खुसीखुसी उनीहरू
काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ अवस्थित तेम्बाथानमा शेर्पा समुदायको बसोबास बाक्लो छ ।
तेम्बाथान विकटमा छ, यही कारण कष्टपूर्ण दैनिकी छ यहाँ । गाउँमा गाडी पुग्दैन । स्वास्थ्य चौकी छैन, स्कुल प्राथमिक तहसम्म मात्रै छ । बिजुली बल्दैन गाउँमा । नुन–तेल लिन एक दिनको बाटो पैदल आइजाइ गर्नुपर्छ । तैपनि गाउलेले हाँस्न जानेका छन् । खुसीखुसी छन् उनीहरू ।
गाउँ पुग्दा जो भेटिन्छन्, मुस्कुराउँदै स्वागत गर्छन् । सुनका दाँत लगाएकाहरू ‘दन्तेमोहनी’ शैलीमा खुलेर हाँसिरहेका हुन्छन् । गाउँ पुग्न जलवीरे हुँदै एक दिनको यात्रा गर्नुपर्छ ।
नेसम खोला तरेपछि यो ठाउँ पुग्न भीरको बाटो छिचोल्नुपर्छ । घर जस्तापाताले टल्किएका छन् । गाउँका अधिकांश युवा/युवती वैदेशिक रोजगारीका लागि परदेसिएका छन् । कोही दुबईमा छन् त, कोही इराक छन् । क्याङसिङमा बास बसेर थप अर्को दिन पैदल यात्राबाटै गाउँ पुगिन्छ ।
गाउँमा व्यावसायिक रूपमा चौंरी र बाख्रा पालिएको छ । केहीले भकारी बुनेर घरखर्च जुटाउँदै आएका छन् । यात्राको क्रममा ठाउँठाउँमा मान्द्रोले बारेका चौंरीका गोठ भेटिन्छन् । कतै छुर्पी बिक्रीका लागि माला बनाएर राखेको दृश्य देख्न सकिन्छ ।
गोठमा पकाइरहेको मकैको ढिंडो, सिस्नुको परिकारले मुख रसाउँछ । शेर्पा गाउँ भएकाले बख्खु (शेर्पा पोसाक) मा सजिएका वृद्धवृद्धादेखि ठिटाठिटीले सबैको ध्यान खिच्छन् । गाउँबाट देखिने लस्करै हिमशृंखलाले मोहित बनाउँछ । गाउँमा कोदो, मकै, तोरी फल्छ ।
तर बँदेल, दुम्सी र बाँदरले पाक्न दिंदैन ।जुगल हिमाल नेपेमासल तेम्बाथान ग्रामीण विकास समाजका सचिव मिङमार शेर्पा रोजगारीको सिलसिलामा गाउँबाट देश/विदेशमा रहेकाहरू एकजुट भई गाउँलाई ‘नमुना पर्यटकीय गाउँ’ बनाउन कस्सिएको सुनाउँछन् ।
धेरै कुराको अभाव झेलिरहेको तेम्बाथान आफ्नो पीडा र कठिनाइ बिर्सिएर मुस्काइरहेको छ । खुसीखुसी देखिन्छ तेम्बाथान ।