कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वतन्त्रता र सौन्दर्य

तर्क
शैलिका छेत्री

काठमाडौँ — जब हर्मोनको चरम प्रक्रिया पन्छीमा हुन्छ, तब पन्छीको हूल प्रजननको निम्ति एक ठाउँबाट उडेर सुदूर ठाउँतिर स्थानान्तर गर्छ । त्यसबेला कैदमा रहेको माइग्रेटरी पन्छीचाहिँ पिँजडाभित्रै हर्मोनको उत्तेजनामा उड्ने निरन्तर संघर्षको कारण घाइते बन्छ । स्पष्ट छ, उड्ने स्वतन्त्रता गुमाएपछि जो कोही पनि घाइते बन्छ ।

स्वतन्त्रता र सौन्दर्य

डोरी र स्वतन्त्रता

डोरीले बाँधेको स्वतन्त्रता कस्तो हुन्छ ? सायद अभिधामा यसको उत्तर हुँदैन । यसको उत्तर पछिल्तिर एउटा कलात्मक टेक्सचर छ । हरेक उत्तरपछि अर्को प्रश्न उभिएकै हुन्छ । मानौं, सोध्यौँ, ‘स्वतन्त्रता के हो ?’ यसको उत्तर न मैले, न त अरू कसैले पनि सही तौरमा बुझेको विषय हो । आधुनिकतम चित्रकलाको नमुना हेरेपछि जसरी प्रत्येकले आफ्ना–आफ्नै थरीका व्याख्या दिन्छन्‌, यही हेर्ने, भोग्ने, बोध गर्ने वा भाइब्रेट गर्ने चरित्रभित्र कतै छ यो शब्द— ‘स्वतन्त्रता’ को समाजशास्त्रीय अर्थ ।


वास्तवमा स्वतन्त्रताको अर्थ के हो ?, संकीर्णतावादी रुझानदेखि पर व्यक्ति बनाम समूह, अन्तर्मुखी बनाम सामाजिक चेतनाबीचको वाइनेरी अपोजिसन्समा केही उत्तर होला । तर, त्यतिखेर घरीघरी मनमा एउटा प्रश्न आउँछ, हामी जन्म र मृत्यु अनि सामाज र परम्पराबीचको सीमित घेरोमाझ बन्दी रहँदा, हाम्रो स्वतन्त्रताको परिधि कति हदसम्म विस्तृत हुन्छ ? आखिर, त्यो व्यक्तिगत सत्य हो । मनुष्यमा कत्तै न कत्तै त यस्ता संकीर्णतावादी विचार निहित छ, जसको क्रूर प्रभावले जीवन जिउने स्वतन्त्रता तथा कलात्मक सौन्दर्यलाई भस्म गराउँछ । आखिर कति डोरीमुक्त छ स्वतन्त्रता ?


प्राचीन सौन्दर्य

कवि तुलसीदासद्वारा रचित ‘रामचरित्रमानस’ मा उबेलाका सामाजिक संकीर्णतावादी रुझानको बलियो उपस्थिति छ । कविले महाकाव्यमा आदर्श सामाजिक रूपरेखामा लोक, नीति, धर्म, ज्ञान, कर्मकाण्ड, भक्ति, वैराग्य, राजनीति तथा कूटनीतिको बयान गरे तापनि, त्यसबेलाको समाजमा सामाजिक, पारम्परिक, सांस्कृतिक, मनोवैज्ञानिक संकुचन थियो । त्यो उनको काव्यिक संवेगभरि छ । डा. रामविलास भन्छन्‌, ‘तुलसीको रामचरित्रमानसले राम भक्ति, वर्ण, जाति, धर्म आदिको कारण कसैलाई बहिष्कार गर्दैन । तर, तुलसीदासले मर्यादामा बाँधिएका पुरूष रामबारे चर्चा गर्दा सायद रामद्वारा मुक्तिकामी शम्बूकको वध भएको कुरा भुले होलान् ।’


यहाँ निर्धक्क एउटा नबुझेको कठिन पहेली मनमा उभिन्छ, शम्बूक मुक्तिकामी भए तापनि ऊ स्वतन्त्र प्राणी थियो । जीवनको प्रत्येक संवेदना उसमा पनि उत्तिकै उब्जिन्थ्यो होला । फेरि शम्बूकको वध किन हुनु ? त्यो पनि सामाजिक मार्यादाको सिङ्गो परिचय दिन मात्र ?


वास्तवमा त्यहाँ पनि प्राणीको जिउने अधिकार हनन भएको हो । स्वतन्त्रताले नै स्वतन्त्रता गुमाउने विम्बको यो प्राचीन सौन्दर्यले पनि स्वतन्त्रताका कुरा गर्नेहरूलाई धेरै केही भनिराखिदिएको छ ।


राजनीति र स्वतन्त्रता

आखिर, सबै राजनीति नै मानवद्रोही हुन्छ । राजनीतिक संगठन या संस्थाले मनुष्यको आत्मविवेकको हत्या गर्छ । त्यसैले आजको मानव जसरी अस्तित्व संकटको दौरबाट हिँडिरहेको छ, यो स्थिति अत्यन्त व्यापक अनि भयावह छ । धर्म, विज्ञान, भाषा, नैतिकता, आदर्श, जीवनदर्शन अनि आचरण मात्र नभएर स्वयंको अस्मिता अनि अस्तित्व पनि गम्भीर संकटमा छ । हुन पनि राजनीतिक पक्षबाट हेर्दा मनुष्य कति हदसम्म स्वतन्त्र बन्न सक्छन् र ?


हिन्दुस्तानमा प्रचण्ड ब्रिटिस साम्राज्यलाई सन् सैंतालीसमा महात्मा गान्धीको राजनीतिक उद्देश्य अनि विशुद्ध नैतिक अस्त्रको सफलतापूर्वक प्रयोगले, नैतिकतापूर्ण जनशक्तिको आधारमा, भारतबाट ब्रिटिस साम्राज्यलाई ध्वंस पार्दै, स्वाधीनताको मीठो स्वाद चखायो तर यस स्वाधीनता प्राप्तिपछि भारतमा चारैतिर लालझन्डाबाहेक केही देखिएन । त्यसको अर्थ स्वतन्त्रतापछि नै देश दबिएको समाज र उठेको समाजमा विभाजित बन्यो ।


देशको अधिकांश जनताले कंग्रेसी सत्ताको प्रभावले मानवमूल्यलाई कुल्चिएको मात्रै भेटाए, तर पनि यसैलाई प्राप्तिको रूपमा सत्ताले सम्पूर्ण देशको विकास मान्न थाल्यो । सायद विभाजित राजनीतिले तिरङ्गालाई कफन बनाएर मनाव चेतनालाई बेर्ने कार्य गर्‍यो । यसैकारण यसको शक्तिको दाउपेचले, स्वाधीनतापछि समाजमा त्यो अन्तर्विरोधी राजनीतिक चित्रमयताभित्र परस्पर विरोधी प्रेरणा, आवेग अनि कूटनीतिको अराजकतावादी स्वरको विकास गर्‍यो अनि त्यसैको छिटा दार्जिलिङमा पर्‍यो । त्यो अन्तरविरोध सुवास घिसिङको हरियो झन्डाको शासनमा उग्रद्रष्ट बन्यो अनि जनतालाई बंगालको अधीनमा नांगो–भोको तुल्याउँदै होमिदियो । अहिले आइडेन्टिटी क्राइसिस भोगिरहेका छौं ।

हुन पनि, कुनै राजनीतिक माग एकपक्षीय नरहेर सर्वतोमुखी क्रान्ति र विचारको रूपमा रूपान्तर भएपछि मात्रै त सफल बन्छ । यस राजनीतिक घर्षणबारे कवि पन्त बोल्छन्, “यस युगमा आर्थिक तथा राजनीतिक परिस्थितिको कारण शोषित प्रत्येक भूभागमा बढी संख्यामा नांगो अनि भोको जनताको प्रश्न सबैभन्दा आवश्यक अनि महत्त्वपूर्ण प्रश्न बनेर उभिन्छ । कारण मान्यता, रूढीवाद अनि परम्परा केवल कृत्रिम बोझ मात्र हुन् । यसको अन्तर्यमा निहित राजनीतिले मानवीय विकास मार्ग अवरुद्ध गर्छ, यसलाई हटाएर उदार आधुनिक दृष्टिकोणमा केन्द्रित रहेर मात्रै मानववादी दृष्टि ‘स्वतन्त्र अभिव्यक्ति’ बन्छ ।”


यस प्रकार, स्वाधीनताको मूल्यलाई केलाउँदै समकालीनतालाई एक दृष्टिबाट हेर्दा, झट्टै दिमागमा स्टिफेन स्पेडन्डरको ‘स्ट्रगल अफ द मर्डन’ ले दबाब दिन्छ । जसअनुसार समकालीन दुनियाँंमा संघर्षबाट सम्पृक्त बनेर मानव मूल्य अनि शक्तिलाई स्वीकार गरेर हिँड्‌दा एकतर्फ जीवन प्रतिक्रियाशील बोध हुन्छ त अर्कोतर्फ अतीत अनि भविष्यबाट निरपेक्ष रहेर युगको स्थिति–विशेष वा क्षण–विशेषप्रति आत्मीयताको भाव झल्किन्छ ।


यस परिप्रेक्ष्यमा वर्तमान जीवन, घटना अनि वास्तविक स्वरूप नवविकसित मूल्यबाट फुत्किएर संकुचित एवं संकीर्ण आयामतर्फ ढलेको पाइन्छ ।


सार रूपमा भन्दा, जीवन अव्यवस्थिति अनि स्वतन्त्रताहीनताले छट्‌पटिरहेको देखिन्छ ।

हुन पनि, मानिस कुन क्षेत्रमा पो स्वतन्त्र छ र ? अझ राजनीतिक दाउपेचभित्र मानव सोच बन्दी र अझ बाहुन्ने पो बन्छ ।


सात्र्र र स्वतन्त्रता

सात्र्रअनुसार यस सृष्टिको निर्माणपछिल्तिर केही विशेष कारण या उद्देश्य छ । तर, सृष्टि रचिन अनिवार्य थिएन । अनिवार्य थियो भने निरुद्देश्यताको थियो, जसले जीवनलाई सार्थक बनाउँथ्यो । यही अनिश्चितता नै सृष्टिको मूल लक्षण । यस प्रकारको सोचबाट मानव वैयक्तिक अनुभूतिलाई खुलेर अभिव्यक्त गर्दै ‘स्वतन्त्र’ बन्छ ।

सात्र्रले मनुष्यको ईश्वर, समाज, आदर्श, संस्था वा सत्ता प्रतिष्ठानप्रति उत्तरदायित्वको भावनालाई स्वीकार गर्दैनन् ‌तर मान्यता छ अपार स्वतन्त्रताले व्यक्तिलाई उशृङ्खल अनि उत्तरदायित्वहीन बनाउँछ । समाजमा अराजकता र विध्वंसकारी शक्ति बढेर जान्छ । तर, सात्र्रको समग्र दृष्टिबाट हेर्ने हो भने समाज स्वतन्त्र रहे, यहाँं प्रगतिशीलता, कर्मठता अनि आशावादिता बढेर, यसको उत्तोक्तर विकास हुन पुग्छ ।


ताव अफ फिजिक्स

संसारमा वर्तमान केही छैन, प्रकाश यात्राको कारण दृश्यसित सम्बन्धित हुनाले समयले सबैलाई भूत बनाइदिन्छ । हामी जो देख्छौं त्यो त्यही क्षणको नभएर केही अघिको घटना हुन्छ । सुदूर तारामण्डलमा भएको विस्फोट अहिलेकै विस्फोट हो र ?— त्यो घटना, प्रकाश यात्रा गर्दै पृथ्वीमा आइपुग्दा कति पुरानो घटना भइसकेको हुन्छ । त्यसरी नै भौतिक विज्ञानबाट चन्द्रशेखर लिमिटलाई राखेर हेर्दा पनि प्रत्येक कुराको सीमा भेटिन्छ । ताराहरू एकदेखि अनेकौं हुन्छन् तर समयान्तरमा फेरि सबै एकत्र भएर एक रूपमा जम्मा हुन्छ र पुन: अघिझैं विस्फोट तयारी हुन्छ । भनेपछि यो सबै प्रतिक्रिया पूर्णरूपले स्वतन्त्र घटित हुन्छ । यसै क्रमलाई पुष्टि गर्दै फित्रोज काप्राले पनि ताव अफ फिजिक्समा बयान गरेको विराट चुम्बकीय आकर्षण शक्तिको अस्तित्वबारेमा गरेको बयानबाजीले दिमागलाई एकै क्षण झस्काउँछ, कारण समस्त ब्रह्माण्डमा चलिआएको हरेक प्रतिक्रिया स्वतन्त्र हुन्छ, त्यसलाई नियन्त्रण गर्ने केही शक्ति पनि हुँदैन, त्यसैले त ब्रह्माण्ड अहिले पनि स्वतन्त्र रूपमा विस्तृत हुँदै छ । नयाँं ग्रह–नक्षत्र यसमा जोडिँदै छ । नयाँं सिर्जना देखा पर्दै छ । ईश्वरले रचेको ब्रह्माण्डको क्रिया–प्रक्रिया–प्रतिक्रिया स्वतन्त्र छ भने यही ईश्वरले बनाएको मानवचाहिँ किन संकुचनमा ? किन नियममा ? किन कठपुतली ? किन स्वतन्त्रताहीन ?


सात्र्र भन्छन्, ‘मानव पुरुषार्थी छ अनि आफ्नो नियति र भाग्यको निर्माता स्वयम्‌हुन्छ । मनुष्य परिस्थितिको चुनाउ गर्नुमा स्वतन्त्र नरहे तापनि परिस्थिति–विशेषप्रति आफ्नो स्वतन्त्र बाटो चयन गर्नु स्वतन्त्र रहन्छ ।


स्वतन्त्रता सूत्र

हो, मानव समाजमा प्रेमको नाममा यस्ता अप्रिय घटनाहरू दिनप्रतिदिन भई नै रहन्छन्, जहाँं प्रेमको मूल्यमा नारीले स्वयम्को अस्मिता अनि खुला चिताएको जस्तो जीवन बिताउनुबाट वञ्चित बन्छन् । कतै धार्मिक मान्यता जस्तै ‘कृष्णदासी’ र ‘देवदासी’ झैँ चलिआएको लिँडे अनैतिक मान्यतामा बाँधिँदै सकेसम्म नारी सत्ताधारी पुरुषको हातबाट सेक्सुअल प्लेजरको प्रतीक रूपमा शोषण हुनसम्म हुन्छ । यसै कारण पुरुष समाज नारीप्रति रहेको हीन अनि उदात्त अन्तर्विरोधले सधैं पुरुषलाई देवता र नारीलाई दासी बनाउँछ । यस प्रकारको वर्गशोषणबाट समाज मुक्त नहुँदा नै मनुष्यको साधारण सम्भावना अनि क्षमताको विकास हुँदैन । नारीलाई समाजले भोग सामग्रीको स्तरमा राखेर वेश्याको बीभत्स प्रतीक बनाएपछि, त्यस्तरी मान्यताको नाममा थुनिएको नारीभित्रको आत्मक्षयले समाजको आधा अनुहारको बयान गरिरहेको हुन्छ । आफैंमा थुनिएको नारीको आवाज कस्तो हुन्छ ? यतिखेर उसलाई स्वतन्त्रताको माने के हुन्छ ?


त्यो संवेदनालाई नाप्ने संवेदना कहाँ छ ? नारीलाई प्लेजरको वस्तु ठानेर समाजबाट नै निषेध गर्ने परपम्पराका मालिक को हुन् ? नारी हिंसा, हत्या, शोषणले तयार गर्ने मनोविज्ञान के हो ? यतिखेर स्वतन्त्रताको अर्थ कसरी न्यायिक र निर्णायक बन्न सक्छ ?


जस्तो गरी, व्यक्तिले प्रकृतिमा स्वतन्त्र उडिहिँड्ने माइग्रेटरी पन्छीको सुन्दरतामा लोभिएर शोकको नाममा त्यसलाई पिँजडामा कैदी बनाएर राख्छ ।


एउटा वैज्ञानिक अनुसन्धानअनुसार त्यसरी माइग्रेटरी पन्छीलाई कैदी बनाउँदा, वर्ड माइग्रेसनले स्पेस पाउँछ । त्यसबेला स्वत:स्फूर्त पन्छीमा उड्ने उत्तेजना उत्पन्न गराउने विशेष प्रकारको हर्मोन विकसित हुन्छ । भनिन्छ, ज्वालामुखीले धरतीमा महानाडी ईडा–पिंगला फड्‌काएझैं प्रभावशाली हुन्छ पन्छीमा त्यस हर्मोनको प्रक्रिया । अनि जब हर्मोनको चरम प्रक्रिया पन्छीमा हुन्छ, तब पन्छीको हूल प्रजननको निम्ति एक ठाउँबाट उडेर सुदूर ठाउँतिर स्थानान्तर गर्छ । त्यसबेला कैदमा रहेको माइग्रेटरी पन्छी चाहिँ पिँजडाभित्रै हर्मोनको उत्तेजनामा उड्ने निरन्तर संघर्षको कारण घाइते बन्छ । स्पष्ट छ, उड्ने स्वतन्त्रता गुमाएपछि जो कोही पनि घाइते बन्छ ।


प्रकृतिले स्वतन्त्र बाँंच्ने अधिकार दिएको प्राणीले परतन्त्र अधीनस्थ जिउनु वा स्वतन्त्रता गुमाउनुलाई संसारमा सभ्यता ठानिन्छ । समाज सोकल्ड स्वतन्त्रताले बनिएको छ । पुरानो यान्त्रिक भौतिकवादी डार्बिनको विचारअनुसार, ब्रह्मजगत्लाई निषेध गरेर यसमा डार्बिनको विकासवाद हालेर हेर्दा, स्वतन्त्रता कस्तो मोडमा उभिन्छ होला ?


कारण डार्बिनले संसारलाई मेसिन मान्छन् ‌र परिवेशलाई ज्ञान प्राप्तिको मूल स्रोत, यो हिसाबमा स्वतन्त्रता मनुष्यको नियति हो । डोरीले बाँधिएको स्वतन्त्रता अथवा स्वतन्त्रताको अर्थ नै बाँधिएको छ । त्यसरी नै सुफी कल्चरअनुरूप स्वतन्त्रता सायद ईश्वरत्व प्राप्तिपछि पाउने अलौकिक सुख होला ? वा मृत्युपछिको रहस्यमय मुक्ति ? जे होस्‌मलाई त लाग्छ हामी पल–प्रतिपल स्वतन्त्रता हराउने खेलिरहेका छौँ । स्वतन्त्रता हराउने बाँचिरहेका छौँ । अथवा बाँधिएको स्वतन्त्रताको सुरक्षा गरिरहेका छौँ । तपाईं नै भन्नुस् न, कस्तो हुन्छ मुक्तिको बाटो, यो कैद स्वतन्त्रताको निम्ति ?


प्रकाशित : पुस २८, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?