१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हट महिला र कुल पुरुष

प्रजातन्त्र पुनर्बहालीपछिको तीन दशकदेखि अनवरत छापिइरहेका ‘ठूला’ समाचारपत्रले थरीथरीको विषयमा लेख्ने ‘विश्लेषक’ पुरुष कति जना उत्पादन गरे ? त्यसको तुलनामा कति जना विश्लेषक महिला उत्पादन गरे ?
सावित्री गौतम

काठमाडौँ — ओछ्यानमा सधैं दुईवटा तन्ना ओछ्याउँछु । माथिको फोहोर भएपछि निकालेर फाल्छु ।

हट महिला र कुल पुरुष

दोस्रो पनि मैलो भएपछि फेरि एकै पटक दुईवटा ओछ्याउँछु ।’ कवि सीमा आभासले दुई वर्षअघि झापाको कला–साहित्य उत्सवमा सहभागी हुन जाँदा आफ्नो बोल्ने पालो कुर्दै गर्दा अनौपचारिक गफमा यसो भनेकी थिइन् । त्यतिबेला ६ वर्षको उनको जेठो छोरा वरिपरि माटो खेलेर ध्वाँसे र ध्वाँसे भएर बाबुचाहिंलाई पछिपछि दौडाउँदै थियो । तीन महिनाको कान्छो छोरा उनको काखमै थियो । विराटनगर बस्ने उनी त्यही कार्यक्रममा सहभागी हुनका लागि आफ्ना श्रीमान्लाई एक दिन कामबाट छुट्टी लिन लगाएर, ट्याक्सी रिजर्व गरेर झापा पुगेकी थिइन् । दिनभरि दूधे बच्चा काखमा च्यापेर एउटा कुर्सीमा फागुनको चिसो स्याँठ खाँदै बसेकी सीमाको बोल्ने सत्र अगाडिका वक्ताहरूले समयमा नसकिदिएको कारण आधा घण्टापछाडि धकेलियो । बोल्न सुरु के गरेकी थिइन्, प्रश्नकर्ताको दोस्रो र अनौठो प्रश्न ‘महिलाहरू रहस्यमयी हुन्छन् भनिन्छ नि, किन ?’ तेर्सियो । सीमाले त्यो र अरू प्रश्नको दह्रो खण्डन सुरुदेखि नै गर्दै गइन् ।


झमक्क साँझ परेपछि सुरु भएको उक्त सत्र धपक्कै बालेर समाप्त गरेपछि सीमा तुरुन्तै विराटनगर फर्किन् । जसलाई पछि कुस्तीको मानसिकता, सार्वजनिक फोरमहरूमा ‘चर्को’ रूपमा प्रस्तुत भएबापत सीमा आभास (र सावित्री गौतमसमेत) ले प्रश्नको सामना गरिरहेको (कुन बहसमा ‘चर्को’ भएको र कसका प्रश्नको सामना गरिरहेको भन्ने कुनै प्रमाण भने थिएनन्) भनेर लेखहरूसमेत लेखिए । सानो छोरा गर्भमा आउन्जेलसम्म ६ वर्ष पुगिसकेको ठूलो छोरालाइ सीमा स्तनपान गराउँथिन् रे । अहिले दुई वर्ष तीन महिना पुगिसकेको सानो छोरालाई पनि स्तनपान छुटाएकी छैनन् । यो उनको ‘ट्रिक’ हो रे । ‘बच्चा दूध पिएर काखमै भुलिराख्छन् अनि पो आफूले पढ्ने–लेख्ने समय पाइन्छ नत्र त तिनकै पछिपछि दौडिनुपर्छ ।’ सीमा आफ्ना थरीथरीका ट्रिकबारे बताउँछिन् । जस्तो कि उनीसँग सातवटा प्रेसर कुकर छन् किनकि हरेक छाकका लागि माझेर तयार राख्न सक्दिनन्, आइरन लगाउनुपर्ने लुगै लगाउँदिनन्, लुगा पट्याउँदिनन्, धोएका लुगा राख्ने एउटा खाट छ आदिआदि । सधैं छोरा बोक्दै सार्वजनिक कार्यक्रममा सहभागी हुने हुनाले सीमाले पाएको उपाधिको नाम हो रे ‘कंगारू कवि’ । ‘सेमि–सर्कल पुरी पकाएर आएको ।’ नेपाल लिटरेचर फेस्टिबलको सातौं अध्यायको दोस्रो दिन दुई बजेतिर हस्याङफस्याङ फेस्टिबल स्थानमा पुगेकी मैले सँगै चौरमा उभिएका लेखक साथीहरूलाई भनें । त्यही दिन तीन बजे मी–टु शीर्षकको सत्रको मैले सहजीकरण गर्नुपर्ने थियो ।


‘कस्तो हो सेमि–सर्कल पुरी ?’ उनीहरूको प्रश्नमा मैले अथ्र्याएँ, ‘छोरा सबादेखि साढे चार बजेको बीचमा आउँछ, खाजा खान्छ र तुरुन्तै ट्युसन पढ्न जान्छ (छोराको बाबु पाँच बजेपछि मात्र आइपुग्छन्) । बिहानको जुठो भाँडो सकिसकेपछि कार्यक्रममा आउनुअघि मैले छोराका लागि खाजा बनाएर छोड्नुपर्ने थियो । स–साना पुरी बेल्दै–पकाउँदै गर्ने समय थिएन, बेल्नाभरिको बडेमानको रोटी बेलें, बीचबाट चिरें, पकाएँ । त्यसो गर्दा रोटीको वृत्ताकार स्वरूप बदलिएर अर्ध वृत्ताकार भयो । अर्धवृत्ताकार अर्थात सेमि– सर्कल पुरी ।’


इस्तिरी नगरेका लुगा लगाउने र धोएका लुगा नपट्याईकन खाटमा राख्ने ट्रिकचाहिं मेरो पनि सीमाको जस्तै दुरुस्तै एउटै हो । सीमाका साना बच्चासहित कलेज पढाउने जागिर छ । मलाई ढाडको समस्या छ : घण्टौं बसेर लुगा पट्याउन नसक्ने । नारीवादी भइटोपलेकाहरूका श्रीमान् र छोराछोरी के गर्छन् त भन्ने प्रश्न नि होला । सीमाका श्रीमान्को जागिरको निश्चित समय छैन, बच्चा साना छन् । मेरा घरका म बाहेककालाई कपडा पट्याउँदा निस्कने धूलोको एलर्जी छ ।

यी असाध्यै सामान्य दुई उदाहरण मात्रै हुन् । यस्ता उदाहरण सीमा र मसँग मात्रै सयौं छन् । सार्वजनिक जीवनमा सक्रिय पचासौं अरू महिलाहरूका यस्ता पचासौं कहानी हुन सक्छन् । साना बच्चालाई घरमा भोकै छोडेर, थुनेर वा बोकेर मजदुरी गर्न जाने असाध्यै निम्न वर्गका महिलाको कहानीको अगाडि यी कहानी नाटकीय पनि लाग्लान् । उद्देश्य ‘दर्द’ बखान गर्नु होइन पनि । हामीले आफूले पाएको पारिवारिक वा कथित ‘वर्गीय प्रिभिलेज’ प्राप्त हुँदाहुँदै पनि समय व्यवस्थापनका हाम्रा आफ्नै असुविधा र अप्ठ्यारा छन् भलै ती उच्चवर्गीय अप्ठ्यारा नै होऊन् । यो लम्बेतान गन्थनको उद्देश्य तिनलाई कसरी व्यवस्थापन गरेर सार्वजनिक वृत्तमा उपस्थित हुन्छौं भन्न खोजेको मात्र हो । सक्कली सर्वहाराहरूको वर्गीय मापदण्डमा अट्दैनौं जरुर । तर, वर्षभरि देशभरि विभिन्न शीर्षकमा आयोजना भइरहने सार्वजनिक बहसका कार्यक्रममा चम्किलो अनुहार लगाएर उपस्थित हुने, कुल देखिने अरू धेरै व्यक्तिभन्दा हामी कम ‘प्रिभिलेज्ड’ पनि जरुर छौं । थातथलोबाट टाढा बसेर एकल परिवारलाई वर्षौंदेखि थरीथरीका ट्रिकको साथमा व्यवस्थापन गर्दै बच्चा हुर्काएको अनुभव छ । सार्वजनिक बहसमा सहभागी हुनुअघि र भइसकेपछि दिनैभरि ‘कुल’ रहिरहेर पूरै कार्यक्रम हेर्न पाउने परिस्थिति कम्तीमा आजको दिनसम्म उपलब्ध छैन ।


एउटा कुल सत्रको कुरा गरौं । मानौं कुनै सम्पादक र वरिष्ठ स्तम्भकारबीचको बहस छ । म ‘अब यो सत्रमा यस्तायस्ता संवाद हुनेछन्’ भन्ने कल्पना गरेर उक्त सत्र सुन्न थाल्छु । जस्तै : स्तम्भकारले सम्पादकलाई सोध्नेछन् ‘तिमीलाई मेरो कुनचाहिं लेख भोलिपल्टै छापूँजस्तो लाग्यो ?’ सम्पादकले भन्नेछन्, ‘योचाहिं भोलिपल्टै छापूँजस्तो भएको थियो, योचाहिं मन नलागी–नलागी छापेको ।’ स्तम्भकार भन्दा हुन्, ‘यो त मन नलागी–नलागी भए पनि छाप्यौ, फलानो लेख त गायब नै पार्‍यौ नि †’


तर, बहसका वास्तविक संवादहरू भने बिहानमा हिंड्ने मर्निङ वाक, साँझमा खाने ट्वाँक, शरीर वा व्यक्तित्वको उचाइ, झोलाको रङ, सामाजिक सञ्जालमा कति गाली खाएँ आदि विषयमै सीमित भएर टुंगिन्छन् । यस्तो खालको बहकिएको बहसलाई नै कुल भनिने हो भने त कुल हुन खासै रहर पनि किन मान्नु र † विषयवस्तुलाई पूरै बहकाउनेसम्मको आत्मविश्वास केही सहभागीहरूमा कसरी आउँछ ? अर्को वर्ष फेरि हावा खाँदै गफिन पाइहालिन्छ, आज छुटेका कुरा अर्को साल भनौंला, मरिलानु के छ र आदि आत्मविश्वासले ? आत्मविश्वास आफ्नो व्यक्तित्व र लोकप्रियताप्रति हो ? त्यो आत्मविश्वास यति धेरै छ कि दर्शकले उनीहरू विषयवस्तुबाहिर गएको हेक्का नै राख्दैनन् भनेर सोच्न सक्ने हदसम्म ?


त्यही संवादमा कुनै महिला हुन्थी भने उक्त संवादमा कति कुरा आउँदा हुन् । सायद यस्ता प्रश्न उठ्दा हुन् ‘किन वरिष्ठ वा लोकप्रिय पुरुष ओपेड लेखकको दाँजोमा वरिष्ठ वा लोकप्रिय महिला ओपेड लेखकको पारिश्रमिकमा आकाश–जमिनको फरक हुन्छ ?’ ‘पत्रिकाको साप्ताहिक परिशिष्टांकमा पटकपटक आवरण कथा छापिएबापत बधाई खाएर उत्साहित भएकी कुनै महिला लेखकको उत्साह एक वर्षपछि पत्रिकाको कार्यालय पुगेर उनै ‘कभर स्टोरी’को पारिश्रमिक बुझिसकेपछि कसरी बरफभन्दा छिटो पग्लिन्छ ?’ “किन कतिपय महिला लेखकका लेख सुरुआती अवस्थामा कैयौं पटक गायब नै पारिन्छन् । छापिए पनि ‘थाल काटेर मुजुरा’ आकारमा छापिन्छन् ?” ‘वरिष्ठ–कनिष्ठ सबै पुरुष वा महिला लेखकलाई सम्पादकले लेख छापिने–फालिने जानकारी दिन्छन् कि यत्तिकै झुलाइराख्छन् ?’ “प्रजातन्त्र पुनर्बहालीपछिको तीन दशकदेखि अनवरत छापिइरहेका ‘ठूला’ समाचारपत्रले थरीथरीको विषयमा लेख्ने ‘विश्लेषक’ पुरुष कति जना उत्पादन गरे ? त्यसको तुलनामा कति जना विश्लेषक महिला उत्पादन गरे ?” “स्तम्भको निश्चित नाम दिलाएर मासिक वा पाक्षिक स्तम्भ लेख्न अनुबन्धित गरेर सम्पादकले समावेशी समाजप्रति दर्साएको आफ्नो ‘प्रतिबद्धता’ भित्र कति जना वरिष्ठ–कनिष्ठ बाहुन, दलित वा जनजाति पुरुष छन् र त्यसको अनुपातमा कति जना वरिष्ठ–कनिष्ठ बाहुन, दलित वा जनजाति महिला छन् ?” कुनै स्तम्भकार महिलाले यी सबै कुरा फुकाउन थालेपछि बहसहरू हामीले सोचे वा चाहे जति कुल नहुन पनि सक्लान् ।


वर्षभरि हुने सार्वजनिक बहसहरूमा महिला, दलित, मधेसी, सीमान्तकृत र अल्पसंख्यकको सहभागिता हुँदैन भनेर चर्कोचर्को आवाज निकालिन्छन् । हामीहरू पुरुष मात्र सहभागी ‘म्यानल’ किन बनाएको भनेर घम्साघम्सी गर्छौं । आक्कलझुक्कल कुनै वर्ष आफूले पनि सहभागिता नामको चारो टिप्न पाइन्छ । एक घण्टाको कुनै बहसमा मुस्किलले दस मिनेट आफ्नो भागमा पर्छ । त्यसमा पनि सहजकर्ताले आफूलाई खासै ‘हैसियत वाल’ मान्छे ठान्दैनन्, आफ्नोबारेमा उनलाई कुनै जानकारी नै छैन (जानकारी राख्नुपर्ने गरी हैसियत बनिसकेको नभएर) र बहसमा सहभागी अन्य हैसियतवालहरूकै वरिपरि प्रश्न घुमाइराखे भने त्यही दस मिनेटमा भन्नुपर्ने कुरा पनि यत्तिकै इतिश्री हुन्छ । यो वर्ष दस मिनेटमा आफ्नो कुरा बल्लतल्ल घुसायो अर्को वर्ष बोल्न पाउने चारो आफ्नो भागमा पर्छ नै भन्ने ग्यारेन्टी सबै महिलालाई छैन । सायद हरेक वर्ष दोहोरिने महिलाको अनुहार हरेक वर्ष दोहोरिने पुरुषको दाँजोमा बढी बासी देखिने भएकाले हो कि दोहोरिने महिला विरलै हुन्छन् । ठीकविपरीत केही पुरुषलाई आफू हरेक वर्ष दोहोरिन्छु भन्ने पूर्ण आत्मविश्वास हुन्छ । यही दोहोरिने आत्मविश्वासले नै होला उनीहरू बहसका शीर्षकलाई पूरै तोडमरोड गरेर मञ्चमा बिनाप्रसंगका हाँसोठट्टा गर्दा हुन् । हामीलाई चाहिं बडो मुस्किलले चारो टिप्न पाउने भएर हो कि बहसहरू प्रसंग बाहिर गएको देख्दा साह्रै ठूलो नोक्सान भएजस्तो लाग्ने ।


सार्वजनिक बहसहरूमा हाम्रो उपस्थिति हामीलाई सियोको टुप्पोबाट टाउको छिराउनु जत्तिकै गाह्रो कुरो हो । अधिकांश परिवार अझै पनि महिलाको सफलतामा फिस्स मात्र हाँस्ने (खासै गौरव नगर्ने), सफल हुनका लागि चाहिने पृष्ठभूमिका सहयोग र वातावरण उपलब्ध नगराउने नै छन् । भाँडा माझिरहेकी महिलाले ‘काम सकेर चिया दिन्छु’ भनी भने सहज रूपमा पर्खिने, कम्प्युटरमा काम गरिरहेकी महिलाले त्यही कुरा भन्दा त्यत्तिकै सहज भएर पर्खिन नसक्ने परिवारको संख्या अझै पनि नेपालमा बाक्लो छ । त्यसैले सार्वजनिक बहस नामको चारो टिप्न पाएको वर्ष पनि यस्ता बहसमा सहभागी हुने अधिकांश महिला सुरुदेखि अन्तसम्म बस्न पाउँदैनन् । अधिकांश महिलालाई सुरुकै दिन उपस्थित हुने, अन्तिम दिनसम्म बस्ने, पोखराको तालछेउको हावा खाने, झापाको कुनै सहरको बसपार्क वरिपरिको जनजीवन नियाल्ने, नगरकोट वा धुलिखेलका डाँडाकाँडा हेर्ने आदि गर्दै आरामले सार्वजनिक बहसमा सहभागी हुन पाउने अवस्था छैन । सबै बहसहरू सुन्ने, सिक्ने, जान्ने–बुझ्ने, त्यसको आधारमा आफूले बोल्ने विषयसँग तुलना वा तयारी गर्ने सुविधा छैन । भोलिपल्ट बोल्नु छ भने ठिक्क अघिल्लो दिन साँझसम्म पुग्ने, अझै बोल्नुभन्दा एक दुई घण्टाअघि पुग्ने र बोलेर फर्किहाल्नुपर्ने बाध्यतासमेत छ । त्यसैले पनि हुन सक्छ आफूले बल्लतल्ल पाएको एउटा बहस त्यसभित्रको पनि पाँच दस मिनेटभित्र बहकिने, विषयवस्तुभन्दा बाहिर जाने छुट हामीलाई छैन ।

यसै पनि पढे–लेखेका महिला कम छन् । त्यसमा पनि सञ्चारमाध्यमसम्म पहुँच भएका र सार्वजनिक कार्यक्रममा बोल्न सक्ने महिला झनै कम छन् । त्यसले हाम्रो प्रतिनिधित्व जिम्मेवारीपूर्ण होस् भनेर सोच्ने हो भने त हामीलाई कुल हुने नाममा बहकिने छुट पटक्कै छैन । किनकि मजस्ता कैयौं महिलाले पढ्न पाएका छैनन् । मेरी छोरीजस्ता कैयौं बालिका अझै पनि ‘छोरीलाई स्कुल पठाए मट्टीतेल सित्तैमा’ को स्किम उपलब्ध भएको क्षेत्रमा जन्मेका भए मात्र पढ्न पाउने (त्यो पनि स्कुले शिक्षा मात्रै) अवस्थामा छन् । लेखन मार्फत आफू आफूजस्तै थुप्रै महिलाको ‘माउथपिस’ बनेको छु भन्ने भ्रम (नै सही) भएर हो कि मलाई त आफू उपस्थित भएको मञ्चबाट ‘ह्वाट द ... सन्देश ? म सन्देशका लागि लेख्दिनँ’ भन्ने छुट यो जीवनकालमा कहिल्यै हुन्छ जस्तो लाग्दैन । पर्यटक बन्दै, आरामले बिहान बेलुका टहलिंदै, अरूले पकाएको र टक्य्राएको खाना खाँदै र मिलाएको ओछ्यानमा सुत्दै, एउटै कार्यक्रमका पनि धेरैवटा सत्रमा सहभागी हुन्थे भने महिला सहभागी बहस पनि सायद सीमा वा मलाई आरोप लगाइएको जस्ता ‘दंगल’ स्वरूपका नहुँदा हुन् । एउटामा छुटेका कुरा आरामले अर्कोमा भन्दा हुन् र उनीहरूका बहस पनि कुल र मनोरञ्जनात्मक हुँदा हुन् ।

स्रोतमाथिको पहुँचबाट टाढा भएको व्यक्तिले स्रोत प्राप्त गर्न हात अलिकति बढी लम्काउनुपर्ने हुन्छ होला । स्रोतबाट टाढा भएकै कारण उनीहरूले स्रोत बाँडफाँडको डाडुपन्यु हातमा लिएकाहरूलाई स्रोतको समानुपातिक वितरण गर भन्नका लागि आवाज चर्को पार्नुपर्ने हुन्छ होला । त्यसैले सार्वजनिक वृत्तमा हाम्रो उपस्थिति कुल नहोला पनि । किनकि हाम्रो लागि यो ‘रिक्रियसन’ कदापि होइन । ‘रिक्रियसन’ गरेर फर्केकाहरूले महिनौं राजधानी र मोफसलका पीपलका चौतारा र चिया पसलका गर्ने गसिपको पात्र बन्नु त झन पटक्कै होइन । आफ्नो कुरा कुरा दुनियालाई भन्नु हो । आगो लिन गएको जसरी दौडँदै गएर उसैगरी आउनु हो ।


महिलाको अतिरिक्त कार्यबोझ, कम्प्युटर र किताब लिएर बसेकी महिलाको छवि परिवारलाई नबिझाउने अवस्था आदिको बारेमा हाम्रै पुस्तामा बहस होस्, समाधान निस्कियोस्, सकियोस् र भोलि छोरीहरूले आफ्नो पालोमा कुल भएर बहसमा सहभागी हुन पाऊन् भन्ने आशा पनि हो । दुई वर्षअघिको पोखरा लिट्रेचर फेस्टिबलमा दर्शकदीर्घाबाट एउटा प्रश्न आएको थियो, ‘महिलालाई पनि प्रशस्त फुर्सद हुन्थ्यो भने उनीहरूको लेखाइ कस्तो हुन्थ्यो ?’ मेरो भागमा परेको प्रश्न थिएन त्यो । तर, मेरो उत्तर हुन्थ्यो भने यस्तो हुने थियो, “प्रशस्त फुर्सद हुन्थ्यो भने सायद हामी पनि दैनिक जीवनका ‘गनगन’ नलेख्दा हौं, कसैलाई विश्वासै नलाग्ने खालका स्वैरकल्पना लेख्दा हौं ।” त्यसैले आज हामीले आगो लिन गएजसरी भए पनि उपस्थित भएर सार्वजनिक वृत्तमा गरिरहेको दाबेदारीले भोलि छोरीको पुस्तालाई अदृश्य हुनबाट बचाउनेछ भन्ने विश्वासका कारण गरिएको दाबेदारी पनि हो । के थाहा भोलि प्रशस्त फुर्सद भएका उनीहरूले पत्यारै नलाग्ने स्वैरकल्पनाको कसरी लेख्न पुग्यौ भन्ने प्रश्न सोधिने सत्रहरूमा कुल भएर जवाफ दिएको देख्न पाइएला †

प्रकाशित : फाल्गुन ४, २०७५ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?