मेमोरिया मदन
काठमाडौँ — मदन तामाङलाई मैले पहिलोचोटि देखेको खबरकागजमा हो । त्यो बेला म बरबोट हाइस्कुल पढ्दै थिएँ । आपाले जोरलाइनबाट जाँड पकाउने मर्चा ल्याएका थिए, जसलाई पुरानो कागजले बेरेर पोको पारेको थियो । त्यही कागजको टुक्रामा ठूलो नक्सा हाँसिरहेथ्यो ।
दोस्रो चरणको गोर्खाल्यान्ड आन्दोलन चरममा थियो । दार्जिलिङ घरी बन्द हुन्थ्यो, घरी खुल्थ्यो । लाखौं मान्छे सडकमा थिए । यस्तो बेला मदन तामाङ फुत्त निस्किन्थे र कराउँथे, ‘आन्दोलन इन्टिरियम काउन्सिलतिर जाँदै छ । जनता होसियार ।’
उनी त्यसै बोल्दैन थिए । हातमा प्रमाण हुन्थ्यो । जवाफमा लजिक हुन्थ्यो । प्रश्नमा इमानदारी हुन्थ्यो । अनुहारमा जोस हुन्थ्यो । आँखामा साहस हुन्थ्यो ।
लाग्थ्यो । उनी यसरी बोल्छन्, जसरी उहिले अर्जुनले छाया हेरेर माछाको आँखामा काँड हान्थे । अहिले जेरी चाल्स मिकुलेकहरू आँखा चिम्लेर निसानामा पिस्तोलको गोली चलाउँछन् ।
त्यो दिन फेरि मदन तामाङको प्रेस कन्फरेन्स थियो । मलाई थाहा थिएन, त्यो कालेबुङको निम्ति उनको अन्तिम प्रेस कन्फरेन्स हुनेछ । उनी सिल्भरओक्समा हाँसिरहेका थिए । उनका समर्थकहरू भ्याइनभ्याइ दगुरिरहेका देखिन्थे । दिन खुलेको थियो । आकाशमा घाम चर्किरहेथ्यो । अघिल्तिर चियाको पट आइपुग्यो । उनी सुरु भए, ‘आन्दोलन तपस्या हो । तपस्या भंग गर्न मेनुकाहरू छमछम नाच्दै आउँछन् । आजको मेनुका भनेको पैसा हो । आन्दोलन गर्नेहरूले सरकारी पैसामा किन राल चुहाउँदै छ ?’
उनको लवज पुरानै थियो । डेढ घण्टा उनी बोलिरहे । र, अन्तिम लाइन जोडे, ‘अब डराउनु हुँदैन । जनता अघि आउनुपर्छ । जनताको घिच्रोमाथि मेरो घिच्रो हुनेछ ।’
मैले मनमनै सोचें, ‘बूढाले यो चैं राम्रै डायलग दियो ।’
अफसोस तर मैले त्यो डायलग भुल्न पाएकै थिइनँ । उनको घिच्रोमा साँच्चै खुकुरी हिर्काइयो । दार्जिलिङमा दिउँसै मदन तामाङको हत्या गरियो ।
कागजको मान्छे
त्यो नक्सा मदन तामाङकै फोटो त थियो नि । जहाँ उनले दागोपापको शिक्षा घोटालोमाथि बोलेका थिए ।
त्यो सुनचरी पत्रिका थियो । मैले दुईचोटि पढें । त्यही बेला बुझेँ, ‘सरकारी पैसा चोर्नु भनेको घोटाला गर्नु हो । जो दार्जिलिङमा सधैं चोरिरहन्छ ।’
नक्सा देखेको कति सालपछिको कुरा हो ।
दार्जिलिङमा राजनीतिक बदलाव आइसकेको थियो । म कालेबुङ कलेज पढ्दै थिएँ । एक दिन कलेज जाँदै गर्दा हो, डम्बरचोकमा मान्छेको भीड देखेँ । त्यहाँ त मेरै कलेजको साथी जोहोन राई पनि थिए ।
मैले छक्क परेर उसलाई सोधेँ, ‘किन मान्छे भेला भएको हो आज ?’
उसले हाँस्दै भन्यो, ‘हाम्रो प्रेसिडेन्ट आउँदै छ, मदन तामाङ क्या त । बस न जनसभा सुन्नु ।’
मैले कलेज भुलेँ । त्यो दिन पहिलोचोटि मदन तामाङलाई सुनेँ ।
त्यसपछि बल्ल फिल गरेँ, दार्जिलिङमा मदन तामाङ बोल्दैनन् । उनी त लाटाहरूको देशमा गीत गाउँछन् । अनपढहरूको बस्तीमा अक्षर पढाउँछन् । र, अन्धाहरूको सहरमा उज्यालो देखाउँछन् ।
‘जुन ठाउँमा घरीघरी राजनीतिक हत्या हुन्छ, जसका हत्याराहरूलाई कहिले पक्रिँदैन । यस्तो दार्जिलिङमा मदन तामाङ कसरी बोल्न सकेका होलान् ?’ मैले मनमनै भनेँ, ‘ए कागजको मान्छे ! मलाई पनि यसरी नै बोल्न सिकाइ देऊ न ।’
सोझो मान्छे
मदन तामाङ निडर थिए ।
दार्जिलिङमा जनताले श्वास फेर्ने स्थिति नहुँदा पनि उनी बोलिरहे । सुवास घिसिङको विरोधमा बोले । विमल गुरुङको विरोधमा बोले । अर्थात्, बाचुँन्जेल सत्ताकै विरोधमा बोलिरहे ।
भन्थे, ‘मैले पैसाका लागि राजनीति गरेको होइन । म मासु खाँदिनँ । रक्सी खाँदिनँ । मान्छेलाई पैसा धेर चाहिने भनेको स्वाङ पार्नका लागि हो । मलाई स्वाङ गर्नु छैन । बूढीको पैसाले पनि भात खान पुग्छ ।’
तर्कमा कसैसँग नहार्ने मदन तामाङ तर सानामा सोझा थिए । यति सोझा, कि कसैले हिर्काए म्हेम्हे छेक्न आउँथे र भन्थे, ‘यसलाई नहिर्काउनु । यो पछि ठू...लो मान्छे बन्छ ।’
२५ दिसम्बर १९४९ मा जन्मेका हुन्, मदन तामाङ । दार्जिलिङको मेघमा चियाकमानमुनि कालाखोप छ । उनी त्यहीँ जन्मिएका हुन् । मदन तामाङ पढ्नमा अलि कमजोर थिए । त्यो बेला सयमा चौंत्तीस अंक ल्याउँदा उतीर्ण हुन्थ्यो । ग्रेजुएट गर्दा उनले हरेक विषयमा चौंतीस अंक नै पाएका थिए ।
घर लेखको बस्तीमा थियो । जहाँ ल्यान्डओभर दगुथ्र्यो । आपा मनबहादुर तामाङ व्यापार गर्थे । पछि मेघमामा नै दोकान खोले ।
गाउँबस्तीबाट ल्याएका अलैंची, चियापत्ती किन्थे । चामल, पिठो, नुन आदि बेच्थे । भेडा र घोडा पाल्थे ।
‘घोडा त अहिले पनि छ नि,’ मदन तामाङका भाइ अमर लामा सम्झन्छन्, ‘चौरस्तामा राइडिङ गर्ने घोडा हाम्रैबाट ल्याएको त हो । अहिले त घरमा कतिवटा घोडा छ, हामीलाई नै थाहा छैन । किन्न आउनेले दाम मिले आफैं पक्रेर लानुपर्छ ।’
त्यो जमाना अर्कै थियो । घरमा पुरानो फनगिरा बज्थ्यो । चक्का घुमाउँदै मदन गीत सुनिरहन्थे ।
सानैमा होस्टल छिरेका मदन एकदम शान्त थिए । अरूभन्दा धेरै अनुशासित थिए ।
कलेज पुगेपछि उनलाई तर दार्जिलिङको राजनीतिले पोल्न थाल्यो । उनी देवप्रकाश राईको नजिक भए । त्यो बेला गोर्खा लिगको जमाना थियो । नर्थ पोइन्ट पढ्दै थिए । कलेजमा युनियन सुरु गर्ने सोच बनाए । अहिले पनि मिसेनिरी कलेजतिर युनियन गर्न मनाही छ । उनी युनियनको निम्ति त्यो बेला फादरसँग कुरा गर्न गए । कुरा सुनेर फादर बिच्किए । अचानक तर्कतर्की सुरु भयो । मदन तामाङलाई पहिलोचोटि यति रिस उठ्यो, चियाको कप टिपेर झटारो हाने ।
मलाई लाग्छ, ‘मदन तामाङले निडर बन्न त्यही दिन सिकेका हुन् ।’
राजनीतिक मान्छे
त्यो जमाना देवप्रकाश राईहरूको थियो । दार्जिलिङमा गोर्खा लिग कमजोर बन्दै थियो । अचानक लिगभित्रै विभाजन आयो । १९७७ मा विधानसभा चुनाउ हुनेवाला थियो । देवप्रकाश राईलाई उनका सहयोगीहरूले छाड्न थाले ।
‘लौ ! अब चुनाउमा कसले फाइनान्स गर्ने त ?’ ठीक त्यही बेला मदन तामाङ राईको साथमा उभिए । राईले चुनाउ हार्ने निश्चित थियो । तैपनि मदन तामाङ र कुमार भोटियाहरू रातदिन खट्न थाले ।
सब ठीकठाक चल्दै थियो । हतास देवप्रकाश राईले चौरस्ताबाटै कुरा चिप्लाई पठाए, ‘मलाई अरूले भोट नदिनू । जो जसले रक्सी खान्छन्, उनीहरूले मात्रै भोट दिनू ।’
दार्जिलिङमा त्यो बेला पनि रक्सी नखाने थोरै थिएछन् कि क्या हो ? देवप्रकाश राईले साँच्चै भोट जिते । गोर्खा लिगको विभाजित समूह हेरेको हेरेकै भए ।
भोट जितेपछि मदन तामाङ गोर्खा लिगका महासचिव भए । उनको राजनीतिक हिँडाइ त्यहींबाट सुरु भयो ।
उति बेला भाषा आन्दोलन चरममा थियो । नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन जोकोही लागिपरेका थिए । भाषा आन्दोलनलाई लिड गर्ने इन्द्रबहादुर राई, प्रेम आले, बल देवानहरू थिए, जसको कार्यक्रम दिनदिनै सक्रिय बन्दै थियो ।
एक दिन चौरस्तामा भाषा समितिको जनसभा चल्दै थियो । देवप्रकाश राईलाई झोंक चलेछ । घरको सेतो कुकुरमाथि भाषा समितिको झन्डाको रङ धसेछन् र कुकुर लिएर निस्केछन् । एउटा हातमा कुकुर र अर्को हातमा एयर गन ! बाफरे, देवप्रकाशले चौरस्तामा नाटक देखाइदिएछन् ।
अब पार्टी कार्यकर्ताहरू बिच्किँदैनन् त ?
गोर्खा लिगमा फेरि अर्को फाटो आयो । देवप्रकाश राईले धेरैचोटि भोट जितेका थिए । त्यसैले होला, उनी गोर्खा लिगलाई गोजीको पार्टी सम्झिने भइसकेका थिए । उनी घरैमा पार्टीको बैठक बोलाउँथे । मदन तामाङ अलि अनुशासित थिए । उनी राजनीतिमा पनि अनुशासनको कुरा गर्थे । भन्थे, ‘पार्टीको महासचिव विधायकभन्दा माथि हुन्छ । म अर्काको घरको बैठकमा जाँदिनँ । पार्टी अफिसमै आउनुपर्छ ।’
त्यसपछि के चाहिन्थ्यो ?
खर्साङमा गोर्खा लिगको अधिवेशवन थियो । त्यहीँ मदन तामाङलाई निष्कासित गरियो ।
उनले गोर्खा लिग छोडे ।
नो स्टेट, नो भोट
मदन तामाङ फेरि मेघमा फर्किए । चिया रोप्न थाले । चिया बगान तयार गरे । फूलको प्रजाति खोज्दै हिँडे ।
त्यही बेला हो, सिक्किममा चुनाउ थियो । भाषा समितिको एउटा टोली सिक्किम पुग्यो । बीबी गुरुङको समर्थनमा प्रचार गरिदियो । अराजनीतिक समितिले त्यसो गर्न पाउँछ र ? भाषा समिति पनि अब दुई फ्याक बन्यो ।
उतिबेला इन्द्रबहादुर राईहरू बाहिरिए । राईलाई लाग्न थालेको थियो, दार्जिलिङमा राजनीतिबिना केही हुनेवाला छैन ।
उनले भाषाको निम्ति दिल्ली धाएको सम्झिए । इन्दिरा गान्धी जहिले भन्थिन्, ‘आप लोगका भाषाका गाडी आगे बड रहा है !’
‘अघि कहिलेसम्म बढ्ने हो त?’ इन्द्रबहादुर राईले पहिलोचोटि अनुभव गरे, ‘भाषा भनेको फूल हो । जो गमलामा फुल्छ । गमला भनेको राज्य हो । अब हामीले सीधा राज्य माग्नुपर्छ ।’
अब इन्द्रबहादुर राई, मदन तामाङहरू एउटै मञ्चमा आए । सुकिया पोखरीमा गतिलो अधिवेशन भयो । त्यहीँ प्रान्त परिषद् बनियो । इन्द्रबहादुर राई, गुमानसिंह चामलिङ, शिवकुमार राई, वासुदेव बस्नेतहरू एउटै मञ्चबाट बोले । नयाँ उकिलहरूलाई पनि बोलाइयो । पहिलोचोटि भनियो, ‘दार्जिलिङलाई संविधानको धारा ३ को क अन्तर्गत अलग राज्य बनाइनुपर्छ ।’
अर्को अधिवेशन फेरि पोख्रेबुङमा हुँदै थियो । दार्जिलिङका एसपी आरके हन्डा थिए । हिंसा भड्किने भन्दै अधिवेशन रोकियो । कसैले एसपीमाथि नै पेट्रोल बमले हमला गरिदिएछन् ।
मदन तामाङ पहिलोचोटि पक्राउ परे ।
अर्को भोट फेरि आउँदै थियो । परिषद्ले नयाँ नारा निकाल्यो, ‘नो स्टेट, नो भोट ।’
नारा गजब थियो । तर, काम उल्टो भइदियो । यता भोट बहिष्कार भयो, उता २१७ भोटको सामान्य अन्तरले सीपीएमले जितिदियो ।
हुँदै नभएको पार्टीको जरा दार्जिलिङमा उम्रियो ।
हारको राजनीति
प्रान्त परिषद्मा विद्वान्हरू थिए । साहित्यिकहरू थिए । तर, समस्या पनि थियो । उनीहरू तल्लो स्तरसम्म जान सक्थेनन् । जसको कारण परिषद् नै फेल भयो । यहीबीच सुवास घिसिङको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सक्रिय बन्दै थियो । घिसिङले अलग राज्य मात्र होइन, राज्यको नाम नै घोषणा गरिदिएका थिए, ‘गोर्खाल्यान्ड’ ।
दार्जिलिङको राजनीति एकदम तरल थियो । एकातिर पपुलर भाषा मुभमेन्ट थियो । अर्कोतिर अलग राज्य थपियो । फेरि गोरामुमोले गोर्खाल्यान्ड भन्न सुरु गर्यो । यस्तो बेला माकपाले संसद्मा नयाँ बिल ल्यायो, ‘सेपरेट अटोनोमसको ।’
अब जनताले कसलाई पत्याउने ?
लथालिंगको राजनीतिबीच घिसिङले तीनदिने बन्द बोलायो । त्यही ट्रायल बन्द थियो, जो अचानक सफल भइदियो । त्यसमाथि पुलिसको गोली चल्यो । अनि त माहोल नै अलग बन्यो । अनि ?
दार्जिलिङको हरेक मान्छेले गोर्खाल्यान्ड भन्न थाले । प्रान्त परिषद्का लिडरहरूले धमाधम हरियो झन्डा पक्रिन थाले । परिषद्का उकिलहरू संविधानको धारा (क बोकेर गोरामुमोतिर बसाइ सरे ।
मदन तामाङ फेरि एक्लिए ।
हो त्यही बेला नै त हो, मदन तामाङले पहिलोचोटि नपत्याउने कुरा गरेको । उनले भने, ‘सुवास घिसिङ सरकारले जन्माएको लिडर हो । यो आन्दोलन टुंगोमा पुग्नेवाला छैन । काउन्टर लिडरले जनतालाई भँड्खालोमा हाल्छ । जनता होसियार !’
उनलाई थाहा थियो, ‘दार्जिलिङले उनको कुरा पत्याउनेवाला छैन ।’ साँच्चै कसैले उनलाई पत्याएनन् । तर, नपत्याउँदैमा हुने कुरा टर्छ र ?
दुई वर्षपछि दार्जिलिङमा त्यही भयो, जो उनले भनेका थिए ।
पहिलो चरणको आन्दोलन सिद्धियो । दार्जिलिङ अलग प्रान्त बनिएन । गोर्खाल्यान्ड पनि बनिएन । नयाँ थोक बनियो, त्यो दार्जिलिङ गोर्खा पार्वतीय परिषद् थियो ।
नयाँ व्यवस्थामा धेरैथोक पुरानै थियो । तर, राजनीति गर्ने चलन नयाँ भित्रियो । जुन राजनीतिले मान्छेलाई सोच्न धरि सिकाउन थाल्यो । बोल्न धरि सिकाउन थाल्यो । लेख्न धरि सिकाउन थाल्यो ।
अर्थात् हरथोकमा राजनीति हावी बन्न थाल्यो ।
मेरो बाल्यकाल त्यही राजनीतिभित्र हुर्किएको हो । जहाँ आफ्नै दिमागले सोच्ने, आफ्नै हिम्मतले बोल्ने कोही थिए भने उनी मदन तामाङ नै थिए ।
दागोपापको २१ वर्ष उत्तिकै बित्यो । मदन तामाङले विरोधमा बोली नै रहे । त्यहीबीच गोर्खा डेमोक्रेटिक फ्रन्ट बनाए । घिसिङको नीतिको खुलेर विरोध गरे । उनको हातमा हर तथ्य हुन्थ्यो । माथि के हुँदै छ ? तल के बोल्दै छ ? उनी सब खुलाउँथे । चार वर्ष जनतालाई सत्य बताउँथे । त्यसपछि पाँचौ वर्ष भोटमा जान्थे ।
अनि फेरि दलबलसहित चुनाउ हारेर फर्किन्थे ।
उनले हारकै राजनीति गरिरहे । तैपनि कहिले थाकेनन् । सत्तासँग हात जोडेनन् । आफ्नो धर्म भुलेनन् ।
जुन स्वरलाई कहिले दार्जिलिङले पत्याएन, त्यही स्वरको कारण उनको घर जलाइयो । हत्याको षड्यन्त्र बुनियो ।
तैपनि उनको आवाज कहिले बन्द भएन ।
फेरि पुरानै बाटो
‘पछिपछि त यस्तो लाग्थ्यो, घिसिङलाई पहाडबाट हटाउन सकिँदैन,’ अमर लामा सम्झिन्छन्, ‘तर हामीलाई थाहै थिएन, खासमा पूरै दार्जिलिङ घिसिङदेखि हैरान भइसकेका छन् ।’
२००१ तिरको कुरा हो । अचनाक घिसिङमाथि हमला भयो । कालेबुङका छत्रे सुब्बा पक्राउ परे । दार्जिलिङमा अमर लामाहरू पक्रिए ।
जब अमर लामा जेलबाट छुटे, मदन तामाङ फेरि फर्केर पुरानै बाटोमा आए । त्यो बेला अमर लामा गोर्खा लिगका महासचिव थिए । मदन तामाङ फेरि गोर्खा लिगका अध्यक्ष भए । त्यसपछि छैटौं अनुसूचीको विरोधमा वकालती सुरु गरे । भने, ‘दार्जिलिङमा छैटौं अनुसूची भए, म टिस्टामा हामफाल्छु ।’
त्यही बेला अचानक गोरामुमोमा विद्रोह भयो । विमल गुरुङहरूले फेरि गोर्खाल्यान्डको नारा लगाउन थाले ।
जनता सुवास घिसिङसँग दिक्क भइसकेका थिए । मान्छेले अलग बाटो रोजे । साँच्चै, दार्जिलिङमा छैटौं अनुसूची भएन ।
बरु पहाडमा विमल गुरुङको नयाँ युग सुरु भयो । मदन तामाङ फेरि एक्लिए । उनी विपक्षी नै बनिरहे ।
त्यही बेला हो, उनले फेरि नपत्याउने कुरा गरे । भने, ‘विमल गुरुङ काउन्टर लिडर हुन् । सरकारले जन्माएको नेताले पार लाउँदैन । यिनीहरूले गोर्खाल्यान्डको घोडा चढेर काउन्सिलको चौकी ताक्दै छन् ।’
जनताले फेरि पनि उनलाई विश्वास गरेनन् ।
त्यसपछि नै त हो, उनले कालेबुङबाट अन्तिमचोटि भनेका, ‘अब जनता उठ्नुपर्छ । जनताको घिच्रोभन्दा माथि मेरो घिच्रो हुनेछ ।’
अनि ?
अनि, यसचोटि पनि पहिल्येकै घटना ता दोहोरियो नि ।
जनताले जे पत्याएका थिएनन्, त्यही भयो । क्लब साइडमा दिउँसै मदन तामाङको हत्या भयो । हत्यापछि फेरि पनि गोर्खाल्यान्ड बनिएन ।
फेरि दार्जिलिङमा नयाँ व्यवस्था आयो । गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन बनियो । फेरि त्यही राजनीति सुरु भयो ।
जहाँ सत्ताले मान्छेलाई बोल्न, लेख्न र सोच्न सिकाइरहन्छ ।
फूल प्रेम
मदन तामाङ फूललाई प्रेम गर्थे । उनी जहिले फूल स्याहर्थे । खोजी खोजी सुनाखरी रोप्थे । चिया मन पराउँथे । बगान बनाएर व्यापार चलाउँथे । हिमाल मन पराउँथे, पहाड मन पराउँथे । र, नै जहिले माटोको निम्ति सोचिरहन्थे । दार्जिलिङकै निम्ति बोलिरहन्थे ।
आम मान्छेको त्यही आवाज त थियो, जसलाई बोल्दा उनको हत्या गरियो । मदन तामाङको आवाज सधैंका निम्ति बन्द गरियो ।
मदन तामाङले देखेको सपना पूरा होला त ? त्यो मलाई थाहा छैन । उनको परिवारले न्याय पाउलान् त ? त्यो पनि मलाई थाहा छैन । तर एउटा कुरा मलाई थाहा छ, मदन तामाङ दार्जिलिङको धरतीमा सधैं फूलिरहनेछन् ।
मदन तामाङको रगत सिँचेको दार्जिलिङमा, सिम्बिडियमको एउटा प्रजाति फुल्छ । त्यो फूलको प्रजातिलाई सिक्किमका मोहन प्रधानले आविस्कार गरेका हुन् । जसलाई रोयल हर्टिकल्चर सोसाइटीले नयाँ नाम दिएको छ । जो मदन तामाङको नाममा फुल्छ । केही दिन मान्छेलाई हाँस्न सिकाउँछ । र, फेरि झरेर जान्छ ।
हो । त्यही फूलको नाम त हो, ‘मेमोरिया मदन तामाङ !’
–कालेबुङ, भारत
प्रकाशित : माघ ५, २०७५ ११:३४