अश्रुमाली अंक

कान्तिपुर संवाददाता

काठमाडौँ — शाररदा मासिकले भर्खरै विनोद अश्रुमालीका नयाँ कविता नाउँबाट अश्रुमालीका ५५ थान कविताको एउटा विशेषांक निकालेको छ ।

उनका कवितामा काव्यिक अनुभूति र काव्य चेतनाका लयात्मक आवेग पाउन सकिन्छ । उनका कवितामा माया, प्रेम, वियोग, दायित्वबोध आदिबारे सूक्ष्म काव्यिक दृष्टिकोण प्रस्तुत छ ।

जागिरे नामका विनोदकुमार क्षत्री अर्थात् विनोद अश्रुमाली आफ्ना कुनै कवितामा जीवनको एक्लोपन अनुभूति पनि उतार्छन् । उनको काव्यशिल्पलाई नजिकबाट हेर्दा उनी वस्तुत सामाजिक यथार्थलाई आधार बनाएर कविता मार्फत मनोविनोदपूर्ण व्यङ्ग्य पस्कन सफल कवि हुन् । अश्रुमालीका प्राय: सबै कविता मार्मिक र हृदयस्पर्शी छन् । हिमालचुली मुन्तिर, खोइ त ?, जुत्ता र मन्त्री, मान्छे खाने देशको कथा, घर, सहर र देश, दश मनको एकमन : देशका लागि, सभ्यताका गुफाभित्र, एउटा मान्छेको खोजी, भरियाको नालेबेली, यो पहाडजस्ता कविताहरू यस श्रेणीमा पर्छन् । तेस्रो मान्छेको संकट भने वर्गीय चेतनामा आधारित कविता हो । कविले तारतम्यको भाव सिर्जना गरेर कहींकतै कवितालाई पढिरहूँजस्तो बनाएका छन् । जनता र सरकार कवितामा उनी भन्छन्—


सरकारको सय दाउ
जनताको एक दाउ
बजार भाउ ।


कवि अश्रुमालीका कवितामा पाइने शाब्दिक चमत्कारबाट एउटा छुट्टै काव्यिक आनन्दको अनुभूति हुन्छ । उनका कविता अमूर्त छैनन्, ती सरल र सुन्दर छन् । तिनमा युगबोध, सामाजिक मूल्य विघटनको चेतना, मानवीय समवेदना, व्यङ्ग्य, कारुणिक उच्छ्वास, स्वपीडा र चिन्ताको उच्चस्तरको प्रस्तुति पाइन्छ । उनले आफ्ना कवितामा सुन्दर प्रतीक र विम्बहरूको प्रयोग उत्कृष्ट ढंगले गरेका छन् ।

—योगेन्द्र तिमिल्सिना

प्रकाशित : माघ २६, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आखिर के छ वेदमा ?

म्याक्समुलरले भनेका छन्– ‘यस पृथ्वीमा वेदजति प्राचीन ग्रन्थ कुनै छैन । पर्वत र नदीहरू रहिरहेसम्म वेदको महिमा पनि रहिरहनेछ ।’
प्रदीप खतिवडा

काठमाडौँ — बुझाइ अनेक छन्– पुरातन शब्दहरूको छिचोल्नै नसकिने चारकोसे झाडी ।

धमिराले धुल्याइसकेका प्राचीन पानाहरूबाट चिहाइरहेको अन्धविश्वास । पूजापाठमा भट्टिने निरस मन्त्रहरू । जातीय अनि लैङ्गिक विभेदको स्रोत । समाजविकासको बाधक †


केही मानवशास्त्रीले हिन्दू धर्मव्यवस्थामा चलेकैले नेपाली समाज ‘पछि परेको’ लख काटे । यसै भनेर डोरबहादुर विष्ट ‘महान्’ बने । यो बुझाइ फगत अनुमान होला कि गहिरो अनुसन्धानपछिको निष्कर्ष ? विकृत अनि कमजोर चरित्रहरूमा टेकेर समग्र शास्त्रीय मान्यताहरूलाई टोकसिरहनु कत्तिको न्यायोचित ? विद्वान्हरूको यो कित्ताले वेदमा खोट मात्र देख्छ । दिमागमा ताला कसैले ठोकिदिन सक्दैन । सोच्दैमा कानुन पनि लाग्दैन । तर सही सोचे नै सही निष्कर्षमा पुग्न सकिन्छ । सोचेरभन्दा पढेर जानेको ज्ञान पक्का हुन्छ ।


एउटा अर्को कित्ता छ जो वेदमा कुनै खोट देख्दैन । यसको आलोचना सुन्नसम्म चाहँदैन । पूर्वीय मात्र होइन, पाश्चात्य विद्वान्समेत वेदका प्रशंसक छन् । महत्ता गाएका छन् । म्याक्समुलरले भनेका छन्– ‘यस पृथ्वीमा वेदजति प्राचीन ग्रन्थ कुनै छैन । पर्वत र नदीहरू रहिरहेसम्म वेदको महिमा पनि रहिरहनेछ ।’धर्मभीरुहरू वेदलाई ईश्वर ठान्छन् । ज्ञानीहरू यसलाई ज्ञान भन्छन् । अनि विश्लेषकहरू जीवन–जगत् र सृष्टि बुझाउने सबैभन्दा उन्नत दर्शन मान्छन् । उनीहरूका बुझाइमा विज्ञानले जति नै फड्को मारोस्, एक दिन नासिएरै सकिन्छ । अनन्त सुख दिने त ज्ञानले नै हो ।


कसका दृष्टिकोण सही होलान् ? डोरबहादुर कि म्याक्समुलर ? विज्ञापन गर्न सके विषसमेत बेच्ने छुट छ यहाँ । हरेक ज्ञानीका आआफ्नै स्वार्थ र मिसन छन् । आकर्षक तर प्रायोजित तर्कका चक्रव्यूह थापेर बसेका छन् उनीहरू । झ्वाट्टै पसिहाल्दा फसिने पो हो कि † त्योभन्दा त आफैंले पढ्नु बेस । आफैंले जाने तत्काल छुट्टिइहाल्छ– दूधका दूध, पानीका पानी । तर पढ्ने पो कसरी ? एक त संस्कृत, त्यो पनि वैदिक † डा. तुलसी भट्टराई र उद्धवदेव उपाध्यायले वेद नेपाली भाषामा अनुवाद गरेका छन् । चारै वेदका मुख्यमुख्य ऋचा टिपेर छरितो कृति तयार पारेका छन् । ‘चार वेद’ नामक पुस्तकमा ऋक्, यजु:, साम र अथर्ववेदको सार समेटिएको छ ।


अनुवादकद्वयले प्रत्येक ऋचाको अनुवादसहित तिनको बुझिने व्याख्या गरेका छन् । ती व्याख्यालाई सकेसम्म समयसापेक्ष बनाउने प्रयास देखिन्छ । उनीहरू ठान्दैनन्, यो एउटै पुस्तक वेदलाई सम्पूर्ण रूपमा बुझ्न पर्याप्त छ । यसलाई पढेर पाठकमा मूल कृतिप्रति रुचि जागोस्, यत्ति सदाशय छ । पुस्तकमा साहित्य–परम्पराकै अगुवा भनिएको छ— वैदिक साहित्यलाई । यसभन्दा प्राचीन साहित्य दोस्रो कसैले दाबी गर्न सकेको पनि छैन । न त रचनाकालकै अनुमान गर्न सकेको छ । लिपि आविष्कार हुनुभन्दा अघिदेखि थियो वेद । हजारौं वर्षसम्म यो श्रुतिपरम्परामै बाँचिरहयो । सुरुमा यसलाई ऋषिहरूले दिव्य तरङ्गबाट अनुभूत गरेको ठानिन्छ । उनीहरूले नै वाणीको रूप दिएर प्रसारित गरे । भनिएकै छ— ऋषयो मन्त्र द्रष्टार: । पुराण, उपनिषद् यसैबाट जन्मिए ।


वेदवेत्ताहरूका भनाइमा ज्ञान, कर्म, उपासना र विज्ञान चार वेदका विषय हुन् । यिनलाई धर्म, अर्थ, काम, मोक्षसँग पनि दाँजिएको छ । वेदमा सनातन समाजका हजारौं वर्षदेखिका संस्कार, चरित्र र आचरण सुरक्षित छन् । सृष्टि–उत्पत्तिसम्मका विषय किंवदन्तीमै भए पनि बाँचिरहेका छन् । संस्कृतको विद् धातुबाट बनेको वेदको शाब्दिक अर्थ जान्नु हो– जीवन, जगत् र सृष्टि जान्नु । पुस्तक दुई भागमा विभक्त छ । पहिलोमा चार वेदबाट छानिएका सूक्त एवं मन्त्र सङ्गृहीत छन् । दोस्रोमा ईश्वरभक्तिसम्बन्धी मन्त्रहरूको शब्दार्थ र भावार्थ । ऋग्वेदमा १०५५२ मन्त्र छन् । सामवेदमा १९७५, यजुर्वेदमा ३७५०, अथर्ववेदमा ७२६० मन्त्र । तर पुस्तकमा यी सबै छैनन् । प्रत्येक वेदका १०८ वटाका दरले प्रमुख ४३२ मन्त्र समेटिएका छन् ।
कर्मप्रधान ग्रन्थ हो, यजुर्वेद । यसले यज्ञसम्बन्धी परिचर्चा गर्दै मान्छेलाई उत्तम कर्मतर्फ जागृत गराउँछ । कर्मका माध्यमबाट सक्रिय र सार्थक जीवन बाँच्न प्रेरित गर्छ । एउटा मन्त्र छ– अस्थूरि णौ गार्हपत्यानि सन्तु शतं हिमा: । अर्थात्, हामी दुई पतिपत्नी गृहस्थसम्बन्धी कर्तव्य सय वर्षसम्म पूरा गर्न सकौं ।


यसले पतिपत्नीबीच विभेद होइन, समान भूमिकाको परिकल्पना गरेको छ । समान दायित्व र कर्तव्यबाट मात्रै गृहस्थी चल्न सक्ने औंल्याएको छ । अनि पहिलेका मान्छे हजार वर्ष बाँच्थे भनी सुनिँदै आएका कथा यहाँ आएर उडन्ते साबित हुन पुग्छन् । किनकि मन्त्रमै सयवर्षे आयु कामना गरिएको छ । वेदले यथार्थ बोलेको छ । अपव्याख्या त पछिकाले गरे ।सङ्गीतप्रधान मानिन्छ सामवेद । यसमा गायनयोग्य ऋचाहरूमार्फत सत्कामना गरिएको छ । पूर्वीय सङ्गीतको जननी यही वेद हो । सामवेद गायनमा सातै सुर प्रयोग हुन्छ । अहिले सुनिने जति पनि गीतसङ्गीत छन्, यसैका आधुनिक संस्करण हुन् । भलै यिनले बोक्ने सन्देश फरक होला । यो मन्त्रले चाहिँ सदाचारको सन्देश बोकेको छ—मा ते रसस्य मत्सत द्वयाविन: । अर्थात्, दोहोर आचरण गर्ने व्यक्ति आनन्दित हुन सक्दैन । मनमा एकथोक, व्यवहार अर्कै हुनेको भनाइ र गराइबीच तादात्म्य मिल्दैन । त्यस्ताले सुख पनि पाउँदैन । तसर्थ मन, वचन र कर्ममा एकरूपता ल्याउनुपर्छ ।


राजा ऋतेन विवावृधे । यो मन्त्रले सन्मार्गमा हिँड्ने अनि न्याय र सत्यलाई कर्तव्य मान्ने शासक (नेता) मात्र लोकप्रिय हुने औंल्याएको छ । कल्याण र प्रेम ऋग्वेदका लक्षण हुन् । त्यसका लागि देवताहरूका गुण वर्णन गरिएका छन्, कविता छन्दमा ।य शर्धते नानुददाति शृध्यां । यो मन्त्रले अहङ्कार त्याग्न प्रेरित गर्छ । अहङ्कारलाई मान्छेको शत्रु भन्छ । अभिमानीले केही पाएन भने उसको अभिमान स्वत: नष्ट हुने बताउँछ ।अनुवादकद्वयले अर्को मन्त्रलाई पनि समयसापेक्ष ठानेका छन्– अधूर्षत स्वयमेते वचोभि: र्ऋजूयते वृजिनानि ब्रुवन्त: । यसले सत्य पथमा हिँड्नेहरूसँग कुटिल व्यवहार नगर्न सचेत गराएको छ । सज्जनसँग दुर्वाच्य बोल्नेहरू आफैं नास हुने उल्लेख गरेको छ ।


अर्थववेदले कर्ममा एकाग्र र निश्चल हुन सिकाउँछ । मनमा दुर्विचार उत्पन्न हुन दिँदैन । मनोविकार हटाएर उत्तम पथप्रदर्शन गरिदिन्छ । यसमा खास गरी शारीरिक अङ्ग, रोगहरू, राष्ट्रधर्म, समाजव्यवस्था, अध्यात्मवाद एवं प्रकृतिको वर्णन पाइन्छ ।
शतहस्त समाहार सहस्त्रहस्त सं किर ।कृतस्य कार्यस्य चहे स्फातिं समावह ।।


यो मन्त्रले मानिसलाई कर्मशील अनि उदार हुन सिकाउँछ । भन्छ– तिमी सय हातले धन आर्जन गर तर हजार हातले दान गर । बल्ल कर्म र कर्तव्यमा उन्नति गर्न सक्छौ । यसले पुँजी ‘फ्रिज’ हुन नहुने, परिचालन हुनुपर्ने अर्थशास्त्रीय मान्यतातर्फसमेत सङ्केत गर्छ ।वेदका मूल ग्रन्थहरूको भाषा जटिल मानिन्छ । तर ‘चार वेद’को भाषा असाध्यै सरल छ । जे भन्न खोजिएको हो, सोझै बुझिन्छ ।मथिङ्गल घुमाइरहन पर्दैन । प्राचीन संस्कृति र मान्यता ओझेल पर्दै गएका बेला यसका पाठक सीमित हुन सक्छन् । ती पुस्तक पसल त पस्छन् तरह्वात्तै होइन, एक–दुई जना गरेर । यसले फरक पनि पार्दैन । किनकि ‘चार वेद’ क्षणिक होइन, दीर्घकालिक महत्त्वको पुस्तक हो । परिष्कृत शैली हुँदाहुँदै कतै–कतै व्याकरणिक अशुद्धि देखिन्छन् । हिज्जे बिग्रिएको छ । तर त्यो अनुवादकद्वयको अज्ञानभन्दा पनि असावधानी प्रतीत हुन्छ ।
– प्रदीप खतिवडा

प्रकाशित : माघ २६, २०७५ १२:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT