३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यो दोस्ती, त्यो दोस्ती

शवमा चढाउने फूल कि खील निकाल्ने काँडा ? देशले मनाइरहेको गणतन्त्र दिवस कि आत्महत्या गरिरहेका कृषकहरूको दुर्भाग्य ?
मनोज बोगटी

काठमाडौँ — अहिले उसको छनोट चेस हो । भोलि त्यो नरहन पनि सक्छ । अचानक उसलाई गाउन मन पर्देला ।

यो दोस्ती, त्यो दोस्ती

बजाउन मन पर्देला । नाच्न मन पर्देला । यद्धपि, ऊ आफूयोग्य केही न केही खोजिरहेकै छ । यति भए एउटा बाबालाई अरू के चाहियो र ।


आरोहण, १४ मा हिँड्दै छ । हाम्रो यो दोस्ती, बाबाछोरा कम र साथीसाथी धेर छ । तर्क गर्नु, जित्नु र रमाउनु उसको कोसिसहरूमध्ये प्रमुख हो । बेलाबेला उसलाई जित्न दिनु, नदिनुबारे म दोधारमा परिरहन्छु नै । मनोवैज्ञानिक रूपले उसमा पर्न सक्ने असर– प्रभावहरूबारे सचेत रहन्छु । यस्तो बेला मलाई फ्रायडले पनि साथ दिन्छ ।कराँतेमा ब्राउन बेल्ट (सेकेन्ड) सम्म पुग्यो ।


घरका भित्तामा उसकी आमाले विभिन्न ठाउँमा मलाई सम्मान गर्दा दिइएका प्रशस्तिपत्रका फ्रेमहरू झुन्डाएकी छन् । भित्ताभरि फ्रेम नै फ्रेम देखेपछि ऊ भन्थ्यो, ‘बाबा भित्तैभरि तपाईंको सम्मानपत्र छ, अब मेरो नामको फ्रेम पनि एउटा भित्तामा लाग्छ है ।’


मलाई थाहा छ, उसको पहिलो प्रतिद्वन्द्वी म नै हुँ । लड्न त ऊ अरूसित नै लड्ला तर जब उसको दिमागमा घरको भित्ता आउँछ, पहिलो ईष्र्याको घुस्सी मप्रति नै हो । सिग्मन फ्रायडले १८९७ देखि आफैंलाई पढे । बुझ्दै जाँदा मानिसभित्रको ‘इडिपस वृत्ति’ चाल पाए ।


फ्रायडलाई पनि आफ्नो बाबाप्रति उस्तै ईष्र्या हुने । संसारमा अहिलेसम्म उनको ‘इडिपस ग्रन्थि’ बाट मनोसंसारलाई हेरिन्छ । त्यो ग्रन्थि आरोहणभित्र नहुने कुरा आयो र ? मलाई थाहा छ, त्यो ग्रन्थिले आरोहणभित्र टाउको उठाउँदै छ । समान लिंग हुनेहरूबीच शत्रुता, होड र वैमनस्य स्वाभाविक भइगयो । फ्रायडले त मान्छेका सपना, संस्कृति र मिथकमा पनि इडिपस वृत्तिले काम गर्ने बताइसकेकै छन् ।


एक दिन दिल्लीमा भएको राष्ट्रिय कराँते प्रतियोगितामा ब्रन्च जित्यो । र, पाएको प्रमाणपत्रको फ्रेम एउटा भित्तामा राख्यो । एक दिन गुवाहाटीमा भएको राष्ट्रिय कराँते प्रतियोगितामा मेडल जितेन तर पाएको प्रमाणपत्रको फ्रेम अर्को फ्रेमको केही पर्तिर राख्यो । उसकै प्रमाणपत्रका फ्रेमहरू राख्नलाई मैले मेरा केही प्रशस्तिपत्रहरू भित्ताबाट हटाइदिएँ ।


मलाई उसको आफ्नो बाबाप्रतिको त्यो ईष्र्यासित प्रेम जो थियो ।मलाई उसको खुसीले आनन्द दिइरहेकै थियो । फ्रायडको आनन्दको सिद्धान्तले भनेजस्तै मेरो आनन्द पनि छिट्टै दु:खमा बद्लियो ।ब्ल्याक बेल्ट पुग्ने बेला ऊ क्लास जानै छोडिदियो । एक दिन मैले केरें ।


‘कराँते त मैले मनले चाहेको खेल होइन रहेछ,’ ऊ भन्छ, ‘मैले चाहेको के हो के हो म त सधैं दोधारमा हुन्छु, कन्फ्युज हुन्छु ।’मैले कराँतेबाट उसलाई लिएर देखेको सपना, यति संवादले नै भताभुंग भयो । आरोहणले मलाई दु:ख दियो । यतिखेर स्याडिज्मले यो मेरो दु:खलाई कसरी व्यक्त गर्छ, थाहा छैन ।


तर, मलाई उसको सकसले बिझाउँछ । उसको छटपटीले सताउँछ । सम्झन्छु, मै पनि त धेरैपल्ट दोधारमा परेको छु । दोधारमा परेपछि कसको के लाग्यो र ? तर मैले त दोधारमा नपरेकै बेला पनि बाँसको भाटा भेटेको छु ।


हो, बाँसको भाटा, त्यो पनि क्लास फोर पढ्दै गरेको कलिलो ढाँडमा ।

त्यसको कथा फेदमा भन्छु है त ।


म आरोहणलाई सम्झाउने कोसिस गर्छु । दोधारमा पर्नु अल्झिनु नै चाहिं होइन । तर, ऊ थोरै बुझ्छ । मचाहिं धेरै बुझाउँछु ।


मलाई सधैं लाग्छ, वास्तवमा दोधारमा पर्नेहरूले नै आफ्नो बाटो भेटाउने हो । संसार नै त छान्नुको संकटमा अल्झिएको छ । संसार नै त दोधारमा छ ।


तपाईंले भारततिर फर्किएर हेर्नु भो भने देख्नुहुन्छ, एकातिर कट्टर हिन्दु राष्ट्रवाद, अर्कोतिर गणतान्त्रिक असहिष्णुता । राजनीतिले हिन्दु–मुस्लिम, हिन्दु–मुस्लिम खेल खेलिरहेकै छ ।


यता अल्पसंख्यकहरूको असुरक्षा र उता बजारको आतंकी उदारवाद । यता किसानहरू ऋण बोकिरहेका छन्, उता कर्पोरेट्सहरू ऋण बोकाइरहेका छन् । अचेल आमाले कुनै पनि बीउ (गेडागुडी) भारमा राख्दिनन् । कम्पनीहरू उन्नत बीउबिजन बोकेर बारीमै आइपुग्छन् । माल्दाजुहरू मल बोक्दैनन्, कम्पनीहरू प्याकेटप्याकेट रसायन बोकेर खेतैमा पसिदिन्छन् ।


हल गोरुहरू बारीबाट निस्किसके । सरकार भन्छ, ‘ट्याक्टर चलाऊ, गोरु त गौ माताको लोग्ने हो । यसको त पूजा पो गर्नुपर्छ, मासु खाने हो र ?’ दार्जिलिङे पहाडका केही फोक्टा बारी जोत्नु कहाँबाट ल्याउनु ट्याक्टर ?


टीभीले गोरुको मासु खाने र गोरुको पूजा गर्नेको मारकाट देखाइदिन्छ । कुनै निश्चित एउटा कुरा देखाएको कहाँ छ ? टीभीहरू सबै दोधारमा छन् ।


देशका बौद्धिकहरूको विश्लेषण छ, देश भनेको अवधारणा हो । त्यो अवधारणामा कुनै एक धर्मले अर्को धर्मलाई कसरी निषेध गर्न सक्छ ? समावेशी आचरण किन गुमाउँदै छ लोकतन्त्रले ? राष्ट्रियताको माने किन संकुचित ?


संघीयताको मूल्यलाई इन्टेलेजेन्सियाहरूले हरेक सत्ताको फाइदाका लागि परिभाषित गरिसक्यो । हो कि होइन भनेर विचार गर्न छोडिसक्यो समाजले ।


भीएस नयपालले भनेको देश दुईवटै छ देशमा । एउटा एसीभित्र, एउटा एसीबाहिर । गायत्री चक्रवर्ती स्पिभाकले भनेको दुईवटा समाज छ समाजमा, एउटा हाटमा, एउटा मलमा । रोमिला थापरले भनेको दुईवटा गणतन्त्र छ गणतन्त्रमा एउटा संविधानमा एउटा सदनमा । देशले कुन छान्नु ?


मलाई आरोहण कन्फ्युज हुनु स्वाभाविक पनि लाग्छ ।


उसको देशमा जुन गणतन्त्र राजनीतिक दलको परिभाषाबाट चल्छ, कर्पोरेट्सको परिभाषाबाट चल्छ, त्यहाँ आरोहणलाई कन्फ्युज हुने गणतन्त्र हुँदैन त ?


मानिसहरू आफैं केही छान्नै सक्दैनन् । न फूल, न काँडा । न हर्ष, न दु:ख । न सपना न विपना । न जीवन, न मृत्यु । दुवैको मूल्यबारे उत्तिकै विश्वासयोग्य विज्ञापन छ बजारमा । कुन ठीक ?


शवमा चढाउने फूल कि खील निकाल्ने काँडा ? देशले मनाइरहेको गणतन्त्र दिवस कि आत्महत्या गरिरहेका कृषकहरूको दुर्भाग्य ?


प्रधानमन्त्रीले घोषणा गरिरहेको डिजिटल इन्डिया कि विदेश पलायन भइरहेका युवाहरूको कुरूप विपना ? मोदीले फर्काउने वाचा गरेको कालो धन कि मालिकले ताला ठोकेर हिँडेको चियाबगान ? कुन छान्नु ?


कुन निर्णय ठीक, कुन बेठीक, ठीकठीक बुझ्न सकिन्न । नितान्तै कठिन छ, देशको पीडा बुझ्नु । जीवनको संकट बुझ्नु । समयको कठिनता बुझ्नु । सामाजिकता, राष्ट्रियता, धर्म, राजनीति, इतिहास सबैसबै त दोधारमा नै निर्माण भइरहेको छ । अब पुरानो भाष्यले आजबारे ठीकठीक केही बताउन सक्दैन । नयाँ भाष्य निर्माणमा लाग्नेहरू छन् पो कति र ?


तपाईंको आँखैअघि छ, (नरेन्द्र मोदीहरूको हिन्दु–मुस्लिम कूटनीतिक शास्त्र बन्दुकको नोकबाट बाहिरिएदेखियता कति बौद्धिकहरूलाई श्मशानघाट पुर्‍याइसक्यो । बन्दुकको गोली नै सर्वोच्च न्यायालय बनिसक्यो । दलित, अल्पसंख्यक र आदिवासीहरूको छाला उधारेर जियोको नेटवर्क र सिम बनाइसक्यो । धारा सुक्यो । सुर्ता किन गर्नु बिस्लेरीको जमानामा ?


हरेक तिर्खाको सभ्यता चुलियो । कुन दाम र कम्पनीको तिर्खा अंगीकरण गर्ने ? आँसु कमोडिटी बनेको जमानामा, दु:ख र गरिबीले पाउने मार्केट भेल्युबारे सदनमा लामालामा बहसहरू चलिरहनु आजको समयको सौन्दर्य हो ।


किनार परेकाहरूका लागि यो देशले के दिइरहेको छ ? यो प्रश्न भुत्ते बनिसक्यो । देशको हेडलाइन अगणतान्त्रिक सहिष्णुता हो कि गणतान्त्रिक असहिष्णुता ? आमाको पोल्टामा अझ पुरानै नोट छन् । यद्धपि, मोदीलाई सबैले त सोधिरहेकै छन्, ‘के कालो धन फर्कियो त ?’


प्रश्न गर्नेदेखि उत्तर दिनेसम्म दोधारमा नै छन् । कुनै पनि परिवर्तनअघि सायद दोधारमा आउनु अनिवार्य छ । देशका बौद्धिकहरू दोधार समय संक्रमणलाई भरपूर व्याख्या गरिरहेका छन् । सोधिरहेका छन्, ‘आउँछ त अच्छे दिन ?’


यद्यपि, यही प्रश्न पनि दोधारमा परिरहेको देशको मुक्तिको बाटो होइन ।


दोधार पनि कस्तो भने विदेशमा भाँडा माझ्न उडेका जवानहरूको जीवन उनीहरूले चुनेको जीवन हो कि श्मशानघाट ? आत्महत्या गरिरहेको कृषकले मर्ने बेला भुकुल्ले छोरो सम्झिएलान् कि ऋण ?


किसानहरूलाई गलामा पासो लगाउनअघि लाग्थ्यो, भाजपा सरकार उनीहरूको मित्र हुन् । तर, उनीहरूलाई थाहा थिएन गलामा लाग्ने दोरी केन्द्र सरकारले नै गाउँ पठाएको हो । मौसम बिग्रिएर खेती नहुनु त एउटा कुरा, मौसम नबिग्री भएको खेतीको बजार नै पनि नभेट्नु कति गाह्रो कुरा ? देशको अर्थनीति नै दोधारमा छैन त ?


अनि आरोहण दोधारमा नहुनु त ? अब कसैलाई पनि दोधारमा नबसी धरै छैन । न म, न आरोहण ।


तर, साँच्चि नै अघि बढ्नअघि सबैलाई दोधारमा पर्नु अनिवार्य त छ नै ।

आरोहणलाई पनि म यही भन्दै आइरहेको छु, कि दोधारमा पर्नु, निर्णय गर्न खोज्नु हो । सोच्ने अभ्यासलाई जारी राख्नु हो । विचार गर्ने अभ्यास हो । धेरै मानिस दोधारमा नै पर्दैनन् । थाहा छैन, उनीहरू कसरी मानिस भइराख्न सक्छन् समाजमा ।


दोधारदोधारको बाटोबाट सबै एक न एक दिन सही निर्णयमा पुग्लान । दोधारमा नै नपरी त कसरी निर्णयमा पनि पुग्नु र होइन ?


जस्तो, म आफैंलाई गाडीको ‘खलासी’ हुन्छु लाग्थ्यो । पछि त्यो निर्णय ठीक लागेन । किन भने पछिपछि गाडीको खलासीभन्दा ड्राइभर नै ठूलो लाग्यो ।


मलाई ड्राइभर हुन्छुजस्तो लाग्थ्यो । त्यो पनि सही लागेन । ड्राइभरभन्दा त मालिक नै ठूलो होजस्तो लाग्यो । ड्राइभरभन्दा त गाडीको मालिक हुन्छुजस्तो लाग्यो । तर, म तिनोटै भइनँ ।


मेरो प्राथमिकता र ज्ञान दुइटै बढ्दै गयो । मलाई के–के न हुन्छुजस्तो लागेको थियो । तर, म केही हुन सकिनँ ।


बरु नसोचेको भएँ पत्रकार । नसोचेकै भएँ कवि । यति भइसकेपछि अहिले म दोधारमा छैन । दोधारबाट मुक्त बन्न मैले कति वर्ष गलाएँ त ?


कराँते अब आरोहणको दिमागबाट निस्कियो । फुटबलका लागि बेलाबेला ऊ मैदान पस्छ । ब्याट बोकेर ऊ सचिन तेन्दुलकरको नकल पनि गरिबस्छ । र्‍याकेट कोर्ट पनि धाउँछ । अहिले कोही मान्छे भेट्यो कि सोधिहाल्छ, ‘तपाईंलाई चेस खेल्न आउँछ ?


मलाई थाहा छ, कहिलेदेखि उसले यसरी सोध्न पनि छाड्नेछ । र, फेरि ऊ दोधारमा पर्नेछ । संसारका सबै बाबाहरूले आरोहणहरूलाई यसरी दोधारमा पर्न दिनैपर्छ । कमसेकम ‘म दोधारमा छु’ भन्न ज्ञान आएकाहरू भेटियो भने त सबै बाबाहरू रमाउनु पो पर्छ ।


किनभने एक दिन त उनीहरू दोधारबाट निस्किने नै छन् । कि कसो ?


‘यसपालि चैं फस्ट, सेकेन्ड या थर्डसम्म त आउँछु,’ आरोहणले भन्यो, ‘आएँ भने चेसबोर्ड किन्दिनुस् नि ।’


मलाई पत्यार लागेन ।


‘पत्याउने कुरा गर न, जहिल्यै दोधारे कुरा गर्छौ । कि फस्ट बन, कि सेकेन्ड बन कि थर्ड’ मैले भने, ‘पहिला पनि यसै भनेको तर पोर्थ आयौ ।’


तर, यसपल्ट उसले वचन पूरा गर्‍यो ।


काठमाडौंको एउटा सुपर मार्केटमा मैले उसलाई चेसबोर्ड किनिदिएँ, काठको ।


बल्ल ऊ आठ क्लासमा पुग्यो ।


‘थर्ड भएछौ । ठीक छ । तिम्रो ढाडमा भाटा नभाँचिने भयो, म खुसी छु,’ मैले आरोहणलाई भने ।


ऊ कुरा बुझेर हाँस्यो ।


‘चेसबोर्डका लागि थ्यांक्स बाबा,’ ऊ खुसी बन्यो । यस्तो, हामी बाबाछोराको यो दोस्ती सम्झिन्छु । त्यसपछि म बाबा सम्झिन्छु ।


बिहानै मलाई नयाँ र रातो रङको बीसको नोट देखाएर बाबाले भन्नुभयो, ‘फस्ट भइस् भने दिन्छु ।’ जीवनमा पहिलोपल्ट बाबाले दिएको आश्वासनलाई निकै गम्भीर रूपमा लिएँ हुँला । स्कुल पुग्दा र फलाफल थाप्दासमेत म दोधारमा थिएँ ।


के देलान् त मलाई बीसको नोट ?


त्यो चौथो श्रेणीको अर्धवार्षिक परीक्षाको फलाफलको कुरा हो । यसै त बाबाले मलाई कहिल्यै सम्झनलायक केही दिएको थाहा छैन । सिस्नुपानी, ट्वाक्सिङ, लात र झापट अनेकौं याद छ । र, याद छ, त्यो बीसको नोट ।


म न त बाबाको औंली समातेर स्कुल गएँ । न त बाबाले कुनै दिन खाता किताब नै किनिदिए । पेन्सिल हरायो कि रित्तिने त आमाको पोल्टो नै हो । तर, पेन्सिल हराउँदा मेरो गालामा बज्ने झापटचाहिं किन बाबाको ? बाबा र मबीच यस्तै कन्ट्रयास दोस्ती बस्यो ।


थाहा छैन, त्यो दिन बाबालाई के मुड आयो । गोजीबाट रातो बीस नोट निकाले । परीक्षा दिँदासम्म पनि बाबाले कुनै हरियो, पहेंलो नोट दिएनन् । फलाफलको दिन नै चाहिं किन देखाउनुपरेको बीसको नोट ?


हातमा परीक्षाफल बोकेर म घर पुग्दा बाबा साथीहरूसित आँगनमा बसेर रक्सी पिइरहेका थिए । त्यो दिन बारी छेउको मैनाको रूख ढाल्नु थियो । सायद बाबालाई मक्किएको घरको याद आएको थियो । मैनाको काठले घर बार्नु थियो । तर, उनीहरू मैनाको फेद पुगेकै थिएनन् । रूख ढाल्ने बहानामा भेला भएका उनका साथीहरू पनि बाबासितै बसेर रक्सी पिइरहेका थिए । उनीहरूलाई रक्सीले भुल्याइरहेको थियो ।


म हातमा परीक्षाफल बोकेर आँगन पुगें । बाबाले परीक्षाफल खोसे । पढेजस्तो गरेर हेरे । मेरो एउटा पाखुरामा दह्रो गरी समाते र सोधे, ‘के भइस् ?’


म बोलिनँ ।


परीक्षाफल छेउमा बसेर रमिता हेरिरहेका नरेश काकाले ताने । बाबा फेरि कड्किए, ‘के भइस् भनेको ?’


म तर्सिएँ । तर, म बोल्न सकिनँ । मलाई असाध्यै डर लागिसकेको थियो । उनले पनि परीक्षाफल हेरेकै हुन्, के भएँ हुँला त ? तर, मेरो बाबाले आफ्नो परीक्षाफल कहिल्यै हेरेकै थिएनन् । ढुंगे क्लासबाट सधैंका लागि घर भागेका बाबा फेरि स्कुल नै त गएनन् । उनले मेरो केवल परीक्षाफल हेरे होलान्, पढेनन् । पढे होलान् तर बुझेनन् । बुझे होलान् कि ? तर भनेनन् ।


‘ए पड्के, सेकेन्ड त भएछस् त,’ नरेश काकाले रहस्य खोलिदिए ।


खासमा मैले निर्णय गरेको थिएँ, म बीसको नोट पाउने लायक छु । म दोधारमा थिइनँ । दोधारमा थिएँ भने, म बाबाको छेउ जान सक्ने थिइनँ । मलाई लाग्यो, पक्कै हो, म बीसको नोटको हकदार छु ।


तर, मेरो ढाँडमा बाँसको भाटा बज्यो । नरेश काकाले रहस्य खोल्नासाथ बाबाको आँखा रात्तियो । कतिखेर उनको हातमा बाँसको भाटा आयो, मलाई थाहा छैन ।


‘साला जाँ... फस्ट पो होला भनेको त...,’ बाबाको वाक्य आधा हुँदा बज्रिएको भाटाले मेरो ढाड नीलो भइसकेको त थियो नै, सहन नसकेर म बुरुकबुरुक गरिरहेको पनि थिएँ । मेरो कलिलो ढाँडमा भाटा बजेपछि म अरर भएको थिएँ । आँखाबाट तुरुक्क आँसु खसेको थियो । छटपट्टिएको थिएँ । सास बन्द होलाजस्तो भएको थियो । अनि म आँगन थर्काएर रोएको थिएँ ।


तर, बाबाले अर्कोपल्ट हान्न भ्याएनन् । कसोकसो मैले बाबाको हातबाट पाखुरा खुस्काएँ । र भागें, उकालै उकालो । उकालै उकालो ।


म त्यतिको स्पिड कहिल्यै कुदेको थिइनँ ।


निकैमाथि पुगेर पहिले ढाडमा हात पुगुन्जेल मुसारें अनि तल आँगन हेरें । बाबा भाटा बोकेर मतिर हेरेर बर्बराइरहेका थिए ।


म रालसिङान भएको थिएँ । मन कटक्क दुखेर आयो । मेरो पेन्सिल चोर्ने दिलीपसित म कहिल्यै त्यसरी रिसाइनँ, जति बाबासित रिसाएको थिएँ । मेरो चप्पलको तुना बिलेटले काटिदिने धनबहादुरसित पनि म त्यतिको रिसाइनँ, जतिको बाबासित रिसाएको थिएँ ।


मैले मञ्जुको ज्योमेट्री बक्सबाट सन्देश मिठाई चोर्दा, मञ्जु पनि मसित त्यति रिसाएको थिइनँ, जति म बाबासित रिसाएको थिएँ ।


मलाई लागेको थियो, त्यो बीसको नोटबाट तीनवटा सन्देश मिठाई किन्छु । उब्रेको पैसा स्कुल लाग्दा खर्च गर्छु । त्यो सन्देश मिठाई बोकेर म मञ्जुको घर जान्छु । त्यसलाई त्यसको घरमाथिको बारीको डिलबाट बोलाउँछु र लुकाएर त्यसको हातमा सन्देश मिठाई राखिदिन्छु र सरासर घर फर्किन्छु ।


त्यो त हेरेको हेरेकै हुने थियो । वाल्लै पर्ने थियो । किनभने जीवनमा मैले पहिलोपल्ट त्यसलाई सन्देश मिठाई दिएको हुने थिएँ । मैले मेरै पैसाले किनिदिएको हुने थिएँ । त्यसपछि हिसाब बराबर हुने थियो ।

ज्यू, हिसाब बराबर हुनेथियो ।


किनभने जहिल्यै मैले त्यसको ज्योमेट्री बक्सबाट त्यसको सन्देश मिठाई चोरेको छु । मैले चोरेको त्यसले थाहा पाएर पनि थाहा पाउँदिन थिई ।


‘किन चोरिस् ?’ मात्रै भन्थी ।

‘खान मन लागेर,’ भन्थें ।

‘आफू चैं कैले किन्दैन,’ भन्थी ।

‘अन्त, मसित पैसा त छैन,’ भन्थें ।

त्यसपछि त्यो बोल्दैन थिई ।


र भोलिपल्ट पनि ज्योमेट्री बक्समा सन्देश नै बोकेर आउँथी । किन त्यसो गर्थी त्यो ? त्यसलाई थाहा छैन र म चोर हुँ भनेर ?


अनि फेरि पनि चोर्थें । त्यसले थाहा पाएर पनि पाउँदिन थिई । त्यसरी त्यसले मलाई सधैं जितेकी थिई, म सधैं हारेको थिएँ । तर, यसपल्ट मैले जित्ने थिएँ, त्यो हार्ने थिई ।


तर, मेरो हिसाब बराबर हुन नै पाएन । त्यसपछि मेरो मन बिग्रिएर आयो । म मञ्जुलाई सम्झेर एकपल्ट फेरि रोएँ । भुइँमा थचक्क बसें । भेटेजति ढुंगा टिपें । र, तल बाबाहरू भएतिर अन्धधुन्ध हान्न थालें ।


बाबाहरू त भारेभाग भए । मैले निकै बेर ढुंगा सोहोर्दै त्यसरी नै हानी बसें । अनि लागें दिलीपको घरतिर । उकालै उकालो, उकालै उकालो ।

म हप्ता दिन दिलीपकै घरमा लुकेर बसें ।


म दिलीपसित घरपछाडि डिबगोली खोलिरहेको थिएँ । खेलको धुनमा मैले आफू लुकिरहेको बिर्सिएँ । तर, कसैले मेरो कन्सिरी च्याप्प समाते ।


हेरें, बाबा थिए ।


त्यसपछि मैले अस्ति हानेको ढुंगा सम्झिएँ । आफ्नो दोष सम्झिएँ र सुरु भयो मेरो रोइकराइ । म रोएँ किनभने बलियो बाबालाई मैले जित्नै सकिनँ । मलाई बाबालाई जित्न नसकेकोमा अत्यधिक पीडा हुन्थ्यो । बाबा मेरा लागि अमरिस पुरी थिए । भिलेन । मेरो बाबा मेरा दुश्मन थिए ।


बाबाले कन्सिरीबाट औंला हटाए । बलियो गरी पाखुरामा समाते र तानेर घर पुर्‍याए ।


आमा आँगनमा केश अघिल्तिर पारेर बाटिरहेकी थिइन् ।


‘कहाँ थेछ यो,’ आमाले बाबालाई सोधिन् । बाबा तर एक शब्द बोलेनन् ।


आमा मतिर फर्किएर कराइन्, ‘बाबालाई त्यसरी ढुंगा हान्नुहुन्छ त ?’

मैले मुख फर्काएँ, ‘मलाई किन कुटेको त ?’


‘फस्ट हुनु भनेको किन सेकेन्ड भइस् त ?’ आमाले भनिन् ।


‘तर आमा क्लासमा म एक्लो सेकेन्डमा पास भएको हुँ, अरू त सप्पै फेल भए । फसैको बराबर पास भएको थिएँ म ।’ भन्दा मेरो आवाज हिक्क गरेर अड्किएको थियो ।


क्लासभरि म एक्लो पास भएको थिएँ, त्यो पनि सेकेन्डमा । सबै फेल भएको क्लासमा, म एक्लै पास हुनु, त्यो पनि सेकेन्डमा, फसै हुनु बराबर त थियो नि होइन र ?


हो, त्यसै कारण नै लागेको थियो, बीसको नोटको हकदार मै हुँ । हो म पटक्कै दोधारमा थिइनँ ।


चुपचाप सुनिसकेका बाबाले त्यही बीसको नोट निकाले र भने, ‘ला मिठाई खा ।’


मैले नोट पक्रिएँ । बाबाको अनुहार हेरें । अनि बाबाको अनुहारतिर नोट फ्याँकिदिएँ । अनि चुपचाप घरभित्र पसें । त्यतिखेर मेरो ओठमा पनि मुस्कान थियो, बाबाको ओठमा पनि ।


त्यस्तो थियो, त्यो दोस्ती ।

प्रकाशित : माघ १२, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?