न चारित्रिक न नैतिक

पुस्तक
खासगरी हिन्दु धर्ममा चार वर्णको व्यवस्था मार्फत ब्रह्मा स्वयम्ले नै जातीय भेदभावको सूत्रपात गरेका हुन् ।

काठमाडौँ — राजनीतिशास्त्रका प्राध्यापक एवम् कानुनविद् ठाकुरप्रसाद बरालको लेखन र धनकुटा साप्ताहिकको प्रकाशनमा बजारमा आएको उपन्यास हो– अहल्या ।

न चारित्रिक न नैतिक

जम्मा ९६ पृष्ठमा समेटिएकाले लघु उपन्यासको दर्जामा अटाउन मिल्ने स्तरमा रहेको यो कृतिले एक जना हिन्दु पौराणिक नारी पात्र अहल्या (वा अहिल्या) –जो गौतम ऋषिकी पत्नी हुन्– लाई आफ्नो मुखपात्रका रूपमा अगाडि सारेको देखिन्छ । तर पुस्तक पढ्दै जाँदा त्यस्तो भेटिँदैन । शीर्षक अनुसार उपन्यासकी मूलपात्र प्रतीत भए पनि अहल्याबारे पुस्तकमा सविस्तार उल्लेख छैन, न त उनलाई कुनै महत्त्वपूर्ण पात्र अथवा दीर्घप्रभावी चरित्रकै रूपमा चित्रण गरिएको छ । न यो उपन्यास अहल्याको जीवनकथा नै हो ।


स्पष्ट उल्लेख नभए पनि उपन्यास मूलत: दुई भागमा विभाजित छ । पहिलो खण्डमा गौतम ऋषि, अहल्या, सृष्टिकर्ता ब्रह्मा, देवराज इन्द्र, दासी मंगली, उर्वशीसमेतका अप्सराहरू, इन्द्रलोककी महारानी इन्द्रपत्नी सची आदि अनेक पात्र छन् । त्यसै गरी दोस्रो भागमा स्वयम् सृष्टिकर्ता ब्रह्मा, नेपाल्नी आमै र उनका चार भाइ छोरा जसमा प्रमुख माइला पण्डित र लामाघरे पण्डित अनि उनीहरूका छोराछोरी एवम् नातिनातिना देखिन्छन् ।


परम्परागत सनातनी मिथकमा उल्लेख भएका पञ्चकन्या (अहल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी) मध्येकी एक अहल्यामाथि कुदृष्टि गाड्दै आएका, देउताका राजा, इन्द्रले झुक्याएर उनको यौनशोषण गर्छन् । यो थाहा पाएपछि उनी आफ्नै पति महर्षि गौतमबाट शारीरिक हिंसाको सिकार बन्छिन्, परित्यक्ता नै हुन्छिन् र एक्लै तपस्विनीको जीवन बिताउन बाध्य हुन्छिन् । उता रिसको आवेगमा गौतमले इन्द्रलाई रूखमा बाँधेर उनको अण्डकोष नै काटेर मिल्क्याइदिन्छन् । पछि उनी पनि कठोर तपस्या गर्न हिमालयतिर लाग्छन् । कालान्तरमा भगवान् रामले उनीहरूलाई पुन: मिलाइदिन्छन् ।


उपन्यासले देवराज इन्द्रलाई सनकी, क्रोधी एवम् यौनउन्मादीका रूपमा चित्रण गरेको छ । आफ्नो सत्ता खोसिन्छ कि भनी उनी हरहमेसा सशंकित रहन्छन् र यही क्रममा गौतम तपस्याबाट भयभीत बनेर उनको तपस्या भंग गर्ने अनेक विधिको प्रयोग भैरहन्छ । यस्तो आक्रोश उनी एक पटक आफ्नै दासी मंगलीमाथि पोख्छन् । मंगलीलाई उठाएर रछ्यानमा फालिदिन्छन् जसबाट ऊ चोटग्रस्त हुनपुग्छे । तर, पछि राति मदिराको नशामा लठ्ठ भएका इन्द्र अरू कोही अप्सरा नभेटेपछि उही ‘ऐया’ गर्दै सुतिरहेकी मंगलीको ढोका खोल्न पुग्छन् र, उसको इच्छाविरुद्ध रात ऊसँगै ओछ्यानमा बिताउँछन् ।

उपन्यासमा नेपाल्नी आमै र उनका चार भाइ छोराको प्रसंग प्रतीकात्मक मान्नुपर्छ । ती चार भाइ एकआपसमा कहिल्यै मिलेर बस्दैनन् । उपन्यासमा नेपाल्नी आमैको प्रसंग सुरु भएपछि अहल्याको प्रसंग हराउँछ । उपन्यासकार बेलाबखत पुस्तकमा जीवन, धर्म र आध्यात्मिकताबारे घोत्लिएका छन् । यसो गर्दा उनी धर्मको नाममा हुने देखिने आडम्बरका घोर विरोधी प्रतीत हुन्छन् । गौतम र अहल्या अथवा सृष्टिकर्ता ब्रह्माको मुखबाट उनले धर्म, दर्शन र जीवनबारे बोलेका छन् ।


अहल्या र गौतमको सम्बन्ध बिग्रिएको र अर्की छोरी शान्तिले ब्रह्माको कुटी छाडेर बेपत्ता भएकाले विक्षिप्त भएका ब्रहमा भारतवर्ष, नेपाल्नी आमैको बस्ती रहेको क्षेत्र, पाताल, अफ्रिका, युरोप, चीन आदि सबैतिर भौंतारिन्छन् । तर, कतै पनि शान्तिलाई फेला पार्न सक्दैनन् । तब पाठकले निष्कर्ष निकाल्न सक्छन्— ब्रह्माले सृष्टि गरेको मानव समुदायमै कतै केही त्रुटि छ र, खासगरी हिन्दु धर्ममा चार वर्णको व्यवस्था मार्फत उनले नै जातीय भेदभावको सूत्रपात गरेका हुन् । संसारमा जति पनि धर्म छन्, ती आफैंमा कुनै पनि पूर्ण छैनन् ।


उपन्यास भनिए पनि पढ्दै जाँदा ‘औपन्यासिकता’ बोध हुदैन, भाषा पनि सम्पादन बिनाको देखिन्छ । जस्तो– पहिलो अध्याय (पृष्ठ ७) मा नाम उल्लेख नगरीकन एउटै पात्रलाई एक ठाउँमा ‘युवक’ भनिएको छ, अर्को ठाउँमा ‘बालक’ त झन् अर्को ठाउँमा ‘किशोर’ !

– जयदेव गौतम

प्रकाशित : माघ ५, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?