विज्ञापनको श्रवण–यात्रा

टीभीको पर्दामा समाचारवाचन गर्नेदेखि ‘ओपिनियन मेकिङ’ सम्म औकात राख्ने कार्यक्रम प्रस्तोता व्यावसायिक उत्पादनको विज्ञापनमा देखिने संयोग सायद नेपालमै मात्र होला ।
किरणकृष्ण श्रेष्ठ

काठमाडौँ — म आफूलाई रेडियो जेनेरेसनको मान्छे भन्छु । सूचना र मनोरञ्जनको माध्यम रेडियो नै थियो ।

रेडियो नेपाल मिडियम वेभ ७९२ किलोहर्ज ।तीस वर्ष अघिसम्मको यो यथार्थ, त्यस बेलाकालाई नोस्टाल्जिक स्मरण, त्यसपछिकालाई पुरानो इतिहास र अहिलेका पोडकास्ट/स्पोटिफाई जेनेरेसनलाई दन्त्यकथाझैं लाग्न सक्छ ।


बिहान ठीक छ बजे शंखनादको साथ— ॐ जय शिव शंकर शम्भो, जय गिरिजाधीश, जयजय गिरिजाधीश— बाट सुरु हुने रेडियो नेपालको प्रसारणमा पुरुषोत्तम सापकोटा, खेमराज केशवशरणहरूको स्वर गुन्जन्थ्यो, ‘त, प्रभु श्री राम भन्नुहुन्छ... ।’


बिहान सात बजे : ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।’ आठ बजे : ‘दिस इस रेडियो नेपाल, द निउस् रेड बाई गौरी केसी ।’ साहित्य संसारमा दाहाल यज्ञनिधिको ‘जदौ’ । पाण्डव सुनवारको विज्ञापन सेवामा ‘वीरगन्जको वेगम ताजमा हवारीको फर्माइसको गीत ।’ ‘बूढी आमै’ लक्ष्मी भुसालको कृषि कार्यक्रम– ‘लौन जेटीए बाबु, यो डाले घाँस कसरी लाउने भन्देऊ न... ए ऽऽऽऽ... हरि शरणम्... †’ वासुदेव मुनालको— ‘आओ मेरा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ... ।’ हिरण्य भोजपुरे सञ्चालित ‘रसरंग कार्यक्रम’ ।


रसरंगले त नेपाली मनोरञ्जन क्षेत्रका कैयौंको चिना नै बदलिदियो । ‘मह’ पूर्वका मदनकृष्ण, हरिवंश— मास्तिरको मास्टरले तलतिरको मास्टरलाई मास्टर नगनेसि भन्दै...कक फाइट खेल्दै आउँथे । राजपाल हाडा, सन्तोष पन्तहरू पनि त्यतै सुनिन्थे ।
शनिबार दिउँसो सुशीला रायमाझी, मदनदासलगायतको आवाजको रेडियो नाटक । शनिबार नै, अंग्रेजी समाचार वाचन गर्दा हरीश चन्द भनेर आउने आवाज अंग्रेजी गीत बजाउँदै माइकल चन्द भएर सुनिन्थे । फुटबलको मौसममा ‘थिम्पु ११ र महेन्द्र पुलिस क्लबबीचको फाइनल खेलको प्रत्यक्ष कमेन्ट्र्री...’


समयसँगै रेडियोले अलि अनौपचारिकता पायो— किरण खरेल र धन लामाको सञ्चालनमा हुने सुन्दर सुशील संगीत कार्यक्रम मार्फत । सुन्दर स्टिलले प्रयोजन गरेको यो कार्यक्रम सम्भवत: नेपाली रेडियोको पहिलो टाइटल स्पोन्सर भएको कार्यक्रम हुनुपर्छ, मेरो स्मरणमा ।त्यो बेला गीत, संगीत, समाचार, कृषि कार्यक्रम, रेडियो नाटक, फुटबल सबै यति रोचक हुन्थे कि भनिसाध्ये छैन । मलाई भने यी सबैको बीच, विज्ञापन सेवामा बज्ने विज्ञापन खुब रमाइलो लाग्थ्यो ।


बाल संगीतजस्तो सुनिने कृष्ण पाउरोटीको विज्ञापन, नेपाली विज्ञापनमध्येकै ‘क्लासिक’ भन्दा हुन्छ ।
भैगो अब खेल्दिन साथी
भोक पनि लग्यो
म त जान्छु खाजा खान्छु
पाउरोटी कृष्ण पाउरोटी
कृष्ण कृष्ण कृष्ण कृष्ण
कृष्ण पाउरोटी ......

त्यसताका रेडियो ‘ट्रान्जिस्टर’ त घरघरमा थिए जस मार्फत रेडियो नेपालले दिएको खुराक सुनी मनोरञ्जन गर्न पाइन्थ्यो । आफ्नो मुडअनुसारको गीत सुन्ने यन्त्र पनि थिए तर अलि दुर्लभ । रेडियो र क्यासेट दुवै बज्ने ‘टु इन वान’ को पहुँच भने नेसनल पानासोनिकको आगमनले बढाएको हो । त्यसताका विदेश पढ्न जाने विद्यार्थीले नेपाली गीत सुन्न रेडियो नेपालको फर्माइसी गीतको पूरै कार्यक्रम त्यसै ‘टु इन वान’ मा रेकर्ड गरेर लैजान्थे । १९९८ ताका भारतका त्यसबेलाका चर्चित पप कलाकार बाबा सैगलसँग अन्तर्वार्ता गर्दा ‘कुनै नेपाली गीत आउँछ कि ?’ भनेर राखेको जिज्ञासामा उनले यसो भनेका थिए, ‘मेरो कलेजको होस्टलमा एक जना नेपाली साथी थिए, उनी नेपाली गीतहरू सुन्थे, त्यसै बीचबीच बज्ने एउटा गीत याद छ...
‘बिमार घमरा निको पर्ने सोल्टी साबुन
सोल्टी साबुन सोल्टी साबुन...’
उनले यति गाएपछि मैले यो त गीत होइन विज्ञापन हो भन्दा, हामी सबै हाँसेका थियौं । त्यसैताका बज्ने केही अरू विज्ञापनको उल्लेख गर्न चाहन्छु । जसमध्ये परिवार नियोजनको सुरुआती विज्ञापन पनि रमाइलो लाग्थ्यो :
छोरा छोरीको
हाऽऽ हाऽऽऽऽ
कल्याण गर्ने
हाऽऽ हाऽऽऽऽ
परिवार नियोजन , परिवार नियोजन ...
ती बेलाका गीत,संगीत, विज्ञापन सबै सालीन र सौम्य हुन्थे । सन्देशयुक्त विज्ञापन पनि त्यस्तै राम्रा र उपयोगी ।
जीवनजल जीवनजल
यो बच्चाहरूका लागि अमृत जल
छ चिया ग्लास सफा पानीमा
एक पुरिया जीवनजल हाल्नु
अनि पछि पखाला लागेको
बालकलाई पटक–पटक खुवाउनु
जीवनजल जीवनजल
यो बच्चाहरूका लागि अमृत जल...

बिस्तारै टेलिभिजन आयो, अनि सुरु भयो विज्ञापनको फिल्मी रूप । नेपाली बजारमा भारतीय उत्पादनको चलन बढी भएकाले सामानसँगै विज्ञापन पनि आयात हुन थाल्यो । अनि मर्न थाल्यो रेडियो नेपालकालीन मौलिक विज्ञापन शैली । मौलिक भन्दा ‘डब’ भएको विज्ञापन हावी हुन थाल्यो । कोमल छालालाई ‘मुलायम तोचा’ भन्न थालियो ।एफएम रेडियोको आगमनले त नेपाली विज्ञापनमा आइडेन्टिटी क्राइसिसको युग नै सुरु गरिदियो । जे बोले पनि हुने, जस्तो भने पनि हुने । न विज्ञापन बनाउनेलाई मतलब, न बजाउनेलाई । विज्ञापनदातालाई उत्पादनको नाम आए पुग्यो । त्यसपछि बिस्तारै रेडियो सुन्न बन्द भयो, अझ विज्ञापनको दुनिया अलग्गै बन्यो ।


हिजोआज म टीभी र सिनेमाहलमा फाट्टफुट्ट विज्ञापन हेर्छु । कुनै रमाइलै हुन्छन् कुनै दिक्क लाग्दा । टीभीको पर्दामा समाचारवाचनदेखि ‘ओपिनियन मेकिङ’ सम्म औकात राख्ने कार्यक्रम प्रस्तोताहरू व्यावसायिक उत्पादनको विज्ञापनमा देखिने संयोग सायद नेपालमै मात्र होला । भारतको प्रनोय रोय, राजदीप सरदेसाई, बर्खा दत्तहरू अथवा विदेशका जेरेमी प्याक्समन, अन्डरसन कुपर, क्रिस्तिअना अमोरफोरहरूले विज्ञापन खेलेको मलाई याद छैन । हामीकहाँ यो क्रम बढ्दो छ, देख्दा दिक्कै लाग्छ । अस्ति सिनेमा हेर्न जाँदा एउटा बैंकको विज्ञापन आयो । दयाहाङ र केकीले खेलेको त्यो विज्ञापन राम्रो थियो । त्यसमा भएको एउटा संवाद उत्कृस्ट थियो ।


‘मम्मी फोहोरवाला आयो’
‘फोहोर वाला त हामी हौं छोरा, उहाँ त सफाइवाला हो...’
‘सोच बदलौं’ भन्ने थिममा बनेको यो विज्ञापन राम्रो भए पनि, कन्टेन्ट र मेसेज विरोधाभासपूर्ण पाएँ । एकातिर नयाँ सोचको कुरा गर्दै सचेत आधुनिक महिलाको पात्रमा उभिएकी थिइन् केकी । अर्कातिर श्रीमान्को टाई लगाइदिने, ब्याग बोकेर अफिसका लागि बिदा गर्ने ७०/८० दशकताकाको हिन्दी सिनेमाको ‘क्लिसे’ गृहणीको एक्ट । यो हेर्दा पनि दिक्कै लाग्यो ।
घर आएँ, डा. गोविन्द केसीको अनशन जारी रहेको ताका भएकाले समाचार हेर्दै थिएँ, विज्ञापन आयो— चामलको । किरण केसी अभिनीत त्यो विज्ञापनको अन्तिम लाइन थियो, ‘बुझ्नेलाई यो कुरो भारी, नबुझ्नेलाई हनुमन्तेपारि ।’ अहिलेको जमानामा यस्तो हेपाहा लाइन सुहाउँदो लाग्ने कुरै भएन ।


हामी सानो हुँदा, भक्तपुरलाई लिएर नेवार समुदायमा पनि हेयका बोलीहरू सुनिन्थे । त्यही हनुमन्तेपारिको भक्तपुर अहिले विकास र सम्पदाको उदाहरण भएको छ । हनुमन्तेवारिका विज्ञापन निर्मातामा यो सोच कायम रहेको देख्दा भने, झनै दिक्क लग्यो ।विज्ञापन उत्पादन बेच्ने माध्यम त हो नै, यो डिजाइन र श्रव्यदृश्य निर्माणको कलात्मक अभिव्यक्ति गर्ने माध्यम पनि हो । यो विधामा कलात्मकताको पाटो विकास हुँदै जाओस् भन्ने कामनासहित, अन्त्यमा विज्ञापन क्षेत्रका पिता मानिने डेभिड ओगिल्भीको भनाइ राख्छु, ‘राम्रो विज्ञापन त्यो हो, जसले आफूप्रति ध्यान आकर्षण नगरी सामान बेच्छ ।’


प्रकाशित : माघ २६, २०७५ १२:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नयाँ युगमा प्रवेश गरेको देश

मीनबहादुर विष्ट

काठमाडौँ — शब्दहरुको गोलाबारी बर्साएजस्तो गरी घरीघरी भनिएको छ : यो देश नयाा युगमा प्रवेश गरेको छ ।


र म खोजिरहेछु,
नयाँयुगमा प्रवेश गरेको त्यो देश।

देश बोकेर हिंडिरहेकाहरुले भनिरहेछन्,
तिनका सल्लाहकारहरुले भनिरहेछन्,
जानिफकारहरुले भनिरहेछन्,
इन्टेलिजेन्स सम्हालेकाहरुले भनिरहेछन्,
बजेट बनाइरहेकाहरुले भनिरहेछन्,
योजना बनाइरहेकाहरुले भनिरहेछन्,
देश दौडाहामा निस्केकाहरुले भनिरहेछन्,
ठेकेदारहरुले भनिरहेछन्,
हल्लाखोरहरुले भनिरहेछन् :
नयाँयुगमा प्रवेश गरेको छ यो देश
र, म खोजिरहेछु
नयाँयुगमा प्रवेश गरेको त्यो देश।

किताब लेख्नेहरुले
राष्ट्रिय गीत लेख्नेहरुले
टेलिभिजनमा समाचार पढ्नेहरुले
रेडियोमा धार्मिक पुराण वाचन
गर्नेहरुले
अखबारमा हेडलाइन लेख्नेहरुले
बाजा बजाउनेहरुले
लोकभाखामा नाच्नेहरुले
ताली बजाउनेहरुले
सबले भनिरहेछन्
माथिबाट
तलबाट
शिरबाट
पुच्छारबाट
कहिले लय मिलाएर
कहिले लय बिगारेर
जो जहााजहाा छन्, तिनले त्यहाा–त्यहााबाट भनिरहेछन् :
नयाँयुगमा प्रवेश गरेको छ यो देश।
र, म खोजिरहेछु
नयाँयुगमा प्रवेश गरेको त्यो देश।

राष्ट्रिय पोसाक लगाएर भनिरहेछन्
नयाँयुगमा प्रवेश गरेको छ यो देश
राष्ट्रिय पोसाक उतारेर भनिरहेछन्
नयाा युगमा प्रवेश छ गरेको यो देश
विदेशी पोसाकमा सजिएर भनिरहेछन्
नयाँयुगमा प्रवेश गरेको छ यो देश
घरी चस्मा लगाएर भनिरहेछन्,
घरी चस्मा उतारेर भनिरहेछन्,
रक्सीको गिलास उचाल्दै, रक्सीको गिलास रित्याउादै
डिनर खानुअघि, डिनर खाईवरी भनिरहेछन् :
नयाँयुगमा प्रवेश गरेको छ यो देश।
र, म खोजिरहेछु,
नयाँयुगमा प्रवेश गरेको त्यो देश।

साइरन बजाउादै सवारीमा जानुअघि भनिएको छ,
उद्घाटनमा भनिएको छ,
सम्बोधनहरुमा भनिएको छ,
विसर्जनहरुमा भनिएको छ,
शुभकामनाहरुमा भनिएको छ,
राष्ट्रिय सम्मेलनहरुमा भनिएको छ,
अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भनिएको छ,
मञ्च उक्लेर भनिएको छ, मञ्च
ओर्लेर भनिएको छ,
सूर्य उदाउादा भनिएको छ, सूर्य अस्ताउादा भनिएको छ :
नयाँयुगमा प्रवेश गरेको छ यो देश
र, म खोजिरहेछु
नयाा युगमा प्रवेश गरेको त्यो देश।

आह !
नभेटिएर त्यो नयाा युगमा प्रवेश गरेको देश
आजित भएको छु म
र त्यो अब
एकादेशको कथा बनेको छ
अलमलिएको छु
यो ज्यादतीले कमजोर बनेको छु म
फैलिादै गरेका नयाा युगका हल्लाहरुले अब म बहिरो बनेको छु
र सोधिरहेछु—
यो भुलभुलैया हो कि नारा हो
नीति हो कि कार्यक्रम हो
घोषणा हो कि मञ्त्र हो
षड्यन्त्र हो कि मायाजाल हो
दर्शन हो कि धोका हो
निदको गोली हो या स्लो–पोइजन
यो ठूलो आशा हो या विकसित हुादै गइरहेको झन् ठूलो त्रास
आतंक हो या कुनै आउादै गरेको अशुभ समाचारको संकेत !?


प्रकाशित : माघ २६, २०७५ १२:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT