२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बर्लिनमा बम्बै

बर्लिन फिल्म फेस्टिभलमा क्रिस्चियन बेल र जुलियन बिनोसेजस्ता अन्तर्राष्ट्रिय स्टार उपस्थित छन् । तर, फेडरिक प्लास्टमा भएको गली बोयको वल्ड प्रिमियर यति चर्चित भयो कि फ्यानहरूले गरेको रणवीर सिंहको नामको पुकारले बर्लिनको आकाश गुन्जियो ।
यज्ञश

काठमाडौँ — यो पूरै रणवीर सिंहको सो थियो । हुन त ६९ औं बर्लिनाल (बर्लिन फिल्म फेस्टिभल) मा क्रिस्चियन बेल र जुलियन बिनोसेजस्ता अन्तर्राष्ट्रिय स्टार उपस्थित छन् ।

बर्लिनमा बम्बै

तर, फेडरिक प्लास्टमा भएको गली बोयको वल्ड प्रिमियर यति चर्चित भयो कि फ्यानहरूले गरेको रणवीर सिंहको नामको पुकारले बर्लिनको आकाश गुन्जियो ।

अभिनेत्री आलिया भट्ट, निर्देशक जोया अख्तर र निर्माता रितेश सिधवानीका साथ रणवीर आफ्नो नयाँ फिल्मको गाला प्रिमियरमा उपस्थित थियो । उनको उपस्थिति नै बर्लिनमा रहेका भारतीय दर्शकलाई हलसम्म तान्न काफी थियो । चिसो सहरमा तातो मुटु लिएर मानिसहरू पहिले त झरीको पर्वाह नगरी लाइनमा बसे । करिब आधा घण्टा ठिहिरोमा उभिएपछि हलको गेट खुल्दा १७ सय अटाउने हल करिबकरिब भारतीयले भरिएको थियो । यताउता दौडिने फ्यानहरू हिन्दीमा कुरा गरिरहेका थिए ।

यसको एक घण्टाअघि ग्रान्ड हयात होटलमा भएको पत्रकार सम्मेलनमा रणवीर शान्त थिए । छिर्केमिर्के निकै झिल्केखालको कोट र चस्मा लगाएका रणवीर शान्तसँग आलियाका लागि बोतलबाट पानी सारिरहेका थिए । प्रश्नहरूको पनि उनले खासै लामो उत्तर दिएनन् । उनलाई संजय भन्सालीका पिरियड ड्रामा र अहिलेको मुम्बईमाथि बनेको गली ब्वाईका बीच अन्तरजस्ता केही प्रश्न सोधिएको थियो । भारद्वाज रंगनलगायतका केही भारतीय फिल्म समीक्षक पत्रकार सम्मेलनमा थिए । यो एक प्रकारले भारतकै पत्रकार सम्मेलनजस्तो थियो । पश्चिमा मिडियाका खासै कुनै पत्रकार यहाँ उपस्थित थिएनन् । करिब ७० प्रतिशतजति कुर्सी खाली थिए । भारद्वाजले जस्तै मैले पनि कुनै प्रश्न सोधिनँ ।

एक जना प्रौढ उमेरका व्यक्तिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोकेको हिन्दुत्वको झन्डा र मुस्लिममाथि भइरहेको विभेदबारे निकै लामो र गोलमाल प्रश्न गरे । पछि मैले थाहा पाएँ ती कलकत्ताका पत्रकार निर्मल रहेछन् । रणवीरका लागि सोधिएको यो प्रश्नको जोयाले छोटो उत्तर दिइन्, मैले तपाईंको प्रश्न नै बुझिनँ । यो सायद उनको प्रश्न छल्ने उपाय थियो । यसले ती परिपक्व पत्रकारलाई झोंक चल्यो । उनी जुरुक्क उठेर भने, मैले अघि भन्न बिर्सेछु, मेरो नाम दाउद इब्राहिम हो ।

तर, जब रणवीर फिल्म हलमा आइपुगे उनको चालढाल बेग्लै थियो । रेड कार्पेट र फ्यान सेल्फीले गर्दा सो करिब एक घण्टा ढिला सुरु भयो । राति ९ बजेका लागि राखिएको सो सुरु हुँदा झन्डै १० बजिसकेको थियो । फ्यानहरूको उत्तेजना यति तीव्र थियो कि सोको बीचबीचमा पनि उनीहरू रणवीर बसेको कुर्सीतिर फर्किएर हुटिङ गरिरहन्थे, चिच्याइरहन्थे । युवतीहरूको एकोहोरो रणवीर आई लव युको आवाजले गर्दा बेलाबेला फिल्मको संवाद सुन्नै मुस्किल पथ्र्यो । तर, जब फिल्मले आफ्नो पेस पक्डियो, फ्यानहरू फिल्ममा डुब्दै गए । र, उनीहरूले आफूहरूबीच रणवीर सिंह र आलिया भट्ट बसिरहेको बिर्सिए । उनीहरूका अगाडि रणवीर मुराद र आलिया सफिनाका रूपमा उपस्थित थिए ।


मुम्बईमाथि नै बनेको रितेश बत्राको फिल्म फोटोग्राफ भने मैले प्रेस सोमा हेरें । यसको अर्थ त्यो सोमा स्टारहरू उपस्थित थिएनन् । गली ब्वाईको ४ दिनपछि भएको फोटोग्राफको युरोप प्रिमियरमा भने नवाजुद्दिन सिद्दिकी, सान्या मल्होत्रा र निर्देशक रितेश बत्रा उपस्थित थिए । रितेशको पहिलो फिल्म लन्च बक्सले पहिले क्यान्स फिल्म फेस्टिभलमा र पछि सबैतिर राम्रो चर्चा र प्रशंसा पाएको थियो । यसलाई भारतीय फिल्मको नयाँ चरणको कथावाचनको प्रतिनिधि फिल्म भनेर पनि समीक्षकहरूले भनेका छन् ।

हलमा रिलिज हुनुअघि नै फेस्टिभलमा हेर्न पाएका यी दुवै फिल्मका पात्र उस्तै छन्, कथा उस्तै छ । तर, त्यसलाई भन्ने तरिका र स्वाद फरक छ । रफिक उल्लाह (फोटोग्राफ) र मुराद (गली ब्वाई) दुवै पात्र मुम्बईको झुपडीमा बस्छन् । दुवै अल्पसंख्यक मुसलमान हुन् । दुवै जीवनमा केही गर्न चाहन्छन् र दुवैको जीवनमा एक युवती छन्, जो उनीहरूको हैसियतभन्दा उच्च जात र धनको परिवारका हुन् । तर, फिल्मको टोन र स्वर भने फरक छ ।

गली ब्वाई मुराद (रणवीर सिंह) को कथा हो । थोत्रा सिटी बसमा आफ्नो रोमान्स चलिरहेको बेला घरमा बाबुले नै दोस्री श्रीमती ल्याएपछि कुनचाहिँ छोराको पारो तात्दैन ? डाक्टर बन्ने तयारीमा रहेकी प्रेमिका र मन नलागी नलागी अर्काको ड्राइभर बनिरहेको प्रेमी । झुपडपट्टीको दिक्कलाग्दो बास । आमाको निराश अनुहार र बाबुको उग्रवादका बीच मन भुलाउनलाई कि गाँजा कि संगीत ।

भनिन्छ, जस्तोसुकै दलदलमा फँसेको मानिसलाई पनि जीवनले एउटा मौका दिन्छ । मुरादलाई त्यो मौका दिन्छ, हिपहपले । हिपहप संगीत प्रतियोगिता मार्फत उसले आफ्नो स्लमलाई कसरी अर्को स्लमडग दिन्छ भन्ने कथा गली ब्वाईको हो । जोया अख्तरलाई बलिउडकी सोफेस्टिकेटेट फिल्ममेकर मानिन्छ । उनले निर्देशन गरेका लक बाई चान्स, जिन्दगी ना मिलेगी दोबारा र दिल धड्कने दो दुवै तल्लो वर्गका मानिसबारेका फिल्म थिएनन् । उनको पहिलो फिल्म लक बाई चान्स बलिउडको भित्री पत्र केलाउने फिल्म थियो ।


२०११ को जिन्दगी ना मिलेगी दोबारा दस वर्षअघि उनकै भाइ फरहान अख्तरले बनाएको भारतका नयाँ पुस्ताका धनी युवाहरूको जीवन कथाको अर्को भागजस्तो थियो । एउटा निकै सम्पन्न परिवारको, एउटा मध्यम र अर्को निम्नमध्यम वर्गको परिवारका युवाहरूको जीवनका डरहरूसँगको सामना देखाउने यो फिल्म निकै दार्शनिक थियो ।

साथीहरूको सम्बन्धपछि जोयाले बनाइन्, परिवारको कथा, दिल धड्कने दो । एउटा निकै सम्पन्न र प्रतिष्ठित व्यापारको घरभित्र के कस्तो कुराले झगडा हुन्छन्, घरमा प्वाल कसरी पर्दै जान्छ, मूल्य मान्यता र प्रतिस्ठाको नाउमा नयाँ विचारहरूलाई कसरी दबाइन्छ भन्ने कथा यसमा उनले भनिन् । बीचमा उनले नेटफिक्सको एन्थोलोजी लस्ट स्टोरिजमा एउटा छोटो फिल्म निर्देशन गरिन् । यो एउटा उच्चवर्गीय युवा र उसकी घरको सफाइ गर्ने युवतीबीचको भावनात्मक र शारीरिक सम्बन्धको कथा थियो ।

यसपालि भने जोया सिधै निम्न वर्गको कथा भन्न अग्रसर भएकी छन् । र, एक शब्दमा भन्ने हो भने उनले यसमा पनि गजब कथा भनेकी छन् । उनको कथा भन्ने शैली पनि राम्रो छ । पात्रको कथा भन्दाभन्दै निर्देशकले आफ्ना कुरा कहाँनेर कसरी भन्नुपर्छ भन्ने पनि जोयालाई थाहा छ । जब केटी हेर्न आएकी केटाकी आमाले खाना पकाउन आउँछ भनेर सोध्छिन् तब जोयाकी हिरोइनको उत्तर हुन्छ, खाना पकाउन त आउँदैन तर सबै सोचेजस्तै भयो भने एक दिन म तपाईंको कलेजो प्रत्यारोपण गर्न सक्नेछु । जोयाको फेमेनिज्म यस्ता संवादहरूमा घुलेर आउँछन् ।

जोयाको फिल्म हेर्दा थाहा हुन्छ, यो महिला निर्देशकको फिल्म हो । समाजका के–के कुरामा उनी असन्तुष्ट छन् भन्ने पनि फिल्म हेर्दा थाहा हुन्छ । एउटा प्रसंग महिलाहरूलाई गोरो बनाउने क्रिमको पनि छ । जोयाले यसलाई पनि व्यंग्य गरेकी छन् । छालाको रङको व्यापारले गरिब देशका महिलाहरूको आत्मविश्वासलाई बलियो बनाउने काम गरेको छ कि कमजोर ? केटीमान्छेले नै खाना पकाउनुपर्छ वा भाँडा माझ्नुपर्छ भन्ने परिवारको अव्यक्त चाहनाले विभेद गरिरहेको छ कि छैन ? यस्ता मुद्दामा डाइलगबाजी नगरीकन जोयाले आफ्नो भनाइ राखेकी छन् ।

सामाजिक विषयमा बनेका फिल्मले प्रवचन दिने खतरा निकै धेरै हुन्छ । भयंकर विचार गरेर वा तौलेर बनाइने फिल्म पनि अति शिक्षाप्रद हुने खतरा हुन्छ । बेलाबेला मात्र फिल्म हेर्नेका लागि ती सरकारले बनाउनुपर्ने फिल्मजस्ता पनि लाग्न सक्छन् । तर, फिल्म न त विषय मात्र हो न कथा मात्र । फिल्म बनाउनेले समाजमाथि आफ्नो दृष्टिकोणसहित टिप्पणी गर्नका लागि खास किसिमको कला चाहिन्छ । भाषण मात्र अभिव्यक्तिको माध्यम होइन । कलामा आफ्ना कुरालाई दृश्य, रङ, प्रकाश वा संकेतका माध्यमबाट पनि भनिन्छ ।

एक दृश्यमा फिल्मले अधेड उमेरका महिलाको यौन चाहनाको प्रश्नलाई पनि उठाएको छ । तर, फिल्मले त्यो पात्रलाई उत्ताउली वा बिग्रिएकी भन्दैन । हिरोकी आमाको यो पात्रप्रति निर्देशकको सहानुभूति छ ।

झुप्रोमा बस्ने एउटा ड्राइभरको छोरोको औकातको प्रश्न फिल्मको मुख्य प्रश्न हो । डाक्टर बनेर आफ्नो औकात बढाउन खोज्ने हिरोइन र हिपहपबाटै औकात बढाउन खोज्ने हिरोको यो कथामै पनि संगीत छ । हिपहपको विषय भएकाले यसमा गीत धेरै छन् । केही त अनावश्यक पनि । यसले फिल्मलाई अलि लामो पनि बनाएको छ । हुन त यसअघि ह्याप्पी न्यू इयर, मुन्ना माइकलजस्ता फिल्ममा पनि संगीत र नृत्य प्रतियोगिताबाट विजयी बन्ने हिरोहरूका कथा आएका छन् । तर, गली ब्वाई त्यति कृत्रिम छैन ।

यसलाई कृत्रिम बनाउनबाट जोगाउन ठूलो भूमिका रणवीर सिंहकै छ । फिल्मका दुइटा हिपहप गीत उनी स्वयंले गाएका छन् । रणवीरको अभिनय तारिफयोग्य छ । वाजिराव मस्तानीबाट सुरु भएको उनको अभिनयको ग्राफ गली ब्वाईमा घटेको छैन । पद्मावत र गली ब्वाईजस्ता गम्भीर फिल्मका बीचमा सिम्बाजस्तो मसला हिटले रणवीरको विविधता पनि देखाउँछ । र, बर्लिनको सो सकिएपछि पनि रणवीरको चार्म र ऊर्जा देखियो । सामान्यतया ठूलो फिल्म फेस्टिभलमा प्रिमियरपछिको प्रश्नोत्तर सेसनमा निर्देशकलाई फिल्मसँग सम्बन्धित प्रश्न सोधिन्छ । बर्लिनालमा जोयाले त्यो मौका पाइनन् । जब प्रश्नोत्तरका लागि फिल्मका कलाकार र निर्देशकलाई मञ्चमा बोलाइयो, माइक समातेर रणवीर चालु भइहाले । उनले फिल्ममा आफूले गाएको अपना टाइम आएगा गाउन थाले । उनका फ्यानलाई यति भए के चाहियो ? बस, फेरि एक पटक रणवीरको नाम आकाशमा गुन्जियो । त्यो स्वरमा जोयाको धोद्रो स्वर दबिनु दबियो ।

फोटोग्राफको पत्रकार सम्मेलनमा भने मैले प्रश्न सोधें— निर्देशक रितेशलाई । यो पत्रकार सम्मेलन अझै दु:खी थियो । करिब ९० प्रतिशत कुर्सी खाली थिए । यसमा त भारतीय मात्र होइन, हिन्दी बोल्ने मात्रै पत्रकार थिए भन्दा पनि हुन्छ । इन्टरप्रेटर पनि हिन्दी बुझ्ने र बोल्ने राखिएको थियो । यसको कारण के थियो भने फिल्मका मुख्य स्टार नवाजुद्दिन सिद्दकी अंग्रेजीमा बोल्न खासै रुचाउँदैनन् । उनी सबै प्रश्नको हिन्दीमा उत्तर दिइरहेका थिए । उनका उत्तर पनि छोटा थिए ।

फोटोग्राफ एउटा फोटोग्राफरको कथा हो । उत्तर प्रदेशको कुनै गाउँबाट परिवारलाई लागेको ऋण तिर्नका लागि मुम्बै आएको रफिक उल्लाह अविवाहित छ । उसकी हजुरआमा विवाहका लागि दबाब दिइरहेकी छन् । गेटवे अफ इन्डिया घुम्न आउने मानिसहरूका फोटो खिच्ने पेसा गर्ने रफिकउल्लाह हरेक दिन झुपडीको डेराबाट एउटा कालो ब्यागमा क्यामेरा र फोटो प्रिन्टर बोकेर हिँड्छ । तर, ऊ विवाहको बोझ भने बोक्न चाहँदैन । आफ्नी हजुरआमालाई टार्नका लागि उसले एक दिन आफैंले गेटवे अफ इन्डियामा खिचेको युवतीको फोटो पठाइदिन्छ, मैले यतै प्रेमिका भेटें भनेर । हजुरआमा ती नभएकी प्रेमिकालाई भेट्न मुम्बई आइन् भने के होला ? फोटोग्राफ यसको कथा हो ।

फिल्ममा नवाजुद्दिनले भन्ने एउटा संवाद छ, यही फोटो हेरेर तपाईं मुस्कुराउनुहुनेछ । किनभने, रहेनछ यही स्मृति । यो कपालमा दौडिइरहेको हावा र कानले सुनिरहेका आवाजहरू सबै बिर्सिइनेछन् । रितेश बत्राको लञ्चबक्स त्यस्तै स्मृति बनेर बसिरहेको छ । खुसी खोज्न निस्किएका दुई अपरिचित पात्रको यात्रा कहाँ पुग्यो होला भन्ने लागिरहन्छ । यस्तैमा आएको त, स्मृतिलाई कैद गर्ने फोटोग्राफ । फोटोग्राफ एउटा तस्बिरजस्तै छ, शान्त र स्थिर । घटनास्थलमा गोली नै चलेको भए पनि फोटोमा सबै स्थिर हुन्छ । यो फिल्म पनि त्यस्तै छ । पात्रहरूको मन मस्तिष्कमा हावामाथि हुन्डरी चलिरहे पनि उनीहरू शान्त छन् । विवाहको दबाबबाट दुवै बच्न चाहन्छन् । नवाजुद्दिन सिद्दकी अहिलेको समयका सबभन्दा राम्रा अभिनेतामध्ये पर्छन् । एकातिर ठाकरे र सिक्रेड गेम्सजस्ता फिल्ममा उनी उग्र अभिनय गर्छन् भने अर्कातिर मन्टो र फोटोग्राफमा समाजसँग जोडिएको चरित्र ।

धोबीघाटजस्तै यो फिल्म पनि सहरलाई एउटा प्रेमिल पत्र हो । बम्बै सहर जहाँ मानिस सपना खरिद गर्न आउँछन् । आफ्नो परिवार चलाउन ट्याक्सी चलाउने, फ्याक्ट्रीमा काम गर्ने, घरघरमा झाडुपोछा लगाउने पात्रहरूको नजरबाट बम्बैलाई हेर्छ फोटोग्राफले । जहाँ यूपीका कामदारहरू सुतिरहेको कोठामा राति कतिबेलादेखि खाट बजेको, पंखा कराएको आवाज आउन थाल्छ । अनि एउटा पात्र भन्छ, ल तिवारीजी आइपुग्नुभयो ।

तिवारीजी वास्तवमा एउटा भूत हो । यो भूतबारे पात्रहरूले निकै कुरा गरिरहँदा मलाई लन्चबक्सकी आन्टीको सम्झना आयो । यी आन्टीको फिल्ममा अहं भूमिका छ तर ती देखिन्नन्, तिनको आवाज मात्र आउँछ । मलाई यो भूत पनि त्यस्तै लागिरहेको थियो, फ्याट्ट विजयराज तिवारीजीका रूपमा प्रकट भए । पत्रकार सम्मेलनमा मैले निर्देशक रितेशलाई त्यही प्रश्न सोधें, भूतलाई त्यसरी देखाउनु किन आवश्यक भयो ? उनले भने, एक त मलाई लाग्यो यो पात्रका यति धेरै कुरा भएपछि देखाउनैपर्छ । दोस्रो यसमा विजय राजजस्ता उत्तम अभिनेतालाई लिइएको थियो । र, तेस्रो के थाहा अर्को फिल्म मैले यही पात्रलाई लिएर पनि बनाउन सक्छु । आखिर विजय राज किनै प्रसिद्ध अभिनेता हुन् । तपाईंहरूलाई बताइदिऊँ— गली ब्वाईमा जवान छोराको पालो मिचेर आफैं नयाँ श्रीमती भित्र्याउने भूमिकामा पनि यिनै विजय राज छन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?