समानान्तर जयपुर

सरिता तिवारी

काठमाडौँ — गुलाबी सहर भनिने भारतको जयपुर । जाडो पूरै लयमा छ । चिसो हावा बहिरहेको छ तर रवीन्द्र मञ्चको खुला सभागारभित्र मनग्ये न्यानो छ ।

समानान्तर जयपुर

चारै दिशाका भित्ताले छेकेको छ हावा तर थाप्लामाथिको घाम छेकिएको छैन । रातो कार्पेटले सजाइएका सिँढीदार बैठकमा लहरै झन्डै चार सय हाराहारी कवि, लेखक, कलाकर्मी बसेका छन् । मञ्चमा अतिथि छन् न्यायमूर्ति विनोदशंकर दुबे, प्रलेसका राष्ट्रिय महासचिव राजेन्द्र राजन, कथाकार नूर जहिर, ‘काव्या’ का अध्यक्ष तथा कवि परीक्षित सिंह आदि । दर्शकदीर्घा गह्रुङ्गो नाम र ख्याति आर्जित गरेका अग्रज लेखकसहितको उपस्थितिले सानदार लाग्छ ।


यो समानान्तर साहित्य उत्सवको पहिलो दिनको पहिलो चित्र हो । ‘साहित्यको बजारीकरणविरुद्ध’ पहलका रूपमा गत वर्षदेखि प्रगतिशील लेखक संघ, राजस्थानले थालेको एउटा बृहद् कार्यक्रम हो— समानान्तर साहित्य उत्सव अर्थात् पीएलएफ । यद्यपि साहित्यमा ‘समानान्तर’ शब्द आफैंमा कति सुहाउँदिलो हो ? समानान्तर बन्न अरू कसैको जबर्जस्त अस्तित्व रहेको र त्यसको बराबरीमा अर्को पंक्तिको निर्माण भएको भन्ने अर्थ लाग्छ । यसले स्वत: अर्को धाराको बलियो प्रभावलाई सकार्छ ।


उद्घाटन सत्रमा यस्ता प्रसंग नउठ्ने कुरै भएन । यो कुरा गत वर्ष यही उत्सवको उद्घाटन सभामा कवि विष्णु खरेलले पनि गरेकै हुन् । उत्सवका संयोजक ईश मधु तलवारले पोहोरझैं अहिले पनि भने— समानान्तर सिनेमालाई जसरी लिइन्छ, त्यसरी नै समानान्तर साहित्यलाई लिइनुपर्छ । मतलब ‘मेनस्ट्रिम’ लाई विपरीत विचारधाराले चलाइरहेको छ । त्यो ‘विपरीत’ भनाउँदोभित्र धार्मिक अतिवादी, सामन्तवादी, पितृसत्तावादी, पँुजीवादी–बजारवादी आदि सबै पर्लान् ।
वक्ताको सूचीमा रहेका ख्यातिप्राप्त पत्रकार रामशरण जोशी, लेखकहरू ममता कालिया, असद जैदी, मंगलेश डबराल, कात्यायनी आदि ‘अचानक’ आएनन् । थप केहीले पनि ‘बिरामी’ परेर आउन नसकेको खबर पठाएको बताइयो । यो के भइरहेको हो ? हामी नेपाली सहभागी पूरै अनविज्ञ थियौं । नरेश सक्सेना, वीर सक्सेना, शिवमंगल सिद्धान्तकार, नूर जहिर, रति सक्सेना, अरुणा राय, लीलाधर मंडलोई, विष्णु नागर, उदयप्रकाश, गीताश्रीलगायतका नाम चलेका लेखक तथा एक्टिभिस्ट भने आफ्ना सत्रमा उपस्थित भए ।


पछि बुझ्दै जाँदा थाहा लाग्यो— अतिथिका रूपमा ‘काव्या’ का तर्फबाट निम्तिएका एक विवादित लेखकका कारण केही लेखकले नआउने सूचित गरेका रहेछन् । नब्बे वर्ष कटेका प्रोफेसर/इतिहासकार इरफान हबिबले ‘आउन सकिनँ’ भन्दै पठाएको शुभकामना मन्तव्य प्रलेस राजस्थानका अध्यक्ष ऋतुराजले बडो सम्मानका साथ पढेर सुनाए । तिनको मन्तव्यको सार फासीवाद र धार्मिक अतिवादविरुद्धको संगठित सिर्जनात्मक संघर्षप्रति लक्षित थियो । ऋतुराजले पछिल्ला केही वर्षयता भारतमा लेखक, कलाकार, विचारकहरूले भोगेको सास्तीविरुद्ध निरन्तर प्रतिरोध जरुरी रहेको भन्दै समानान्तर साहित्य उत्सव किन आवश्यक छ भन्ने प्रस्ट्याए । तिनले भने, ‘हामी नयाँ इतिहास रच्न होइन, बजारवादको नाङ्गो हस्तक्षेपबाट साहित्यलाई बँचाउनुपर्छ भनेर लागेका हौं ।’


यद्यपि विवादित भनिएका लेखक मकरंद परांजपेको नाम प्यानलिस्टको सूचीमा उल्लेख थिएन । सच्याइएको हँुदो हो । तर, उनैको नाम लिएर केही लेखकहरूले सामाजिक सञ्जालभर प्रलेस, राजस्थानको आलोचना कठोर रूपमा गरिरहे । ‘बीज मन्तव्य’ का लागि डाकिएका वक्ता परीक्षित सिंहले अध्यात्मको अस्वीकार र त्यससँगको दूरीमाथि गम्भीर प्रश्न गर्दै माक्र्सवादी लेखकहरूलाई ‘क्लास’ दिन गरेको यत्न रमाइलो लाग्थ्यो । ती ‘काव्या’ नामक संस्थाका मुखिया पनि रहेछन् जुन यो उत्सवको सहआयोजकसमेत थियो । वक्तव्यको एउटा वाक्य भने साँच्चिकै सुन्दर थियो । त्यो हो ‘आंशिक’ सत्यहरूबीच विशाल र सहिष्णु संवाद अनि विपरीत विचारहरूबीच सघन वार्तामा मञ्च निरन्तर दृढ रहनुपर्ने आग्रह ।


उत्सवमा असहभागी कतिपय लेखकले परीक्षित सिंहको वक्तव्य र ‘काव्या’ दुवैमाथि फेसबुकबाटै ठाडो प्रश्न गरिरहेका थिए— प्रलेसको मञ्चमा वैदिक मन्त्रोच्चारण ? भन्दै । कतिपयले सहआयोजनाका नाममा ‘काव्या’ लाई मञ्च बेचेर तातो न छारोको ‘बीजवक्तव्य’ राखिएको भन्दै कडा आलोचना गरिरहेका थिए । तर, भएको भने त्यस्तो ‘गम्भीर’ र आपत्तिजनक लाग्ने कुरो थिएन । न त मन्त्रोच्चारण नै भएको थियो ।

वास्तवमा बहस र विमर्शका मामिलामा भारतका कतिपय प्रगतिशील लेखक तथाकथित संस्थापनजत्तिकै कट्टर रहेछन् भन्ने बोधले मेरो मथिङ्गललाई नराम्रोसित चिमोट्यो । फरक विचार सुन्नै हुन्न भन्नेसम्मको अनुदारतालाई कसरी प्रगतिशीलता मान्नु ? ‘समानान्तर’ लाई यदि शब्दबाट भावमा र केवल एक विम्बबाट आन्दोलनमा परिणत गर्ने हो भने यस विषयमा हामी साँच्चिकै गम्भीर हुनु जरुरी छ ।


कम्तीमा त्यतिका कवि, लेखक, पत्रकार, आलोचकलगायतलाई त्यसरी एक ठाउँ भेला पार्नु र विमर्शको नयाँ परम्परा बसाल्नु सानो कामचाहिँ अवश्य होइन । त्यो पनि पुँजीवादी बजारशास्त्रको चोर औंला समातेर कुदिरहेको जयपुर लिटरेचर फेस्टिभलको नाकैमुनि, त्यसैलाई ‘च्यालेन्ज’ गरेर । केही कुरामा कमजोरी भए होलान् तर प्रलेस राजस्थानको यो पहलकदमीमाथि प्रहार नै गर्नुपर्ने, त्यसलाई अस्वीकार नै गर्नुपर्ने चीज हाम्रो नजरले चाहिँ देखेन ।


५ मञ्च, ११५ सेसन
प्रख्यात साहित्यकार रवीन्द्रनाथ टैगोरका नाममा स्थापित स्थानीय कलागृहको सिंगो परिसरलाई ‘रजिया ग्राम’ नामकरण गरी आयोजकद्वारा भारतीय उर्दूभाषी लेखिका, एक विलक्षण, निर्भीक महिला रजिया जहिरमाथि व्यक्त गरिएको सम्मान प्रशंसनीय लाग्थ्यो । प्रवेशद्वारमै आफ्नो शिरमाथि तिनको नाम देख्दा श्रद्धानत नहुन कसरी सकिन्थ्यो र † भित्रपट्टि छुट्टाछुट्टै दिशामा फर्किएका मञ्च थिए– लोकप्रिय लेखकहरू भीष्म सहनी, नागार्जुन, कन्हैयालाल सेठिया र रांघेय राघवका नामका । राग दरबारी नाम दिएर एउटा थिएटरलाई समेत मञ्चका रूपमा उपयोग गरिएको थियो ।


कतै विमर्श कतै कथापाठ । कुनैमा व्याख्यान, कहीँ प्रादेशिक भाषाका साहित्यमाथि चर्चा । कतै कविता वाचन, कतै फोटो प्रदर्शनी । कहीं चुनाव चर्चा, कहीं आरक्षणमाथि बहस । स्त्रीलेखन, दलित साहित्यलगायत वर्गीकृत बहसहरू उत्तिकै । पाँचोटा ठूला मञ्चमा एकपछि अर्का हरेकजसो सत्र रुचिकर छन् तर, प्राय: सबैमा आधा कुर्सी खाली छन् । मानिसहरू सेसनमा कम र यताउता हिँडिरहेका, गफ गरिरहेका ज्यादा भेटिन्छन् । नुक्कड नाटक पनि भइरहेको छ । तन्नेरीहरूका लागि गीतसंगीत र स्ल्याम पोइट्रीको ‘नवोन्मेष’ मञ्च पनि छ । कलाकारहरू पेन्टिङमा मस्त छन् । हरेक बिहान र साँझ स्थानीय लोकसंगीत, सुफी संगीत, नज्म र गजलका प्रस्तुति पनि छन् ।


सत्रहरूको उरुङ छ, कता सुन्नु कता छोड्नु † साहित्य उत्सवको रमाइलो पनि त यही हो । भीष्म सहनी मञ्चमा न्यायमूर्ति विनोदशंकर दुबेको ‘न्यापालिका बनाम कार्यपालिका’ शीर्षकको व्याख्यान सुन्न नभ्याउँदै कवि अशोककुमार पाण्डेसित अघिल्लो पुस्ताका कवि मंगलेश डबरालको ‘साहित्य और राजनीति’ विषयक वार्ता सुन्न नागार्जुन मञ्चमा पुगियो तर डबराल थिएनन् त्यहाँ । उनको अनुपस्थितिलाई पूर्ति गर्न बसेका विनित तिवारी पाण्डेका प्रश्नअघि निरीहजस्ता देखिए । त्यसपछि लगत्तै अर्को मञ्चमा पाका कवि शिवमंगल सिद्धान्तकारसँगै युवा कविहरू पंखुरी सिन्हा, रूपा सिंह र नित्यानन्द गायेनको कविता सुन्न कुदियो । कम्युनिस्ट पार्टीका नेतासमेत रहेका कवि/सिद्धान्तकार कवितावाचन गर्नै नसक्ने गरी बूढा भइसकेका रहेछन् । उनका कविता अरू कसैले सुनाइदिए ।


पहिलो दिनको एउटा सत्र नेपाली पाठकका समेत प्रिय लेखक उदयप्रकाशको थियो । सत्रको नाम थियो– अच्छी कहानी कैसे लिखी जाती है ? अर्को महत्वपूर्ण सत्र छुटाएर तिनलाई सुन्न उपस्थित थिएँ म । उताको सत्रमा थिए पाका कवि नरेश सक्सेना, राम्रो कविता कस्तो हुन्छ ? भन्दै । उदयप्रकाश आजको भारतीय चेतनाका मात्रै होइनन्, समग्र वैश्विक चेतनाकै अब्बलकोटी लेखक हुन् । उनका कथा विश्वका धेरैजसो भाषामा अनूदित छन् । तिनमाथि सिनेमाहरू बनेका छन् । सम्भवत: हिन्दी, प्रादेशिक र विदेशी भाषाबाट एकै समयमा पठित र प्रशंसित उनी एक्ला भारतीय लेखक हुन् । प्रश्नकर्ताले सोधेको ‘खराब कथाको पत्तो कसरी लाग्छ ?’ को उत्तरमा बडो सहज रूपले उनले भने— जसले तपाईंलाई कथान्तसम्म लान सक्दैन, त्यही हो खराब कथा † राम्रा कथाबाट गहिरो आवाज आउँछ ।


प्रख्यात व्यंग्यकार ज्ञान चतुर्वेदीसितको वार्ता ‘यह दुनिया पागलखाना है’ रोचक थियो । बजारसित चल्न नसक्ने मान्छे अब कसरी पागल बन्दै छ ? यसमाथि ठट्यौलो शैलीले बडो गम्भीर कुरा भने यिनले, ‘हेर्नोस् सुर्जेको प्रकाश पनि रिचार्ज कार्डबाट किन्नुपर्ने दिन टाढा छैन ।’ ‘कश्मीर: विभ्रम और यथार्थ’ मा भर्खरै प्रकाशित भएर चर्चा बटुलेको किताब ‘कश्मीरानामा’ का लेखकसमेत रहेका कवि अशोककुमार पाण्डेसँग कश्मीरकै पत्रकारहरू जावेद शाह र अमित बांचु उपस्थित थिए । कश्मीरका विषयलाई आतंकवाद र भारत–पाक मुद्दा मात्रै ठान्ने तर, मनोसामाजिक र सांस्कृतिक विषय नठान्ने मूलधार मिडिया र नागरिक समाजप्रति कठोर प्रश्नसहित चलेको यो सत्र मैले सबैभन्दा ध्यानपूर्वक सुनेकी थिएँ । भोलिपल्टको एउटा सत्रमा जावेदले खिचेका कश्मीरका तस्बिरहरूको भिडियो प्रदर्शनी पनि राखिएको थियो ।

‘हाँ और ना के बीच स्त्री’ ३मिटू माथिको बहस थियो । प्यानलिस्टका रूपमा लेखकहरू सुधा अरोरा, नूर जहिर, काबर्दी ढिल्लो, गीताश्री र रूपा सिंह थिए । कथाकार सुजाताले सञ्चालन गरेको यो सत्रमा प्राय: सबै समाजलाई धर्मका मान्यताले निर्देशित गर्नु र सबै धर्मका मुखिया पुरुष मात्रै हुनु स्त्रीका लागि एउटा कठोर विडम्बना हो भन्दै उनीहरूले भने— आज पनि महिलाले कसरी बाँच्ने भन्ने कुरामा पुरुष दृष्टि र मनोविज्ञान हाबी छ । नबोलुन्जेल ‘देवी’ भनिने र बोल्न थालेपछि ‘विच’ अर्थात् बाइफाले भनेर चरित्रहत्या गरिने मनोविज्ञानलाई चिर्नुपर्छ । उनीहरूले भने, ‘यौनजन्य हिंसाविरुद्ध सबै महिला लेखक एक ठाउँ उभिएर ३मिटूलाई ‘विटू’ बनाउनु जरुरी छ ।’


‘सरोगेट कन्ट्री’ कथाका माध्यमले नेपाली पाठकबीच समेत लोकप्रिय रहेकी लेखक एवम् एक्टिभिस्ट सीमा आजाद जीवनसाथी विश्वविजयसहित उपस्थित एउटा सत्र थियो, ‘जिन्दानामा’ । यसमा उनीहरू राधाकान्त सक्सेना र एआर नियाजीसँग गफिए । जेलजीवनमै पनि पलाउने प्रेम र विवाहलगायत जेलभित्रको सामाजिकताबारे भएका कुराकानी रोचक थिए । ‘इतिहास र मिथकका विरोधाभास’ शीर्षकको सत्रमा निर्धारित वक्ता प्रोफेसर/इतिहासकार इरफान हबिबको अनुपस्थिति खुबै खट्कियो । भर्खरै बितेकी प्रख्यात लेखक कृष्णा सोबतीको श्रद्धाञ्जलीस्वरूप राखिएको सत्र ‘हिन्दी कहानी का आधा आकाश’ मा सुधा अरोरा, प्रज्ञा पाण्डे, बन्दना चौबे, उर्मिला शिरीष, गीता श्रीलगायतले बोले । उनीहरू हिन्दीमा महिलालेखन आत्मरक्षात्मकबाट प्रतिक्रियात्मक दिशातर्फ बढेको कुरामा एकमत थिए तर धर्म र राजनीतिजस्ता विषयमा महिलाहरूको कलम अत्यन्तै कम चलेको कुरो पनि राखे । हिन्दीजगत्मा स्त्री लेखन निर्भीक र दमदार हुन नसकेको चिन्ता पनि सुनियो त्यहाँ ।


कसोकसो भयो, ‘राइट टू इन्फर्मेसन’(आरटीआई) की अभियन्ता अरुणा रायको प्रतीक्षित वार्ता छुट्यो । थक्क लाग्यो । छँदाखाँदाको आईएएस अफिसरको जागिरमा राजीनामा ठोकेर मजदुर किसानको हकका लागि मैदानमै उत्रिएर लडेकी यी अभियन्तासहितको आन्दोलनकै बलमा भारतको संसद्ले सन् २००५ मा सूचनाको हकसम्बन्धी कानुन नै बनाउनुपरेको थियो । अन्यका तुलनामा सिनेमा सत्रमा दर्शक बाक्लिन्थे । अरूभन्दा पनि फिल्मकार मृणाल सेनको स्मृतिमा समानान्तर सिनेमामाथि चलेको छलफल गम्भीर र अर्थपूर्ण रह्यो । जितेन्द्र भाटियासँग प्रह्लाद अग्रवाल र अजित रायले गरेको कुराकानीको सार थियो— बजारवादले कलाको संवेदना र जिम्मेवारीबोधको घाँटी न्याकिरहेको यो जुगमा समानान्तर सिनेमाको टड्कारो खाँचो छ ।


कविता र कथावाचनका मात्रै तीन दर्जन सेसन † मञ्च धेरै, पाँचतिर बाँडिनुपर्ने भएकाले दर्शक सहभागी कम । विष्णु नागर, रति सक्सेना, सम्पत सरल, नरेश सक्सेना, लीलाधर मंडलोईजस्ता गिनेचुनेका अग्रज कविहरूका सत्रमा समेत कुर्सीहरू खाली देखिनु असुविधाजनक लाग्थ्यो । हिन्दीबाहेक राजस्थानी, सिन्धी, मराठी, असमिया, पन्जाबीजस्ता प्रादेशिक भाषाका कविता पाठमा पनि दर्शकको उपस्थिति न्यून थियो । कथावाचन सत्रमा मान्छे अलि देखिन्थे । यद्यपि उत्सवको माहोलमा लामालामा कथाहरूको वाचन त्यति नजँच्दो रहेछ । हाम्रातिर त्यस्तो अभ्यास नभएर पनि हो कि †

नेपाली सहभागिता
भीष्म सहनी मञ्चमा पहिलो दिनको अन्तिम सत्र थियो हाम्रो— ‘पडोस : सुलगते सवाल’ शीर्षकमा । आफ्नो सत्रको टन्टो अर्कै खाले हुने † मुख्य त झम्के साँझ परिसकेकाले दर्शकदीर्घा खाली पो हुने हो कि भन्ने चिन्ता † तर कसोकसो मान्छे भरिए । वक्ताका रूपमा यो सत्र मेरा लागि आकस्मिक थियो । म कुनै राजनीतिक या कुटनीतिक ‘एक्सपर्ट’ होइन, कवि हुँ । कविले तथ्य नै जान्दैन भन्ने होइन तर उसले तथ्यभन्दा बढी अनुभूति र भाव जान्दछ । मसमेत विधान आचार्य र प्रमोद धितालले केही भूराजनीतिक र केही आर्थिक तथ्यसहित अनुभूतिमिश्रित कुराहरू राख्यौं । हामीले भारतीय संस्थापनको बडेभाइ प्रवृत्तिले नेपालमाथि गरेका हस्तक्षेप र नाकाबन्दीका प्रसंग पनि स्मरण गर्‍यौं । उत्सवका सहसंयोजक प्रेमचंद गान्धीले सहजीकरण गरेको यो सत्र दर्शकसँगको प्रश्नोत्तर र संवादले चाखलाग्दै बनेको थियो ।


भोलिपल्ट बिहान लगातार दुइटा सत्र थिए हाम्रा । पहिलोमा कविता वाचन थियो । मसमेत कविहरू अभय, विधान आचार्य, प्रमोद धिताल, रिमा केसी, विपिन पाठक र हिमालचन्द्र सबैले कविता वाचन गर्‍यौं । दोस्रोमा थियो— प्रगतिशील नेपाली साहित्यबारे चर्चा । पहिलो सत्र सोचेजसरी जमेन । कारण, त्यति छिटै कविता सुन्ने मानिसहरू आइपुगेकै थिएनन् । दोस्रो सत्र भने अपेक्षा गरेभन्दा राम्रो भयो । कवि विधान आचार्यले कुशलतापूर्वक सहजीकरण गरेको यो सत्रमा अभय र प्रमोदसँगै म पनि वक्ता थिएँ । हामीले योगमाया, कृष्णलाल अधिकारीदेखि गोपालप्रसाद रिमाल हुँदै भूपि, पारिजात, इच्छुक र आजसम्मको जनसाहित्यबारे चर्चा गर्‍यौं । प्रमोदले आफूले हिन्दीमा अनुवाद गरिरहेको नेपाली कविताको पाण्डुलिपिबाट श्यामल, विमल निभा, आहूति, निभा शाह, केशव सिलवाल र स्वप्निल स्मृतिका कविताका अंश सुनाउन भ्याए । यो सत्रमा भएको दर्शकसँगको दोहोरो संवाद र नेपाली कविताप्रति उनीहरूको चाखले हामी उत्साहित भयौं ।


अन्तिम दिनमा हाम्रा दुइटा सत्र हुँदै थिए । एउटामा नेपाली र भारतीय कविबीचको संवाद राखिएको थियो भने अर्कोमा मेरो हिन्दी भाषामा अनूदित पुस्तक ‘सवालों का कारखाना’ माथि विमर्शको कार्यक्रम थियो । अकस्मात के परेछ कुन्नि, पहिलो सत्रमा हामीसँग संवादमा रहने भनिएका मराठी कविहरू बिहानै घर फर्किसकेछन् । हामीलाई खल्लो त लाग्यो तर त्यो समयमा हामीले आफूसित भएका अनूदित कविता मज्जाले सुनायौं । दर्शकको अनुरोधमा नेपाली भाषामै पनि कविता सुनाइयो । आफ्नै ‘टोन’ मा कविता वाचन गर्दाको अनुभूति अलग्गै थियो । मेरो पुस्तक चर्चामा बंगाली मूलका हिन्दी कवि नित्यानन्द गायेनको सहजीकरण थियो । मुख्य वक्ताका रूपमा निर्धारित कवि कात्यायनीले ‘इलेभेन्थ आवर’ मा नआउने सूचित गरिछिन् । यस पटक, प्रकाशक ‘परिकल्पना’ (लखनउ) को स्टल पनि नराखिएको हुनाले त्यहाँ किताब किनेर पढ्न खोज्ने साथीहरू निराश भए ।


नेपाली साहित्यबारे भारतीय पाठकजगत् लगभग अनविज्ञ छ । साँध जोडिएको छिमेकमै हाम्रो साहित्य पुगेको छैन । त्यहाँका मानिसहरू हामीले तिमीहरूका यी–यी लेखक पढेका छौं भन्दा जिब्रो टोक्छन् । हामीलाई हिन्दी साहित्यको परम्परा कण्ठप्राय: छ । हामी भारतीय अंग्रेजीभाषी लेखकलाई पनि खुबै पछ्याउँछौं । तर, त्यहाँका मै हुँ भन्ने पाठकलाई पनि नेपालको साहित्यबारे तातोभुत्लो थाहा नभएको देख्दा दिक्क लाग्ने रहेछ । हामीले छलफलका क्रममा भन्यौं, नेपालमा पनि भारतमा जस्तै साहित्यको समृद्ध परम्परा छ । १२३ भाषामध्ये केहीको त आफ्नै लिपिसमेत छ । लोकसाहित्य र आधुनिक लिखित साहित्यमा हामी तपाईंहरूभन्दा कुनै अर्थमा कमजोर छैनौं ।


साँखुल्ले बन्न खोज्दै भारत र नेपाल त कहाँ दुइटा देश हुन् र ? भन्नेको कमी पनि देखिएन । यसको निहितार्थ डरलाग्दो लाग्छ । यद्यपि हामी हावा, बादल र पन्छीजस्तै कवि, कलाकारको पनि निश्चित देश र सीमा हुन्न भन्ने मान्छौं । तर, त्यसो भन्दै गर्दा कसैको अनुचित हस्तक्षेप र दासत्वको सबैभन्दा खरो विरोध पनि कवि, लेखक, कलाकारले नै गर्नुपर्छ भन्ने कुरामा पनि सचेत हुनैपर्छ ।

पीएलएफ–जेएलएफ
जयपुर लिटरेचर फेस्टिवलबारे नेपालमै प्रशस्त सुन्न पढ्न पाइन्छ । हरेक वर्ष जेएलएफको ‘औरा’ ले नेपाली अखबार रंगिन्छन् । दशक अघिदेखि थालिएको यो फेस्टिभलको प्रभावले भारतमा मात्र नभई नेपालमा समेत ‘लिट्–फेस्ट कल्चर’ विस्तार भएको छ । पीएलएफका आयोजकले बजारवादविरुद्ध भनेर थालेको अभियान जेएलएफप्रति नै लक्षित छ भन्ने स्पष्टै छ । पाँच दर्जनभन्दा बढी कर्पोरेटको लगानीले झकिझकाउ र बनिबनाउ जेएलएफले कसको हित रक्षा गर्न भूमिका खेल्छ होला ? यो पनि स्पष्ट नै छ । यहाँ लेखकको कम राजनीति, सिनेमा र क्रिकेटका सेलिब्रेटीको बढ्ता भ्यालु किन छ ? त्यो बुझ्न पनि माथापच्ची गरिरहनु पर्दैन । देशभित्रका भाषाहरूको अवमूल्यन र अंग्रेजी भाषाको मात्रै प्रवद्र्धन हुने गरी सञ्चालन भएको आरोप खेपेका जेएफएफका मुखियाहरू मुख्यत: बजार मनोविज्ञानबाटै निर्देशित छन् भन्ने कुरा त अधिकांश वक्ताहरूको सूचीबाटै पत्तो लागिहाल्छ ।


त्यति टाढा पुगिसकेपछि एक पटक त्यताको पनि अवलोकन गरौं न त भन्ने लाग्यो । जेएलएफमै जाने भनेर नेपालबाट जयपुर पुगेका एक मित्रसँग गेटपासबारे मेसेन्जरमा सोधें । तिनले व्यंग्यको भाषामा प्रतिप्रश्न गरे, ‘तपाईंहरू पनि पँुजीवादीहरूका मेलामा पस्ने हो र ?’ नपसी, नदेखी गरिएको न प्रशंसा आधिकारिक हुन्छ न आलोचना । हामी गयौं । २८ जनवरी जेएलएफको समापन हुने दिन रहेछ । त्यतिका धेरै प्रायोजक रहेको फेस्टिभलमा प्रवेश शुल्कको मात्रै रहेछ भारु तीन सय † परिचयपत्रबिना प्रवेश टिकट नपाइने अर्को कडा नियम † हामीमध्ये एक जना साथीको पासपोर्ट गेस्ट हाउसमै छुटेछ तर, एक जना अपरिचितले दुई सयमा आफ्नो आईडी बेचे र हाम्रा साथीले त्यही लिएर भित्र पस्न पाए । पहिलो क्रेताले फेस्टिभल ‘इन्जोय’ गर्न पायो । पुँजीवादको यो विरूप चित्र आत्मसात् गर्दै हामी कडा सुरक्षा जाँचपास गरेर डिग्गी प्यालेसमा छिर्‍यौं ।


हिँड्ने ठाउँसम्म नहुने गरी मान्छे मान्छेको
थाक † तीमध्ये आधा बढी तन्नेरीहरू † तर ती सत्रहरू सुन्नभन्दा सेल्फी खिच्नैमा मस्त छन् । कतिपय डेटिङ आएझैं मग्न छन् । भित्रपट्टि लागेको छ जयपुरी खाना, लुगा, जुत्ता र शिल्पकलाको नखरमाउलो मेला । दर सोध्दा सातो उड्ने दाम † बुक स्टलचाहिँ एउटा मात्रै छ । त्यहाँ उनान्सय प्रतिशत किताब अंग्रेजीका छन् । छवटा मञ्च । हामी सबै मञ्चका सत्रहरू अलिअलि सुन्दै चहार्‍यौं । मान्छेको त्यत्रो भीड हुँदा पनि दर्शकदीर्घाका कुर्सीहरू भने सबैमा आधाजसो खाली † कतिपय वक्ता अत्यन्तै रुचिकर थिए । मलाई एक ठाउँ अडिएर अलिबेर सुन्न मन पनि थियो तर हामीलाई फर्किहाल्नु थियो ।


संघारमै तीन सय डाँडेर ढाड सेकेको जेएलएफमा हामी पानी पनि नखाई निस्क्यौं । बरु बाहिरपट्टि आएपछि चटपटे र चनादम खायौं । त्यहाँभित्र घुमिन्जेल कुन्नि किन हामीलाई अलगावजस्तो भावले खेदिरह्यो । अचानक पीएलएफको माया लागेर आयो । डिग्गी प्यालेसबाट रवीन्द्र मञ्चतर्फ फर्किँदा कताकता घर फर्किरहेजस्तो न्यानोले हामी किञ्चित भावुक बनिरहेका थियौं । यद्यपि त्यो ‘न्यानो’ पनि आखिर एउटा सापेक्ष सत्य न हो †


पाँच पाँचोटा मञ्च र सय बढी सत्र हेर्दा पीएलएफले जेएलएफलाई नै पछ्याइरहेको अनुभूति दिलाउँथ्यो । हुबहु पछ्याउने नै हो भने फरक हौं किन भन्नु ? गुणभन्दा संख्यामा ध्यान दिनु र सहआयोजक ‘काव्या’ सँग स्पष्ट रूपले समन्वय नगर्नुले पूरै उत्सवलाई गन्जागोल बनाइदिएको देखिन्थ्यो । अनौपचारिक रूपमा त तपाईंहरू आइदिनाले हाम्रो उत्सव ‘अन्तर्राष्ट्रिय’ भएको छ भन्ने तर औपचारिक मञ्चमा नेपालबाट साथीहरू आएका छन् भन्ने एउटा वाक्यसम्म नबोल्ने आयोजकसित हामीले भन्यौं– आइन्दा यो प्रवृत्ति सच्चिनुपर्छ साथी हो †


प्रकाशित : फाल्गुन ४, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?