाफ एउटै छ— हामीले यो विषयको गम्भीरता बेलैमा बुझेर कदम चाल्न सकेनौं । यो नै हाम्रो गल्ती भयो ।

उनीहरूका कुरा सुन्दा थाहा हुन्छ– फेसबुकसँग म्यासेन्जर वाह्वाट्सएपमा स्थानीय भाषामा फैलिने सन्देशहरू केसँग सम्बन्धित छन्, तिनले कसैको चरित्रहत्या गर्छन् कि वा कुनै समुदायलाई नै आक्षेप लगाउने वा उत्तेजित बनाउने कुरा पो छन् कि भनेर बुझ्ने जनशक्ति नै छैन । म्यानमारमा रोहिंग्यामाथि भएको आक्रमणबारेको प्रश्नमा फेसबुकका सबैजसो स्टाफले ध्यान दिन ढिला भएको र कतिपय कुरा नबुझेको बताएका छन् ।

धेरैजसो युवा स्टाफले गरिएको फेसबुकको सुरक्षासम्बन्धी संयन्त्र निकै कमजोर देखिन्छ । तर, यही सानो र अनविज्ञ टिमको हातमा संसारभरका समाचार र सन्देशहरू छन् भन्ने तथ्य डरलाग्दो छ ।

यसका साथै क्याम्ब्रिज एनालिटिकालाई व्यापारिक प्रयोजनका लागि फेसबुक प्रयोगकर्ताको तथ्यांक बेचेको आरोप त संगीन नै छ । क्याम्ब्रिज एनालिटिकाले ठूल्ठूला देशमा हुने चुनावका लागि उम्मेदवारलाई सामाजिक सञ्जाल प्रयोगकर्ताको तथ्यांक उपलब्ध गराउने गरेको छ । ताकि, उम्मेदवारहरूले आफूले चाहेको मतदातासम्म चाहेको सूचना पुर्‍याउन सकून् । क्याम्ब्रिज एनालिटिकाले भारतीय चुनावमा समेत उम्मेदवारहरूलाई डाटा बेचेको थियो । उसको दाबी नै छ, ‘जथाभावी प्रचार गरेर कसले हेर्छ ? जसको हातमा भोट छ, हामी सूचना उसकै वाल वा म्यासेज बक्समा पुर्‍याउँछौं ।’
***

अन्त्यमा सेन्सरसिप । फेसबुकजस्ता सामाजिक सञ्जाल मात्र होइन, अनलाइन न्युज पोर्टलहरूले पनि अचेल ‘आर्टिफिसियल इन्टलीजेन्स’ को प्रयोग गर्छन् । यसमा केही समयसम्म पाठक वा प्रयोगकर्ताले खोल्ने लिंक, पढ्ने लेखबारे विश्लेषण गरिन्छ । र, उसले धेरै पढेकै जस्ता सामग्रीहरू उसलाई पठाइन्छ । बिस्तारै उसको वालमा त्यस्ता मात्रै सामग्री देखा पर्न थाल्छन् ।

अन्य सामग्री ओझेल पर्न थाल्छन् । तपाईंले कहिल्यै जुत्तासम्बन्धी कुनै सामग्री वा फोटो धेरै हेर्नुभयो भने तपाईंको वालमा जुत्ताको विज्ञापन देखा पर्न थाल्न सक्छ । समाचारमा पनि यस्तै हुन्छ । तपाईंले कुनै निश्चित समयमा जस्ता समाचार बढी पढ्नुहुन्छ, फेसबुकले तपाईंलाई त्यस्तै मात्रै समाचार देखाउन सक्छ । अर्थात्, तपाईंले जे मन पराउनुहुन्छ भनेर उसले ठान्छ, त्यही मात्र तपार्इंलाई देखाउन थाल्छ । यो एक किसिमको सेन्सरसिप हो ।

तपाईंको रुचि खेलकुद वा सिनेमामा होला तर यसको मतलब तपाईंलाई राजनीतिक कुरामा मतलब नै छैन भन्ने हुँदैन । बरु, त्यो समाचार तपाईंका लागि अत्यावश्यक हुन सक्छ । यसरी फेसबुक वा ट्विटरले नै तपाईंका लागि समाचारको छनोट गरेर एक किसिमका मात्रै लिंक तपाईंलाई देखाउँछ भने तपाईंको छनोटको अधिकार रहँदैन ।

बजारमा धेरै किसिमका पत्रिका, रेडियो, अनलाइन वा टेलिभिजनले समाचार उत्पादन गर्छन् । यीमध्ये कुन पढ्ने, कुन सुन्ने वा हेर्ने छनोटको अधिकार पाठकको हो । तर, सामाजिक सञ्जालमा त्यो अधिकार साँच्चिकै पाठकको हातमा छ त ? डाना प्रिस्ट भन्छिन्, ‘छैन । फेसबुकले समाचारमाथि अघोषित रूपमा सेन्सरसिप लगाइरहेको छ ।’

प्रकाशित : पुस २८, २०७५ ०८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT