१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चुनावको अस्त्र

‘क्लाइमेक्स’ अझ बाँकी छ । त्यो भनेको, मोदीको बायोपिक । निर्देशक उमंग कुमारले प्रधानमन्त्री मोदीको बायोपिक बनाउँदै छन् । २३ भाषामा प्रदर्शन हुने फिल्मको नाम राखिएको छ, ‘पीएम नरेन्द्र मोदी’ । यसमा विवेक ओवराय मोदीको भूमिकामा देखिनेछन् ।
गोकर्ण गौतम

काठमाडौँ — जनवरी दोस्रो शुक्रबार दुई हिन्दी फिल्म एकसाथ रिलिज भए, ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ र ‘उरी’ ।

चुनावको अस्त्र

लगत्तै अर्को फिल्म आयो— ‘ठाकरे’ । तीनै फिल्मको लुकेको ध्येय एउटै हो— राजनीतिक एजेन्डा । ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ भारतका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको अँध्यारो पक्षमा केन्द्रित छ । सन् २०१६ मा पाकिस्तानको आतंकवादी अखडामा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकको अन्तरकथा भनिएको छ, ‘उरी’ मा । ‘ठाकरे’ चाहिँ शिवसेनाका संस्थापक तथा हिन्दु हृदय–सम्राट् भनेर चिनिने बाबासाहेब ठाकरेको ‘बायोपिक’ हो ।


समान चरित्र भएका तीन फिल्म एकै समय प्रदर्शन हुनु संयोग मात्र हो त ? पक्कै होइन । यही वर्ष भारतमा आम निर्वाचन हुँदै छ । यी फिल्मको सम्बन्ध त्यही चुनावसँग जोडिएको छ । नघुमाई भन्दा, तीनै फिल्म सत्तासीन भारतीय जनता पार्टी (भाजपा) को चुनावी अभियानका अस्त्र हुन् । अघिल्लो आमनिर्वाचनमा मूलधारका सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई प्रचारमा व्यापक प्रयोग गर्न सफल भाजपाको झुकाव यस पटक ‘सफ्ट पावर’ तिर पनि बढेको छ । यी सिनेमा निर्माणमा भाजपाको प्रत्यक्ष/अप्रत्यक्ष साथ–सहयोगले त्यही देखाउँछ । चुनाव नजिकिँदै गर्दा राजनीतिक स्वार्थप्रेरित फिल्म प्रदर्शनमा आएपछि अलजजिराले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘हिन्दी फिल्मले राजनीतिक विषयलाई उठान गरेको इतिहास लामै छ तर यो वर्ष त्यस्ता फिल्म विगतभन्दा धेरै छन् ।’


हो पनि त्यस्तै । ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ कै कुरा गरौं । यो फिल्म सञ्जय बारु लिखित यही नामको पुस्तकमा आधारित छ । सञ्जय सन् २००४ देखि २००८ सम्म तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहका मिडिया सल्लाहकार तथा प्रमुख प्रवक्ता थिए । पछि फाटो उब्जियो, एकाएक प्रधानमन्त्रीबाट टाढा भए र पुस्तक लेखे । पुस्तकमै विवाद बढ्यो । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर भन्यो, ‘किताब फिक्सन हो, सत्यता छैन ।’ तर, भाजपा समर्थकका लागि बारुको कृति मसला भइहाल्यो । आमनिर्वाचनको पूर्वसन्ध्यामा यही किताबमा आधारित फिल्म रिलिज हुनुले त्यही प्रमाणित गर्छ ।


मनमोहन सिंहको भूमिकामा पनि अरू होइन, नरेन्द्र मोदीका कट्टर समर्थक अनुपम खेर छन् । अनुपमले मनमोहन सिंहको चरित्र आफ्नो करिअरकै उत्कृष्ट काम भनेर दाबी गरे । तर, अभिनयका नाममा मनमोहनको ‘मिमिक्री’ गरेको आरोप लाग्यो उनीमाथि । द इन्डियन एक्स्प्रेसमा सुब्रा गुप्ता लेख्छिन्, ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर पूरापूर प्रोपोगान्डा हो । फिल्मको उद्देश्य पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई निरीह, दुर्बल र गान्धी परिवारको कठपुतलीका रूपमा स्थापित गर्नु हो ।’


‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ को ट्ेरलर भाजपाले अफिसियल ट्विटर अकाउन्टबाट सेयर गर्‍यो । यो पार्टीका नेता र कार्यकर्ता प्रचारमा खटिए । यो राजनीतिक खेलोफड्कोमाझ निर्माता/निर्देशकले आरोप र लाञ्छनाको खन्डन गरिरहे । मिडियासामु निर्माता सुनील बोह्राको जिकिर थियो, ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर संवेदनशील भएर बनाइएको गुदीयुक्त मनोरञ्जनात्मक फिल्म हो ।’ कसले पत्याउने ? तर फिल्म युनिट र भाजपाको चाहनाले मूर्तरूप पाएन । एकातिर, फिल्म प्रदर्शन दौरान कांग्रेसका कार्यकर्ताले तोडफोड गरे । अर्कातिर, बक्स अफिसमा पनि चिप्लियो । न सकारात्मक समीक्षा नै पायो ।


‘द एक्सिडेन्टल प्राइममिनिस्टर’ झैं ठाडै ‘उरी’ लाई ‘राजनीतिक हतियार’ भन्न मिल्दैन तर यो फिल्मबाट फाइदा पुग्ने चाहिँ भाजपालाई नै हो । तीन वर्षअगाडिको सर्जिकल स्ट्राइकले मोदी सरकारको लोकप्रियता ह्वात्तै बढाएको थियो । राहुल गान्धीले समेत मोदीको प्रशंसा गरे । यही घटनामाथि फिल्म बन्दा मोदी सरकार उत्साही नहुनु कसरी ?


एउटा जल्दोबल्दो उदाहरण, ‘उरी’ को एक दृश्यमा सर्जिकल स्ट्राइकमा जान तम्तयार सैनिक टोलीका सामु उभिएर मेजर बनेका विक्की कौशल ठूलो स्वरमा सोध्छन्, ‘हाउ इज द जोस ?’ टोलीले एकै स्वरमा जवाफ दिन्छ, ‘हाई सर ।’ ‘उरी’ को ‘आइकनिक’ दृश्य हो यो, ट्ेरलरमा पनि थियो । प्रधानमन्त्री मोदीले केही दिनअगाडि गिनेचुनेका बलिउडकर्मीसँग भेट गरे । दर्जनौं फिल्मकर्मीको अगाडि बसेर मोदीले उत्साही हुँदै सोधे, ‘हाउ इज द जोस ?’ फिल्मकर्मीका लागि त्यो ‘सरप्राइज’ थियो । उनीहरूले पनि सानले एकै स्वरमा भने, ‘हाई सर ।’ अर्थात्, मोदीले सर्जिकल स्ट्राइकको नेतृत्व गरिरहेको मेजरकै रूपमा आफूलाई उभ्याए ।


यति मात्र होइन, चलाख मोदीले ‘उरी’ टिमलाई यसअघि नै भेटेका थिए, फिल्मका केही फुटेज पनि हेरे । सेनाको साहस नागरिकसम्म पुर्‍याएको भन्दै धन्यवाद दिए । कति राज्यमा कर छुट भयो । रक्षामन्त्री निर्मला सिथारमनले पनि फिल्म युनिटलाई आफ्नो अफिसमा निम्तो दिइन् । यसको स्क्रिप्ट भारतीय सेनाबाटै ‘स्वीकृत’ भएको बताइन्छ । यो ‘उरी’ सँग भाजपा किन पनि हौसिएको छ भने एकातिर मोदी, उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र मन्त्रिमण्डललाई निकै निर्भीक र राष्ट्रभक्त पात्रका रूपमा उभ्याइएको छ । अर्कातिर, फिल्मलाई आमदर्शकले रुचाए । सय करोड क्लबमा प्रवेश गरिसक्यो ।


‘ठाकरे’ को निर्माण गर्नुको ध्येय पनि बालासाहेब ठाकरेको व्यक्तित्व ठूलो समुदायसम्म पुर्‍याउनु मात्र पक्कै होइन । आसन्न आमनिर्वाचनमा खासगरी शिवसेनाप्रति महाराष्ट्रवासीको सहानुभूति बटुल्ने ध्येय छ । यसबाट कालान्तरमा फाइदा पुग्ने भनेको भाजपालाई नै हो । ‘ठाकेर’ का कथाकार तथा सह–निर्माता सञ्जय राउत शिवसेनाका नेता हुन् । त्यसैले फिल्ममा बालासाहेबलाई ‘महान्’ देखाइएकोमा द्विविधा छैन । निर्देशक अभिजित पन्सेका अनुसार बालासाहेब कसरी कार्टुनिस्टबाट भारतका सम्मानित र शक्तिशाली नेता बने भन्नेमा केन्द्रित छ फिल्म । बालासाहेबका नाति आदित्य ठाकरे भन्छन्, ‘यो फिल्म राजनीतिक फाइदाका लागि बनाइएको भन्नु न्यायसंगत हुँदैन । हामी सिर्फ बालासाहेब र उहाँको कामको बारेमा नयाँ पुस्तालाई बताउन चाहन्छौं ।’ बालासाहेब बनेका प्रतिष्ठित अभिनेता नवाजद्दिन सिद्दिकी पनि यस फिल्मलाई राजनीतिक एजेन्डा मान्न तयार छैनन् ।


भाजपाको फिल्मी ‘प्रोपोगान्डा’ यत्तिमै सीमित छैन । ‘क्लाइमेक्स’ अझ बाँकी छ । त्यो भनेको, मोदीको बायोपिक । यसअगाडि ‘मेरी कोम’ बनाएर चर्चा बटुलेका निर्देशक उमंग कुमारले मोदीको बायोपिक बनाउन लागेका हुन् । २३ भाषामा प्रदर्शन हुने फिल्मको नाम राखिएको छ, ‘पीएम नरेन्द्र मोदी’ । यसमा विवेक ओवरायलाई मोदीको भूमिकामा देख्न पाइनेछ । भाजपा समर्थक कलाकार परेश रावलको पनि अभिनय रहनेछ । यस फिल्मको पहिलो पोस्टर सार्वजनिक कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाभिसले भनेका थिए, ‘मोदी विश्व नेता तथा राजयोगी हुनुहुन्छ । यो फिल्मले इतिहास बनाउनेछ ।’ देवेन्द्रको यही भनाइले संकेत गर्छ, फिल्ममा हुनेछ त केवल, मोदीको देवत्वकरण ।


प्रकाशित : माघ १२, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?