आखिर के छ वेदमा ?

म्याक्समुलरले भनेका छन्– ‘यस पृथ्वीमा वेदजति प्राचीन ग्रन्थ कुनै छैन । पर्वत र नदीहरू रहिरहेसम्म वेदको महिमा पनि रहिरहनेछ ।’
प्रदीप खतिवडा

काठमाडौँ — बुझाइ अनेक छन्– पुरातन शब्दहरूको छिचोल्नै नसकिने चारकोसे झाडी ।

धमिराले धुल्याइसकेका प्राचीन पानाहरूबाट चिहाइरहेको अन्धविश्वास । पूजापाठमा भट्टिने निरस मन्त्रहरू । जातीय अनि लैङ्गिक विभेदको स्रोत । समाजविकासको बाधक †


केही मानवशास्त्रीले हिन्दू धर्मव्यवस्थामा चलेकैले नेपाली समाज ‘पछि परेको’ लख काटे । यसै भनेर डोरबहादुर विष्ट ‘महान्’ बने । यो बुझाइ फगत अनुमान होला कि गहिरो अनुसन्धानपछिको निष्कर्ष ? विकृत अनि कमजोर चरित्रहरूमा टेकेर समग्र शास्त्रीय मान्यताहरूलाई टोकसिरहनु कत्तिको न्यायोचित ? विद्वान्हरूको यो कित्ताले वेदमा खोट मात्र देख्छ । दिमागमा ताला कसैले ठोकिदिन सक्दैन । सोच्दैमा कानुन पनि लाग्दैन । तर सही सोचे नै सही निष्कर्षमा पुग्न सकिन्छ । सोचेरभन्दा पढेर जानेको ज्ञान पक्का हुन्छ ।


एउटा अर्को कित्ता छ जो वेदमा कुनै खोट देख्दैन । यसको आलोचना सुन्नसम्म चाहँदैन । पूर्वीय मात्र होइन, पाश्चात्य विद्वान्समेत वेदका प्रशंसक छन् । महत्ता गाएका छन् । म्याक्समुलरले भनेका छन्– ‘यस पृथ्वीमा वेदजति प्राचीन ग्रन्थ कुनै छैन । पर्वत र नदीहरू रहिरहेसम्म वेदको महिमा पनि रहिरहनेछ ।’धर्मभीरुहरू वेदलाई ईश्वर ठान्छन् । ज्ञानीहरू यसलाई ज्ञान भन्छन् । अनि विश्लेषकहरू जीवन–जगत् र सृष्टि बुझाउने सबैभन्दा उन्नत दर्शन मान्छन् । उनीहरूका बुझाइमा विज्ञानले जति नै फड्को मारोस्, एक दिन नासिएरै सकिन्छ । अनन्त सुख दिने त ज्ञानले नै हो ।


कसका दृष्टिकोण सही होलान् ? डोरबहादुर कि म्याक्समुलर ? विज्ञापन गर्न सके विषसमेत बेच्ने छुट छ यहाँ । हरेक ज्ञानीका आआफ्नै स्वार्थ र मिसन छन् । आकर्षक तर प्रायोजित तर्कका चक्रव्यूह थापेर बसेका छन् उनीहरू । झ्वाट्टै पसिहाल्दा फसिने पो हो कि † त्योभन्दा त आफैंले पढ्नु बेस । आफैंले जाने तत्काल छुट्टिइहाल्छ– दूधका दूध, पानीका पानी । तर पढ्ने पो कसरी ? एक त संस्कृत, त्यो पनि वैदिक † डा. तुलसी भट्टराई र उद्धवदेव उपाध्यायले वेद नेपाली भाषामा अनुवाद गरेका छन् । चारै वेदका मुख्यमुख्य ऋचा टिपेर छरितो कृति तयार पारेका छन् । ‘चार वेद’ नामक पुस्तकमा ऋक्, यजु:, साम र अथर्ववेदको सार समेटिएको छ ।


अनुवादकद्वयले प्रत्येक ऋचाको अनुवादसहित तिनको बुझिने व्याख्या गरेका छन् । ती व्याख्यालाई सकेसम्म समयसापेक्ष बनाउने प्रयास देखिन्छ । उनीहरू ठान्दैनन्, यो एउटै पुस्तक वेदलाई सम्पूर्ण रूपमा बुझ्न पर्याप्त छ । यसलाई पढेर पाठकमा मूल कृतिप्रति रुचि जागोस्, यत्ति सदाशय छ । पुस्तकमा साहित्य–परम्पराकै अगुवा भनिएको छ— वैदिक साहित्यलाई । यसभन्दा प्राचीन साहित्य दोस्रो कसैले दाबी गर्न सकेको पनि छैन । न त रचनाकालकै अनुमान गर्न सकेको छ । लिपि आविष्कार हुनुभन्दा अघिदेखि थियो वेद । हजारौं वर्षसम्म यो श्रुतिपरम्परामै बाँचिरहयो । सुरुमा यसलाई ऋषिहरूले दिव्य तरङ्गबाट अनुभूत गरेको ठानिन्छ । उनीहरूले नै वाणीको रूप दिएर प्रसारित गरे । भनिएकै छ— ऋषयो मन्त्र द्रष्टार: । पुराण, उपनिषद् यसैबाट जन्मिए ।


वेदवेत्ताहरूका भनाइमा ज्ञान, कर्म, उपासना र विज्ञान चार वेदका विषय हुन् । यिनलाई धर्म, अर्थ, काम, मोक्षसँग पनि दाँजिएको छ । वेदमा सनातन समाजका हजारौं वर्षदेखिका संस्कार, चरित्र र आचरण सुरक्षित छन् । सृष्टि–उत्पत्तिसम्मका विषय किंवदन्तीमै भए पनि बाँचिरहेका छन् । संस्कृतको विद् धातुबाट बनेको वेदको शाब्दिक अर्थ जान्नु हो– जीवन, जगत् र सृष्टि जान्नु । पुस्तक दुई भागमा विभक्त छ । पहिलोमा चार वेदबाट छानिएका सूक्त एवं मन्त्र सङ्गृहीत छन् । दोस्रोमा ईश्वरभक्तिसम्बन्धी मन्त्रहरूको शब्दार्थ र भावार्थ । ऋग्वेदमा १०५५२ मन्त्र छन् । सामवेदमा १९७५, यजुर्वेदमा ३७५०, अथर्ववेदमा ७२६० मन्त्र । तर पुस्तकमा यी सबै छैनन् । प्रत्येक वेदका १०८ वटाका दरले प्रमुख ४३२ मन्त्र समेटिएका छन् ।
कर्मप्रधान ग्रन्थ हो, यजुर्वेद । यसले यज्ञसम्बन्धी परिचर्चा गर्दै मान्छेलाई उत्तम कर्मतर्फ जागृत गराउँछ । कर्मका माध्यमबाट सक्रिय र सार्थक जीवन बाँच्न प्रेरित गर्छ । एउटा मन्त्र छ– अस्थूरि णौ गार्हपत्यानि सन्तु शतं हिमा: । अर्थात्, हामी दुई पतिपत्नी गृहस्थसम्बन्धी कर्तव्य सय वर्षसम्म पूरा गर्न सकौं ।


यसले पतिपत्नीबीच विभेद होइन, समान भूमिकाको परिकल्पना गरेको छ । समान दायित्व र कर्तव्यबाट मात्रै गृहस्थी चल्न सक्ने औंल्याएको छ । अनि पहिलेका मान्छे हजार वर्ष बाँच्थे भनी सुनिँदै आएका कथा यहाँ आएर उडन्ते साबित हुन पुग्छन् । किनकि मन्त्रमै सयवर्षे आयु कामना गरिएको छ । वेदले यथार्थ बोलेको छ । अपव्याख्या त पछिकाले गरे ।सङ्गीतप्रधान मानिन्छ सामवेद । यसमा गायनयोग्य ऋचाहरूमार्फत सत्कामना गरिएको छ । पूर्वीय सङ्गीतको जननी यही वेद हो । सामवेद गायनमा सातै सुर प्रयोग हुन्छ । अहिले सुनिने जति पनि गीतसङ्गीत छन्, यसैका आधुनिक संस्करण हुन् । भलै यिनले बोक्ने सन्देश फरक होला । यो मन्त्रले चाहिँ सदाचारको सन्देश बोकेको छ—मा ते रसस्य मत्सत द्वयाविन: । अर्थात्, दोहोर आचरण गर्ने व्यक्ति आनन्दित हुन सक्दैन । मनमा एकथोक, व्यवहार अर्कै हुनेको भनाइ र गराइबीच तादात्म्य मिल्दैन । त्यस्ताले सुख पनि पाउँदैन । तसर्थ मन, वचन र कर्ममा एकरूपता ल्याउनुपर्छ ।


राजा ऋतेन विवावृधे । यो मन्त्रले सन्मार्गमा हिँड्ने अनि न्याय र सत्यलाई कर्तव्य मान्ने शासक (नेता) मात्र लोकप्रिय हुने औंल्याएको छ । कल्याण र प्रेम ऋग्वेदका लक्षण हुन् । त्यसका लागि देवताहरूका गुण वर्णन गरिएका छन्, कविता छन्दमा ।य शर्धते नानुददाति शृध्यां । यो मन्त्रले अहङ्कार त्याग्न प्रेरित गर्छ । अहङ्कारलाई मान्छेको शत्रु भन्छ । अभिमानीले केही पाएन भने उसको अभिमान स्वत: नष्ट हुने बताउँछ ।अनुवादकद्वयले अर्को मन्त्रलाई पनि समयसापेक्ष ठानेका छन्– अधूर्षत स्वयमेते वचोभि: र्ऋजूयते वृजिनानि ब्रुवन्त: । यसले सत्य पथमा हिँड्नेहरूसँग कुटिल व्यवहार नगर्न सचेत गराएको छ । सज्जनसँग दुर्वाच्य बोल्नेहरू आफैं नास हुने उल्लेख गरेको छ ।


अर्थववेदले कर्ममा एकाग्र र निश्चल हुन सिकाउँछ । मनमा दुर्विचार उत्पन्न हुन दिँदैन । मनोविकार हटाएर उत्तम पथप्रदर्शन गरिदिन्छ । यसमा खास गरी शारीरिक अङ्ग, रोगहरू, राष्ट्रधर्म, समाजव्यवस्था, अध्यात्मवाद एवं प्रकृतिको वर्णन पाइन्छ ।
शतहस्त समाहार सहस्त्रहस्त सं किर ।कृतस्य कार्यस्य चहे स्फातिं समावह ।।


यो मन्त्रले मानिसलाई कर्मशील अनि उदार हुन सिकाउँछ । भन्छ– तिमी सय हातले धन आर्जन गर तर हजार हातले दान गर । बल्ल कर्म र कर्तव्यमा उन्नति गर्न सक्छौ । यसले पुँजी ‘फ्रिज’ हुन नहुने, परिचालन हुनुपर्ने अर्थशास्त्रीय मान्यतातर्फसमेत सङ्केत गर्छ ।वेदका मूल ग्रन्थहरूको भाषा जटिल मानिन्छ । तर ‘चार वेद’को भाषा असाध्यै सरल छ । जे भन्न खोजिएको हो, सोझै बुझिन्छ ।मथिङ्गल घुमाइरहन पर्दैन । प्राचीन संस्कृति र मान्यता ओझेल पर्दै गएका बेला यसका पाठक सीमित हुन सक्छन् । ती पुस्तक पसल त पस्छन् तरह्वात्तै होइन, एक–दुई जना गरेर । यसले फरक पनि पार्दैन । किनकि ‘चार वेद’ क्षणिक होइन, दीर्घकालिक महत्त्वको पुस्तक हो । परिष्कृत शैली हुँदाहुँदै कतै–कतै व्याकरणिक अशुद्धि देखिन्छन् । हिज्जे बिग्रिएको छ । तर त्यो अनुवादकद्वयको अज्ञानभन्दा पनि असावधानी प्रतीत हुन्छ ।
– प्रदीप खतिवडा

प्रकाशित : माघ २६, २०७५ १२:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हामी गुगलका दास

अहिलेकालका विद्यार्थीलाई कुनै निश्चित सङ्ख्या कति हो भन्यो भने अकमकिन्छन् र अङ्ग्रेजीमा कति हो भनेर सोधी हाल्छन् । मातृभाषामा दखल भए धेरैवटा विदेशी भाषा अझ चाँडो टिप्न, सिक्न सकिन्छ भन्ने कुरा अनुभवसिद्घ छ ।
रामेश्वरप्रसाद बराल

काठमाडौँ — नवजात संसारमा आउँछ च्याँहार–च्याँहार गर्दै । यो शिशुको प्रथमस्वर हो । हामी हर्षले गद्गद् हुन्छौँ ।

यतिखेर उसको गतिविधि सुनाउन्यैमा सीमित छ । ऊ रुन्छ—सुनाउँछ, खान्छ, सुत्छ, लम्पट फोहोर पार्छ । फेरि रुन्छ—सुनाउँछ, फेरि खान्छ, फेरि सुत्छ । केही काल यो चक्र यसैगरी चल्छ । आँखामा ज्योति भरिन्छ, अनि आमा र नजिककालाई देख्छ र हाँस्न थाल्छ । शारीरिक विकास हँुदै जान्छ । यतिखेरसम्म बोल्दैन, छेउछाउ संगत खोज्छ । अब कानले प्रतिक्रिया दिन थाल्छन् । संगतमा रहेकाबाट ध्वनिको अन्तर बुझ्छ । आमाका पाइलाको चाल र बोली थाहा पाउँछ । सबै क्रियाकलापमा उसले सामाजिकता झल्काएको बुझिन्छ । सर्वविदित छ, ध्वनिले उसको भाषागुणमा प्रभाव पार्ने र सिकाउने कर्म गर्दै आएको हुन्छ । उसमा भाषा विकास हुँदै जान्छ । भाषाको ज्ञान यसरी विकास भयो भएन, आपैंmमा पनि घटाउँदै हेर्न सक्छौँ ।


भाषाका चारै खुड्किला —सुन्ने, बोल्ने, पढ्ने र लेख्ने — उत्तिकै पेचिला छन् । प्राज्ञिक जगत्मा सबैको उत्तिकै महत्त्व छ । यी चारै मिलाएर सिकारुले बुुझ्ने र बुुझाउने अर्थात् भाषिक सन्देश क्षमता अँगालेकोमा पर्छ । पहिला दुई औपचारिक ज्ञानबिना पनि सबैमा रहेको हुन्छ । यिनमा कसैको कत्तिको सीप छ भन्ने पक्ष अर्को हो । शिक्षामा चेतना अभियानले यी सीपमा अहिले व्यापक विकास हुँदै आएका छन् । तथापि यिनका चर्चा र परीक्षण शैक्षिक ज्ञानबाट गरिन्छ । यसैलाई पाठशाला शिक्षा भनिन्छ ।


सुन्नु भाषाको पहिलो गाँठो हो । पशुुपन्छीदेखि ध्वनि थरीथरीका हुन्छन् र मान्छेका थरीथरी स्वर र सन्देश हुन्छन् । यो गाँठोमा यी सबै सुुन्ने, चिन्ने र मगजले अथ्र्याउने र बुझ्न सक्ने क्षमताको विकास हुन्छ । बोल्नु दोस्रो हो । शिशुले तीन वर्षको पुग्दा–नपुग्दा बोल्ने क्रम सुरु गर्छ । उमेर बढ्दै जान्छ । अनि लामा वाक्य र नौला शब्दसमेत बोल्दै जान्छ । उसले यसमा देखासिकी गरी राख्छ ।


वाचा फुकाउनु, बोल्नसक्ने बन्नु वा बनाउनु भाषाको पहिलो धर्म हो । भाषाबिना उसको भोक, निद्रा, शौचजस्ता दैनिकी पूरा हुँदैनन् पनि । त्यसैले ऊ भाषा प्रयोग गर्छ, यसमा नक्कल गर्छ, स्वाङ पार्छ, चित्त नबुझ्दा गन्गन्देखि खुसीमा गीत पनि गुन्गुन् गर्छ, अर्काको झैँ गीतमा लय हाल्छ, नाच्छ, नाचको भावभङ्गिमा देखाउँछ । प्राथमिकदेखि माध्यमिक कक्षासम्म यो चली राख्छ । यो सिकारुको भाषा विकास हो । ज्ञानमा उखानटुक्का र गाउँखाने कथाहरू मिसिंदै जान्छन् । यी समस्त सीप र ज्ञान उसको आफ्नै संस्कृतिमा अडिएको हुन्छ ।


भाषिक क्षमताले नौला कुराको इच्छा पनि सँगसँगै जताउँछ, जस्तो उसले खाँदा, सुत्ने वा बिसन्चो बेलामा कथा सुन्न चाहन्छ । यसको अर्को अर्थ उसमा सुन्ने र ध्यानकेन्द्रित हुुने क्षमतामा क्रमिक विकास हो । त्यसैले प्रारम्भमा कथा उसैका वरिपरि भएका विषयवस्तु मिलाएर आपैँm कथेर भन्न सक्नु बढी उपयोगी हुन्छ । सुनेको विषयवस्तु उसले के कति बुझ्यो, सोध्दा उसकै लवजमा कति फिर्ता गर्न सक्छ, यो उसको परीक्षा बन्न सक्छ । एक सयमा पाँच मात्र पनि उसले सुनेको कुरा फिर्ता गर्न सक्यो भने यसलाई उत्साहबद्र्घक ठान्नुपर्छ । उसको सम्झना तिखार्ने र भाषासिकाइको क्रम यही हो ।


सुन्ने र बोल्ने संयोग एकपछि अर्को आउँदै जाने कार्य हो । यो जति चाँँडो आउँछ, त्यो बोलीमा सीप हो । यी सबैको फेरि अर्थ हो— शिशु अहिलेसम्म घरपरिवारको जतन र स्याहारमा छ । अत: शिशुको पहिलो भाषाशाला उसको घर हो । उसले सुन्छ, त्यही नक्कल गर्छ र सिक्छ । त्यस्तै देखासिकी भन्ने शब्दको उल्लेख गर्दा यो देख्ने (हेर्ने पनि) र सोहीबमोजिम सिक्ने हो । उसले हेर्छ वा देख्छ र सिक्छ, अनि त्यही दोहोर्‍याउँछ र त्यो उसको बानी बन्छ । वर्तमानमा विद्युतीय उपकरण (टीभी, कम्प्युटर, आइप्याड, मोबाइल आदि) छुट्ट्याउन नमिल्ने र छिमल्न नसक्ने भएको छ । भनौँ, हामी यसलाई किन्छौँ र यथार्थमा ‘गुगल’ का दासजत्तिकै बन्छौँ । यसले हामीलाईआफ्नो समय एकातिर बेच्छ भने अर्कातिर यो हाम्रो टाँसो लागेको हुन्छ । जागा अवस्थामा यो ५/१० मिनेट पनि आफूबाट टाढा रहे छटपटी हुन्छ र चैन गुुमेको लाग्छ । शिशुमा यसले अझ गहिरो छाप छोडेको छ । कति पटक के पनि देखिएको छ भने यो उपकरण उसका हात वा आँखाअघि तेर्सिएकै हुनुपर्छ । ऊ यसैमा केन्द्रित हुन्छ र एकोहोरिन्छ । अझ कामकाजी आमाहरू उसलाई यसैमा अलमलिन छाड्छन् र सुसेधन्दा भ्याउन खोज्छन् । तर, उदेकलाग्दो त के भने बालकले यसबाट पनि केही न केही सिकेकै हुन्छ । चार वर्ष छोएको शिशुले यसरी सिक्न पनि सक्छ । उसले जन्मदिनलाई ‘ह्यापी बर्थ डे’, अनि माग्छ ‘सप्र्राइज गिफ्ट’ ।

विद्युतीय प्रविधिलाई अहिले दैनिकीबाट गिंडेर झिक्न सकिंदैन । बरु यसको उपयोगले भाषामा चाँडो फड्को मार्न सिकाउँछ । यो माध्यमले कपुरी क, आँखे ख, गाईगोडे ग आदि साउँअक्षर गीतिलयमा झन् छिटो सिकाउन सकिन्छ । बिलकन्ने, कान्नानी, बाइमात्रे आदि शब्दहरूले क्रमश: अ, आ, इ र यसैगरी अगाडि अ: सम्मका स्वरवर्णहरू बुझिन्छ । यसै क्रममा शिशुले अन्जानमै सरल बालबोलीका पद्य सिलोक हालेर घोकी सक्छ । (जस्तै— सानो–सानो घोर्ले पर्खालबाट ओर्ले...। सासू भन्छे बुहारी π बुहारी भन्छे ज्यू π सिङ्माङ्मा राखेको कसले खायो घ्यू ? आदि) ।


बोल्ने र सुन्ने कर्ममा अरू विषयज्ञानसमेत थप्दै लैजान सकिन्छ । यसमा अंक गिन्ती शिशुले ख्यालख्यालमै सिक्तै जान्छ । उदाहरणमा— एक लौरो टेक्, दुई नानी बुुई, तीन छेपारो छिन्, आदि । आज क्यालकुलेटरबिना पनि चलनका साधारण जोड, घटाउ, गुणन, भागफल र किनमेल गर्दा प्रतिशतमा पाइने छुट कति जना मुखैले हिसाब गर्न सक्नेमा पर्छन् । अहिलेकालका विद्यार्थीलाई कुनै निश्चित सङख्या कति हो भन्यो भने अक्मकिन्छन् र अङ्ग्रेजीमा कति हो भनेर सोधिहाल्छन् ।


वरिपरिका चीज वस्तु वा पशुपन्छीमा शिशुले उत्तिकै चाख राख्छ । हरेक पटक ‘किन ?’ भन्ने प्रश्न उसको मुखैमा झुन्डेको हुन्छ । यस्तै ‘काग’ लाई त्यो ‘काग’ हो भनेर उसले एक पटक मात्र सुनेर चित्त बुझाउँदैन । त्यो के ? भनेर दसौँ पटक सोधिराख्छ । यस्तो प्रश्नको पेटारोमा चित्त बुझाउन सक्नु अभिभावकको जिम्मा हो । यो उसको सामाजिक, सांसारिक ज्ञानबारे उत्सुकता पनि हो ।


यसैले साउँअक्षर र अंक चिनाउनुअघि मान्छे, जनावर, रूख, पात, हाँगा, चराचुरुंगी, किताब, कलम, मेच, गाडी, खाद्यसामग्री (चामल, भात, चिया आदि) थरीथरीका चित्र चिनाउनुपर्छ । सही ज्ञान बढाउँदै लैजान झुक्याएर सोध्ने वा बिरालो देखाएर कुक्कुर भन्ने अठ्याङ् पार्न सकिन्छ । ज्ञान थपिंदै जाँदा पछिपछि पुस्तकको पाना शिशु आपैंmले पल्टाएर समेत कुन पानामा के छ र कतिवटा छ, हामीलाई चिनाउन सक्ने भइसक्छ । हुन त यतिखेरसम्म अक्षर वा अंक लेख्न सुरु गरेको हुँदैन तर धेरै मात्रामा ठम्याइसकेको हुुन्छ । पढ्नु भनेको सजिलो छैन । पढ्न सक्नु र दोहोर्‍याई तेहेर्‍याई पढ्नु भाषाको तेस्रो सीप हो ।
खण्डित वा आधा अक्षर र यीबाट बनेका जटिल संयुक्ताक्षर ज्ञानमा लामो अवधि जान सक्छ । त्यसैले लेख्न होइन, यी सबै देखाएर चिनाउने र चिन्ने बनाउनुपर्छ । मन्टेसरी र किन्डरगार्टेनले यस्ता विशेष वर्णमा विचार पुुर्‍याउनु उपयुक्त छ । विद्यालयको कुशलता पनि यही हो । गृहकार्यको ढाक्रेडोको पिठ्युँमा थोपरेर न शिशु, न अभिभावक कसैलाई राहत मिल्दैन । बरु यसले शिशुलाई पढ्ने होइन, पढ्दै नपढ्नेतिर घँच्याड्न र जिराहा बनाउन सक्छ ।

लेख्ने चौथो सीप हो र यो सबभन्दा पछि आउँछ । यो चौथो क्रममा हुने सीप हो र सट्टामा पहिले खाली पाटी वा पानामा कोर्न लाउने हो । जे मन लाग्छ, शिशुले कोर्दै जाओस् † यसको तात्पर्य कलम वा पेन्सिल समात्न सिकाउनु हो । यसपछि रेखाचित्रमा रङ्लाउने पेन्सिल दिएर रङ भर्न लाउँदै गर्नुपर्छ । अब क्रमश: अंक, अक्षरहरू उसका नजरमा चित्रसरह आउँछन् । अक्षरमा (माथि लाउने–) डिको, मात्रामा कान्नानी, ह्रस्व, दीर्घ, एकलख, दबासविन्दुजस्ता पहिले नै सिकाएर स्वरवर्णको ज्ञान दिने र त्यसपछि व्यञ्जनवर्ण सिकायो भने शिशुका मगजमा छर्लंग हुन थाल्छ । यस्ताका चित्र लेखाएर उसमा नयाँ ज्ञान लिन सजिलो पार्नुु हो । बानी परेपछि अब अक्षर, अंकहरू कोर्न, लेख्न लाउनुपर्छ ।


यी कुराबाट शिशुुले लेख्न सुरु गर्ने सही उमेर के हो ? भन्ने प्रश्न पनि उठ्न सक्छ । मेरो अनुभवमा पाँच वर्ष नाघ्न लागेको शिशुले आफ्नै रौस र हौसलाले एकै दिनमा गिन्तीका तीसदेखि एक सयका अंक र सोही दिन दुईको दुनोट कण्ठ पार्न सकेको पाएको छु । अर्थात् यस्तो उमेरअघि लेख्न सिक्ने कार्य उति फलदायी नहुन सक्छ । मजबुनमा, लेख्ने भनेको पहिले राम्ररी कलम समात्न सिकाउने हो र माथि भनेजस्ता नानाथरी चित्र कोर्न लाउने हो । लेख्ने कार्य बोल्न, सुन्न र अक्षर–शब्दहरू राम्ररी चिनेपछि गरायो भने शिशु मनैदेखि सिकौँको भावनामा लाग्छ र जाँगरिलो बन्छ, अनि उसलाई लेख्न सजिलो र हलुका हुन्छ । पूर्वप्राथमिक पाठशालाको सिकारुका लागि लक्ष्य यही हो । भाषा सीपमा यो बढी उपयुक्त मान्न सकिन्छ ।


प्रकाशित : माघ २६, २०७५ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT