कतारी फुटबलको खुसी

अब कतारको ध्यान मोडिनेछ, कोपा अमेरिकामा । कोपा अमेरिका भनेको दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता । ब्राजिलमा हुने यसपल्टको प्रतियोगितामा पाहुना टिमका रूपमा कतारले पनि निम्तो पाएको छ ।
हिमेश

काठमाडौँ — दोहाको सेराटन पार्कमा बसेर नेपालका ४२ वर्षीय अर्जुनले एसियनकपको फाइनल हेरे ।

कतारले जापानलाई फाइनलमा ३–१ ले के हरायो, सबैभन्दा खुसी हुनेमा एक तिनै अर्जुन थिए । अलजजिराले आफ्नो वेबसाइटमा उनलाई कतारी झन्डा हल्लाएर खुसी मनाइरहेको तस्बिर खुबै महत्त्वले दिएको छ । त्यही अलजजिरालाई मान्ने हो भने कतार एसियाली फुटबल च्याम्पियन हुँदा असाध्यै खुसी हुनेमा खाटी कतारी मात्र थिएनन्, त्यहाँ बस्ने र काम गर्ने अरू सबै पनि थिए ।


टिम दोहा फर्कंदा खेलाडीका स्वागत गर्नेमा त्यहाँका राजा र उनको पूरा परिवार नै थियो । आखिरमा फुटबलले कतारलाई ठूलै खुसी दिएको थियो । शत्रु देश संयुक्त अरब इमिरेट्समा भएको १७ औं संस्करणको एसियनकपमा सबै खाले अनुमानलाई गलत सावित गर्दै कतार च्याम्पियन भयो । कतार फुटबलमा यति बलियो भइसकेको छ भनेर कमैले अनुमान गरेका थिए । जति बेला कतार च्याम्पियन भयो, सबैले माने, यो देश एसियाली च्याम्पियन हुन वास्तवमै हकदार छ ।


खासमा केही सही कारणका लागि कतार समाचारमा छाएको पनि देखियो । नत्र कतारबारे राम्रा कुरा कहाँ सुन्न पाइन्थ्यो र ? पछिल्लो समय तेल बेचेर अकुत कमाइरहेको कतारसँग कुनै न कुनै रूपमा फुटबल जोडिएको छ । कतार भनेपछि फुटबल त्यसै आउने शब्द भएको छ । नहोस् पनि किन र, सन् २०२२ को विश्वकप गर्दै छ, कतार । कतारले विश्वकप आयोजना गर्ने अधिकार जितेयता पश्चिमेली मिडिया त लगातार उसकै पछाडि छ, छिसिक्क केही नराम्रो भयो कि ठूलठूलो समाचार बनाउन ।


अझ यसमा बेलायती मिडिया नै अगाडि छ र उसलाई मान्ने हो भने कतारले आर्थिक चलखेल गरेर नै विश्वकप गर्ने अधिकार किनेको हो । अझै पनि यी पश्चिमेली मिडिया भन्छ, कतारलाई विश्वकप गर्न दिनुहुन्न । यसका लागि उनीहरू कारण खोजेको खोज्यै छन् । फेरि कतार छिमेकी केही देशको नाकाबन्दीबाट पनि गुज्रिरहेको छ । र, त्यसको नेतृत्व गरिरहेका दुई प्रमुख देश हुन्, तिनै यूएई र साउदी अरेबिया । दुई वर्ष भयो, नाकाबन्दी गरेको ।


कतारमाथि उनीहरूका धेरै आरोप छन्, यस्तो खराब गरेको, उस्तो खराब गरेको भनेर । त्यसमध्ये एक कारण त टेलिभिजन संस्था अलजजिरा पनि हो । खाडी देशका परम्परागत शक्तिको तुलनामा कतारले पछिल्लो समय कम अवधिमै राम्रै प्रगति गरेको छ । कतारी प्रभाव पूरा विश्वमा देख्न सकिन्छ । त्यसैले उसको प्रगति हेर्न नसकेर नाकाबन्दी लगायो भन्ने पनि छन् । कारण जेसुकै होस्, फुटबलकै कारण ‘अन्तिम हाँसो’को अवसर कतारले नै पाएको छ ।


अरू बेला भए, कोही कतारीले यूएई छिर्छु भनेर नसोचे हुन्थ्यो । तर, आपंैmले एसियन कप आयोजना गरेपछि यूएईसामु पूरा कतारी टिमलाई स्वागत गर्नुबाहेक अर्को विकल्प पनि थिएन । लिग चरणमा कतार त्यो समूहमा परेको थियो, जहाँ साउदी अरेबिया थियो । त्यस चरणमा कतारले साउदी टिमलाई त हरायो नै, समूह विजेता नै बन्यो । त्यही चरणमा कतारले उत्तर कोरियालाई हराउँदा दर्शकको संख्या पाँच सयले नाघेको थिएन ।


साउदी अरेबियाविरुद्धको खेलमा पनि कतारको राष्ट्रिय गीत बज्दा खालि होहल्ला मात्र गरियो । कतारले त्यसयता अन्तिम १६ मा इराकलाई हरायो भने त्यसपछि दक्षिण कोरियालाई । सेमिफाइनलमा त उसको प्रतिद्वन्द्वी अरू होइन, यूएई नै पर्‍यो । त्यसमा पनि कतार सजिलै ४–० ले विजयी रह्यो । त्यो खेल हेर्न कतारका कोही पनि समर्थक रंगशाला पुगेका थिएनन, किनभने त्यो खेल हेर्न पूर्वसर्त थियो, यूएईको नागरिकता । अरूले त टिकटसम्म पनि नपाउने ।


फाइनलको स्कोर त अब सबैलाई थाहा नै छ, जापानमाथि कतारी जित एकपक्षीय जस्तै रह्यो । प्रतियोगितामा कतार नै त्यस्तो एक मात्र टिम रह्यो, जसको प्रदर्शन समान रूपमा अब्बल दर्जाको रह्यो । त्यसैले त कतार प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने टिम मात्र रहेन, सबैभन्दा कम गोल गर्ने टिम पनि रह्यो । कतारका एबडेलकरिम हसन एसियाली फुटबलको वर्ष खेलाडी हुन् । उनी प्रतियोगितामा छाए नै । अनि अलमोएज अलीले गोल्डेन बुट अवार्ड जिते ।

कतारको यो सफलतालाई स्पेनको बार्सिलोना र त्यसको एकेडेमी सोचलाई तुलना गरेर पनि हेरिन थालेको छ । एक किसिमले भन्ने हो भने कतारको यो सफलताको आधार रातारात तयार भएको होइन, यसका लागि उसले धेरै मिहिनेत गरेको छ । अझ भनौं, कतार एसियाली च्याम्पियन भएको एउटा कारण उसको ‘ग्रास रुट’ स्तरबाट सुरु भएको लगानी हो । बार्सिलोनाको एकेडेमी हो, ला मासिया । यहाँबाट एकसेएक खेलाडी निस्केका छन् ।


त्यसमध्ये एक जना त लियोनल मेसी नै हो । त्यही ला मासियाको सिको गर्दै कतारले केही वर्षअगाडि आफ्नै फुटबल एकेडेमी खोलेको थियो । स्थापनको एक दशकभन्दा बढी समयपछि यसले अन्तत: आफूमाथि खन्याएको लाखौं डलरको फाइदा देखाउन थालेको छ । युरोपका ठूलठूला क्लबका एकेडेमीभन्दा कम छैन, कतारको एस्पायर एकेडेमी । यो एकेडेमीमा विश्वकै नामी प्रशिक्षक भित्र्याउन कतारले कुनै कन्ज्युसाइँ गरेन, लाखौं–करोडौं डलर खर्च गरेको छ ।


अहिलेको कतारी टिमका मुख्य प्रशिक्षक फेलिक्स सान्चेजलाई त्यही एकेडेमीका लागि भनेर ल्याइएका हुन् । उनकै नेतृत्वमा कतारले सबैभन्दा सन् २०१४ मा यू–१९ एसियाकप जित्यो । गत वर्ष मात्र कतार एसियाकप यू–२३ को सेमिफाइनल पनि पुगेको थियो । लगभग अहिलेको कतारी टिमले सँगसँगै खेल्न थालेको पनि केही नभए पनि सात वर्ष भइसकेको छ । त्यसैले एक खेलाडीलाई अर्को खेलाडीबारे सबै जानकारी छ, कसले कता कुन बेला पास दिन्छ भनेर पनि ।


सान्चेज आपंैm बार्सिलोनाकै उत्पादनभन्दा हुन् । उनी ला मासियामा प्रशिक्षक रहिसकेका छन् । उनलाई बार्सिलोनामा छँदा युथ प्रशिक्षकको हैसियत दिइएको थियो । उनी सन् २००६ मा कतार गए र त्यसयता त्यहीं लगातार काम गरिरहेका छन् । केहीले उनलाई पछिल्लो समय पेप ग्वार्डिओलासँग पनि तुलना गरेका छन् । अहिले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी हेरिरहेका प्रशिक्षक ग्वार्डिओला सुरुमा बार्सिलोनाकै प्रशिक्षक हुन् ।


उनी त कुनै समय बार्सिलोनाकै खेलाडीसमेत थिए । बार्सिलोनाको ‘फुटबल लेगेसी’ मा उनी महत्त्वपूर्ण पात्र हुन् । डच लेजेन्ड योहान क्रुफसँगै बार्सिलोनामा हुर्किन पाएका ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले आफ्नो विशिष्ट शैलीमा फुटबल खेलेर एकपछि अर्को उपाधि जितेको थियो । अब बार्सिलोनामा पुग्यो भनेर ग्वार्डिओला नयाँ चुनौतीका लागि सुरुमा बायर्न म्युनिख गए, अहिले सिटीमा छन् । यी सान्चेज ग्वार्डिओलाकै पारा र शैलीका छन् भनिएको छ ।


अब कतारको ध्यान मोडिनेछ, कोपा अमेरिकामा । कोपा अमेरिका भनेको दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता । ब्राजिलमा हुने यसपल्टको प्रतियोगितामा पाहुना टिमका रूपमा कतारले पनि निम्तो पाएको छ । त्यस प्रतियोगितामा कतारको प्रदर्शनबारे अहिल्यै अनुमान गर्न सकिन्न । सम्भवत: उसलाई नकआउट चरण प्रवेश गर्न पनि गाह्रो हुन सक्नेछ । तर, एउटा अर्को सम्भावना पनि छ, कतारसामु एकैपल्ट एसिया मात्र होइन, दक्षिण अमेरिकाकै च्याम्पियन हुने अवसर पनि हुनेछ ।


अर्थात् कतार ब्राजिल, अर्जेन्टिना र उरुग्वेजस्तो पूर्वविश्वकप विजेता टिम सहभागी हुने प्रतियोगिताको च्याम्पियन । के यो सम्भव होला त ? तिनै स्टार खेलाडी अलीका अनुसार सायद यो अलि धेरै हुन्छ कि ? तर, एउटा तथ्य के हो भने कतारका लागि ब्राजिलमा खेल्नु ठूलो शिक्षा हुनेछ, जसलाई ल्याटिन शिक्षा भने हुन्छ । उनकै शब्दमा विश्वकप पछि सबैभन्दा ठूलो अर्को प्रतियोगिता भनेको कि त युरो हो, होइन भने यही कोपा अमेरिका ।


आउँदो जुन, जुलाईमा हुने कोपा अमेरिकालाई प्राविधिक रूपमा युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताभन्दा पनि उत्कृष्ट हो भन्ने पनि छन् । अलीले सायद ठीकै भनेका छन् । उनकै शब्दमा, ‘जहाँतिर दक्षिण अमेरिका विश्व फुटबलकै सबैभन्दा शक्तिशाली महादेश हो, त्यहीं एसिया एक प्रकारले सबैभन्दा कमजोर । हामी एसियाको प्रतिनिधित्व गरेर ब्राजिलमा खेल्दै छौं । हाम्रा लागि कोपा अमेरिका शिक्षा हुनेछ, विश्वकप खेल्न अगाडिको सबैभन्दा ठूलो शिक्षा ।’
twitter : @himeshratna

प्रकाशित : माघ २६, २०७५ १२:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अश्रुमाली अंक

कान्तिपुर संवाददाता

काठमाडौँ — शाररदा मासिकले भर्खरै विनोद अश्रुमालीका नयाँ कविता नाउँबाट अश्रुमालीका ५५ थान कविताको एउटा विशेषांक निकालेको छ ।

उनका कवितामा काव्यिक अनुभूति र काव्य चेतनाका लयात्मक आवेग पाउन सकिन्छ । उनका कवितामा माया, प्रेम, वियोग, दायित्वबोध आदिबारे सूक्ष्म काव्यिक दृष्टिकोण प्रस्तुत छ ।

जागिरे नामका विनोदकुमार क्षत्री अर्थात् विनोद अश्रुमाली आफ्ना कुनै कवितामा जीवनको एक्लोपन अनुभूति पनि उतार्छन् । उनको काव्यशिल्पलाई नजिकबाट हेर्दा उनी वस्तुत सामाजिक यथार्थलाई आधार बनाएर कविता मार्फत मनोविनोदपूर्ण व्यङ्ग्य पस्कन सफल कवि हुन् । अश्रुमालीका प्राय: सबै कविता मार्मिक र हृदयस्पर्शी छन् । हिमालचुली मुन्तिर, खोइ त ?, जुत्ता र मन्त्री, मान्छे खाने देशको कथा, घर, सहर र देश, दश मनको एकमन : देशका लागि, सभ्यताका गुफाभित्र, एउटा मान्छेको खोजी, भरियाको नालेबेली, यो पहाडजस्ता कविताहरू यस श्रेणीमा पर्छन् । तेस्रो मान्छेको संकट भने वर्गीय चेतनामा आधारित कविता हो । कविले तारतम्यको भाव सिर्जना गरेर कहींकतै कवितालाई पढिरहूँजस्तो बनाएका छन् । जनता र सरकार कवितामा उनी भन्छन्—


सरकारको सय दाउ
जनताको एक दाउ
बजार भाउ ।


कवि अश्रुमालीका कवितामा पाइने शाब्दिक चमत्कारबाट एउटा छुट्टै काव्यिक आनन्दको अनुभूति हुन्छ । उनका कविता अमूर्त छैनन्, ती सरल र सुन्दर छन् । तिनमा युगबोध, सामाजिक मूल्य विघटनको चेतना, मानवीय समवेदना, व्यङ्ग्य, कारुणिक उच्छ्वास, स्वपीडा र चिन्ताको उच्चस्तरको प्रस्तुति पाइन्छ । उनले आफ्ना कवितामा सुन्दर प्रतीक र विम्बहरूको प्रयोग उत्कृष्ट ढंगले गरेका छन् ।

—योगेन्द्र तिमिल्सिना

प्रकाशित : माघ २६, २०७५ १२:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT