कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थुनिएको योगी–दर्शन

दामोदर न्यौपाने

काठमाडौँ — योगी नरहरिनाथको निधन भएपछि आश्रमको स्वामित्व र उत्तराधिकारीबारे विवाद उब्जियो ।

थुनिएको योगी–दर्शन

लगत्तै गुठी संस्थानले आश्रममा ताला लगाइदिएपछि योगीको जीवन दर्शन, ज्ञान र योगदानमै ताला मारेजत्तिकै भयो । तालाबन्दी आश्रमभित्र तीन ट्रक जति किताब मात्रै सडेको ढिलो गरी थाहा भयो ।


२०७२ चैत १५ गते काठमाडौंमा ठूलै हुरी चल्यो । दिउसो ४ बजे आएको हुरीले मृगस्थलीमा रहेको योगी नरहरिनाथ आश्रमको छानो उडाइदियो । त्यो हुरीबतास आएर राम्रै भयो । किनभने हुरीले छाना नउडाएको भए आश्रमभित्र छिर्नै सकिंदैनथ्यो । गुठी संस्थानले आश्रममा लगाएको ताला खुल्ने छाँटै थिएन । ‘हुरीले टिनको छानो उप्काएपछि बल्ल भित्र छिर्न पाइयो,’ पूर्वीय दर्शनका ज्ञाता चिन्तामणि योगीले सुनाए, ‘अनि मात्रै आश्रमभित्र रहेका सामानको विजोग अवस्था थाहा पाइयो ।’


योगी नरहरिनाथ २०५९ फागुन १३ ब्रह्मलिन भएपछि आश्रमको स्वामित्व र उत्तराधिकारीबारे अनाहकमा विवाद उब्जियो । त्यसपछि लगातार १३ वर्षसम्म गुठीले आश्रममा ताला लगाइदियो । ‘आश्रमको हेरचाह नभएपछि तीन ट्रक जति किताब मात्रै सडेछन्,’ योगीका वैचारिक योगदानबारे बहस चलाइरेको बृहत् आध्यात्मिक परिषद्का महासचिव विश्व पोखरेल भन्छन्, ‘बाँकी रहेका पुस्तक र योगीले प्रयोग गरेका केही सामान अहिले व्यवस्थापन गरेका छौं ।’


दाहसंस्कार गर्ने बेलामा उत्तराधिकारी चाहिने रहेछ । तत्काल जटिलता आउन नदिन चिन्तामणि योगीलाई समाधि व्यवस्थापन समितिको संयोजक तोकियो । ‘समाधि गर्ने बेलामा अर्काे समस्या आउला भनेर म संयोजक बनें, ‘योगीले सुनाए, ‘तर, काजकिरियापछि गुरुको आश्रममा अकारण ताला लागिरह्यो ।’


ताल्चा खोलेर योगीका अप्रकाशित ग्रन्थ संरक्षण/प्रवद्र्धन गर्ने र प्रकाशित गर्ने अनुमति माग्यो परिषद्ले । तर, गुठी संस्थानले अनुमित दिएन । ‘आलटाल गरिरह्यो, जालझेल चलिरह्यो,’ पोख्रेल भन्छन्, ‘कहिले आधिकारिताको प्रमाणपत्र मागियो, कहिले पशुपति गुठीको सिफारिस मागियो ।’



‘गुरुकी सेविका हुँ’ भन्दै तिमिला श्रेष्ठ त्यहींको अखडामा बसिन् । अखडामा सेविका बसिरहे पनि नरहरिका सामान जोगिएनन् । ताला लागेकै ठाउँमा पनि दर्जनौं पाण्डुलिपि चोरी भए । निकैपछि थाहा भयो, नरहरिले योगी श्रीषनाथलाई उत्तराधिकारी तोकेका रहेछन् । ‘उहाँले त्यतिबेला प्रमाण पेस गर्नुभएन, योगी भन्छन्, ‘धेरै पछि मात्रै थाहा भयो ।’


त्यही २०७२ को हुरीबतासले धेरै परिवर्तन गरिदियो, मृगस्थली डाँडामा रहेको गोरखनाथ क्षेत्रमा । त्यही वर्षदेखि योगीले लेखेर उत्तराधिकारी तोकेका श्रीषनाथले पनि गोरखनाथको मठाधीश पद सम्हाले ।


गोरक्ष दर्शनमा सामान्यतया अखडा र दर्शन गरी दुई पक्ष हुन्छन् । नरहरिको देहावसानपछि पनि यहाँको अखडा सञ्चालन भयो । अखडामा आएर जोगी बसे । गोरखनाथ पीठमा नित्य पूजा व्यवस्था भए । ‘पूजा परम्परा रोकिएन । तर, विचार पक्ष ओझेल पर्दै गयो,’ योगी भन्छन्, ‘सबैभन्दा घाटा लाग्ने कुरा आश्रमभित्र भयो, योगीका अमूल्य पुस्तक सडेर सकिए ।’


वैचारिक पक्षलाई प्रभावकारी बनाउन परिषद्ले प्रयास थालेको छ । २०७२ सालमै त्यहाँका किताबलगायत योगीका सामानसमेत संग्रह गरेर ‘योगी नरहरि स्मृति पुस्तकालय तथा संग्रहालय’ स्थापना गरियो । मृगस्थलीबाट गुहेश्वरी जाने बाटोको बायातिर पर्छ— गोरखनाथ अखडा । अखडाको छेउमै छ नरहरिनाथको समाधिस्थल । समाधिस्थलमाथि राखिएको छ उनको अर्धकदको सालिक । अखडाको छेउमै गोरखनाथ पीठ पर्छ । त्यही पीठको दायातिर एउटा लामो सत्तल थियो । जीर्ण अवस्थाको त्यो सत्तललाई महासचिव पोख्रेलले आफ्नै खर्चमा मर्मत गरे । त्यसलाई चिटिक्क बनाएर माथिल्लो तलामा खोले पुस्तकालय र संग्रहालय । ‘मैले व्यक्तिगत रूपमा ८ लाख खर्च गरेको छु,’ नेपाल राष्ट्र बैंकमा लामो समय सेवा गरेका पोख्रेलले भने, ‘खास पढ्नुपर्ने कुरा यहाँ छ । देशबारे लेखिएका किताब छन् यहाँ । योगीको दर्शन सबैले बुझून्, चासो राखून् भन्ने मेरो चाहना छ ।’


पुस्तकालय चलाउन सजिलो नभएको पोख्रेल बताउँछन् । स्थानीय दर्शनधारी समूहले अवरोध गर्ने गरेको गुनासो उनले गरे । ‘हामीले पुस्तकालय संग्रहालय व्यवस्थापन गर्न स्वयंसेवीसहित ४ कर्मचारी राखेका थियौं,’ पोख्रेलले गुनासो गरे, ‘ती कर्मचारीलाई यहाँ बस्नै दिएनन् । दर्शनधारी समूह योगीको सम्पत्ति योगीले पाउनुपर्छ जस्तो गर्छन् । हामीचाहिं योगीको सम्पत्ति समाजको हो भन्छौं ।’


योगीले ५ सय ७१ वटा पुस्तक लेखेको तथ्यांक परिषद्सँग छ । त्यसमध्ये १ सय ७६ छापिन बाँकी छन् । ती पाण्डुलिपि प्रकाशन गर्ने योजना रहेको उनले बताए । २००३ सालबाट पुस्तक प्रकाशन गर्न सुरु गरे योगीले । २००७ सालमा उनकै संयोजकत्वमा योग प्रचारिणी महासभा गठन भयो— भारतको हरिद्वारमा । यो संस्था गठन भएपछि ‘गोरक्ष ग्रन्थमाला’ नाममा योगीले पुस्तक प्रकाशन गरे । उनका १ सय २८ पुस्तक गोरक्ष ग्रन्थमालाको नाममा छापिएको पोख्रेलले जानकारी दिए । उनका पुस्तकमध्ये मृगस्थलीको पुस्तकालय तथा संग्रहालयमा ३ सय ५९ वटा संगृहीत छन् । योगीले इतिहास, पुरातत्त्व, संस्कृति, आयुर्वेद, साहित्यजस्ता विधामा कलम चलाएका छन् । उनी आफैं २८ भाषाका ज्ञाता थिए । नेपाली, हिन्दी, थारूदेखि भारतको तेलगु भाषामा समेत दख्खल थियो उनको ।


कालिकोटको ठाँटिकोटमा विसं १९७१ मा जन्मिएका हुन् नरहरि । ललितसिंह थापा र गौरदेवीका माइला सन्तान नरहरि १९९१ मा संन्यासी भएका थिए । ८ वर्षको उमेरमा व्रतबन्ध गरेपछि वलवीरसिंह थापा योगी नरहरिनाथ भएका थिए । जुम्ला चन्दननाथ मन्दिरका महन्थ छिप्रानाथ योगीको चेला थिए योगी । उनले त्यहींको भाषा पाठशालामा प्रारम्भिक शिक्षा लिएका थिए नरहरिले । भारतमा उच्च शिक्षा सकेपछि गौहत्या निषेध आन्दोलन र भारतको स्वतन्त्रता आन्दोलनमा समेत होमिएका थिए । भारत स्वतन्त्र भएपछि उनलाई भारतले स्वतन्त्रता सेनानी उपाधिसहित जीवनवृत्ति दिन चाहेको थियो । त्यसलाई अस्वीकार गरेर उनी देश फर्किएका थिए । योगीले संवत् २००४ सालदेखि स्थायी रूपमा मृगस्थलीमा बसोबास गरेका थिए । जुद्धशमशेरले मृगस्थलीमा चार रोपनी जमिन दिएर दुईवटा अखडा र गौशालासमेत बनाइदिएका थिए । उनी २००४ देखि २०१८ सम्म गोरखनाथ पीठको महन्थ भए । आफू देश दौडाहामा निस्कने भएकाले त्यो पद आफ्ना गुरु छिप्रानाथ योगीलाई सुम्पिएका थिए । छिप्रानाथको २०४४ सालमा निधन भएपछि टीकानाथ योगी, रूपनाथ योगी हुँदै अहिले योगी श्रीषनाथमा यो जिम्मेवारी आएको छ ।


नरहरिलाई राष्ट्रिय गुरु, शास्त्री, वेलविद्यालंकार, आशुकवि, धर्मशास्त्राचार्य, पुरातत्त्वविद्, इतिहास लेखक, गोभक्त, आजीवन योगाभ्यासी, आवाल ब्रह्मचारी, शतसहस्र तीर्थयात्री, वनस्पति परिचयज्ञ, सहस्राधिक पुस्तक लेखकजस्ता विशेष दिइएको थियो । २०४९ सालमा छापिएको ‘शिखरिणी’ उनको चर्चित कृति हो । कोटिहोम गर्दै नरहरिनाथ देश घुमेका थिए । कोटिहोमबाट उठेको दक्षिणाले देश विदेशमा गुरुकुल स्थापना गरेका थिए । २०३८ सालमा तनहुँको गलेश्वर आश्रमबाट सुरु भएको थियो कोटिहोम । त्यसपछि उनले १ सय २९ ठाउमा कोटिहोम, ४५ लक्ष्यहोम र ५ वटा शिवयज्ञ सम्पन्न गरेका थिए । ‘कोटिहोम र यज्ञको माध्यमले योगीले सनातन दर्शन, वेद, गायत्री, संस्कृति भाषा र गाईबारे समाजलाई शिक्षित बनाए,’ पोख्रेल भन्छन्, ‘वैदिक दर्शनमा क्रान्तिको सुरुआत गरे । वेद र उपनिषद्को उपदेशलाई सरल र सहज शैलीमा अथ्र्याए । पृथ्वी, जल, अग्नि, वायु र प्रकृतिको संरक्षणको महत्त्व उजागर गरे । संस्कृत भाषा नै अन्य भाषाको जननी भएकाले यसको संरक्षण गर्न जोड दिए ।’


संस्कृति शिक्षाको महत्त्वलाई जोड दिंदै दाङमा नेपाल संस्कृति विश्वविद्यालय स्थापना गर्न पहल गरे । भारतको गिरिजापुरीमा पनि संस्कृत विश्वविद्यालय खोल्न पहल गरेका थिए । त्यसबाहेक थुप्रै संस्कृत पाठशाला र विद्यापीठ खोल्न पहल गरेका थिए । २००८ सालमा दाङमा जनता महाविद्यालय खोल्न पहल गरेका थिए । त्यो उनको पहलमा खुलेको पहिलो विद्यालय थियो । त्यसयता नेपालगन्ज, धरानको विजयपुर, गोरखाको ठिंगुरेश्वाँरा, अछाम, ललितपुरलगायत १३ ठाउँमा विद्यालय खोल्न पहल गरेको परिषद्ले जनाएको छ ।

नरहरिनाथलाई ‘राजावादी’ भनेर आरोप लगाए पनि राजाकै पालामा उनलाई सबैभन्दा बढी दु:ख दिइएको थियो । २०१७ सालमा प्रहरी लगाएर उनको सम्पत्ति नष्ट गराइएको थियो । २०३३ सालमा उनी ६ महिना जेल बस्नुपर्‍यो । राजालाई लक्षित गरेर उनले ‘छाता ओढ्न सक्नेले छाता बोक्न पनि सक्नुपर्छ’ भनेर अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिले उनलाई जेलको यात्रा गरायो ।


उनको लामो समय संगत गरेका चिन्तामणि योगी ‘अद्भुत व्यक्ति’ मान्छन् नरहरिलाई । त्यही अद्भुत गुणले गर्दा नरहरिसँग जो पायो, त्यहीको सम्बन्ध लामो समय टिक्न सक्दैनथ्यो । ‘उहाँको काम गर्ने गति र शैली भिन्न थियो । उहाँलाई काम नसकुन्जेल खानै नपर्ने थियो । गन्तव्यमा नपुगुन्जेल उहाँ कहींकतै बस्नुहुन्नथ्यो,’ योगी भन्छन् ।


नरहरिले शिष्य परम्परा र भक्त परम्परा नबनाएको योगी बताउँछन् । त्यही भएर उनको अमूल्य सम्पत्ति स्याहार्ने कोही भएनन् । ‘अब उनको दर्शनको खोजी राज्यले गर्नुपर्छ,’ योगी भन्छन्, ‘योगीले देशका लागि जति गरे, अद्भुत काम गरे । यो सम्बन्धित निकायले अझै बुझेको छैन ।’


प्रकाशित : माघ १२, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?