मेचीनगर चरैचरा

नेपाल करिब ८ सय ८० प्रजातिका चराहरूको घर हो । २ सय ५० चरा त झापाको मेचीनगरमै पाइने अनुमान छ ।
पर्वत पाेर्तेल

काठमाडौँ — दुई साताअघि झापाको मेचीनगरमा एउटा अचम्मको चरा देखा पर्‍यो । त्यो चरा थियो— पेरेग्रनेइल फाल्कोन अर्थात शाहीबाज । यो विश्वकै तीव्र गतिमा उड्ने चरा हो ।

प्रतिघण्टा ३२० किलोमिटरसम्म उड्न सक्ने क्षमता राख्छ शाहीबाजले । यस्तै अनौठा प्रजातिका चराको गन्तव्य बन्दै छ झापाको मेचीनगर । खासगरी मेचीनगरका भान्साखोला, बहुवन सामुदायिक वन, जोरसिमलदेखि उत्तरको क्षेत्रमा अनौठा र सुन्दर चराचुरुङ्गीको बासस्थान छ ।


यहाँ २ सय ५० हाराहारी प्रजातिका चरा पाइने अनुमान छ । विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पी, सिलसिले हाँस, नीलकण्ठे भुइँचर, किड फिसर, हुटिट्याउँका विभिन्न प्रजाति, चित्राडगड, मुसे चिल मात्रै होइन सुनचरी, सिक्का, जुरे कोइली, कालोटाउके मुनिया आदि दुर्लभ चराहरू छन् । धेरै चरा पाइने देशको सूचीमा नेपाल २२ औं स्थानमा छ । नेपाल करिब ८ सय ८० प्रजातिका चराहरूको घर हो । २ सय ५० चरा त झापाको मेचीनगरमै पाइने अनुमान छ । मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरू भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको पाइएको छ । खासगरी चराको वासस्थान क्रमश: मासिँदै गएको छ । यद्यपि भारतसँगको सीमावर्ती क्षेत्रका कारण मेचीनगर चराका लागि उपयुक्त गन्तव्य बन्न पुगेको छ । साइबेरियन चराको आवागमन पनि पाइएको छ । सिमसार क्षेत्रलाई पाहुना चराले बढी मन पराउने कारण मेचीनगरको बाँसबारी सिमसार, कालिका सिमसार, बाहुनडाँगीको हिले सिमसारजस्ता क्षेत्रमा त्यस्ता चराहरूको संख्या बढी पाइएको छ ।


स्थानीय सरकारले चरा संरक्षण गर्न सक्दा चरा पर्यटनबाट मनग्ये आम्दानी गर्न सकिने सम्भावना देखिन्छ । चरा संरक्षणका लागि चेतना फैलाउन भने टड््कारो जरुरत देखिन्छ । स्थानीय सरकारले नगरका चरा पाइने क्षेत्रलाई संरक्षण गरेर चरालाई पर्यटनसँग जोड्न सक्दा विदेशीपर्यटक तानिन सक्ने सम्भावना देखाउँछन्—ग्रिन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की ।

शब्द : पर्वत पोर्तेल
फोटो : देवेन्द्र खरेल

प्रकाशित : माघ २६, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मगरभाषी आदिकवि

गाउँकै सामन्तीहरूले कवि जितबहादुरलाई कम्युनिस्ट कार्यकर्ताको छाप लगाइदिए । खस भाषाविरोधी र मगर भाषा प्रचारकको झूटो लाञ्छनामा पुलिस प्रशासन बोलाएर यी कविको घर खानतलास गरिएको थियो ।
सञ्जोग लाफा मगर

काठमाडौँ — लेन्जा जजा माहाजा जजा पट्ट परढिसाक्के,इस आस टेनिकिङ माछान्ने है भाक्के ।


छोरा र छोरी दुवैलाई पढाऔं
लिङ्गको आधारमा भेदभाव नगरौं ।
(शिक्षा, मगर भाषाङ् ल्हीङ् ड टूक्का किताब )

जातीय पहिचान, भाषा संस्कृतिको संरक्षण गर्नका लागि थारू, तामाङ र किराँतीहरूले जातीय संगठन स्थापना गरेको थियो । बनारसदेखि पढेर आएको भर्खरको ठिटो पर्शुराम चौधरीसँग जातिको कुरा, इमानसिं चेम्जोङले किराँतीहरूको पुस्तक र शब्दकोश लेखेकाले भेट हुँदा किराँतीहरूको इतिहासबारे छलफल गर्ने गर्थे मगर आदिकवि— जितबहादुर सिञ्जाली मगर । मगर जाति शिक्षामा धेरै पिछडिएको, फजुल खर्च गर्ने स्वाभाव, लाहुरे प्रथाले सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा सहभागी शून्यजस्तै भएकाले २०१२ सालमा सिञ्जाली मगरको पहलमा रक्तकाली, काठमाडौंमा मगर समाज सुधार संघ भीमप्रसाद बुढाथोकीको अध्यक्षतामा गठन गरी संस्थापक कार्यालय सचिव बनेका थिए ।


संस्थाको मगर भाषामा शिक्षा प्रमुख उद्देश्यअनुरूप पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक स्कुलस्कुलमा परिचालनका लागि सिञ्जाली मगरलाई जिम्मेवारी दिइएको थियो । राजनीतिक प्रतिकूल अवस्था र मगरको चेतनाको कमजोरीले केही वर्षपछि संस्था निष्क्रिय भयो । संस्था निष्क्रिय बने पनि व्यक्तिगत पहलमा ‘मगर भाषाङ शुरुवौ किताब’ मगरले पाठ्यपुस्तक प्रकाशन गरेर मगर स्कुल–स्कुलमा लगेर पढाउन प्रेरित गरेका थिए । मगर भाषामा गीत, कविता, उखानटुक्का गाएर, वाचन गरेर भाषाको महत्तालाई साहित्य मार्फत आकर्षित गर्थे ।

स्कुल स्थापना
काठमाडौंमा अध्ययनताका २०१२ सालमा लोक सेवा आयोग पास गरी सरकारी स्कुल त्रिपुरेश्वरमा स्थायी शिक्षक नियुक्ति भएका थिए । २०१६ सालमा विदुर नगरपालिका, माझीटार, नुवाकोटको च्वाडी पब्लिक स्कुल (हाल, च्वाडी उच्च माध्यमिक विद्यालय) स्थापना गरी संस्थापक प्रधानाध्यापक भएका थिए । प्रधानमन्त्री बी.पी. कोइराला पश्चिम भ्रमणमा आउँदा स्कुलको शिलान्यास गराएका थिए । गुरुबारे विद्यार्थी रामप्रसाद जोशी सम्झन्छन्, ‘उहाँको व्यक्तित्व लवाइ, खवाइ, बोलाइ, व्यवहारले नै सबै समुदायलाई शिक्षा प्रवाहित गरिरहेको हुन्थ्यो ।’ २०१७ सालमा बट्टार, नुवाकोटमा प्राथमिक विद्यालय स्कुल


(हाल भीमसेन माध्यमिक विद्यालय) स्थापनासहित अध्यापन गरेका थिए । २०१९ सालमा लामिडाँडा, नुवाकोटमा प्राथमिक विद्यालय स्थापना केही वर्ष अध्यापनपछि राजा महेन्द्रको पश्चिम देश दौडाहा समयमा आफ्नै गाउँ कोटाकोट बेंसीमा कोटाकोट प्राथामिक विद्यालय स्थापना गरे । प्यूठान र अर्घाखाँची जिल्लाको सिमाना असुरकोट खिल्जी प्राथमिक विद्यालयमा शिक्षक भएका थिए । रोल्पा जिल्लाको ओहनाफे प्राथमिक विद्यालयमा दुई वर्ष पढाएका थिए । अठार मगर खाम भाषा सिक्न जाँदा मिरुल, ढाङढुङ रोल्पामा पनि पढाएका थिए । खङरानाका राजापुरमा २०४६ सालमा बालकल्याण निम्न माध्यमिक विद्यालय स्थापना गरी अध्यापन गरेका थिए । उनले स्थापना गरेको स्कुल प्रायश: अहिले उच्च माध्यमिक विद्यालय र क्याम्पस बनिसकेका छन् ।

मगर साहित्य
मगर भाषा साहित्यको इतिहास सन् १९०८ मा जर्ज ए. ग्रिर्यसनले भारतीय भाषाहरूको सर्वेक्षण क्रममा मगर कथा अनुवाद गरिएको साहित्यलाई प्रारम्भिक विन्दु मानिन्छ । मगर भाषा साहित्य लेखनको प्रारम्भ २०४६ साल अघि फाट्टफुट्ट हुन्थ्यो । मगर साहित्यको पहिलो कृति मगर ‘भाषाङ ल्हीङ ड टुक्कावौ किताब’ कवितासंग्रह जितबहाद्र सिञ्जाली मगर र रेखबहादुर थापा मगरले संयुक्त लेखेका थिए । मगर साहित्य कविता, खण्डकाव्य, गजल, कथा, बालकथा, लघु कथा, उपन्यास, लघुनाटक, मुक्तक, हाइकु, निबन्ध, मगर उखानटुक्का तथा गाउँखाने कथा, अनुवाद, गीति विधामा लगभग १६२ जति कृतिहरू लेखिएका छन् । गीति एल्बम, वृत्तचित्र, चलचित्रसमेत निर्माण गरिएको छ ।


मगर भाषालाई मगराँती साहित्यको रूपमा परिचित गराउने श्रेय मगराँती भाषामा गीत तथा टुक्का लेखेर ठूलो योगदान पुऱ्याएकाले लेखकद्वयलाई मगराँती साहित्यको प्रथम तथा प्रसिद्ध कविको उपाधिद्वारा विभूषित गर्नुपर्ने प्रस्ताव आएको थियो । लामो बहस र अन्तक्र्रियापछि मगराँती साहित्यका आदिकवि जितबहादुर सिंजाली र रेखबहादुर थापा (२०४७) पुस्तक आधारमा २०५१ सालमा घोराही, दाङमा सम्पन्न नेपाल मगर संघको पाँचौं राष्ट्रि्रय महाधिवेशनले यी (सिंजाली र थापामगर) लाई मगर भाषाका आदिकवि घोषणा गरियो । आदिकविद्वय नै केही बर्ष सम्पर्कविहीन समेत भए । तर पछि केही वर्षपछि रेखबहादुर थापामगर सम्पर्कमा आए । मगर संघमा सक्रिय अवस्थामा नै २०५९ असार २९ गते मस्तिष्क पक्षाघातले उनको देहान्त भयो ।

चार दशक बेपत्ता
सादा जीवन उच्च विचारका अनुयायी सिञ्जाली मगर कम बोल्ने, अरूलाई पीरमर्का दिन नरुचाउने एकान्तप्रेमी अन्तर्मुखी स्वभावका थिए । कपडाको जुत्ता च्यातिएर खुट्टा हाल्नै नमिल्ने । कपडाको जुत्तामा खुट्टा राखेर रसीले बाँधेर हिंड्थे । उनको कमिज धेरै दिनदेखि नधोएको शरीरमा टाँसिएर झुत्रा भइसकेको एकपल्ट झिकेर फेरि लगाउन नमिल्ने सादगी जीवन थियो । मगर गाउँबस्तीमा मगर भाषाको महत्त्व र कवितालाई तत्कालीन समयको प्रचलित लोकलयमा वाचन गरी हिंड्दा कोलडाँडा पाल्पा, खस्यौली (हाल, बुटवल) बजारमा कविता वाचनसहित पुस्तक बिक्री गरेको आरोपमा पुलिस थानामा तारेख खेपेका थिए ।


पाल्पाको सत्यवती, गोठादीमा मगर भाषाको कविता वाचन गरिहिंड्दा उनको अत्यन्त दयनीय अवस्था देखेर गाउँलेहरूले चोरको आरोपमा पक्राउ गरी प्रहरी चौकीमा लगेको सत्य घटना र अर्घाखाँची असुरकोट, खिल्जी स्कुलमा शिक्षक हुँदा मगर भाषाको गीत हार्मोनियम बजाएर विद्यार्थीलाई गाउन सिकाउँदा पुलिसलाई पोल लगाई पक्राउ गरिएको थियो । गाउँकै सामन्तीहरूले कम्युनिस्ट कार्यकर्ता र खस भाषाविरोधी, मगर भाषा प्रचारकको झूटो लाञ्छनामा पुलिस प्रशासन बोलाएर घर खानतलास गरेका थिए । गाउँका सामन्ती, पुलिस प्रशासनले पक्राउ पुर्जी जारी गरेर दु:ख दिइरहने र आफ्नो जातिको अचेतन, शिक्षाको कमीले गर्दा २०२४ सालदेखि घरपरिवार, समाजदेखि सम्पर्कविहीन भएका थिए ।


घरपरिवारदेखि सम्पर्कविहीन भएपछि २००७ सालमा एक जना गुरुङले ‘कि छोरा चाहियो कि चितवन खोल्नुपर्‍यो’ भनेर माग गरेकाले चितवन खुलेको घटनाले शिक्षण गर्दै जाँदा सुकुम्बासीका लागि नेपालगन्ज, तुलसीपुर, दाङ घुमेका थिए । २०२७ सालमा राजा महेन्द्रले अनुमति दिएपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टले कृषि विभागलाई पातलो कागजमा तोक लगायो । त्यसबेला वन, रानीवन वा बिर्तामा रहन्थ्यो । बिर्ता उन्मूलन भएमा रानीवन हुन्थ्यो । त्यसलाई नै राष्ट्रि्रय वन भनिन्थ्यो ।


मिरुल, ढाङढुङ रोल्पामा पढाउँदा बाह्र्रै महिना हिउँ पर्ने अन्नपात नहुने, खानका लागि भारतको कालापहाड जानुपर्ने दु:ख देखेकाले त्यहींका मान्छेहरू ल्याएर उनको नेतृत्वमा जंगल फँडानी गरी दाङ, देउखुरी जिल्लाको दक्षिणी सिमाना खङरानाकामा सुकुम्बासी बस्ती बसालेका थिए । आफू बसेको खङरानाका मात्र नभई भारतको सिमाना जोडिने २२ वटा नाकाहरू व्यवस्थित गरी दुई हजार सुकुम्बासीलाई बसोबास गराएका थिए । उनलाई स्थानीयले श्रद्धापूर्वक थापा सर, नेताजी भारततिर मास्टरजी भनेर सम्बोधन गरिंदो रहेछ । नेपालतिरको बजार कृष्णनगर, भालुबाङ, लमही, देउखुरी, घोराही, तुल्सीपुर, रिहार, कोहलपुर, नेपालगन्ज भारतको बजार वनकटा, भर्सैया, तुलसीपुरसम्म पुगेर कुचो र बाबियो डोरी (वनकसी) र वन पैदावर सामान बेच्ने प्रमुख पेसा अपनाएकाले त्यस क्षेत्रमा उनी कुचो बाजेको नामले प्रख्यात रहेछन् ।


आफ्ना बाजे खलकका माहिला बाबुका माहिली छोरी काली चेलीबेटीहरूमध्ये आर्थिक रूपले कमजोर थिइन् । धेरै वर्षपछि उनैको हातबाट तिहारको भाइटीका लगाउने र साहै्र दु:ख पाएकी छन् भने आफू बसेको ठाउँ खङरानाका ल्याउने उद्देश्यले बहिनीलाई लिन ठूलो ल्हुम्पेक आएको बेला २०६२ कात्तिक १० गते बिहीबार दिउँसो तीन–चार बजेतिर माओवादी जनयुद्धको चरम उत्कर्षको समय, संकटकाल अवस्थामा झुत्रो मैलो फाटेको सुरुवाल, कमिज लगाएको, जिङ्रिङ्ग कपाल, च्यातिएको चप्पलमा बाबियोको डोरीले बाटेको फित्ता लगाएको दयनीय व्यक्ति घुमेको देख्दा रुकबहादुर राना मगरलाई टीठ लागेछ । गाउँघरमा नौलो मान्छे देख्नेबित्तिकै कि † सोधिहाल्ने वा गाउँलेहरूले निगरानीगर्थे † चासो लागेर सोधेछन् । धेरै सोधखोजबाट सशंकित र झिजिएका वृद्ध सुरुदेखि नै चिया पिएर जान खोजेछन् ठेगाना, नागरिकता हेरेपछि बल्ल चारदशक बेपत्ता भएका मगर आदिकवि पहिचान गरेको थियो ।

बहुभाषा शिक्षा
संघीय व्यवस्था भएपछि संघ, केन्द्र र स्थानीय तहमा मातृभाषा शिक्षा नीति कस्तो हुनुपर्ने ? मातृभाषा, लिपिमा कसरी अध्यापन गर्न सकिन्छ ? निजी (बोर्डिङ) र सामुदायिक विद्यालयमा पाठ्यक्रम कस्तो हुने राय सुझावका लागि स्कुलस्कुलमा गएर लिखित सुझाव संकलन गरिरहेका थिए । त्यसैगरी ५ नम्बर प्रदेशको लागि पाल्पा, माथागढी–३, सराइमा बहुभाषा विश्वविद्यालय स्थापना गर्नका लागि निजी (बोर्डिङ) र सामुदायिक विद्यालयको लिखित राय सुझावसहित हस्ताक्षर संकलन अभियानमा कटिबद्ध थिए । भर्खरै संघीय संसद्बाट शिक्षा ऐन २०७५ पारित भएको छ । ऐनको दफा २६ मा शिक्षणको माध्यम भाषा उपदफा १ अनुसार– विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा, अङ्ग्रेजी भाषा वा दुवै भाषा वा सम्बन्धित नेपाली समुदायको मातृभाषा हुन सक्नेछ भनिएको छ । माध्यमिक तहसम्म नि:शुल्क शिक्षा प्राप्त गर्ने अधिकार हुने भनिएको छ ।


आजीवन मातृभाषा शिक्षाको अभियानमा हिंडिरहेको मातृभाषी अभियन्ताको लमहीदेखि बुटवल यात्राक्रममा एक दुर्घटनामा परी गत पुस ८ मा निधन भयो । मगर साहित्यको अग्रज मगर जातिको धरोहर, शिक्षाप्रेमी गुमाउनुपरेको पीडासँगै राष्ट्रले मातृभाषा योद्धा पनि गुमाएको छ ।


प्रकाशित : माघ २६, २०७५ १२:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT