३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बान्तावा ‘फुलटाइमर’

अङ्ग्रेजी जान्दा संसारै बुझिन्छ भन्ने जुन भ्रम छ, त्यो आफैंमा गलत छ । कोरियाली, चिनियाँ, जापानीहरू हत्तपत्त अंग्रेजी बोल्दैनन् । विकासमा उनीहरूले नै फड्को मारेका छन् ।
विद्या राई

काठमाडौँ — भोजपुर, हतुवागढीका पदम राईको चिनारी अलग छ, उनी बान्तावा भाषाका अभियन्ताका रूपमा कहलिन थालेका छन् ।

बान्तावा ‘फुलटाइमर’

राजधानी काठमाडौंमै बसेर डेढ दशकयता किरात राई बान्तावा भाषाको खोज, अनुसन्धान र संरक्षणमा निरन्तर लागिपरेका यी पात्र आफ्नै भाषाको पत्रिका ‘बुङ्वाखा’ का सम्पादकसमेत हुन् ।
सगरमाथा मावि घोडेटार, भोजपुरबाट एसएलसी गरेपछि गुरुहरूको सल्लाहमा आईएस्सी पढ्नका लागि पदमले गाउँ छाडेका थिए । तर, विज्ञानको जगत्मा लागेर आफ्नो भाषा–संस्कृतिका खातिर काम गर्न नसक्ने ठानेरै पदमले बीए पढाइमा मानविकी विषय रोजे । भाषामा काम गर्ने रुचि बढेपछि भाषाविज्ञानमैं उनले एमए गरे ।

बान्तावा भाषा, साहित्य, संस्कृतिप्रति समर्पित ‘बुङ्वाखा’ को विशेषता भनेको यसको निरन्तरता हो । हालसम्म यो १६७ पूर्णाङ्क प्रकाशित भएको छ । सम्पादक पदमका अनुभवमा मातृभाषाको शक्ति अपरम्पार हुन्छ— भोक, प्यास, निद्रा सबै बिर्साउने । पदम एक्लै लेख/ समाचार सङ्कलन, कम्प्युटर टाइप, सम्पादन, डिजाइन, प्रेस छपाइ, वितरण, विज्ञापनसहितका काम गर्ने गर्छन् । आफैं साइकल ब्वाईदेखि सम्पादकको भूमिकामा उनी छन् ।
किरात राई समुदायका २५ भाषामध्ये वक्ताको हिसाबले जेठो भाषा बान्तावा भएकाले यो भाषा किरात राई समुदायको खोजी, चासो र बहसको विषय हुने गर्छ । ‘बुङवाखामा छापिने लेखको प्रभाव समाजलाई तत्कालै नहोला तर यो बान्तावा अभिलेखीकरण अभियान हो, भविष्यमा कुनै दिन काम लाग्न सक्छ,’ उनी भन्छन् ।


पदमका बुझाइमा बान्तावा भाषाको संरक्षणमा थुप्रै चुनौती छन् । यस्ता भाषा संरक्षण र प्रवद्र्धनमा शिक्षा नीति नै अव्यावहारिक छ । उनी भन्छन्, ‘अभिभावकले बालबच्चालाई मातृभाषा बोल्न सिकाए पनि स्कुलमा नेपाली र अङ्ग्रेजीमा पढ्नैपर्ने बाध्यता छ ।’ अध्ययनले के देखाएको छ भने मातृभाषामा सिकेको कुरा दिगो हुन्छ । बान्तावा बसोबास क्षेत्रमा कक्षा १–५ सम्म एक विषय बान्तावा भाषाबाटै पढ्न/पढाउन पाउने व्यवस्था छ । त्यसको लागि ‘आन यङ’ पुस्तक छापिएको छ । तर, विद्यालयमा लागू गराउन खोज्दा पाठ्यक्रम विकास केन्द्रले पुस्तक उपलब्ध गराउन सकिरहेको छैन । ‘अङ्ग्रेजी जान्दा संसारै बुझिन्छ भन्ने जुन भ्रम छ, त्यो आफैंमा गलत छ । कोरियाली, चिनियाँ, जापानीहरू हत्तपत्त अंग्रेजी बोल्दैनन् । विकासमा उनीहरूले नै फड्को मारेका छन्,’ उनी भन्छन् ।


पदमको बुझाइमा जबसम्म मातृभाषालाई शिक्षा र रोजगारसँग जोडिन्न, तबसम्म मातृभाषाहरूको अवस्था घिट्घिटोमै बितिरहनेछ । ‘बान्तवा जातिबाट कतिपय स्थानीय जनप्रतिनिधि आएका छन् । कति बान्तावा समुदायकै व्यक्ति नेतृत्व तहमा पुगे पनि मातृभाषाबारे चासै छैन । यो काम त नश्लीय चेतनासँग जोडिएको कुरा पनि हो,’ उनी भन्छन् । हालै आएर बान्तावा अग्रजहरू अन्तर्राष्ट्रियस्तरको शब्दकोश र व्याकरणलेखनमा लागिपरेका छन् । पदम आफैं प्राविधिक उपसमितिको सदस्य छन् । विश्वविद्यालयका विद्यार्थीहरूले शोधकार्य लेखनमा आकर्षण बढेको छ । पूर्वका केही एफएमहरूले बान्तावा समाचार र कार्यक्रम बजाउन थालेका छन् । काठमाडौंमै रेडियो कान्तिपुर र इन्डिजिनियस टेलिभिजनले कार्यक्रमका लागि स्थान दिएका छन् । गोरखापत्रको नयाँ नेपालअन्तर्गत बान्तावा पृष्ठ छापिने गरेको छ ।

पदम बुङवाखामा मात्रै सीमित छैनन् । उनी बान्तावा श्रष्टा पनि हुन् । हालसम्म उनले ‘बुङ्वाखाआ बान्तावा यङ खुयुङु’, ‘लादिप्मा’, ‘सेमुना साकेन्वा लाकछाम’, ‘हाङ्पोक सिन्मायु’, ‘बान्तावा सचित्र शब्दसङ्ग्रह’ र ‘किरावा सान्दिवा’ जस्ता बान्तावा कृति प्रकाशित गरेका छन् । बान्तावा भाषा र साहित्यको समृद्धिमा योगदान गरेबापत नेपाल प्रज्ञा प्रतिष्ठानले उनलाई एक लाख रुपैयाँ पुरस्कार राशिको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७३’ बाट पुरस्कृत गरेको छ ।


आफ्नो सम्पूर्ण समय बान्तावा भाषामा लगानी गरेका ४३ वर्षीय राईले उनीपछि बुङ्वाखाको जिम्मेवारी कसले सम्हाल्ने भन्ने सरोकार बढेको छ । नेपाल, भारत, बर्मा र भुटानलगायत संसारभरमा करिब ५/६ लाखजति बान्तावाभाषीहरू रहेका छन् । प्रदेश नं. १ स्थित भोजपुर, धनकुटा, इलाम, पाँचथर, उदयपुर, सुनसरी, मोरङ, झापामा बान्तावाभाषीको बाहुल्य छ । बान्तावा भाषालाई अन्य किरात राई मातृभाषीले सम्पर्क भाषाका रुपमा पनि प्रयोग गर्ने गर्छन् । २०५८ सालको राष्ट्रिय जनगणनामा बान्तावा वक्ताहरू ३ लाख ७१ हजार ५६ जना थिए । २०६८ मा घटेर १ लाख ३२ हजार ५ सय ८३ जनामा खुम्चिए । ‘यो तथ्याङ्क होइन, सरासर मिथ्याङ्क हो,’ उनी भन्छन् ।


बान्तावा भाषामा ‘बौलाहा’ झैं लागिपर्नु उनको स्वनिर्णय हो । यो निरन्तरतामा प्रा. डा. नोबल किशोर राई, तिलक वालाहाङ राई, चङ्मायुमा राई, चन्द्र कुमार हतुवाली आदिको उत्प्रेरणाले उनमा थप ऊर्जा मिलेको छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?