सोह्र वर्षअघि र पछि

दिनेश रेग्मी

काठमाडौँ — नुवाकोट, ओखरपौवाको कागती गाउँमा ठीक १६ वर्षअघि श्रीपञ्चमीको दिन १० वर्षीय कमल बलामी र १४ वर्षीया सरस्वती बलामी विवाह बन्धनमा बाँधिए ।

अक्षराम्भ गर्ने सरस्वती पूजाको त्यो साइतदेखि उनीहरूले घरजम सुरु गरे । पढाइ सुरुदेखि नै छुट्यो, गाउँ छेउमै स्ुकल भए पनि कहिल्यै भर्ना हुन पाएनन् । श्रीपञ्चमीको भोलिपल्टै (२०५९ माघ २४ गते) कान्तिपुर दैनिकको मुखपृष्ठमा छाएका थिए— कमल र सरस्वती । तिनै पात्र खोज्दै यो साता कागती गाउँ पुग्दा उनीहरू दुवै भेटिए– फरक–फरक परिवेशमा ।

कागती गाउँस्थित ककनी गाउँपालिकाको १ नम्बर वडा कार्यालय झरेर यसो उकालो लाग्दा एउटा पसलमा युवा जमात भेटियो । कोही चिया पिउँदै थिए, कोही टीभीमा हिन्दी फिल्मको डान्स हेर्दै थिए । त्यो भीडमा पूर्व गाविस अध्यक्ष जितबहादुर बलामीले मलाई इसारा गर्दै भने, ‘ल चिन्नुस् कमल कुन हो ?’

ओहो, १६ वर्षअघि भेटेको एउटा बालक कसरी चिन्ने ? मुस्किल पर्‍यो । पसलमा ८/१० युवकलाई नियाल्दै थिएँ, फ्याट्ट जितबहादुरले मुख खोले, ‘तपाईंकै अघिको यही ठिटो हो कमल ।’ उनले मलाई हेरे, मैले उनलाई । हेरेको हेर्‍यै भइयो, एक छिन ।

सुरुमा मैले उनलाई भेट्दा ती चञ्चले बालक थिए । विवाहको त्यो दिन उनी घरी दुलहीको ऐना हेर्थे, घरीशृङ्गार बक्स । त्यसबेला उनी १० वर्षका रहेछन् । अहिले २६ पुगेछन् । अनुहारको बनोट भने उस्तै थियो— चञ्चले झल्को दिने ।‘खैखै, फोटो देखाउनुस् त । यसले चिन्छ कि चिन्दैन ?’ जितबहादुरले भने । विवाहको त्यो बेलाको समाचार फोटो मैले मोबाइलमा देखाएँ । ‘हो चिनें, मेरै हो,’ कमलले अचम्म मान्दै भने ।

कागती गाउँमा पुगेपछि पो थाहा भो— बालविवाहका ती जोडी (कमल र सरस्वती) उहीबेला अलग भइसकेका रहेछन् । विवाहको एक वर्षपछि सरस्वतीले छिमेकी सुरेश बलामीसँग घरजम गरेकी रहिछन् । कमलले भने बालविवाहको ८ वर्षपछि छिमेककै सीतासँग बिहा गरेका रहेछन् । यो दोस्रो विवाह भने भागी विवाह थियो, आफ्नै स्वेच्छाको जीवन ।

काठमाडौंबाट कागती गाउँमा निस्कँदा बालविवाहको त्यो जोडीको आजको अवस्था र छोराछोरीसहितको व्यस्ततम जीवनशैलीका बारेमा अनुमान मात्रै थियो । यहाँ आइपुग्दा त्यो बालजोडीको बाटो फरक–फरक भेटिए— नदीका दुई किनाराजस्तै ।

टहरोमा कमल
अनि, हामी कमललाई पछ्याउँदै उनको घरतिर उकालो लाग्यौंं । कुराकानी गर्नु थियो धेरैधेरै । ०७२ को भूकम्पले तहसनहस पारेको कागती गाउँमा आधाउधी घर मात्रै बनेका छन् । भूकम्पले कमलको घर पनि खाएको थियो । त्यसबेला उनी कतारमा थिए । घरमा बुवा, श्रीमती र दुई छोरा ।

विनाश सम्झेर उनी अलिक पछि घर फिरे । कमल अहिले घर बनाउँदै रहेछन्– सरकारी राहतको ३ लाख रुपैयाँ लिएर । सानो अस्थायी टहरोमा श्रीमती, छोराछोरी र बुवा लिएर बसेका रहेछन् । टहरोमा कमलका बुबा ७१ वर्षीय सिङ्घबहादुर आराम गरिरहेका थिए, बिरामीका कारण ।

कमलकी श्रीमती सीता र छोराछोरी छिमेकीकहाँ गएका थिए । घरको छिंडीमा बसेर कमलले ती दिन सम्झिए, ‘म त बच्चै थिएँ । दिनभर खेलेर हिन्थेें । राति मामाघरमा सुत्थे । विवाह गरेको थाहा छैन । अहिले सम्झिँदा खेलाँचीजस्तै लाग्छ । मन्दिर गएको थाहा छ । सिन्दूर हाल्न लगाएको थाहा छ । सबैभन्दा बढी भोज खाएको सम्झन्छु । त्यो मेरो विवाह थियो भन्ने पत्तै भएन ।’

कुरा गर्दै जाँदा कमल अलि गम्भीर भए । भित्रबाट ख्वाङ–ख्वाङको आवाज आयो । कमलका बिरामी बुबाको खोकी थियो त्यो । कमलले भने, ‘मैले पढ्नै पाइनँ । घरको अवस्था गम्भीर थियो । ४ जना दिदी, एउटा बैनी र म थियौं । आमा बितिसक्नुभएको थियो ।

एक दिन बुबाले घरमा काम गर्ने मान्छे छैन, तिम्रो विवाह गर्दिन्छु, खाना पकाएर खुवाउने मान्छे हुन्छ भन्नुभयो । अनि मैले विवाह गरें । त्यो बाध्यताको कुरा थियो ।’कमलले कुरा गर्दै थिए, ‘एक वर्षपछि त्यो (सरस्वती) भागेर अर्कै केटासँग पोइला गई । ७/८ दिनपछि जारीको लागि खबर आयो । १५ हजार बुबाले लिनुभो । मैले जारी तिर्ने भन्ने पछि मात्र थाहा पाएको हुँ ।’

त्यो बिहाको ‘कथित चक्र’ टुंगिएपछि कमल घरबाट बाहिर निस्किएका रहेछन् । सीतापाइला, बाफल च्युरा मिल हुँदै भक्तपुर जेरी पसलमा काम गर्न गएका रहेछन् । अलिअलि घरखर्च आउने काम थियो त्यो । अलिक पछि १८ वर्षे उमेरमा उनले पनि प्रेम बिहा गरे । अहिले उनका एक छोरी (७ वर्ष) र एक छोरा (६ वर्ष) का छन् ।क्मल आफैं पनि बालविवाहको थितिबारे भिन्न बनेका रहेछन् ।

‘अब समाज पहिलाको रीतिमा जाँदैन । तपाईंकी छोरी मलाई मेरो छोरा तपाईंलाई भनेर कोसेली पुर्‍याउने चलन अब रहेन । अब सकेसम्म पढाउने हो र छोराछोरीले बुझेपछि आफैं गर्छन् । अहिले बालविवाह छैन । बरु कोहीकसैले २० वर्षअघि आफैं भागेर विवाह गर्ने गरेका छन्,’ कमल भन्छन् ।कमल विवाह गरेको केही वर्षपछि कामको खोजीमा कतार पुगेका रहेछन् । कतारमा पहिलो कम्पनीमा खासै राम्रो भएन ।

अर्को कम्पनी खोजे । त्यही बेला भूकम्प गयो । अनि घर फर्किए । पछि फेरि गए । करिब दुई वर्ष बसेर केही ऋण तिरे । घर आएर फेरि साउदी अरब पुगे । खजुर कम्पनीमा काम गर्थे । कम्पनीले फोहोर गरिदियो भनेर बलेदिया (नगरपालिका) ले कम्पनी नै बन्द गरिदियो र, ८ महिनामा घर फर्किए । ‘साउदी गएको खर्च मुस्किललेउठ्यो तर कमाउन भने सकिनँ । अहिले घर पायकमैं सानोतिनो काम गरेर बसेको छु,’ कमलले सुनाए ।

सरस्वतीको भागीविवाह
१४ वर्षे उमेरमा कमल बलामीसँग विवाह गरेकी सरस्वती बलामीको बालविवाह एक वर्ष मात्रै टिक्यो । ‘नगर्दिनु भन्दा पनि बुवाआमाले जबर्जस्ती विवाह गरिदिनु भयो, मलाई त्यहाँ बस्नै मन लागेन र एक वर्षमै छाडेर भागें,’ उनले सुनाइन् । कस्तो लाग्थ्यो, त्यो बेला दुलाहा ? उनको जवाफ थियो, ‘दुलाहा त बच्चै थियो, विवाह भनेको केही थाहै थिएन ।’

उनले उही गाउँमा अलि तल बस्ने सुरेश बलामीसँग भागी विवाह गरिन् । हाल सरस्वती (३०) र सुरेश (३६) का एक छोरा छन्, अमर, जो ८ मा पढ्छन् । ‘आफ्नो इच्छाले गरेको विवाहले आज म धेरै खुसी छु,’ उनले सुनाइन् ।

सरस्वती र सुरेशको यो दोस्रो विवाह थियो, स्वेच्छाले गरेको पहिलो । सुरेशले पनि बालविवाह गरेका थिए, स्थानीय किशोरीसँग । ‘परिवार गरिब थियो । ३ दाजुभाइमा म माइलो । दाइ काठमाडौं काम गर्नुहुन्थ्यो, भाइ सानो थियो, पढ्थ्यो ।

बुबाआमाले घरमा काम गर्ने मान्छे छैन भनेर मेरो १५ वर्षे उमेरमा १३ वर्षे केटीसँग विवाह गरिदिनुभएको थियो,’ गाउँमा आफ्नै ग्रिल कारखाना चलाएका सुरेशले सुनाए, ‘दुई वर्ष बसेपछि त्यो केटी अर्कैसँग गई । मैले लभ गरेर सरस्वतीलाई आफूसँग ल्याएँ ।’बालविवाह तोडिएपछि सुरेश आफ्ना दाइसँग काम गर्न काठमाडौं हानिएका रहेछन् । पछि २१ वर्षमा आफ्नो इच्छाले विवाह गरेका रहेछन् । भूकम्प अघिपछि गरी २ वर्ष कतारमा वेल्डरमा काम गरेर फर्केको अनुभव उनीसँग पनि थियो । अहिले त्यही सीपका भरमा घर नजिकै ग्रिल कारखाना चलाएका रहेछन् ।

‘अर्ली म्यारिज’ यथावत्
कागती गाउँमा झन्डै ४५ सय बलामी जातिको बसोबास छ । सबैभन्दा बढी बालविवाह हुने गाउँको चिनारी पनि अहिले धेरै बदलिएको छ । ‘बाबुआमाले गरिदिने चाइल्ड म्यारिज (बालविवाह) त हट्यो तर केटाकेटी टिनेज लागेपछि आफैं मन पराएर गर्ने अर्ली म्यारिज (उमेर नपुगी विवाह) को हिसाब भने उस्तै छ,’ स्थानीय भवानी माविका शिक्षक चक्रमान सोचमग्न हुँदै भन्छन् ‘खै, बालविवाह पनि कसरी हट्यो भनूँ ?, मेरै १७ वर्षे छोराले १६ वर्षे केटी भगाएर हिँडेको छ ।’

१६ वर्षअघि भेटिंदा यिनै शिक्षक चक्रमानले भनेका थिए, ‘छोराछोरीको विवाहका लागि पहिल्यै केटाकेटी छिनेर राख्ने चलन अन्त्य भयो भने बालविवाह पनि अन्त्य हुन्छ ।’ अहिले बालविवाहका लागि केटाकेटी छिन्ने, कोसेली पुर्‍याउने चलन छैन । यसकारण बालविवाह पनि छैन ।

‘यातनापछि चेतना आयो’ भनेझैं मान्छेमा आफैंभित्र चेतना नपलाई कुनै प्रकारका विकृति पनि नहट्ने चक्रमानको बुझाइ छ । अहिले एउटा समस्या हटेको छ तर अर्को देखिएको छ । ‘बाबुआमाले गरिदिने चाइल्ड म्यारिज (बालविवाह) त हट्यो तर केटाकेटी टिनेज लागेपछि आफैं मन पराएर अर्ली म्यारिज (उमेर नपुगी विवाह) गरेका छन्,’ उनी भन्छन् ।

२०५४ सालमा तत्कालीन ओखरपौवा गाविसको अध्यक्ष रहेका जितबहादुर बलामी आफ्नै गाविसमा रहेको कागती गाउँमा व्याप्त त्यसबेलाको ‘बालविवाहको बदनामी’ अहिले सम्झिरहेका छन् । ‘ए तपाईं त्यो बालविवाह हुने गाउँको अध्यक्ष हो भनेर अरूहरूले सोध्ने गर्थे,’ बलामी सम्झन्छन्, ‘हामीले गाउँको महालक्ष्मी जनजागृति युवा क्लब, स्थानीय भवानी प्रावि (हाल मावि) र गाविकै पदाधिकारी मिलेर बालविवाहविरुद्ध अभियान चलाउने निर्णय गर्‍यौं । बल्लतल्ल सफल भयौं ।’

त्यसबेलाका कागती गाउँका शिक्षक चक्रमान श्रेष्ठ बलामी र तत्कालीन गाविस अध्यक्ष जितबहादुर बलामी यस पटक पनि भेटिएका छन्— साक्षी सदर गर्ने पात्रका रूपमा । बाल बेहुला कमल र बालबेहुली सरस्वती जसरी आज भिन्न बाटोमा हिंडेका छन्, चक्रमान र जितबहादुर पनि अर्को बाटोमा लागेका छन् । त्यो बाटो हो— बालविवाह तहट्यो नै, अब उमेर नपुगी गरिने विवाहको थिति हटाइछाड्ने बाटोमा उनीहरूहिंडिरहेका छन्।

प्रकाशित : माघ २६, २०७५ ११:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खुसीखुसी उनीहरू

विमल खतिवडा

काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ अवस्थित तेम्बाथानमा शेर्पा समुदायको बसोबास बाक्लो छ ।

तेम्बाथान विकटमा छ, यही कारण कष्टपूर्ण दैनिकी छ यहाँ । गाउँमा गाडी पुग्दैन । स्वास्थ्य चौकी छैन, स्कुल प्राथमिक तहसम्म मात्रै छ । बिजुली बल्दैन गाउँमा । नुन–तेल लिन एक दिनको बाटो पैदल आइजाइ गर्नुपर्छ । तैपनि गाउलेले हाँस्न जानेका छन् । खुसीखुसी छन् उनीहरू ।


गाउँ पुग्दा जो भेटिन्छन्, मुस्कुराउँदै स्वागत गर्छन् । सुनका दाँत लगाएकाहरू ‘दन्तेमोहनी’ शैलीमा खुलेर हाँसिरहेका हुन्छन् । गाउँ पुग्न जलवीरे हुँदै एक दिनको यात्रा गर्नुपर्छ ।


नेसम खोला तरेपछि यो ठाउँ पुग्न भीरको बाटो छिचोल्नुपर्छ । घर जस्तापाताले टल्किएका छन् । गाउँका अधिकांश युवा/युवती वैदेशिक रोजगारीका लागि परदेसिएका छन् । कोही दुबईमा छन् त, कोही इराक छन् । क्याङसिङमा बास बसेर थप अर्को दिन पैदल यात्राबाटै गाउँ पुगिन्छ ।


गाउँमा व्यावसायिक रूपमा चौंरी र बाख्रा पालिएको छ । केहीले भकारी बुनेर घरखर्च जुटाउँदै आएका छन् । यात्राको क्रममा ठाउँठाउँमा मान्द्रोले बारेका चौंरीका गोठ भेटिन्छन् । कतै छुर्पी बिक्रीका लागि माला बनाएर राखेको दृश्य देख्न सकिन्छ ।


गोठमा पकाइरहेको मकैको ढिंडो, सिस्नुको परिकारले मुख रसाउँछ । शेर्पा गाउँ भएकाले बख्खु (शेर्पा पोसाक) मा सजिएका वृद्धवृद्धादेखि ठिटाठिटीले सबैको ध्यान खिच्छन् । गाउँबाट देखिने लस्करै हिमशृंखलाले मोहित बनाउँछ । गाउँमा कोदो, मकै, तोरी फल्छ ।

तर बँदेल, दुम्सी र बाँदरले पाक्न दिंदैन ।जुगल हिमाल नेपेमासल तेम्बाथान ग्रामीण विकास समाजका सचिव मिङमार शेर्पा रोजगारीको सिलसिलामा गाउँबाट देश/विदेशमा रहेकाहरू एकजुट भई गाउँलाई ‘नमुना पर्यटकीय गाउँ’ बनाउन कस्सिएको सुनाउँछन् ।


धेरै कुराको अभाव झेलिरहेको तेम्बाथान आफ्नो पीडा र कठिनाइ बिर्सिएर मुस्काइरहेको छ । खुसीखुसी देखिन्छ तेम्बाथान ।

प्रकाशित : माघ १९, २०७५ १२:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT