१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दाइजोमा सम्पदा

पहिचान

काठमाडौँ — चीनको राजधानी बेइजिङमा रहेको क्यापिटल म्युजियममा गत बर्ष ५ महिनासम्म (फेब्रुवरी–जुलाई) ‘थिआनलु वनह्वा’ शीर्षकमा एउटा कला प्रदर्शनी आयोजना भएको थियो । ‘थिआनलु वनह्वा’ को अर्थ हुन्छ— सांस्कृतिक विशेषतायुक्त स्वर्गीय बाटो ।

दाइजोमा सम्पदा

मूल्यवान सांस्कृतिक सम्पदालाई इतिहासमै पहिलोपटक सर्वसाधारणका निम्ति प्रदर्शनी आयोजित थियो । विश्वको छानो मानिने तिब्बतलाई चिनियाँहरू स्वर्गको उपमा दिन्छन् । पवित्र भूमि, सांस्कृतिक सम्पदा, हिमाली पठारको प्राकृतिक सिर्जना, भिन्न जीवनशैली र धर्मको प्रभावका कारण तिब्बतलाई चिनियाँले स्वर्गको उपमा दिएका हुन् ।

तर, तिब्बती सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण हिस्सा नेपालबाट दाइजोमा आएको हो भन्दा चाहिँ अचम्म लाग्छ नै । सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीले तिब्बती सम्राट् स्रङचोङ गम्पोसित बिहे गरेर अन्मँदा नेपालबाट दाइजोका रूपमा सांस्कृतिक सम्पदा ल्याएकी थिइन् । उनले त्यतिबेला थुप्रै थांका, पुराना हस्तकलाका सामग्री, बुद्धका मूर्ति र कालीगढ उनले तिब्बत ल्याएकी थिइन् । आफूले दाइजोमा ल्याएका तिनै नेपाली कालीगढमार्फत उनले जोखाङ गुम्बा बनाउन लगाइन् । तिब्बतमा रहेका प्रख्यात सांस्कृतिक सम्पदामा पोताला दरबारपछि यो गुम्बा आउँछ । त्यतिबेला भृकुटीले दाइजोमा ल्याएकी पुराना नेपाली थांका, बुद्धका मूर्ति, नेपाली हस्तकलाका सामानलगायतका महत्त्वपूर्ण सम्पदा अहिले पनि जोखाङ गुम्बाभित्र संरक्षित छन् । कतिपय मूल्यवान सम्पदा त सार्वजनिक नगरीकन संरक्षण गरेर राखिएको थियो जसलाई पहिलो पटक बेइजिङमा प्रदर्शनी गरिएको हो ।

विशेषगरेर बौद्ध धर्म र संस्कृतिसम्बन्धी उक्त प्रदर्शनीमा चीनका पेइचिङ, तिब्बत, ह पै, छोङछिङ र छिङ हाई पाँच प्रान्तसहितका २१ सांस्कृतिक सम्पदा संरक्षण एकाइले सम्पदा उपलब्ध गराएका थिए । पाँच महिनासम्म लगातार रहेको प्रदर्शनीमा २ सयभन्दा बढी सम्पदा थिए । क्यापिटल म्युजियमका प्रमुख हान चान मिङका अनुसार, तिब्बती गुम्बाद्वारा उपलब्ध गराइएका केही सांस्कृतिक वस्तु जनसाधारणसमक्ष पहिलो पटक प्रदर्शन गरिएको थियो । तिब्बतबाट ल्याइएका १८५ वटा सम्पदामध्ये ८६ वटा प्रथम श्रेणीका मूल्यवान वस्तुहरू थिए । ती सांस्कृतिक सम्पदा वस्तुमध्ये जोखाङ, जासिहुन्बु, साम्या र मिन्द्रोलिङ गुम्बाले उपलब्ध गराएका सांस्कृतिक वस्तुलाई पहिलोपल्ट प्रदर्शन गरिएको थियो ।


जोखाङ गुम्बाले उपलब्ध गराएका केही थांका नेपाली शैलीका थिए । ती थांकाको मुनिपट्टि चिनियाँ भाषामा नेपाली शैलीका थांका लेखिए पनि ‘नेपालबाट ल्याएको’ भन्ने चाहिँ उल्लेख थिएन । १५ सय वर्षभन्दा पुराना ती थांका भृकुटीले दाइजोमा काठमाडौँबाट तिब्बत ल्याएको झलक मिल्थ्यो । थांका नेवारी पौवा चित्रबाट सुरु भएको हो । भृकुटीले ल्याएका कलाकारले तिब्बतमा नेवारी पौभाचित्र बनाउन सिकाए । पछि त्यसमा तिब्बती शैलीको विकास हुँदै गएपछि तिब्बती थांका भन्न थालिएको हो ।


तिब्बत संग्रहालयको प्रदर्शनी विभागका प्रमुख पासाङ लोबुका अनुसार नेपाली शैलीका थांका परम्परागत प्रविधिबाट बनाइएको छ । त्यस्ता थांकामा वनस्पति, माटो, ढुंगा, सुनजस्ता प्राकृतिक र बहुमूल्य धातुका रङहरू प्रयोग गरिएको छ । भृकुटीले नेपालबाट तिब्बत ल्याएका कालीगढले नेपाली कलाशैलीसँगै नेपाल भाषाको रञ्जना लिपिलाई पनि चीनमा प्रवेश गराए । झन्डै १४ सय वर्षअगाडि नेपालबाट तिब्बत छिरेको रञ्जना लिपि चीनको ग्रेटवालदेखि विभिन्न मठमन्दिरमा अहिले पनि देख्न सकिन्छ ।

–चेतनाथ आचार्य

प्रकाशित : माघ ५, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?