ओगुरा अकुपन्चरिस्ट

नेपाल र नेपाली समाजकी जानकार जापानी पत्रकार कियोको ओगुराको परिचय अहिले फेरिएको छ । उनी अब अकुपन्चरिस्ट ओगुरा बनेकी छन् ।
गंगा बीसी

काठमाडौँ — वत् २०६४ मंसिरतिर रोल्पाको होलेरी नजिक दहवनको अस्थायी शिविरमा माओवादी लडाकु बसेका थिए ।

कान्तिपुर टेलिभिजनमा कार्यरत रहँदा लडाकु शिविरको रिपोर्टिङमा दहवन पुगेका बेला पत्रकार कियोको ओगुरासँग चिनजान भएको थियो । त्यसपछि रिपोर्टिङ सिलसिलामा माओवादीका ठूला कार्यक्रमहरूमा ओगुरासँग भेट भइरहन्थ्यो । माओवादी युद्धकालमा उनले जोखिम मोलेर रिपोर्टिङ गरेकी थिइन्, खासगरी माओवादी महिला लडाकु विषयमा उनको शोधमूलक रिपोर्टिङले वाहवाही पाएको थियो ।


ओगुरा जापानबाट काठमाडौं उत्रिएका बेला काठमाडौंमा जनआन्दोलन (२०४६) जारी थियो । जनआन्दोलनबारे २०५२ मा उनको पुस्तक ‘काठमाडौं स्प्रिङ’ आयो । तीन वर्षपछि ‘जनता जागेका बेला’ प्रकाशित भयो । योसहित उनका नेपाली, जापानी र अंग्रेजी गरीे चार पुस्तक प्रकाशित छन् । तिनै चर्चित पत्रकार ओगुरा यतिबेला भने बिरामीको उपचारमा तल्लीन भेटिन्छिन् । नेपाली समाज र सामाजिक यथार्थको छामछुमपछि उनी अब बिरामीको जीउ छाम्ने काममा खटेकी छन् । सायद अब उनी फेरि पत्रकारको रूपमा रोल्पा/रुकुम जाने छैनन् । जानैपरे त्यो ठाउँमा उनी बिरामीको सेवा गर्न जानेछिन् । हो, लेखक/पत्रकार कियोको ओगुरा अब अकुपन्चरिस्ट भएकी छन् । नेपालमा केही वर्षयता सुरु भएको नयाँ चिकित्साको यो पद्धति सिक्न ओगुराले तीन वर्ष खर्चनुपर्‍यो ।


‘अब मलाई पत्रकारिता गर्न पुग्यो,’ उनले भनिन्, ‘मैले विगतमा धेरै प्रश्न गरेर सायद धेरैलाई दु:ख दिएँ होला । अब म सेवा गर्न चाहन्छु ।’ यही कारण ओगुराले नेपालमा अकुपन्चर विधिबाट बिरामीको सेवा गर्ने बाटो रोजेकी छन् । भन्छिन्, ‘मैले सोधेका सबै प्रश्नको उत्तर नपाए पनि सेवा दिने कर्तव्य सम्झें ।’ उनले जापानको होकाइदा कलेज अफ इस्टर्न मेडिसिनबाट छात्रवृत्तिमा डिप्लोमा तहको अकुपन्चर कोर्स पूरा गरेकी हुन् । यो कोर्स गर्न पैसा तिरेर पढेको भए करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने थियो । उक्त कलेजका शिक्षक नासु सेनसेईको सहयोगमा उनले यो पढ्ने छात्रवृत्ति पाएकी हुन् । आफ्नो रुचिको विषय भएकैले होला, उनले यो कोर्समा प्रथम स्थान हासिल गरिन् । ‘म विज्ञान (एग्रो–बायोलोजी) को विद्यार्थी भएको हुनाले फरक रुचि थियो । मौका मिल्यो, अनि अक्युपन्चर विषय पढें,’ उनले सुनाइन् । उनले टोकियो विश्वविद्यालयबाट बाइलोजीमा स्नातक गरेकी छन् । नेपाल बसाइका क्रममा उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए पनि गरिन् ।


२०४६ सालको आन्दोलनमा उनी काठमाडौंमा थिइन् । आन्दोलनको अग्रस्थानको तस्बिर खिच्दै हिँडेको उनको तस्बिर चर्चित रह्यो । वरिष्ठ फोटो पत्रकार मीन बज्राचार्यले उनको तस्बिर खिचेपछि धेरै पछि मात्र उनी कियोको ओगुरा भनेर चिनिइन् । ‘मलाई जोखिम मोलेर काम गर्ने रुचि थियो । त्यही भएर आन्दोलन र युद्धबारे पत्रकारिता गर्न चाहेंजस्तो लाग्छ,’ उनले थपिन् । माओवादी युद्धका बेला उनी रोल्पा र रुकुमका भित्री बस्ती पुगेकी छन् । २०६२ तिर सिन्धुपाल्चोकको ठोकर्पामा रिपोर्टिङ गर्न गएको बेला सेनाको हवाई आक्रमणमा पनि परेकी थिइन् । धन्य, ओढारमा आड लागेर जोगिएकी थिइन् ।


माओवादी उद्गमस्थल रोल्पाको थबाङमा उनी आधा दर्जन पटक पुगेकी छन् । थबाङको राजनीतिक–सामाजिक अवस्था बुझ्न आफूले चाहेको बताउँदै ओगु्राले त्यही बुझाइका आधारमा ‘जनता जागेका बेला’ सहितका पुस्तक लेख्न सकेको सुनाइन् । पत्रकारिता दौरानमा उनले जापानका लागि आसाही सिम्बुन र एसिया प्रेस इन्टरनेसनलमा समेत काम गरेकी थिइन् ।
अब भने ओगुरा अकुपन्चरको सुई धेरै चलाउनमा व्यस्त रहनेछिन् । ‘मैले लेखक, पत्रकारको रूपमा जनआन्दोलन, माओवादी युद्ध, शान्ति प्रक्रिया सबै देखें । यस अर्थमा म निकै भाग्यमानी छु,’ उनले भनिन्, ‘अब भने फरक ढंगले काम गर्न चाहन्छु । त्यो भनेको अकुपन्चर विधिबाट बिरामीको सेवा गर्नु हो ।’


हाल उनी काठमाडौंको गोकर्णमा रेस्क अस्पतालमा काम गर्दै छिन् । ‘आफूले पढेको कुरा व्यवहारमा लागू गर्दै छु । सिक्दै उपचार गर्दै छु,’ उनले भनिन्, ‘बिरामीको सेवा गर्नु मेरो परम कर्तव्य हो ।’ उनले उपचारपछि केही निको भएर फर्केका बिरामी देख्दा आफूलाई आनन्द आउने सुनाइन् । जापान अकुपन्चर पढ्न जानुअघि ओगुरालाई दोधार थियो । आयुर्वेदिक भारत पढ्न जाने कि भन्ने सोचाइ उनमा पलाएको थियो । त्यसपछि अकुपन्चर पढ्ने कि भनेर शिक्षक नासु सेनसेईले सोधेका थिए । पढ्न त पढिन् । अब कहाँ गएर काम गर्ने ? जापानको स्वास्थ्य मन्त्रालयबाट उनले परीक्षा दिएर ‘लाइसेन्स’ पनि लिइन् । नेपालमै बसेर काम गर्ने सर्तमा उनले पूरै छात्रवृत्तिमा पढ्ने मौका पाएकी थिइन् ।


पढाइपछि जापानभन्दा उनलाई नेपालमा काम गर्ने जाँगर चल्यो । ‘जापानमा काम गरेको भए राम्रो पैसा कमाइन्थ्यो होला । तर, नेपालमा मैले धेरै मान्छे चिनेकी छु । त्यसकारण म अकुपन्चर पढेर यतै काम गर्न आएँ,’ उनले आफ्नो कुरा खुलाइन् । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा उनले ‘अकुपन्चर इक्युभ्यालेन्ट’ का लागि निवेदन दिएकी छन् । इक्युभ्यालेन्ट पाएपछि नेपाल स्वास्थ्य परिषद्बाट लाइसेन्स लिने प्रक्रियामा उनी लाग्नेछिन् ।‘सहर र गाउँको बीचतिर स्थानीय स्वास्थ्य संस्थामा काम गर्ने सोचाइ मेरो छ,’ ओगुराले भनिन्, ‘ताकि भित्री गाउँमा मान्छेले अकुपन्चर सेवा पाऊन् ।’ अकुपन्चर पद्धति चीन, जापान कोरिया हुँदै छैटौं शताब्दीपछि प्रचलित भएको मानिन्छ । ओगुराको नेपाल मोह अचाक्ली छ । उनले पैसा कमाउन यो नौलो पेसा अँगालेकी होइनन् । ‘यो मेरो रुचिले बिरामीको सेवाका लागि रोजेको पेसा हो । म अब यसमै जीवन बिताउन चाहन्छु,’ उनले थपिन् ।


नसासम्बन्धी विभिन्न रोग लागेका व्यक्ति, जीउ दुखिरहने, प्यारालाइसिसका बिरामीका लागि अकुपन्चर उपचार लाभदायक हुन्छ । उनले काम गर्ने संस्थाले १५ वर्षदेखि अकुपन्चर उपचार गरिरहेको छ, सहुलियत दरमा एक दिनको एक सय ३० रुपैयाँमा । रेस्कमा अकुपन्चर उपचार गर्न हरेक दिन १५ देखि ४० बिरामी आउँछन् ।किन पत्रकारितामा अरुचि ? उनले हाँस्दै भनिन्, ‘अरुचिभन्दा पनि मैले धेरै पत्रकारिता र लेखन गरें । मैले धेरै राजनीतिक परिवर्तन देखें । म यस अर्थमा भाग्यमानी हुँ ।’ ओगुराका बुझाइमा, नेपालको पत्रकारिताले गतिलो फड्को मारेको छ । ‘नेपालको पत्रकारितामा निकै राम्रो विकास भएको छ । मलाई यसमा खुसी लाग्छ,’ उनको अनुभव छ ।यो सवालजवाफ गरिरहँदा पत्रकार ओगुरा गोकर्णस्थित रेस्क अकुपन्चर अस्पतालमा सेतो एप्रोनमा सजिएर बिरामीलाई सुई घोचिरहेकी थिइन् ।


प्रकाशित : माघ २६, २०७५ ११:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिमकोट सेरोफेरो

नियात्रा
धारापानीमा तिब्बती लोकप्रिय बियर ‘ल्हासा’ चाखेपछि मसहित खानपिनका स्वादेहरूको साझा स्वर थियो– ‘यो रस अलि तीतो रहेछ ।’ 
गंगा बीसी

काठमाडौँ — घटना यस्तो थियो— एक जना व्यक्तिले दारु खाएर टोलमा खुब हल्ला गरे । प्रहरीकहाँ गुनासो पुग्यो । जँड्याहालाई पक्रन प्रहरी आयो । प्रहरी पनि दारुले झ्याप्प रहेछन् । प्रहरीले ती जँड्याहालाई परीक्षण गर्न अस्पताल लगे । ओहो ! डाक्टर पनि दारुले झ्याप्प रहेछन् । लौ भन्नुस्— यो थिति हो कि बेथिति ? 

काठमाडौं विमानस्थलमा पुगेको बेला फेथाईका कारण चिसोले हानेको थियो । जानु थियो हुम्ला, काठमाडौंभन्दा चिसो ठाउँ । काठमाडौंमै यति चिसो भएपछि हुम्ला कति चिसो होला ? मनमा केही डर लागेकै थियो । बरु कहरले काट्ने, हुम्ला जानेटुङ्गोमा पुगेको थिएँ ।

काठमाडांैबाट नेपालगन्ज उड्नुअघि हुम्लाको तापक्रम मोबाइलमा हेरे, माइनस ८ डिग्री सेल्सियस देखाएको थियो । काठमाडौंमा त्यस दिन पाँच डिग्री थियो । पुसको चिसो हुम्लामै पुगेर महसुस गर्न साथी कमलराज सिग्देलको प्रस्तावलाई स्वीकार गरेको थिएँ ।
***

तारा एयरको जहाज नेपालगन्ज विमानस्थल छाडेर सिधै उत्तरतिर लाग्यो । आकाश सफा थियो, मनमा डर थिएन । पहिलै सुनेको हो, हुम्ला जहाजबाट जाँदा दरिलो मुटु बनाउनुपर्छ किनकि हिमालछेउ पुगेपछि जहाजले पिङ खेल्छ । आकाशबाट पहाड र बेंसीका सुन्दर बस्तीको तस्बिर लिन साथीहरू व्यस्त थिए । माथिबाट बस्ती सुन्दर भए पनि पानी नपरेकाले होला, सुक्खा थियो । हुन त जाडो मौसममा जमिन सुक्खा हुन्छ ।

नेपालगन्जबाट हुम्ला पुग्न जहाजमा ४५ मिनेट लाग्छ । २५ मिनेट यात्रा सकेपछि उत्तरतिरका हिमालले स्वागत गर्न थाल्छन् । अझ नीलो आकाश भएका बेला पंक्तिबद्ध हिमाल बयान गरी साध्य हुँदैन । सिमकोट पुग्न रानीमत्ता, हाउरी, मुने लेक गरी तीन भीमकाय पहाड पार गर्नुपर्छ ।

कालिकोट, बाजुराको कोल्टी आकाश पुग्दासम्म जहाज ‘स्मुथ’ थियो । हिउँ परेका चुचुरा नाघ्दै जहाज उत्तर हानिदै थियो । ट्विनअटर जहाज चालक ढुक्कसँग जहाज उडाइरहेका थिए । हुम्ला नजिकिँदै आएको संकेत हिमालले दिंदै थिए, किनकि हिमाल नजिकिँदै थिए । ओहो † जहाजले बिस्तारै पिङ खेल्न थाल्यो । हामी दायाँबायाँ, तलमाथि हुत्तिन थाल्यौं जहाजसँगै । एयर होस्टेज भन्दै थिइन्, ‘बाहिर हावा चलेको छ । त्यसैले जहाज बढी हल्लियो । नआत्तिनुस्, जहाज ल्यान्ड गर्न लाग्यो ।’

बाहिर हेर्‍यौं, एयरपोर्ट देखिँदैन । जहाजले दायाँ मोड लिँदै थियो । गाउँ नजिकै आइसक्यो, एयरपोर्ट देखिँदैन । केही क्षणपछि सिमकोट विमानस्थल देखियो, जहाज अवतरण गर्‍यो । जहाजको ढोका खुल्यो, ओर्लने भर्‍याङ थिएन । जहाजको ढोकामै जोडिएको डन्डी टेकेर हाम फाल्यौं । साथी भन्दै थिए, ‘हुम्ला हो, ओर्लन जहाजको भर्‍याङ चाहिँदैन ।’ हाम फालेपछि सबैको अनुहारमा खुसी देखियो ।

हामी सिमकोट ओर्लंदा माइनस ६ डिग्री रहेछ । हिमाली जिल्लामा घाम तिखो हुने रहेछ । लुखुरे ज्यानमा करिब आधा दर्जन लुगा थिए । हुम्लाका कान्तिपुर सहकर्मी जयबहादुर रोकायाले‘चिसो छल्ने तयारी दह्रो गरेर आउनू’ भनिसकेका थिए ।
***

सिमकोट बस्नेका लागि यो मौसममा हिउँ, हिमाल सामान्य कुरा हो । सिमकोट ओर्लनेबित्तिकै देखियो— तीनतिर हिमाल हाँसेरै उभिएका थिए । हिउँ बाक्लो नपरेकाले हिमालमा काला धब्बा पनि थिए । फोटोग्राफर लक्ष्मी ङाखुसीले त्यो दृश्य दुई क्यामरा र मोबाइलले ठाउँको ठाउँ कैद गरे । केही दिनका पाहुनाका लागि हिमाल, हिमाली जनजीवन जति सुन्दर हुन्छ, सधैं त्यहाँ बस्नेका लागि भने हुँदैन होला । यथार्थमा हुम्ली धैर्यका प्रतीक हुन् । उनीहरू अहिलेसम्म प्रदेश राजधानी सुर्खेत र केन्द्रीय राजधानी काठमाडौं गाडी चढेर आउन सक्दैनन् । आफ्नो हैसियतले सकेर, नसकेर उनीहरू जहाज चढेर सुर्खेत र नेपालगन्ज आउनुपर्छ । बरु उनीहरू गाडी चढेर सीमा हिल्सा हुँदै चीनको तिब्बतको ताक्लाकोट पुग्न सक्छन् ।

कान्तिपुर हुम्ला संवाददाता जयबहादुर भन्दै थिए— सडक विभागको गाडी रसुवाको केरुङ नाका हुँदै तिब्बतको बाटो पार गरी सडक मार्गबाटै हिल्सा र हुम्ला आइपुगेको छ । त्यही बाटो हुँदै सडक खन्ने डोजर पनि हुम्ला ल्याइएका छन् । सिमकोट वरिपरि आधा दर्जन जिप चल्छन्, ती सबै १३ लाख रुपैयाँ भाडा तिरेर हेलिकप्टरबाट ल्याइएका हुन् । ती गाडी हिल्सा र तल कर्णालीतिर चल्छन् ।
***

डाँडाफायको यात्रा । हेलिकप्टर चढेर गएका गाडी चढ्ने निधो भयो । जहाज चढेर गएको तरकारी, चामल, तेल, नुन, मसलाबाट बनेको खाना खाएपछि यात्रा सुरु भयो । हामी सिमकोटका पाहुना । गरिबीले खाएका दुब्ला अनुहार, आशामा बाँचेका ज्यान थिए त्यहाँ । हुने खानेको कुरै बेग्लै । घरमा तातोपानीको व्यवस्था, बाक्ला लुगा, पोषिला खानेकुरा, सबै सुविधा भोग्ने औंलामा गन्न सकिने हुनेखानेका प्रतिनिधि पनि थिए । हुम्लामा हिउँ पनि पर्छ तर, दिउसो चर्को घाम लाग्छ । त्यसले मान्छेको अनुहार डढाएर कालो बनाउँछ । ‘हुम्लीलाई हिउँले पनि हेप्छ, घामले पनि’,जयबहादुर दाइ भन्दै थिए—‘हुम्लीलाई प्रकृतिले नै हेप्छ ।’

हुम्लीलाई आफ्नो अनुहार घामबाट जोगाउनु छैन, बरु भोको हुनुबाट पेट जोगाउनु छ । त्यसैले त उनीहरू तीन दिन हिँडेर मुगुको गमगढी चामल लिन पुग्छन्, त्यति नै दिन हिँडेर तिब्बतको ताक्लाकोट पुग्छन् । खाद्य संस्थानमा घण्टौं
लाइन लाग्छन् ।

डाँडाफाय जान गाडी कुरेको झन्डै दुई घण्टापछि जहाजकै सानमा आयो— डबल क्याब बोलेरो जिप । त्यो जिप निकै व्यस्त रहेछ । अनुभवी चालक नरबहादुर लामा गाडी लिएर आए । नरबहादुरमा अप्ठ्यारो बाटोमा समेत बडो होसियारीपूर्वक गाडी चलाउने खुबी रहेछ ।

हिमालको ऐनासामु गाडीमा हिँड्नुको रमाइलो यहाँ शब्दमा व्यक्त गर्न कठिन छ । एमआई १७ हेलिकप्टरमा १३ लाख भाडा तिरेर सिमकोट ओरालिएको गाडी चढ्ने मौका थियो । चालक लामा दाइले सुनाए—‘यसले मुगु गमगढीबाट खच्चडले बोकेर ल्याएको तेल खान्छ । तेलको मूल्य प्रतिलिटर कम्तीमा २५० रुपैयाँ पर्छ । यो गाडी भाग्यमानी छ । हेलिकप्टरबाट आयो, खच्चडले बाकेर ल्याएको तेल खान्छ । म ड्राइभरचाहिँ दुखारी, सर ।’

लामा दाइले यथार्थमा ठट्टा मिसाएर भने । उनी हामीलाई डाँडाफायभन्दा माथि पाखोमा छाडेर ‘भोलि लिन आउँछु’ भन्दै सिमकोट फर्किए ।
***

सदरमुकामदेखि तीन/चार घण्टाको पैदल दूरीमा रहेको गाउँ । गाउँमा हिउँ थिएन । बारी मरुभूमिजस्तो सुक्खा । त्यहाँका अधिकांश बासिन्दा हिउँदमा पात झरेका रूखजस्ता दुब्ला, ख्याउटे । तर आत्मबल भने तगडा थियो, आफ्नै
पौरखले बाँचेका ।

हामी एक दिने पाहुनालाई देखेर स्थानीयले मसिनो स्वरमा भन्थे, ‘यिनीहरू पैसा कमाउन आएका होलान् । हाम्रो फुटा खिचेर जान्छन् । क्या क्या सोध्छन् । हामलाई क्यै न क्यै ।’

हैट, यो हामी सबैलाई व्यंग्य थियो । सबभन्दा ठूलो राज्यलाई व्यंग्य थियो । कोहीकोही सोध्थे, ‘तमी को हौ ? किन आका हौ ? फुटा खिच्या छौ । यी क्या छौ ?’
***

धारापारिमा रहेछ पुरानो होटल । सिमकोट–हिल्सा पैदलमार्गमा पर्नेे त्यो होटलमा आजभोलि कमै पाहुना आउने रहेछन् । ‘आजभोलि त्यति पाहुना आउँदैनन् । फाट्टफुट्ट आउँछन् । धेरै दिनपछि तपाईंहरू आउनुभयो’,होटल सञ्चालक ७० वर्षीय नरबहादुर शाहीले भने । हिल्सा हुँदै नजिकको ताक्लाकोट (तिब्बत) जाने पैदल रुट यही हो । अब भने यो रुट चल्ने छैन किनकि माथितिर सडक बनिसकेको छ ।

आगो ताप्दै गर्दा उनले ५० वर्षअघिको कुरा सम्झिए, ‘मैले ५० वर्षअघि ताक्लाकोट (हिल्सा नजिकको बजार)मा लगेर ६० रुपैँमा खसी बेचें । त्यसले नुन, कपडा किनेर ल्याएँ । त्यतिबेला हाम्रो बजार त्यही थियो ।’ उनको पसलमा अहिले पनि आधा सामान ताक्लाकोटबाट आउने रहेछ । कोक, बियर, चक्लेट तिब्बतबाट आएको थियो । त्यो सामान नेपालभन्दा सस्तो पर्ने भएकाले राखेको उनले बताए । धारापानीमा तिब्बती लोकप्रिय बियर ‘ल्हासा’ चाखेपछि मसहित खानपिनका स्वादेहरूको साझा स्वर थियो— ‘यो रस अलि तीतो रहेछ ।’

खानपिनपछि अब निन्द्राको पालो थियो । बोराको सिरानी भएको बेड । पातलो ब्लाङ्केट र साह्रो ओछ्यानमा आफूले लिएको स्लिपिङ ब्यागमा घुस्रेर साथीहरू घुर्न थाले । मसँग स्लिपिङ ब्याग थिएन, दुई ब्लाङ्केट ओढेपनि मुनिबाट चिसोले दनक दिइरहेको थियो । लगाएका करिब आधा दर्जन लुगासँगै सुते पनि निद्रा परे पो । रातमा पनि हिमाल स्पष्ट देखिने । तर, बाहिर चिसोले जान नसकिने । ट्वालेट सय मिटर टाढा रहेछ । जाडोमा लघुशंकाले उसैगरी चेपिरहने । मुश्किल भयो रात बिताउन ।
***

अर्को दिन बिहानै हामी ओखरको पोला (घाँजा) कोसेली खोज्न गाउँ पस्यौं । आधा किलोको दुई सय रुपैयाँ । स्थानीयले घाँजाबाट तेल निकालेर खान्छन् । कोही किन्न आए बेच्छन् पनि । स्थानीय मह रहेछ बिक्रीका लागि । ब्रेकफास्टका लागि कोदाको रोटी र साग थियो । त्यस्तो खाजा नभएको भए ओखर्‍यान पुग्न कठिन थियो । धेरै माथि पुगेपछि हिउँ भेटियो, केहीबेर हिउँ चिप्लेटी खेलेर थकाइ भुल्यौं । टोपी खस्ने उकालो चढेर नरबहादुर दाइले ल्याएको गाडी चढ्न जानु थियो— ओखर्‍यानसम्म ।

ड्राइभर नरबहादुर हामीलाई खोज्दै अलि तलसम्म आएका रहेछन् । पारि हिमाल, वारि सडक । त्यही सडक हिल्सा पुग्छ । अबको एक वर्षपछि त्यही बाटो हुँदै तिब्बतको सिमाना हिल्सा पुग्नेछन् । तीन किलोमिटर पहरो फुटाएपछि सिमकोटदेखि गाडी सिधै हिल्सा पुग्नेछन् । हिल्सा नाका व्यवस्थित भयो भने हुम्लाले काँचुली फेर्नेछ ।
सिमकोटबाट जस्ता पाता बोकेर आएका खच्चडले बाटो छेके । नरबहादुर दाइ भन्दै थिए, ‘यहाँका ट्राफिक यिनै हुन् सर । यी सडकमा आएगाडी रोक्नुपर्छ ।’
***

माथि डाँडाबाट सिमकोट सुन्दर देखिन्छ । विमानस्थल माथिको सदरमुुकाम बजारमा टिनका छाना थपिँदै गएका छन् । केही वर्षपहिले माटोका छत भएका घर थिए । आजभोलि गमगढीबाट खच्चड र सुर्खेत, नेपालगन्जबाट जहाजले जस्तापाता ओसार्छ । सिमकोटमा घरका छाना जस्तापाताले ढाक्न थालेको छ । ‘धनी सहरजस्तो देखियो, यहाँका मान्छे गरिब कसले भन्छ ?’,जयबहादुरले भने— ‘तर, दिनहु मौलिकता हराउँदै छ ।’ सिमकोटको पूर्वपट्टि भने पुरानो गाउँ छ, मौलिकता जोगाउने खालको ।

नोर्बु लामा, रलिङ होटल सिमकोटका मालिक । तीन बुबाका छोरा । अनौठो चलन छ— माथिल्लो हुम्लामा । बहुपतिप्रथा अझै देख्न सकिन्छ । हँसिला रहेछन् नोर्बु । ‘तीन बुबा छन्, कसको छोरा हुँ भन्नु ?’,उनले रमाइलो पाराले भने ।

सिमकोटको बजार बढ्दै रहेछ । अरू जिल्लाका सदरमुकाममा पहिलेभन्दा चहलपहल कम हुँदै गए पनि सिमकोटमा त्यस्तो छैन । सिमकोट निकै महँगो ठाउँ हो । दैनिक उपभोग्य खाद्यान्न, तरकारीलगायत अति महँगो छ । तर, दारुपानी तुलनात्मक रूपमा अलि सस्तो रहेछ । साँझ पर्दै गएपछि सिमकोट पनि झुम्दै जान्छ, जाडो मौसममा अझ बढी ।
साथीहरूले केही समयअघि सिमकोटमा रमाइलो घटना सुनाए । घटना यस्तो थियो— एक जना व्यक्तिले दारु खाएर टोलमा खुब हल्ला गरे । प्रहरीकहाँ गुनासो पुग्यो । जँड्याहालाई पक्रन प्रहरी आयो । प्रहरी पनि दारुले झ्याप्प रहेछन् । प्रहरीले ती जँड्याहालाई परीक्षण गर्न अस्पताल लगे ।

ओहो † डाक्टर पनि दारुले झ्याप्प रहेछन् । लौ भन्नुस्, त्यो घटनाको परिणाम के भयो होला ?
सिमकोटमा खाद्य संस्थानबाट भने जति चामल पाइँदैन । तर, त्यहाँका होटलहरूमा खाद्य संस्थानको चामलबाट दारु बनाइँदो रहेछ । त्यो दारुले बेलुका सिमकोट तताउँछ । बाहिरबाट आउने सिलबन्दी दारु भने जति पनि पाइन्छ, बरु चामल किन्न पाइँदैन । अनुभवी हुम्ली पत्रकार जयबहादुरको रमाइलो बुझाइ थियो— ‘हुम्ला कम छैन । हावापानीमा आत्मनिर्भर छ ।’
***

पुसे ठन्डीमा सिमकोटको एक रात । माइनस आठ डिग्री भए पनि रमाइलो । बच्चाहरूको जिउ स्पात रहेछ्, त्यो चिसोमा बाक्लो टोपी नलगाई मजाले खेलिरहेका थिए । चिसो र भोक सहने बानी रहेछ उनीहरूमा ।
सिमकोट छाड्ने बेला भयो । खाद्यान्न बोकेर जहाज सिमकोट विमानस्थल ओर्लने क्रम सुरु भइसकेको थियो । हामी विमान चढ्यौं, जम्मा छ जना मात्रै । अहिले सिमकोटको सिजन होइन, मानसरोवर तीर्थयात्रा सुरु भएपछि पर्यटकले भरिभराउ हुन्छ । सिमकोट हुँदै तिब्बतको कैलाश पर्वत र मानसरोवर जाने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
हिउँ परेका चुचुरा नाघेर नेपालगन्ज ओर्लेपछि ज्यानमा ऊर्जा थपिएको थियो । हिमालको चिनो थियो सम्झनामा—सुन्दर, शान्त र स्निग्ध ।

प्रकाशित : पुस २८, २०७५ ०८:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT