अक्षर धुनमा वैद्य

कान्तिपुर संवाददाता

काठमाडौँ — इलामेली कवि विमल वैद्यको हालै बजारमा आएको कवितासङ्ग्रह हो— अक्षर सिम्फोनी  । वैद्यका कविता प्रेम, राजनीति र प्रकृतिपरक विषयमा केन्द्रित छन्  ।

अक्षर धुनमा वैद्य

भावनामा डुब्न मन पराउने कवि स्वभावमा केही कविता भने विशुद्ध राजनीतिक छन्, ‘क्रान्तिको परिभाषा’, ‘निर्वाचन’ र ‘चुनावपछि मेरो नगर’ यस्तै उदाहरण हुन् । नेपाली समाजमा पुरुषलाई घर छाडेर हिंड्न सजिलो छ तर महिलालाई निकै गाह्रो छ भन्ने आशयमा लेखिएको ‘घरको देउता’ शीर्षक कविता मार्मिक छ । गतिशील समयसँगै फेरिने साथका बारेमा लेखिएको ‘छुटिरहने साथहरू’ कविता संवेदनशील लाग्छ । प्रेमको सुमधुर अनुभूति छचल्किएको छ ‘अर्को नयाँ कथा’ शीर्षकको कवितामा । कविले प्रेमी जोडी सुम्निमा र पारुहाङको उदाहरण दिएर प्रेमको महत्त्वलाई बढाउन खोजेका छन् । मौनताको भाषाबारेमा कलात्मक कविता ‘आँधी आउनुअघि’ अब्बल छ भने दार्जिलिङले मनाउन नसकेको दसैको बारेमा पनि कवि भाव उत्रिएको छ, ‘दार्जिलिङ दसैँ– सन् २०१७’ शीर्षकमा ।


समय परिवर्तनशील छ र बलवान पनि∕ उनको साँझ–संवाद कविताले यही वकालत गरेको छ । प्रेमको धुनलाई रुमानी पारामा बुनेका छन्, ‘प्रेमको सिम्फोनी धुन’ कवितामा । रक्सी र पुरानी प्रेमिका उस्तै–उस्तै हून् भन्छ, उनको ‘रंगीन साँझ’ कविताले । ‘शीतको प्रेमिल पीडा’ ले प्रकृतिको सुन्दरतालाई मिहिन ढंगले बयान गरेको छ । कुनै कुनै कवितामा शीर्षक र विषय झन्डै–झन्डै मिल्दाजुल्दा लाग्छन् । विषयवस्तु जुधेको जस्तो प्रतीत हुन्छ । किताबको नाम ‘अक्षर सिम्फोनी’ को साटो अक्षर–धुन राखिएको भए अझ सुहाउने थियो कि ? ४३ कविता संकलित संग्रह मञ्जरी पब्लिकेसनले प्रकाशित गरेको हो ।
—बालिका थपलिया

प्रकाशित : फाल्गुन ११, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?