हातमा सुनको कचौरा

नेपालमा के छैन ? प्राकृतिक, जैविक, भौगोलिक हरेक दृष्टिले नेपाल परिपूर्ण छ । हाम्रो भूगोल हेर्नोस् त— गर्मीले उखुम पारेका बेला पानी परिदिन्छ । जाडोमा मज्जाले न्यानो घाम लागिदिन्छ, विना हावाहुरी । उत्तरमा विश्वका अग्ला हिमचुलीहरू छन्, वर्षैभरि नीला सुन्दर नदीहरू बहिरन्छ । तैपनि हामी मगन्ते छौं, हातमा छादैछ सुनको कचौरा ।

काठमाडौँ — अस्ट्रेलिया छ महिना बसाइको सुरुमा मेलबर्न सिटीस्थित एउटा नेपाली म:म: रेस्टुरेन्टमा खान बस्दा केही नेपाली युवा भेटिए ।

हातमा सुनको कचौरा

मनमा नमीठा भावनाहरू सल्बलाए, तिनलाई देखेपछि । हुन त तीमध्येकै थिए मेरा दुई सन्तान पनि । यिनीहरू पनि नेपालमा काम पाइएन भनेरै अस्ट्रेलिया उडेका थिए । मैले रोक्न खोजेको थिएँ तर मेरो एकल प्रयास सम्भव भएन ।


ती युवाहरू नजिकै बसिरहेका थिए नेपाली भाषामा मजाले कुराकानी गर्दै । मनमा निकै खसखस लागेर आयो र छोरीसँग सोधें–
‘छोरी † यी बाबुहरूसँग गफ गरे कसो होला ?’
‘पर्खनोस् बुबा † यहाँ नेपालजस्तो होइन । बिनाअनुमति केही कुरामा पनि हस्तक्षेपलाई राम्रो मानिँदैन । म सोध्छु, परिचय गराइदिन्छु अनि गफ गर्नुहोला ।’
‘एक्स्क्युज मी प्लिज † यहाँहरूलाई डिस्टर्ब गर्न चाहेँ मैले । यहाँहरूसँग थोरै समय होला ?’
‘छ नि, भन्नुस् न † के कुरा होला ?’
‘उहाँहरू मेरो बुबा–ममी हुनुहुन्छ, केही दिनअघि नेपालबाट आउनुभएको । यहाँहरू नेपाली भएकाले बुबालाई कुरा गर्न मन लाग्यो रे । हुन्छ नि, अन्यथा त लिनु हुन्न नि ?’
‘हैन हैन, त्यस्तो मान्ने कुरै छैन नि †’
‘‘नमस्ते बुबा †’
‘नमस्ते बाबुहरू † मैले तपाईंहरूको गफमा बाधा पुर्‍याएँ हगि † माफ गर्नुहोस् है । यस मामलामा हामी नेपाली अल्लि बेसोमती छौँ क्यारे हैन ?’
‘हैन बुबा हैन, हामीले त्यस्तो मान्ने कुरा आउँदैन ।’
‘अँ त बाबुहरू † यता नेपालको कुन ठाउँबाट आउनु भएको हो र कति वर्ष भयो होला ?’


‘अँ बुबा † हामी पाँच जनामध्ये मेरो काठमाडौँ, उसको पोखरा, यसको विराटनगर, अनि यसको भैरहवा र अहिले भर्खर उठेर हिँड्नेको चितवन हो । हामी यता आएको पनि कसैको चार वर्ष, कसैको पाँच वर्ष र कसैको सात वर्ष पनि भयो ।’
‘बाबुहरूले देश फर्किने सोच कति वर्षपछिलाई बनाउनुभएको छ त ?’
‘खै बुबा † केही पैसा कमाऊँ । आउँदा त्यतिका पैसा खर्च गरेर आइयो । यतातिर पढाइको फी, खान, बस्न पुर्‍याउनै मुस्किल रहेछ । फेरि पीआर नभएसम्म भिसाका लागि वर्षैपिच्छे डलर तिरिरहनुपर्छ । केही न केही त डलर कमाउनुपर्‍यो नि देश फर्किन त । रित्तै फर्किने कुरा पनि त भएन नि ?’


अर्का एक जनाले अतिकति तीतै कुरा भने– ‘के फर्किनु र बुबा त्यो देशमा । केही छैन त्यहाँ । कति दु:ख गरेर पढियो । आफन्त मान्छे नहुनाले काम पाइएन । नातावाद, कृपावाद र घुसखोरी व्यापक छ । आफन्त मान्छे ठाउँमा नहुनेले पैसा खुवाउन सक्नुपर्‍यो । देश बनाऊँ भन्ने नेता कोही छैनन्, भ्रष्टाचार व्याप्त छ । जनता पनि कोही कांग्रेस छन्, कोही एमाले छन्, कोही माओवादी छन्, कोही राप्रपा छन्, कोही मधेसवादी छन् । नेपाली त कोही छैनन् बुबा नेपालमा । चुनावमा राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे छान्छन् । अनि देश विकासको काम कसरी सम्भव छ र ? आशा मरेरै हो, हामी यतातिर
अड्किएको । यहाँ त बरु काम पाइन्छ सानो, ठूलो जस्तो पनि । काम पाएपछि खान, लाउन पाइन्छ । उता आमाबुबा र अरू परिवारलाई पाल्न सकिएको छ ।’


अर्का एक जनाले भने, ‘हेरौँ बुबा † केही वर्ष । सधैं अर्काको देशमा बस्न त के सकिएला र ? आफूलाई जन्म दिने बुबा–आमाले दु:ख गरेर हुर्काउनु, पढाउनुभयो । चटक्कै बिर्सन त के सकिएला र ? आफन्तहरू सबै उतै छन्, साथीभाइ छन् । अझ हाम्रा चाडपर्वहरू उतै छन् । यतातिर अस्ट्रेलियनहरू क्रिसमस र न्यू इयर आउँदा कस्तो उधुम रमाइलो गर्छन् । खान्छन्, रमाउँछन् । यो बेला हामीलाई कति खल्लो लाग्छ । लाग्छ, संसारमा जेसुकै पनि पाइएला डलर कमाउन सके तर आफ्नो संस्कृति र चाडपर्व डलरले किन्न पाइँदैन ।’
यति कुरा भइसकेपछि युवाहरू उठे र भने, ‘हवस् त बुबा † अहिले हामी लिजर टाइममा खाजा खान आएका । अब हामी आ–आफ्ना काममा फर्कनुपर्छ ।’


‘हुन्छ बाबुहरू † यहाँहरूलाई भेट्न र कुराकानी गर्न पाउँदा निकै खुसी लाग्यो । पछि यस्तै मौका पर्छ कि पर्दैन †’
उनीहरू उठेर गइसकेपछि हाम्रो अर्डरको खाजा म:म: पनि आयो । नेपालीले चलाएको रेस्टुरेन्टमा नेपाली स्वादको म:म: खाँदा नेपालमै बसेर खाएजस्तो लाग्यो । नेपालीहरू जहाँ पुगेका छन्, मिहिनेत गरेरै बाँचेका छन् । नेपालीहरू मिहिनेती र इमानदार हुन्छन् भनेर चिनाएका छन् । नेपालीहरूले केही गर्न नसकेको त नेपालमै हो । भान्छे नै चोर परेपछि परिवारका अरूलाई पनि के जाँगर आओस् र ?
खाजा खाएर ट्रेनमा छोरीको बासस्थान नर्थकोटतिर फर्किंदै गर्दा मनमा धेरै कुराहरू खेले । विशेषत: दोस्रो युवाले भनेको ‘त्यो देशमा केही छैन’ भनेका कुराले मनमा निकै पीडा दिइरह्यो । कसरी भन्न सकेको होला त्यो युवाले आफ्नो जन्मभूमिलाई ‘केही छैन’ भनेर ।


साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्ध पढ्यो होला, त्यसले पनि । नेपालमा के छैन ? प्राकृतिक, जैविक, भौगोलिक हरेक दृष्टिले नेपाल परिपूर्ण छ । संसारमा कुन देशमा पो के हुन्छ र ? तिनै ढुंगा, माटो र पानी त हो जहाँ पनि । अरब मरुभूमिमा शुद्ध पानीका नदी, खोला कहाँ पाउनु ? पानीबिना वनस्पति उमँ्रदैनन्, खेतीपाती हुँदैन, चराचुरुंगीको चिरबिर कहाँ सुन्न पाउनू ? अस्ट्रेलियामै पनि के छ र ? उपचार नगरी माटोमा केही उम्रन्न, गर्मीमा वर्षा हुन्न, खेतीमा सिँचाइ गर्न पानी पाइन्न, जाडोमा हावाहुरीसँगै पानी पर्छ । हाम्रो भूगोल हेर्नोस् त— गर्मीले उखुम पारेका बेला पानी परिदिन्छ । जाडोमा मज्जाले न्यानो घाम लागिदिन्छ, बिनाहावाहुरी । उत्तरमा विश्वका अग्ला हिमचुलीहरू छन्, हिउँदमा हिउँ जम्मा गरेर वर्षैभरि नीला सुन्दर नदीहरू बहिरन्छ । तिनको महिमा कहिले बुझ्ने र हामीले ? हाम्रो उर्बर माटो प्रकृतिले हामीलाई दिएको वरदान हो । अनि उर्बर माटो र अनुकूल हावापानी, नदीहरू अविरल बगाइरहने हाम्रा सर्वोच्च सुन्दर हिमाल हुने हामी नेपालीहरू पनि दु:खी, गरिब र मगन्ते हुने ? कहीँ यो पनि कतै सोच्न सुहाउने कुरा हो ? हाम्रो मगन्ते चिन्तनलाई औँल्याउँदै एकचोटि एक जना चिनियाँ विज्ञले भनेका थिए रे, ‘नेपालीहरू हातमा सुनको कचौरा लिएर मागी हिँड्छन् ।’


हामी गरीब हुनुमा हामीभित्रै ठूलो कमजोरी छ । हामी असल मान्छे बन्नै सकेनौँ कहिल्यै र असल नेता पनि कहिल्यै जन्माउन सकेनौँ । जन्मेकालाई पनि बचाउन सकेनौँ । हामीले जति इमानदार नेता मानेर कुर्चीमा पुर्‍याए पनि तिनको टाउको भैरव अर्यालले भनेझैँ साटिएको साटियै छ । यो केको विडम्बना हो ? भीम मल्लकी श्रीमतीले दिएको श्राप सधैँभर लागिरहन्छ त ? कहिल्यै मेटिँदैन ? कहिलेसम्म विश्वसामु हामी बद्नाम बनिरहने ?

-पूर्णबहादुर अधिकारी

प्रकाशित : माघ २६, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?