कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काफलबोटे कान्छाको भेडीगोठ

काठमाडौँ — हामी भेडीगोठको यात्रामा निस्किएका थियौंँ— जिरीदेखि जूनबेंसीसम्म । भेडीगोठमा हरियो सेउलाको ओछ्यानमा रात बिताउँदाको अनुभूति विचित्रको थियो, अद्भुत थियो । 

काफलबोटे कान्छाको भेडीगोठ

वर्षात्को समय । बाक्लो हुस्सु र सिमसिम पानी । जिरी एक प्रकारले छोपिएको थियो । गंगा, मीना र म यात्रामा निस्केका थियौं, सहयोगी दुई भाइ थिए । छिनमा पानी पथ्र्यो, छिनमै हुस्सु लाग्थ्यो । दर्कने पानीले बाटो चिप्लो–चिप्लो थियो, अझ सहस्र जुका पनि खुट्टातिर आइसकेका हुन्थे । जिरीबाट निकै अघि लागेपछि बाटैमा एउटा सानो घर भेट्यौं । त्यहीं बस्ने निधो गर्‍यौं । पानीमा भिजेका हाम्रा लुगा डोरीमा झुन्ड्यायौं, झोलाहरू मिलाएर राख्यौं र आफैंले बोकेका खानेकुरा खाँदै सुत्यौं ।

भोलिपल्ट बिहान छ बजेतिर मात्र निद्रा खुल्यो । आकाश सफा थियो । सूर्याेदयको उज्यालो आउनुअघि भुइँचौरमा सुन्दर, सफा शीतका थोपा टल्किरहेका थिए । वर्षाको समय पानी पर्न सुरु भइहाल्यो । धेरै हिंड्नै सकिएन । बेलुकी रामेछापको बाम्ती भण्डारको एक होटलमा बास बस्यौं ।

बिहानै हामी सोलुखुम्बुतर्फ लाग्दै थियौं । रातभरि पानी परे पनि बिहानैदेखि आकाश खुलेकाले हाम्रो यात्रा आनन्दमय भएको थियो । दोलखाको जिरी हँुदै सोलुको तल्लो क्षेत्र घुम्न जाने पर्यटकका लागि यो पैदलमार्ग उकालो र तेर्साे मात्रै छ तर प्राकृतिक रूपले निकै लोभलाग्दो छ । एकै छिनमा प्रचलित किन्जाको उकालो सुरु भो ।

म भने उकालोको घुम्ती पार गर्दै साथीभाइभन्दा केही अघि हिंडें । मेरो अगाडि गह्रुंगो भारी बोकेकी एक महिला बिस्तारै हिंडिरहेकी थिइन् । म उनलाई पनि उछिनेर अघि जान भित्तातिरको ढुंगामा टेक्न थालें । तर, मैले टेकेको ढुंगा उप्किएर बीच बाटैमा अडियो । म भित्ता समाउँदै सम्हालिएँ । मेरो त्यो अवस्था देखेर ती महिलाले भनिन्, ‘ए लौन नि, यस्तो कुबाटोतिर लागियो भने अभर परिन्छ ।’

***


मनमा गढ्ने कुरा थियो ती महिलाको । म केहीबेर चुपचाप उभिइरहें । पूर्वतिरको आकाशबाट बादलका धब्बाहरू हुर्रहुर्र हामीतिरै दौडिन थाले । उकालो नकट्दै वर्षे झरी फेरि सुरु भयो । मैले रेनकोट झिकेर ओढें । ती महिलाले सेतो प्लास्टिकले आफ्नो भारी छोपिन् ।

म ती महिलाको पछिपछि हिंड्न थालें र सोधेँ, केको भारी बोक्नु भा’को ? कहाँदेखि ल्या’को ?

उनले एकै सासमा भनिन्— तल किन्जा बजारबाट विकासे चामल किनेर ल्या’को । चालीस केजी छ, त्यही ८ पाथी जति होला । के गर्नु हामी त घरकै गहुँ, मकै खान्थ्यौं नै । अहिलेका बोर्डिङ पढ्ने केटाकेटी ढिंडो, च्याँख्ला खान मान्दैनन् । मुखमै हाल्दैनन् । दुइटा चिचिला छन् । नातिनातिना उनीहरूका लागि ल्याको नि । बजार झर्न एक दिनको बाटो हिंड्नुपर्छ । नसकिने भो धान्न । यही उकालो पहिलेपहिले केहीजस्तो लाग्दैनथ्यो । अहिले उमेरमा ६० पुगियो ।

मलाई लाग्यो, उनले मेरा एक दुई प्रश्नको जवाफ सिंगो देशकै प्रतिनिधित्व गर्ने गरी फर्काएकी थिइन् । हामी कुरा गर्दै निकै माथि पुगसिकेका थियौं । आकाश अलिअलि खुल्दै गयो र पानी पर्न कम हुन थाल्यो । बल्ल साथीहरू मलाई भेट्न आइपुगे । केही बेरमा देउराली पुग्यौं । त्यहाँ कफी खाएर बिस्तारै ओरालो झर्‍यौं र बास बस्यौं ।


लामजुराको उकालो

यात्राको अर्काे दिन लामजुराको उकालो । प्राकृतिक मनमोहक दृश्यहरू थपिंदै जाँदा निकै रमाइलो हुन्छ । हामी लामजुरा पुगेर पासाङको होटलमा बस्यौं । त्यहाँ उसिनेको आलुसँग टिम्मुर साँधेको अचार अनि नुनिलो दूधचिया खायौं । त्यसैबेला काफलबोटे कान्छा पनि भेडीगोठबाट टुप्लुक्क आइपुगे ।

बेलुकी सुत्नचाहिं पासाङको होटलमा नै फर्कने गरी लगेज सबै त्यहीं छाडेर हामी भेडीगोठ (पाङुडाँडा) तर्फ लाग्यौं । उकालै उकालो करिब दुई घन्टा हिंडेंपछि तेर्साे भेटियो । बाटोको दायाँबायाँ पहेंलै लेकाली फूल फुलेका, कुहिरो हट्दा यी दृश्य आँखाले नभ्याउने गरी हेर्न पाइन्थ्यो । सिरसिरे हावासँगै पातलो कुहिरोको लप्का एकै छिन हामीलाई छोप्दै हराउँदै गथ्र्याे । जेनतेन भेडीगोठ पुग्यौं । तर, पासाङकोमा फर्कन चाहिं ढिलो भइसकेको थियो, फर्केनौं । गोठ पुग्दा गोठालाहरू कोही कुकरलाई खोले पकाउन, कोही भेडा गन्ती गर्न व्यस्त रहेछन् । हामीलाई देखेर उनीहरूले हरियो स्याउला बस्न मिल्ने गरी भुइँमा बिच्छ्याए ।

लगभग ४,००० मिटर अग्लो डाँडामा लगातार परिरहने सिमसिम पानी र पातलो कुहिरोबाट जोगिन भेठीगोठमा बस्ने कोठा (ठाउँ) बनाइएको रहेछ । चुल्होमा अचेट (काँचो दाउरा) बलिरहेको थियो ।

हामीले क्यामेरासहित झोला चित्राको आडमा झुन्ड्यायौं । हरियो स्याउलामाथि ओछ्याइएको पुरानो राडीमा बस्यौं ।

एकै छिनमा चिया पाक्यो । चियापानपछि बेलुकीको दैनिकी सुरु भयो । गोठमा लगभग चार सय जति भेडा थिए । त्यति धेरै भेडा त्यो सानो पहराको आडमा, ढुंगाको चेप, ससाना बुट्यानको फेद, खाली ठाउँ आदिमा टाक्सिएर बसेका थिए ।

खाना खाएर सबै जना अगेनो वरपर बस्यौं, गफिनका लागि । पहिलेजस्तो सजिलो रहेनछ भेडापालन । सामुदायिक वनको अवधारणाले गर्दा भेडा चराउन नपाइने र चराउँदा पनि सामुदायिक वन समितिलाई पैसा तिर्नुपर्ने । तिर्नुपर्ने रकममा पनि एकरूपता नभएको । पछिल्लो समय यस पेसाप्रति गुरुङ जातिको रुचि कम हुँदै गएको थाहा भयो । पूर्वका ओखलढुंगा, खोटाङ, संखुवासभा, भोजपुर आदि जिल्लामा बसोबास गर्ने गुरुङमध्ये लगभग असी प्रतिशतको भेडीगोठ भएकोमा पछिल्ला वर्षमा यो अनुपात १० दस प्रतिशतमा झरिसकेको अनुमान रहेछ । गफगाफपछि हरिया स्याउलाको ओछ्यानमा गुडुल्कियौं हामी ।

***


बिहान भयो । काफलबोटे कान्छा दाइ सबैभन्दा पहिले उठे । सिरानीमा राखेको खैनी निकाले, एक चिम्टी ओठमा च्यापे अनि भेडा गन्न निस्के । बिस्तारै घामको उज्यालो भुइँ कुहिरोको पातलो पर्दाबाट क्रमश: डाँडा, पहरा, बुट्यान हुँदै हामी बसेको गोठभित्र पनि पस्यो । गोठाले दाइहरू मकै भुट्न थाले । गंगाले अघिल्लो वर्ष ओखलढुंगाको जंगलमा बस्दा खिचेको फोटो फ्रेममा राखी लगिदिएकी रहिछन्— उपहारका रूपमा । काफलबोटे, ख्यामपुले र जुबुले दाइ मख्ख पर्दै फोटो हेर्दै थिए ।

मोहीसँग मकै खायौं सबैले । काफलबोटे कान्छा दाइलाई टुङ्ना बजाउन अनुरोध गरेपछि डालीबाट टुङ्ना झिकेर बजाउँदै सानो स्वरमा गीत गुनगुनाए । उता भेडाहरूचाहिं उकालो लाग्दै थिए— डाँडामाथिको फाँटतिर जान । एक छिनपछि हामी पनि गोठबाट माथि फाँटतिर जान हिंड्यौं । भेडीगोठ भीरको आडमा थियो ।

हामी लामजुरा फर्कंदा काफलबोटे कान्छा पनि हामीलाई पुर्‍याउन आए । जता हेर्‍यो त्यतै हरियो भुइँ, आँखाले नभ्याउने ती हरिया फाँटमा फुलेका पहेंला फूलहरू साँच्चै राम्रा थिए । लामजुरा नपुग्दै बाँकी दिनका लागि पनि योजना बनायौं । बेलुकी लामजुराको बास, भोलिपल्ट टाकटोर, अर्काे दिन जूनबेंसी, त्यसपछि टाकटोरमा पुन: काफलबोटे कान्छाको भेडीगोठमा बास बस्ने, अरू भेडीगोठ पनि घुम्ने, जूनबेंसीको छोप्तेलिङ गुम्बा घुम्ने र अन्तमा फाप्लुबाट हवाइजहाजमा काठमाडांै फर्कने आदि ।

***


हामी लामजुरामा बस्यौं । काठमाडौंबाट सोलुखुम्बुको तल्लो क्षेत्र सल्लेरी घुम्न जाने मुख्य पैदलमार्ग हो लामजुरा । होटल तथा घर निकै सफा र चिटिक्क परेका देखिन्छन् । समुद्र सतहदेखि करिब ३८ सय मिटर उचाइमा अवस्थित यो विन्दुबाट उत्तरतिरका हिमाली शृंखला गजबै देखिन्छ । होटलका पाहुनाका लागि उसिनेको आलु, टिम्मुरको अचार, नौनीघ्यू र नुन हालेको दूधचिया निकै चल्तीमा रहेछ ।

बिहान उठ्दा लामजुराको प्राकृतिक सुन्दरता घामको न्यानो अँगालोमा रमाइरहेको पायौं । दुई–चार तस्बिर खिचेपछि चियाखाजा खाँदै लाग्यौं, लामजुराको तेर्सैतेर्साे । करिब एक घन्टा हिंडेपछि एउटा घरमा बसेर चौंरीको मोहीबाट बनेको सेर्ग्याम र छुर्पी किनेर खायौं । शेर्पा दाइले मेरोतर्फबाट भन्दै केही छुर्पी पनि थपिदिनुभयो । हामी छुर्पी खाँदै लामजुरा पासबाट ओरालो झर्‍यौं । ओरालो बाटो एक छिन हिंडेपछि केही स–साना घरहरू भएको टाकटोर गाउँ भेटियो ।


जूनबेंसी

जूनबेंसीको एपल गार्डेन होटलमा बास बस्यौं । जूनबेंसी पहिलेदेखि सुनेको नाम हो । भौगोलिक रूपमा सानो तर व्यवस्थित । मुस्किलले चालीस/पचास घर, होटल होलान् । त्यहाँको छोप्तेलिङ गुम्बा पनि बौद्धमार्गीका लागि आकर्षणमा रहेछ । जूनबेंसी गाउँ परिसरमा काटमार गर्न नपाइने रहेछ । खानचाहिँ पाइने तर त्यस गाउँ वरिपरि काट्न पाइँदैन रे । जूनबेंसीमा ढुंगामाथि जूनको नक्सा छ रे, त्यसैले त्यो ठाउँको नाम पनि जूनबेंसी भनिएको रे ।

भोलि बिहान छोप्तेलिङ गुम्बा पुग्दा नित्य पूजा चलिरहेको थियो । त्यतिबेला जूनबेंसीको मौसम बदली भइरहेको थियो । हामी एकै छिन गुम्बा अवलोकन गरेर टाकटोरतिर लाग्यौं । हामी टाकटोर गाउँ पुग्दा भेडीगोठ आइपुग्न लागेको रहेछ । भेडीगोठका सामानहरूचाहिं बारीमा ल्याइसकेका रहेछन् । क्षणभरमै खाली गरिएको बारी भेडाहरूले ढाक्यो । काफलबोटे कान्छा दाइ जंगलमा छाडिएका भेडा खोज्न गएका रहेछन् । उनी आएपछि हामीले पनि सँगै चिया खायौं ।

भोलिपल्ट बिहानै चौंरी गोठालाहरू आइसकेका रहेछन् । मौसम सफा भएकाले ऊन मुड्न सघाउन आएका रहेछन् । उनीहरूले त्यस दिन भेडाको ऊन कात्ने योजना राखेका रहेछन् । ऊन कात्ने काम सुरु भयो । चौंरी गोठालाले ऊन मुड्न सघाए । त्यो दिन बाह्र बजेपछि हामी जूनबेंसी फर्कने भयौं । हिंड्नुअघि भेडीगोठाला दाइलगायत सबैले खादा ओढाइदिए । भेडाको दूध हालेको चिया खान दिए । पोलेको जंगली च्याउ र छुर्पीको सगुनसमेत दिएर बिदाइ गरे । भेडीगोठमा उभिएर हामी भावविभोर भयौं ।

हामी जूनबेंसी होटलमा पुग्दा साँझ परिसकेको थियो । बेलुकीको खाना खायौं र सुत्यौं । भोलिपल्ट बिहानै फाप्लु विमानस्थलतिर लाग्यौं । हाम्रो यात्रा दोलखाको जिरीदेखि सोलुखुम्बुको जूनबेंसीसम्मको थियो । हामी भेडीगोठको डकुमेन्ट्री बनाउनका लागि ओखलढुंगा रुम्जाटारका काफलबोटे कान्छा (हिमाल गुरुङ) लाई पछ्याउँदै गएका थियौं, साथमा सहयोगी भाइहरू वीरबहादुर गुरुङ र छिरिङ शेर्पा थिए । सबैलाई एकमुष्ठ धन्यवाद छ ।

–चेतकुमारी गुरुङ

प्रकाशित : माघ ५, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?