कैलाश अर्थात् भूमिका

केटा भएर केटासँगै सहवास गरेको आरोप लाग्न नसक्ने प्रसंगले आत्मकथा लेखनलाई बढी सहज बनाएको भूमिकाको भनाइ छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — जन्मिँदा छोराकै रूप, जननेन्द्रिय पुरुषकै थियो अनि नाम राखियो— कैलाश  । घर–समाजमा छोराकै व्यवहार गरियो किनकि तनमन पुरुषकै थियो  ।

कैलाश अर्थात् भूमिका

त्यो पुरुषको जब उमेर बढ्दै जान्छ, स्वभाव परिवर्तन हुँदै जान्छ । गाजल, क्रिम, पाउडर लगाएर ऐना अघिल्तिर गएर मुसुक्क हाँस्छ । भाँडाकुटी खेल्नमा खुब मजा लिन्छ । कुर्ता–म्याक्सी लगाउन बढो रुचि लाग्छ । कपडा पनि राता, गुलाबी र चहकिला मन पर्छन् । अझ उसलाई पुरुष होइन, महिला साथी बनाउन खुबै आनन्द आउँछ । उमेरले १०–११ टेकेपछि भने चेतनाले पुरुष होइन, महिला भएको महसुस गराउँछ । छाती छोपेर नुहाउन मन पर्छ । स्त्रीका जस्ता स्तन त थिएनन् तर ब्रा लगाउन मन पर्छ ।

यसरी व्यवहार र स्वभाव बदलिंदै गएको एउटा केटो कालान्तरमा नाममै कैलाशबाट ‘भूमिका’ बन्न पुग्छ । हो, उनै तेस्रोलिंगी भूमिका श्रेष्ठले सामान्य मानिसभन्दा फरक भोगाइ समेटर आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् । जन्मिँदा पुरुष अनि पछि महिला बनेका जर्ज जोर्गेन्सन (मिस क्रिस्टिन) लाई प्रेरणाको स्रोत मानेर ‘भूमिका’ (तेस्रोलिंगीको आत्मकथा) नाम दिइएको पुस्तक नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक प्रतिनिधि रूपमा सार्वजनिक भएको छ ।


जर्जले एक शताब्दी अघि नै लिंग परिवर्तन गरेको र आफ्नो खुसी पोख्ने क्रममा ‘म बच्चा जन्माउन सक्दिनँ तर धित मरुन्जेल प्राकृतिक सहवास गर्न सक्छु र केटा भएर केटासँगै सहवास गरेको आरोप लाग्न नसक्ने’ प्रसंगले आत्मकथा लेखनलाई बढी सहज बनाएको भूमिकाको भनाइ छ । २४० पृष्ठको पुस्तकमा ३४ शीर्षकमा आत्मकथा समेटिएको छ । आत्मकथाका उपशीर्षकहरू ‘शिखण्डीको नियति’ ‘कैलाश (कुमारी) का कष्ट’, ‘कन्याकुमारी’, ‘गुफापछि व्रतबन्ध’ आदि आफैंमा अर्थपूर्ण छन् ।


भूमिकाले नीलहीरा समाजको आश्रय पाएर अधिकार प्राप्तिका लागि लडिरहेका आफूजस्तै थुप्रै व्यक्ति भेटेको कुरालाई भूमिकाले उल्लेख्य रूपमा लिएकी छन् । १६ वर्ष टेकेपछि (२०६२ साल) स्त्री–पोसाक लगाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित हुँदा जन्मदर्तामा लेखिएको ‘कैलाश श्रेष्ठ’ कोष्टकमा लेखिएको ‘पुरुष’ शब्दले भूमिकालाई सबैभन्दा मर्माहत बनाएको पाइन्छ । ‘मैले नपाएको नागरिकता’ शीर्षकमा कर्मचारीले गरेको असमान व्यवहार मर्मस्पर्सी रूपमा प्रस्तुत छ । ‘लाइसेन्स हुँदा र नहुँदा’ को प्रशंगमा पनि भूमिकाले अनौठो अनुभव साटेकी छन् । २०७४ साल भदौ ३० मा सर्वोच्च अदालतले अन्य लैङ्गिक पहिचान भएको नागरिकता र शैक्षिक प्रमाणपत्रमा आफूले इच्छाएको नाम राख्न पाउने परमादेश जारी गरेपछि आफूले ठूलो संघर्षबाट मुक्ति पाएको विषय ‘भूमिका श्रेष्ठ–असली पहिचान’ यथार्थपरक छ ।


भारतको किन्नर संस्कृति अनि भारतका समलिङ्गी र तेस्रोलिङ्गीले भोगिरहेको कथालाई सानो अंशका रूपमा पुस्तकमा जोडिएको छ । विश्व स्वास्थ्य संगठनले सन् १९९० मे १७ मा समलिङ्गी वा तेस्रोलिङ्गी भएर जन्मनु अप्राकृतिक होइन भनेर घोषणा गर्नु र बढाइस्वरूप नेपालमा २००७ मे १७ मा मिस पिङ्क प्रतियोगिता सुरु गरिएको तथा आफूले उपाधिको ताज पहिरेको सुखद क्षणलाई भूमिकाले जीवनको ‘टर्निङ पोइन्ट’ मानेकी छन् ।


थाइल्यान्डमा पुगेर ब्रेस्ट इम्प्लान्ट (स्तन जडान) यौनाङ्ग परिवर्तनको सुविधाभोग गर्न पुगेको क्षणसाथै विश्वमा लिङ्ग परिवर्तनका शृंखलालाई उदाहरणसहित प्रस्तुत गरिएकाले पुस्तकको मध्यभाग चाखलाग्दो बनेको छ । यतातिर यौन अभ्यास कस्तो रहन्छ भन्ने कुरालाई ‘हाम्रो यौन–अभ्यास’ का रूपमा प्रस्तुत गरिएको छ ।


भूमिकाले आत्मकथाको अन्त्यतिर समलिङ्गी, तेस्रोलिङ्गीलाई बाबुआमा बन्ने रहर र अनुभवलाई पनि समेटेकी छन्् । तर, यी सबै कुरा आजको नेपाली समाजले कतिको स्विकार्न सक्छ, त्यो निकै सोचनीय विषय छ । भूमिकाले चलचित्र ‘हाइवे’, ‘कान्छी’ मा निर्वाह गरेको अभियनको अनुभव पनि पुस्तकको अन्त्यतिर साटेकी छन् । घोस्ट राइटिङ नेपालले सार्वजनिक गरेको पुस्तकमा भूमिकाको प्रेम जीवन पनि रोचक रूपमा प्रस्तुत छ ।
– युवराज गौतम

प्रकाशित : फाल्गुन ११, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?