कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्रो देशको घरजम

९० वर्षीय तीर्थराज पौड्याल आफ्नो सपनीमा जहिल्यै भुटानै देखिरहन्छन् । घर छाड्ने बेलामा बन्धनमा नपरून् भनेर उनले गोठका गाई फुकाएर हिँडेका थिए । सपनामा अक्सर तिनै गाईलाई उनी देखिरहन्छन् ।

काठमाडौँ — घर हुनु ठूलो कुरो कि देश हुनु ? उमेरले ८१ लागेपनि अझैं हट्टाकट्टा देखिने तीर्थराज पौड्याललाई अढाई दशक अठ्याएको यो प्रश्नले अचेल भने ज्यादा पिरोल्दैन ।

तेस्रो देशको घरजम

किनभने, उनीसँग अहिले दुवै छ, अस्ट्रेलियामा । जीवनको सुरुआती दिनहरूमा पनि यो थियो, भुटानमा । पण्डित तीर्थराजको विश्वास स्वाभाविक रूपमा भावीको कलममाथि छ । यस हिसाबले बिचार्दा बीचमा २३ वर्ष नेपालमा एक शरणार्थीको जीवन बाँच्न लेखेको रहेछ सायद । त्यसपछि फेरि उनको जीवनले अस्ट्रेलियाको खुला मैदानमा पुगेर गति लिएको छ ।

‘यहाँ नातिनातिनासहित बसिरहेको छु र जीवन फेरि एक पटक साह्रै सजिलो गरी चल्न थालेको छ,’ दक्षिणी अस्ट्ेरलियाको एडलेड सहरस्थित म्याकडोनल्ड पार्कमा भेटिएका तीर्थराज भन्दै थिए, ‘तर पनि, मन मेरो यहाँ छैन, उडेर भुटानै पुगेको छ, उतै बसेको छ । म मात्रै शरीर लिएर यहाँ बसेको छु ।’भुटानमा ठूलो खेती र त्यसबीचमा उभिएको घरमा जीवनलाई पुग्ने सारा सुविधा थियो उनलाई । उनको हरेक सपना त्यही खेत, अलैंची बारी र पहाडका तरेलीहरूमा पुगेर खुल्छ । नेपालीभाषी बाहुल्य भएको उनको इलाकामा ‘विश्वेश्वर संस्कृत पाठशाला’ थियो । सपनामा त्यही संस्कृत पाठशालामा कहिले उनी बालक भएर पढ्दाका क्षणहरू देख्छन् । कहिले त्यहीं ३५ वर्षसम्म वर्षको १० मुरी धान लिएका भरमा पढाएका दिनको अनेक दृश्य उत्रन्छन् ।

वर्षमा एक पटक पाउने १० मुरी धानका भरमा पढाउँदापढाउँदै साढे तीन दशक बितेपछि भुटान सरकारले संस्कृत पाठशालालाई राष्ट्रिय मान्यता दियो र, तिर्थराज महिनाको तीन हजार तलब पाउने गरी सरकारी प्रधानाध्यापक बनाइए । ‘त्यस दिन मेरो खुसीको सीमा थिएन,’ पर कतै देखिएको दृश्यको वर्णन गरेझैं नन्दप्रसादका दुई आँखा अतीतको डिलमा पुगेर चलमलाए, ‘तर, त्यो खुसी धेरै टिक्न पाएन, हावाहुरी आएझैं मेरा सारा संसार उडाएर लग्यो ।’ नेपालमा बहुदल आएको वर्षबाट अचम्मसँगले नेपालीभाषीहरू खेदिन थाले । उनले पढाइरहेका बेला एक दिन भुटानी प्रहरी आए र नेपाली पुस्तकहरू जम्मा गरेर जलाइदिए । ब्राह्मणहरूलाई धोती वा दौरा–सुरुवालमा होइन, ड्रुक्पा संस्कृतिको बख्खु लगाउनुपर्ने भयो । ‘त्यसपछि’ तिर्थराज भन्छन्, ‘जनता आन्दोलनमा उत्रिए । कति पक्राउ परे, कति थुनामा परे र कति मारिए ।’

ज्यान जोगाएर भाग्न खोज्ने नेपालीको लर्काे लाग्यो भुटानमा । उनका कान्छा छोरा इन्द्रप्रसाद बैंकमा जागिरे थिए भने छेठा छोरा हरिप्रसाद थिम्पुमा हेडमास्टर । सापकोटा परिवार शरण खोज्दै देशबाट बाहिरिएको मानव नदीमा एक कुलेसोसरी मिसिए र बग्दैबग्दै असाम, सिलिगुडी हुँदै झापा आइपुगे । त्यसपछिका २३ वर्ष शरणार्थी बनेर शिविरमा बिते । सन् २०१३ को अगस्टमा तेस्रो मुलुकमा बसोबास गराउने कार्यक्रमले सापकोटा परिवारलाई अस्ट्रेलिया ल्याइपुर्‍यायो जहाँ उनी अब त्यहीँको नागरिक भइसकेका छन् ।

तर, सपनीमा भने उनी जहिल्यै भुटानै देखिरहन्छन् । हिँड्ने बेलामा बन्धनमा नपरून् भनेर उनले गोठका गाई फुकाएर हिँडेका थिए । सपनामा अक्सर तिनै गाईलाई उनी देख्छन् । फेरि जीवन सुरु गर्न पाए, तीर्थराज फेरि भुटान नै जाने थिए । उही खेतमा उसै गरी धान फलाउने थिए र फलैंचामा बसेर स्वादका साथ अलैंचीको बगान हेर्दै हुक्का तानेर सन्तुष्टिले आँखा चिम्लने थिए । ‘तर, त्यो दिन आउँदैन होला अब’ उनी भन्छन्, ‘सायद, यतैकतै मेरो सास जान्छ होला ।’ अहिले उनका छोराबुहारी र नातिनातिना भने यतै रमाउन थालेका रहेछन् ।

‘शरणार्थी रूपमा नेपालमा सुरुको अवस्था ज्यादै दयनीय थियो,’ ४६ वर्षीय तिलचन्द सापकोटा भन्छन्, ‘सुर्ती हाल्ने सानो डिब्बाबराबर पिठो र त्यति नै दाल हरेक परिवारलाई नेपाल सरकारले दिनहुँ रासनका रूपमा दिन्थ्यो जो हाम्रो भोक मार्न पर्याप्त थिएन ।’ त्यसमाथि शिविरमा भएको स्वच्छ खानेपानीको अभाव र फोहोरले गर्दा हैजा फैलिन गयो जसबाट दिनहुँ एक डेढ दर्जन भुटानी मूलका हाम्रा दाजुभाइ मर्न थालेका थिए । यो सम्झँदा अहिले पनि उनका आँखामा एक किसिमको त्रासदीपूर्ण भाव सलबलाउँछ । भुटानको डम्फु चिरानमा जन्मे–हुर्केका तिलचन्द देशबाट लखेटिँदा कक्षा आठमा पढ्थे । घरबाट निक्लँदा सकेको सामान बोकेर उनको परिवार सन् १९९२ को एक हिँउदमा नेपाल पुग्यो । बाटामा पाल टाँगेर बसेको, चिउरा दालमोठ इत्यादि खाएको र असामबाट ट्रक चढी काँकडभिट्टामा आएर समोसा खाएको उनलाई हिजोजस्तै लाग्छ ।

रोकिएको पढाइलाई अनेक दु:ख गर्दै उनले पूरा गरे शरणार्थी अवस्थामै । क्याम्पमा स्वयंसेवा गर्नेलाई राष्ट्रसंघीय छात्रवृत्ति उपलब्ध थियो । उनले सेवा गरे र छात्रवृत्तिमा ११/१२ पढे । त्यसपछि उनले हेल्थ असिस्टेन्ट र पछि डिप्लोमा इन न्युट्रिसन हेल्थ एजुकेसन गरे भारत गएर । नेपालमा पनि पढाइअनुसारको काम उनले पाउँथे तर अन्तमा नागरिकता नभएर फेरि काम पाउँदैनथे । यही क्रममा उनी २०१० मा अस्ट्रेलिया आए परिवारसहित । तीन वर्षअघि उनले यताको नागरिकता पनि पाए । अब उनी अरू कैयन यात्रुझैं विदेश घुम्न सक्छन् र फर्केर आफ्नो घर छ भन्दै आउँदाको खुसी महसुस गर्न सक्छन् । नागरिकता/राहदानी भएपछि उनलाई सबभन्दा बढी जान मन लागेको ठाउँ थियो— उही भुटान । तर, भुटान सरकारले उनीजस्ता पूर्व शरणार्थीलाई भुटान प्रवेशको अनुमति दिन मानेको छैन । यसरी तिलचन्दलाई भुटान र नेपालको सम्झना आए पनि उनका छोराहरूलाई त्यसको कुनै परवाह छैन ।

‘उनीहरू सानैमा यता आए र यतैका रैथानेझैं आनीबानीको विकास गरे,’ उनी भन्छन्, ‘तिनको सम्झनामा भुटान मिस गर्नुपर्ने कुरा केही छैन ।’ बरु नेपालमै जन्मेका हुनाले उनका सन्तानलाई केही नेपाली साथी र संस्कृतिको झल्को अवश्य आउँछ । एडलेडमै बसोबास गरिरहेका सापकोटाकै पृष्ठभूमिका ४५ वर्षीय छत्र दंगालको दुई छोरी लिसा र इसा त अस्ट्रेलियामै जन्मिए, अस्ट्ेरलियन नागरिक नै भएर हुर्किरहेका छन् । तिनका लागि सम्पूर्ण रूपमा अस्ट्रेलिया नै घर हो । बाबुले पाएको शरणार्थी हन्डर तिनका लागि मात्र एक कथा हो, अरू कसैको जस्तो । यसरी यहाँ आएको शरणार्थी कथा अब यही पुस्तासँग सकिँदै छ । ‘सकिनु पनि पर्छ,’ छत्र भन्छन्, ‘शरणार्थी हुनुको पीडा पुस्तौंपुस्ता सर्दै गयो भने त साह्रै नराम्रो हुन्छ ।’

सांस्कृतिक रूपले चाहिँ नेपाली हुनुको पहिचान छोरीहरूमा दिलाउन चाहन्छन् छत्र । त्यसैले छोरीहरूको चिना बनाउने काम उनले एडलेडमा आएर पनि गरे जसअनुसार लिसाको नाम करुणा र इसाको नाम युनिसा छ । छोरीहरूलाई नेपाली भाषा पनि पढाउने व्यवस्था मिलाइरहेका छन् ।छत्र र तीर्थराजहरूझैं अस्ट्रेलियामा ७ हजार हाराहारीमा झापा/मोरङका शिविरबाट पुनर्वासका लागि ल्याइएका छन् । अस्ट्रेलियाका छवटै राज्य र दुवै उपराज्यमा धेरथोर तिनको उपस्थिति छ । ‘यहाँको सुविधापूर्ण जीवनशैली र स्वतन्त्र परिवेशले हामीलाई आफ्नोपनको आभास दिलाएको छ,’ आफूलाई पूर्वशरणार्थी भन्न रुचाउने काशी अधिकारी भन्छन्, ‘यसको प्रभाव हामीभन्दा हाम्रा छोराछोरीमा राम्रो पर्न गएको छ, त्यसैले ती यहींका भएका छन् ।’

अस्ट्रेलियामा झैं अमेरिका, नर्वे, क्यानडा, नेदरल्यान्ड, डेनमार्क, न्युजिल्यान्ड गरी सात देशमा १ लाखभन्दा बढी भुटानी शरणार्थीको पुनर्वास गरिएको तथ्य जगजाहेर छ । ‘कुराहरू बुझी ल्याउँदा यी सबै देशमा नै पछिल्लो पुस्ता सेटल भएको देखिन्छ,’ छत्र भन्छन्, ‘तर हाम्रो पुस्ता भने जतिसुकै सुविधामा बसे पनि नेपाल र भुटानकै सम्झनाले बढी रोमाञ्चित हुन्छ । अझ भुटान त हाम्रो जन्म देश, भुलेर कहाँ भुल्न सकिने रहेछ र ‍ ! ’

प्रकाशित : फाल्गुन ४, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?