मानवसागरमा एक दिन

एकै पटक लाखौं मानिसले त्रिवेणीमा डुबुल्की लगाएको दृश्यलाई क्यामरामा कैद गर्न फोटोग्राफरबीच पनि तँछाडमछाड थियो । केही त पानीमै भिजेर तस्बिर लिइरहेका थिए । साधुहरू तथा सन्तहरू पनि के कम ?

काठमाडौँ — यागराज, भारत । कुम्भ भन्नासाथ लाखौं तीर्थालु, भागाभाग, आफन्तजनबाट विछोड भन्ने आमबुझाइ छ ।

मानवसागरमा एक दिन

अरूले भनेका र सुनाएका आधारमा कुम्भसम्बन्धी त्यही किसिमको तस्बिर बने पनि त्यसलाई प्रत्यक्ष हेर्ने र अवलोकन हेर्ने जिज्ञासा भने कायमै थियो । त्यही जिज्ञासा मेटाउने राम्रो अवसर बन्यो यस पटकको माघे औंसी । भारतको उत्तरप्रदेश राज्यको प्रयागराज (यसअघिको अलाहावाद) ३० पुसदेखि सुरु भएको कुम्भमा त्यसमा पनि २१ माघ थप विशेष थियो । सोमबार र औंसी दुवै परेको र दोस्रो शाही स्नान पनि परेकाले त्यस दिन गंगा–जमुना–सरस्वतीको (अहिले सरस्वती नदी नरहे पनि परापूर्वकालमा रहेको धार्मिक र जनविश्वास) त्रिवेणीमा नुहाउन लाखौं श्रद्धालुहरूको भीड लागेको थियो ।


कुम्भका बेला हिन्दु पात्रोका आधारमा शाही स्नानका लागि विशेष मिति तय गर्ने प्रचलन छ । यस वर्ष मकर संक्रान्ति, माघे औंसी र वसन्त पञ्चमीका दिन महास्नान तय गरिएको थियो ।हिन्दु पात्रोअनुसार आइतबार साँझ करिब सवा एघार बजेदेखि माघे औंसी लाग्ने भए पनि शाही स्नानको शुभमुहूर्त भने सोमबार बिहान करिब पौने छ निर्धारण गरिएको थियो । भारतका विभिन्न ठाउँ र विदेशबाट आएका श्रद्धालुदेखि पर्यटकसम्म यही घडीको प्रतीक्षामा थिए सबै तीर्थालुहरू । सोमबार बिहान करिब पाँच बजे त्रिवेणीपारिबाट साधुसन्त र भक्तहरूको लस्कर शाही स्नानका लागि प्रस्थान गर्छ । सुरक्षाकर्मीलाई अगाडि लगाएर बाजागाजासहित हिँडेको विभिन्न अखडाको ब्यानर बोकेर उक्त लस्करको प्रमुख आकर्षण थिए नागा साधुहरू । घोडामा सवार ती नागाहरूमध्ये केहीका हातमा त्रिशूल थिए भने केहीले नगाडा बजाइरहेका थिए । भस्मलेपन गरेका नागा साधुहरूको हरहर गंगे, जयश्री राम र हरहर महादेवको आवाजले पूरै वातावरण गुन्जिएको थियो । उनीहरूलाई साथ दिइरहेका थिए सडक किनारमा उभिएका तीर्थालुहरू । नागा साधुका पछाडि थिए, सन्त महात्मा । तीमध्ये केही कोही बग्गीमा त कोही पैदलै थिए । उनीहरूको पछाडि थियो साधु र भक्तजनहरू ठूलो ताँती थियो ।


त्रिवेणी संगममा केही बेरको पूजापाठपछि बिहान करिब पौने छ बजे शाही स्नानको आरम्भ भएको औपचारिक घोषणा हुन्छ । त्यसपछि शाही स्नानका लागि भनेर विशेष रूपमा तयार पारिएको त्रिवेणी संगममा हरहर गंगे भन्दै नागा साधुहरू हाम फाल्छन् । उनीहरूका पछिपछि लाखौं भक्तजन पनि त्रिवेणीमा डुबुल्की लगाउन थाल्छन् । बिहानबाट सुरु भएको स्नानको क्रम दिनभरि नै चलिरह्यो । विभिन्न तेह्र अखडा, दर्जनौं पीठका प्रमुखदेखि साधुसन्तहरू भक्तहरूको लावालस्करसहित स्नानका लागि पुगेका थिए । उनीहरूकै पछिपछि हुन्थे तीर्थालुहरू । बालबच्चादेखि वृद्धासम्म । एकैपटक लाखौं मानिसले त्रिवेणीमा डुबुल्की लगाएको दृश्यलाई क्यामरामा कैद गर्न फोटोग्राफरबीच पनि तँछाडमछाड थियो । केही त पानीमै भिजेर तस्बिर लिइरहेका थिए । साधुहरू तथा सन्तहरू पनि के कम ? आफूतिर क्यामरा सोझिएको देख्नासाथ उनीहरू पनि पोज दिन सुरु गरिहाल्थे ।


शाही स्नानको मौका छोप्न उर्लिएको भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी र स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो । तर, हजारौं संख्यामा रहेका स्वयंसेवक र सुरक्षाकर्मीका कारण कुनै अप्रिय घटना भने भएन ।कुम्भ नेपालबाट समेत हजारौं श्रद्धालु पुगेका थिए । तिनैमध्येका हुन् वीरगन्ज १८ का, रत्नलाल रौनियार । वीरगन्ज, जितपुरका चार सयभन्दा बढी तीर्थालुसँगै उनी कुम्भ पुगेका हुन् । ‘पुण्य प्राप्तिका लागि हामीहरू एक ढिक्का भएर कुम्भ आएका हौं,’ उनले बताए । सोमबार साँझ त्रिवेणीको जल लिएर उनको टोली विहारको अरेराज जाने र त्यहाँको शिव मन्दिरमा उक्त जल चढाएर मात्र वीरगन्जतर्फ लाग्नेछ । गंगा जल शिव मन्दिरमा चढाएपछि मनोकांक्षा पूरा हुने र धर्म हुने विश्वास रहेको समेत उनले बताए ।


प्रयाग कुम्भका सूचना अधिकारी दिलीपकुमार त्रिगुणायतका अनुसार २१ माघसम्ममा साढे बाह्र करोड तीर्थालु आएका थिए । माघे औंसीको दिनमा मात्रै पाँच करोडले स्नान गरेको त्रिगुणायतको दाबी छ । साथै आगामी २० फागुनसम्ममा थप चार करोडले कुम्भ मेला भर्न आउने अनुमान गरिएको समेत उनले बताए । करौडौं तीर्थालुको व्यवस्थापन चानचुने कुरा होइन । कुम्भकै लागि भनेर गंगा किनारको करिब ५.५ किलोमिटर परिधिको भूभागलाई विशेष रूपमा निर्माण गरिएको थियो । साधुसन्तका अखडा, आश्रमदेखि तीर्थालुहरूका लागि वासस्थानसम्म । स्वदेशी तथा विदेशीका पर्यटकहरूका लागि भनेर विशेष खाले टेन्ट । तीर्थालुहरूका रेलका डिब्बाझैं लाग्ने लामा–लामा शौचालयको व्यवस्था गरिएको थियो । भीड व्यवस्थापनका लागि भनेर मेलामा आउने र जाने बाटो बेग्लाबेग्लै बनाइएको थियो ।


चुस्त व्यवस्थापनका कारण यति धेरै संख्यामा तीर्थालुको उपस्थिति भए पनि अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको त्रिगुणाको दाबी छ । ‘तीर्थालुको संख्या र कुशल व्यवस्थापन दुवै हिसाबले यो कुम्भले इतिहास रचेको छ,’ उनले भने । हुन पनि प्रयाग कुम्भमा उर्लेको मानवसागर र त्यसको व्यवस्थापन आफैंमा उदाहरणीय बनेको छ । त्यही भएर नै युनेस्कोले प्रयागकुम्भलाई विश्वसम्पदा सूचीमा सूचीकृतसमेत गरेको छ । त्यसले पनि यसको विशालता र भव्यता पुष्टि गर्छ ।

प्रकाशित : माघ २६, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?