२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तीर्थ पनि, श्राद्ध पनि

अवकाशप्राप्त दुई जना कूटनीतिक मित्र, एक जना प्राध्यापकसहितको परिवार टोली यस पटक ६२ दिन लामो तीर्थयात्राबाट घर फर्किएको छ । यो डफ्फाले तीर्थाटन मात्रै गरेन, आफ्ना पितापुर्खा र वंशजको नाममा श्राद्ध–तर्पण पनि गर्‍यो ।
मधुवन पौडेल

काठमाडौँ — एक दिन अप्रत्याशित रूपमा मेरा मित्र पूर्व परराष्ट्र सचिव र पूर्व राजदूत डा. मदनकुमार भट्टराईले ‘तपाईंले सबै ज्योतिर्लिंग दर्शन गर्नुभो ? सँगै जाऊँ, म कार्यक्रम बनाउँछु’ भन्दै फोन गर्नुभयो  । घरसल्लाह नभइसकेकाले मैले तत्कालै खास निधो दिन सकिनँ  ।

तीर्थ पनि, श्राद्ध पनि

विगतमा दुई पटक गरी चार धाम र भारतमा अन्य देवस्थल भ्रमण, दर्शन र श्राद्ध इत्यादि गर्ने काम सम्पन्न गरिसकेको थिएँ । फेरि एक दिन मदनजी एकाएक घरमा झुल्किनुभयो र, तीर्थयात्राको प्रस्ताव दोहोर्‍याउनुभयो । अनि त धर्मभीरु मेरी श्रीमतीले तुरुन्तै ‘जाने नि किन नजाने ?’ भन्दै एकतर्फी निर्णय सुनाइहालिन् । सबैभन्दा पहिले रेलको टिकट बुकिङ भयो अनि अरू तयारी । यात्रुको संख्या बढेर १२ पुग्यो ।


हाम्रो यात्राको तीन पाटोमध्ये मुख्यतः ११ ज्योतिर्लिंगको दर्शन गर्ने, बाटोमा पर्ने अन्य देवस्थलको भ्रमण र दर्शन एवम् आंशिक रूपमा बाटोमा पर्ने पर्यटकीय स्थलको पनि अवलोकन गर्ने थियो । काठमाडौंबाट कात्तिक २९ गते हामी निस्क्यौं । बाटोमा चुरिया माई, गहवा माई, विर्ता माई र बहुचर्चित गढीमाईको दर्शन गरी हामीले पहिलो रात वीरगन्जमा बितायौँ । विहार राज्यभित्रका तीर्थस्थल भ्रमण गर्दा २ वटा जिप भाडामा लिएर यात्रा सुरु गर्‍यौं । रक्सौलबाट पहिले सोनपुर जिल्लाको हरिहरक्षेत्र अर्थात् भगवान् शिव र कृष्ण दुवैको संयुक्त मानिने हरिहरनाथ मन्दिर पुग्यौं ।

पण्डा–रस्साकस्सी
भोलिपल्ट बिहानै पटनाबाट १२ किमि दक्षिणमा पुनपुन नदीको नामबाट बसोबास भएको सानो सहर पुनपुन पुगियो । धेरै घाटमा बिचौलियाको पनि जगजगी हुने र सकभर बढी पैसा असुल्न झगडासमेत गर्ने पण्डाबारेको बयान सुनेका थियौं, सत्य रहेछ । तीर्थालुले त्यहाँ नदी घाटमा श्राद्ध र पिण्डदान गरे । मैले विगतमा बद्रीनाथ धाममा ब्रह्मकपाली श्राद्ध गरिसकेकाले सबै ठाउँमा फेरि श्राद्ध गर्नुपर्ने थिएन । त्यहाँ पिण्डदानपछि हाम्रो टोली मोटर बाटो हुँदै बोधगयातिर लाग्यो ।


भगवान् बुद्धले निर्वाण प्राप्त गर्नुभएको बोधगया धार्मिक दृष्टिले मात्र होइन, पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । सम्राट् अशोकको राज्यकालमा निर्मित संरचना र त्यसभन्दा पनि पुरातात्त्विक सम्पदालाई संरक्षण गरिएको हेर्दा हाम्रो लुम्बिनी र तिलौराकोट सम्झना भयो । त्यो रातको हाम्रो बसाइ बोधगयामै भयो ।भोलिपल्ट मंसिर २ गते बिहान गया गयौँ । श्रापले गर्दा पानी सबै जमिनभित्रैबाट दबिएको भनिने फाल्गु नदीको सुक्खा भागमा खाल्डो खनी श्राद्धका लागि पानी झिकिएको थियो । दर्शन भ्रमण क्रममा पटनाको सर्किट हाउसमा रात बितायौं । साँझ पटनामा प्रसिद्ध हनुमान मन्दिर दर्शन गरेर आसपास बजार पनि घुम्यौं ।


पटनाबाट हाम्रो पहिलो रेलयात्रा सुरु भयो । पटनाबाट हामी बिहान ५ः३० को रेलबाट दिउँसो २ बजेतिर हावडा, कोलकाता पुग्यौं । महावाणिज्य दूतावासमा भेटघाट र केही समय बिताएर हामी दक्षिणेश्वर र कालीघाट दर्शन, बेलुर मठको म्युजियम एवम् अन्य संरचना अवलोकन गर्दै मठकै विश्रामगृहमा त्यो रात बितायौँ । मदनजी र म दुवैका लागि कलकत्ता महावाणिज्य दूतावास अविस्मरणीय थियो, हामीले आफ्नो पोस्टिङको १/१ अवधि त्यहाँ बिताएका थियौं, नोस्टाल्जिक क्षण ।


त्यसपछिको यात्रा पुरीतर्फको थियो । जगन्नाथ पुरीमा हामीले तीन रात बितायौं । मन्दिरमा दर्शनका साथै पिण्डदान, कोनार्कको ३ हजार वर्ष पुरानो ऐतिहासिक सूर्यमन्दिर एवम् आसपासमा पुरातात्त्विक महत्त्व बोकेका ढुंगामा कुँदिएका मूर्तिकला, प्रसिद्ध साक्षीगोपाल मन्दिर, लिंगेश्वर महादेव दर्शन गरियो । उक्त समयमा जगन्नाथ पुरीमा कात्तिकको जात्रा हुने रहेछ र महिनाभर नै सबेरै बिहान केराको बोटलाई चिरेर डुंगा बनाई समुद्रमा बत्ती बाल्ने चलन रहेछ । श्राद्धको सन्दर्भमा गुजरातको ‘मातृगया’ भनिने सिद्धपुरमा पनि आफ्नो पुर्खाका मातृपक्षलाई पिण्डदान गर्ने प्रचलन भएकाले त्यहाँ पनि श्राद्ध गर्‍यौं ।

ज्योतिर्लिंग दर्शन
पहिलो ज्योतिर्लिंग दर्शन गर्ने क्रममा पुरीबाट हामी आन्ध्रप्रदेशको मर्कापुरसम्म रेल र त्यसपछि मोटरबाट श्री शैलम् देवस्थान भनिने नल्लमाला पहाड शृंखलामा अवस्थित मल्लिकार्जुन स्वामीको मन्दिरतर्फ लाग्यौं । दाहिनेतिर कृष्णा नदी र घना जंगलको बाटो हुँदै यो मन्दिर पुगिने रहेछ । १२ मध्ये दोस्रो स्थानमा रहेको यो ज्योतिर्लिंग दोस्रो शताब्दीमा स्थापना भएको रहेछ । मन्दिरसँगै १८ महाशक्तिपीठमध्ये एक मानिने ब्रह्मरम्भा देवीको मन्दिर पनि छ । पछि सातौं र आठौं शताब्दीतिर चालुक्य वंशमा राजा र १० औं देखि १४ औं शताब्दीसम्म ककतिया वंशका राजाले मल्लिकार्जुन स्वामी मन्दिर आसपास क्षेत्र विकास गरेका रहेछन् । हाम्रो दोस्रो ज्योतिर्लिंगको दर्शन तामिलनाडु राज्यको रामेश्वरम् अर्थात् रामनाथस्वामी मन्दिरमा भयो । पौराणिक स्रोतअनुसार रामले आफू क्षत्रिय भएर एउटा ब्राह्मण राजा रावणको युद्धमा हत्या गरेकाले पत्नी सीता र भाइ लक्ष्मणसहित ज्योतिर्लिंगको रूपमा रामनाथ स्वामीको लिंग स्थापना गरेको भनिन्छ ।


ज्योतिर्लिंग दर्शन गर्ने क्रममा हामी मंसिर २१ गते पुट्टपर्तीबाट रेलयात्रामा महाराष्ट्रको पुणे सहर पुग्यौं । महाराष्ट्र राज्यमा १२ ज्योतिर्लिंगमध्ये ५ वटा पर्छन् । हाम्रो पहिलो दर्शन औरंगावाद जिल्लामा भीमा नदीको किनारामा अवस्थित श्री भीमाशंकर ज्योतिर्लिंग थियो । भीमाशंकरपछि हामी महाराष्ट्रकै धुष्मेश्वर घृश्नेश्वर ज्योतिर्लिंग पुग्यौं । यो मन्दिरबाट हामी करिब २५० किमि टाढा औरंगावाद जिल्लाकै पर्ली भन्ने गाउँमा, पर्ली वैधनाथको मन्दिरतर्फ लाग्यौं । श्री वैधनाथको नाम अगाडि पर्ली राख्नुको पछाडि भारतको विहार राज्यको वैधनाथ धाम, हिमाचलमा आफ्नो क्षेत्रको शिव मन्दिरलाई वैधनाथ ज्योतिर्लिंग हो भनी दाबी गरेको कारण रहेछ । यो ज्योतिर्लिंग नवौं स्थानमा छ ।


पर्लीबाट करिब १२० किमि टाढा दसौं स्थानमा पर्ने ज्योतिर्लिंग श्री औंधा नागनाथको मन्दिर रहेछ । औधा शब्द पनि उत्तराखण्ड र गुजरातको अर्कै शिवमन्दिरलाई ज्योतिर्लिंग भनी दाबी गरेपछि थपिएको हो भन्ने स्थानीयहरूको भनाइ रहेछ । त्यसपछि हाम्रो टोली शनि सिंग्नापुरको मूर्ति रहेको प्रांगणतर्फ लाग्यो । महाराष्ट्रकै सिंग्नापुर गाउँमा रहेको यो मूर्ति कालो चट्टान आकारको रहेछ । सधैं तेलको धारा लगाइने सिंग्नापुर गाउँमा रहेको शनिको मूर्ति कालो चट्टानको आकारको रहेछ । महाराष्ट्रको अर्को प्रख्यात र आठौं स्थानमा पर्ने त्यर्म्बकेश्वर ज्योतिर्लिंग नासिक नजिकै त्यर्म्बक सहरमा छ । यो ज्योतिर्लिंग परिसरमा रहेको कुण्ड भारतको सबैभन्दा लामो गोदावरी नदीको उद्गमस्थल पनि हो । त्यर्म्बकेश्वर ज्योतिर्लिंगमा अढाइ घण्टा लाममा उभिएर मात्र दर्शन गर्न सकियो । यो मन्दिरको विशेषता महादेव, विष्णु र ब्रह्मालाई प्रतिनिधित्व गर्ने ३ वटा लिंग एकै ठाउँमा हुनु हो ।


हामीले अपवाद हो कि के हो, राजस्थानको पुष्करमा ब्रह्माको मन्दिर देख्यौँ र दर्शन पनि गर्‍यौं । त्यर्म्बकेश्वरमा तीनवटा लिंगलाई शिव, विष्णु ब्रह्माको प्रतीकस्वरूप राखी परापूर्वकालदेखि हीरा जवाहरात जडित सुनको खोलले ढाकिएको छ । प्रत्येक सोमबार मन्दिरमा बेलुकी ४ देखि ५ बजेसम्म सर्वसाधारणलाई लिंग देखाइने रहेछ । महाराष्ट्र राज्यमा प्रायः सबै ५ ज्योतिर्लिंगका मन्दिर परिसरमा र बाहिर पनि एउटै नाम ‘भक्त निवास’ नामांकित विभिन्न स्तरका धर्मशाला देखिए ।


त्यर्म्बकेश्वरबाट हामी रेलमार्ग हुँदै गुजरातको पश्चिमी तट पाटन जिल्लामा सोमनाथ ज्योतिर्लिंगको मन्दिरमा पुग्यौं । ज्योतिर्लिंगमध्ये पहिलो स्थानको सोमनाथ मन्दिर परापूर्वकालदेखि बाह्य आक्रमण, लुटपाट र विनाशको सिकार भइरहेको थियो । सोमनाथको मन्दिर सुरुदेखि नै धनी देवस्थल मानिन्थ्यो, मन्दिरलाई मुस्लिम शासकहरू महमुद गजनी, अलाउद्दिन खिल्जी, जफर खान आदिले ३ पटक ध्वस्त पारी लुटेका थिए । पहिलो मन्दिरको स्थापना कहिले भयो भन्ने स्पष्ट छैन र दोस्रो मन्दिर इसं ६४९ मा वल्लभीका यादव राजवंशले निर्माण गरेका र त्यसलाई ७५ वर्षपछि सिन्ध प्रान्तका अरबगभर्नर अल् जुवाइदले नष्ट गरी लुटेका थिए । हाल भएको तेस्रो मन्दिरको निर्माणमा ८१५ इस्वीमा राजा नागभर दोस्रोले रातो चट्टान प्रयोग गरेका थिए । सोह्रौं शताब्दीमा पुर्तुगालीहरूले पनि सोमनाथ मन्दिर लुटेका थिए । औरंगजेवले त हिन्दुहरूले सोमनाथमा पूजा अर्चना गरेमा सदाका लागि पूर्णतः ध्वस्त पारिदिने धम्की दिएका थिए भन्ने लेखिएको छ । । उन्नाइसौं शताब्दीको अन्तसम्म पनि मुस्लिम आक्रमणकारीबाट फिर्ता ल्याइएको मन्दिरको चाँदीको ढोकामा ब्रिटिसहरूले समेत आँखा लगाएका थिए रे । भारतको स्वतन्त्रतापछि १९५० तिर पुनर्निर्माण भएको यो ज्योतिर्लिंग चालुक्य कलामा निर्मित छ र पुरानो मन्दिरको केही भागलाई मन्दिरबाहिर पनि अझै सुरक्षित राखिएको छ ।


सोमनाथको दर्शनपछि पुस ११ गते बिहान रेलमार्गबाट मध्यप्रदेशको उज्जैन सहरको महाकालेश्वर मन्दिर पुगियो । तेस्रो स्थानमा पर्ने दक्षिणतिर फर्किएको यो महाकालेश्वर ज्योतिर्लिंगलाई हिन्दुहरूले शक्तिको प्रतीक र अत्यन्त पावन शिवलिंगको रूपमा हेर्छन् । दर्शन गर्न पनि निकै कठिन र भीडभाड हुने यो तीर्थस्थलमा भस्म–आरती हेर्न पुरुषहरूले ६/७ घण्टा शरीरको माथिल्लो भाग नांगो राख्नुपर्ने र धोती पनि पुरातन तरिकाले लगाउनुपर्ने रहेछ । जाडो बेलामा यो अभ्यास गर्न नकै कठिन भयो । १२ ज्योतिर्लिंगमध्ये तान्त्रिक पद्धति भएको यो एउटै माक्र ज्योतिर्लिंग हो । महाकालेश्वरलाई १८ महाशत्तिपीठमध्ये एक मानिदो रहेछ । यो ज्योतिर्लिंगमा एक जना नेपाली पुजारी पनि रहेछन् । उज्जैन सहरपछि पुस १४ गते सडक मार्गबाट नर्मदा नदीको किनारमा रहेको ओमकारेश्वर र ममलेश्वरतिर लाग्यौँ । ओम् अक्षरको आकार भएको नर्मदा नदीको ‘मान्धाता’ टापुमा ओमकारेश्वर ज्योतिर्लिंगको मन्दिर रहेछ र, वारिपट्टि नदीको दक्षिणी भागमा ममलेश्वर भनिने अर्को शिव मन्दिर रहेछ ।


सातौं स्थानमा रहेको तर हाम्रो यो तीर्थयाक्राको एघारौं ज्योतिर्लिंग दर्शन गर्ने त्रममा सबैभन्दा कष्टप्रद यात्रा गरी विश्वको सबैभन्दा पुरानो सहर वाराणसी पुग्यौँ । हामीले धेरै अघि रेल्वे टिकट बुकिङ गर्दा जयपुरदेखि इलाहावाद (हाल प्रयागराज) सेक्टरको टिकट लिएका थियौं । तर, जाने दिन रेल्वे स्टेसन पुग्दा मात्र थाहा पाइयो– जयपुर–इलाहावाद सेवा कुहिरोले गर्दा एक महिनाअगाडि बन्द भइसकेको रहेछ । त्यसपछि हामीले जयपुर कानपुरको रात्रिबस लिने निधो गर्‍यौं, अरू उपाय थियो होला तर हामीलाई त्यसको ज्ञान भएन, त्यसैले अरू उपाय नै थिएन भनौं । डबल डेकरको स्लिपरमा जाने गरी टिकट लिइयो, हाम्रा लागि बसको स्लिपर भन्ने कुरा नै नौलो थियो । .बिहान सबेरै झिसमिसे उज्यालोमा कानपुर पुगियो । प्रयागमा ओर्लने, पिण्डदान गर्ने, नुहाउने कुरा त गयो गयो बल्लतल्ल साँझमा वाराणसी पुगियो ।


वाराणसीमा हाम्रो २/३ वटा मुख्य काम थिए, सातौं स्थानमा रहेका काशी विश्वनाथको दर्शन गर्ने, मणिकर्णिका घाटमा श्राद्ध र पिण्डदान गर्ने र पिशाच मोचन कुण्डमा गई अर्को श्राद्ध गर्ने । बनारसको गल्ली’, ‘साँढे’ र ‘पण्डा’ हरूको कुरा पहिले पनि सुतेकै हो, अब प्रत्यक्ष भोग्नुपर्ने भो भन्ने म पहिलोपल्ट पुगेकालाई अर्कै पिर थियो ।


पवित्र गंगाजीको किनारमा काशी विश्वनाथको ज्योतिर्लिंग उत्तरप्रदेश राज्यको मात्र होइन, भारतका महत्त्वपूर्ण देवस्थलमध्ये सर्वोत्कृष्ट पनि हो । नेपालीका लागि त पुरातन कालदेखि शिक्षाको केन्द्र र बुढेसकालमा मोक्षको लागि ‘काशीवास’ गर्न जाने प्रथा अझै पनि नभएको होइन । नेपालका शासकवर्गले बनाइदिएका घाट र धर्मशाला यथावत् सञ्चालन भइरहेका छन् र, नेपाल सरकारको अधिनमा रहेको पशुपतिनाथको मन्दिर अझै पनि पूजनीय स्थल नै छन् । रानी जगदम्बाले बनाइदिएकी धर्मशाला बनारसमा जसोतसो अलिक राम्रो अवस्थामा भेटियो ।


काशी विश्वनाथको मन्दिर पनि विगतमा कुतुबुद्दिन ऐवक, औरंगजेवजस्ता मुसलमान शासकको क्रोध भावनाले नष्ट भई पुनर्निर्माण भएको हो । अझै पनि मन्दिरको पुरानो संरचनासँगै जोडिएको औरंगजेवले निर्माण गरेको मस्जिद देखिन्छ । वाराणसीको बजार गल्ली, मन्दिर, पाठशाला, घाट जता गए पनि नेपालीहरू भेटिन्छन्, सायद तीर्थयात्रीभन्दा त्यहीं बसोवास गर्दै एउटा न एउटा काममा लागेका २/३ पुस्ता पनि छन् । हामीले त्यहाँको मणिकर्णिका घाटमा श्राद्ध र पिण्डदान गर्‍यौं । अद्वितीय लाग्ने गंगा आरतीमा सामेल भयौँ र सारनाथ र विन्ध्यवासिनीको दर्शन पनि गरियो । अन्तमा काशी विश्वनाथबाट ११ ज्योतिर्लिंग दर्शन, श्राद्ध र पिण्डदान गर्ने कार्य सम्पन्न भयो ।

प्रकाशित : फाल्गुन ११, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?