३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बलेसीमा खसेको पानी–फोका

सूत्रहरू लादेर स्पुन–फिड गराउनुपर्ने नियमित सिनेमाका दर्शकलाई बुलबुलको अन्तर्मुखी न्यारेटिभले त्यति मजा नदिँदा, कति नियमित दर्शकहरू आफ्ना अपेक्षा पूरा नभएर निराश भएका छन् । बेलाबेला आइदिने शैलीको क्रमभंगताले सिनेमाको टोनलाई विचलित बनाइदिएको छ ।
मनोज पन्त

काठमाडौँ — सहरमा यतिबेला एक थान मान्छेहरू रग्मगाएका छन्  । सहरी जीवनको मूलधारे व्याख्याभित्र यी मान्छेहरू अटाएका थिएनन्  ।

बलेसीमा खसेको पानी–फोका

यिनको गिन्ती थिएन, अर्थ थिएन । देखेर पनि कसैले नदेखेको, कसैले नलेखेको र कसैले नभनेको यी सबाल्टर्नहरूको जीवनकथा एकफेर प्रकट भएर आएको छ, सहरको व्यापारिक कम्प्लेक्सका थिएटरहरूमा ।


यो सहरको धूवाँ र धूलो सबैभन्दा धेरै खाएर फुंग उडेका यी फुस्रा मान्छेहरू, पहिलेपहिले आफ्नो फ्यान्टासीलाई तृप्त गर्न सिनेमाहल पुग्दा हुन् र नेपाली सिनेमाले बनाएको अतिरञ्जित दन्त्यकथामा हराएर केही सन्तुष्टि खोज्दा हुन् । यति बेला यी रङ हराएका मान्छेहरू आफ्ना रङहरू खोज्दै सिनेमाका पर्दामा सल्बलाउन थाले । नेपाली सिनेमाले हिँड्दै गरेको लिग फेर्‍यो ।
अक्सर नेपाली सिनेमा हेरेर फर्कंदा त्यसका चरित्रहरू दिमागमा धेरै बेरसम्म बसिरहँदैनन्, कारण तिनीहरू मान्छेजस्ता लाग्दैनन् । तर, बुलबुलको कथ्य संसारभित्र अटाएका यी चरित्रहरू यति जीवन्त छन्, हलबाट निक्लिएको धेरै बेरसम्म तपाईंको मनबाट हट्न मान्दैनन् । उस्तै परे रनकला खत्री र चोपेन्द्र भुसाल तपाईंको सपनामा आएर गफ गर्न बेर लगाउँदैनन् । नपत्याउँदो गरी यी मान्छेहरूको आलो पदचाप स्‍मृतिमा बसिरहन्छ धेरै बेरसम्म । यतिबेला यिनै फुस्रा मान्छेहरूका आला स्‍मृतिहरू बटुलेर म यो आलेख लेख्न बसेको छु ।

१ नम्बर: रनकला खत्री
मेरो जीवनबाट जाने भए जाऊ तर अन्तिमपल्ट भेट्न आऊ, रनकलाको हाते फोनमा घन्टी बज्छ । रनकला फोन उठाउँछे र थर्काउँछे— ओइ राणा बान, फेरि फोन गरिस् ?...
रनकला बाक्लो लालीको लेपन दलेर, चुइगम पट्काउँदै टेम्पो कुदाउँछे । कालिमाटी, स्वयम्भू, भगवानपाउ...
उसको सुन्दरतामा र्‍याल काढ्छन् ऊसँग ठोकिन आइपुग्ने मान्छेहरू दिनहुँ । सबै तमासाहरूलाई चुपचाप हेर्दै टेम्पो दौडाइरहन्छे रनकला । टेम्पो र सिनेमा, दुवैको ड्राइभिङ सिटमा बसेकी रनकला, टेम्पोसँगै सिनेमा दौडाइरहन्छे । काठमाडौंको अस्तव्यस्त सडकमा दौडिरहन्छ टेम्पो, हामी रनकलाको अस्तव्यस्त जीवनमा दौडिन थाल्छौं ।
छ वर्षदेखि बूढो विदेशमा छ । कहिलेकाहीं फोन गर्छ । पक्षाघातले थलिएको बूढो ससुराको गु–मुत स्याहारेर, छोरीको स्कुल खर्च धानिरहेकी रनकला परिस्थितिले यसरी फुस्रिएकी छे, उसका सपनाहरू एक्ली छोरीतिर ट्रान्सफर भएका छन् ।
संवेगका रहरहरू मनभित्र गुम्स्याएर सोलिच्युडको भुमरीमा जाकिएकी रनकलाको यात्रामा एउटा नयाँ सम्बन्ध आइपुग्छ् । रनकला सपना देख्छे । झरीमा बलेसीमा झरेको पानीको फोकाझैं, अनायासै ठूलो आकारमा फुकेर प्याट्ट फुटिजाने बुलबुल नियति भोगेकी रनकलाको सेम्पेथेटिक यात्राले मनमा सुइरो रोपेर जान्छ । फ्रन्टसिटमा बसेर एकोहोरो रनकलालाई चियाइरहने मिस्टर सुड्डोले झैं सिनेमा सकिँदासम्म पनि अझै चियाइरहन मन लाग्छ रनकलालाई । टुटेफुटेका संवेगहरूलाई बटुलेर रनकलाले अब आफ्नो जीवन कसरी धकेल्ली ? लिन्ठिङ–लिन्ठिङ गुडिरहेको जिन्दगीको चक्कालाई बाटोमा सोज्याएर जेन्तेन गुजारा गर्नु छ रनाकलालाई ।
रनकलालाई सम्झँदा मलाई आजभन्दा साठी वर्षअघिको अस्कर विजेता फेलिनीको नाइट अफ क्याब्रियालाई सम्झन्छु । अनि साठी वर्षअघिकी रोम सहरकी नगरवधू क्याब्रिया र साठी वर्षपछिकी काठमाडौं सहरकी टेम्पो ड्राइभर रनकला खत्रीलाई मितेरी लगाइदिन मन लाग्छ ।

२ नम्बर: चोपेन्द्र भुसाल
कस्तो नाम हो चोपेन्द्र ?...
सर्लक्क सिउँदो काटेको कपाल, च्याट्ट पारेर मिलाएको झुसिल्किरे जुँगा, अनुहारमा सधैं नार्सिस्टिक मुस्कान अनि अर्घाखाँचीबाट झरेको झरो बोली, चोपेन्द्र भुसाल आफ्नो नामजस्तै अजिबको छ । हाम्रा सिनेमाका नायकको परम्परागत मानकभन्दा चोपेन्द्र उल्टो छ । कहाँ हिलोमा भुस्तिघ्रेहरूलाई लगार्दै पछार्ने हाम्रा सिनेमाका मुस्तन्डे नायक, कहाँ प्यासेन्जरले भाडा नदिएर निहुँ खोज्दा खुट्टा लगलग कपाउने चोपेन्द्र भुसाल । चोपेन्द्र टिठलाग्दो छ । यो सहर उसलाई पाखे भन्न रुचाउँदो हो । चोपेन्द्रको शैली र उसको बोली उसले खुवाउने चाजस्तै गुलियो लाग्छ ।


सहरको भीडभाडबाट चोपेन्द्र अचानक प्रकट हुन्छ र अचानक अलप हुन्छ । तर, जतिबेर आफ्न हत्कण्डा गरी रहन्छ— एउटा निर्दोष, अड्बाङे, फेद–टुप्पो नमिलेको चोपेन्द्रले मनलाई शीतल बनाइरहन्छ । झलकमान गन्धर्भको ‘आमैले सोध्लिन् नि खै छोरा भन्लिन्’ भन्ने गीत गाएर तरुनी पट्याउन खोज्ने यो निर्दोष चौकीदार, महानगरको गल्लीतिर कतै भेटौं र उसको हबिगत हेरौं भन्ने आस जगाएर जान्छ । चोपेन्द्र भीडको बीचबाट अचानक किन झुल्कियो ? ऊ आउनु र हराउनुमा कुन मोटिफले काम गरेको थियो ? धेरै प्रश्नहरू अनुत्तरित छोडेर चोपेन्द्र हरायो । तर, उसको झझल्को रहिरह्यो ।


जब म चोपेन्द्रलाई सम्झन्छु एउटा छिप्कलीको दृश्य खेल्छ । भित्ता–भित्तामा चिप्किएर दौडने माउसिली, जो अलिकति संकटले घेरिनासाथ पुच्छर छोडेर बेपत्ता हुन्छ । माउसुली मानव, चोपेन्द्र त बेपत्ता भयो, उसको याद भने माउसुलीको पुच्छरझैं चलायमान छ यतिबेला । चोपेन्द्रजस्तो अड्बाङे मान्छे पनि सिनेमाको नायक बन्न सक्छन् नेपाली सिनेमा नयाँ मानक खोज्न लागिपरेको छ ।

३. नम्बर: भीमा
भीमालाई पिनास र ग्यास्ट्रिक दुवै छ किनकि उसलाई बिहान–बेलुकै कसरत हुन्छ । भीमा बोल्ड छे । पितृसत्ताले व्याख्या गरेको सीमाभित्र नबसेकी, उन्मुक्त स्वाभाविक यो नारी एउटा प्रतिनिधि चरित्रझैं लाग्छे । ऊ भद्दा बोल्छे । नीलो सिनेमा हेर्न साथीलाई उक्साउँछे । उसलाई लुकाउनुपर्ने, दबाउनुपर्ने संवेगहरू केही छैनन् । तर, लोग्नेबाट बिनाअर्थ कुटाइ खाएर चुपचाप सहेकी यो सहरकी फुलनदेवी आफ्नो रिसलाई शान्त गर्न एक दर्जन केरा पो किनेर खान थाल्छे । कारण र प्रभावको सन्तुलनलाई यो मनोवैज्ञानिक तहसम्म केलाएर बुलबुलले जिन्दगीका सम्भावनाको सूक्ष्म अवलोकन गरेको छ ।


भीमा कथाको परिवेशजस्ती छे । कथाको क्याटलिस्टजस्ती छे । तर, ऊ आफैं कथा किन भइन ? न्यारेटिभ रनकलाको संवेगको उडान भर्दै जाँदा भीमा जमिनमै छुटेकी छे । भीमाको नियति अब के होला ? के अब इब्सनको नोराले झैं ऊ यो भुँडे मिस्त्रीलाई लत्याइदेली ? वा अझै दर्जनौं केरा खाइरहली ? बिहान–बेलुकै कसरत गरिरहली ?

४. नम्बर: मिस्त्री
ध्यान जति सधैं स्त्रीमा मात्रै लगाइरहने मिस्त्री, सुकिला, मुकिलाहरूको सहरको मैलो मान्छे हो । मान्छेका आवश्यकताहरूको पिरामिडमा धेरै तल परेको मिस्त्रीको जिन्दगीको अभीष्ट स्त्रीभोग गर्नुभन्दा अरू केही छैन । उसका जीवनका अरू कुनै आदर्श छैनन्, सपना छैनन् । पशुको श्रेणीबाट मान्छे बन्ने महान् यात्रामा उकालो लाग्न नसकेको यो दुःखी आत्मालाई सभ्यताले असभ्य, फोहोरी, बर्बर भनेर व्याख्या गर्ला तर कठै बरा बिचरो मिस्त्रीको अस्तित्व टिठलाग्दो छ ।

५ नम्बर: बूढो ससुरो
पक्षाघातले कुँजिएर, थलिएर ओछ्यानमा चुपचाप लडेको यो बूढो मान्छे साइलेन्ट किलरझैं छ । ऊ परिवेशलाई अनुभव गर्न सक्छ तर व्यक्त गर्न सक्दैन, त्यसैले उसको अस्तित्वले केही भूमिका खेल्नेवाला छैन । एक्जिस्ट गर्नु र नगर्नुको दोसाँधमा लडेको यो बूढो मान्छेलाई तिरस्कार गरेर उसैको आँखाअगाडि उसकी बुहारी परपुरुषसँग सम्भोग गर्छे । बूढो चुपचाप हेरिरहन्छ ।


हाम्रा परम्परागत न्यारेटिभले आवाज नभएकाहरूको भोगाइलाई त्यसै तिरस्कार गरिदिन्छ अनि दन्त्यकथा सुनाएर समाजलाई लठ्ठ पार्न खोज्छ । यो कुँजो बूढो सम्पूर्ण सबाल्टर्नहरूको एउटा विम्ब जसरी खडा छ, हैन लडेको छ, जो आफ्नो न्यारेटिभको निर्णय आफैं गर्न सक्दैन । अस्तित्व संकटको सबसे पिँधमा लडेको यो बूढो मान्छेलाई परिचय गराउँदा नै सिनेमाले फ्रेमभन्दा बाहिर राखिदिएको छ । अस्पष्ट, बकबक गरिरहेको यो मानव भएर पनि नभएजस्तो छ । त्यसको अस्तित्व क्यामराले खोजी राख्ने माने नै भएन । यो सिनेम्याटिक कोड्सको आयाम हाम्रो सिनेमाका लागि एउटा उदाहरण भयो । यसरी नै होला हामीले हाम्रो दृश्य भाषा खोज्दै जाने ।

६. नम्बर: नेपथ्यको लोग्ने
एउटा यस्तो पात्र जो कही देखिँदैन, कतै सुनिदैन तर उसको भूमिका सधैं छ । पुराणहरूतिर छल गरी हिंड्ने तिलस्मी पात्रहरूझैं, यो पात्र नेपथ्यमा बसेर कथा बनाउन ठूलो भूमिका खेलिदिन्छ । नाकमा रुई कोचेर, कफिनमा सुतिरहेको यो पात्र सपनामा मात्र आउँछ, होइन भने ऊ मूर्तरूपमा कतै खडा छैन । मञ्चको ब्यक्ड्रपमा बसेर रमिता हेरिरहने यो अचम्मको पात्र हो ।
रेमिटेन्सले जीवन भरथेग गर्ने हाम्रा भोगाइहरूमा प्रत्येक परिवारका कथाहरूमा एउटा यस्तै अदृश्य पात्र छ । ऊ सम्झनामा र सपनामा आकल–झुक्कल तर्साउन आउँछ । ऊ स्यामुयल बेकेटको गोदोजस्तै छ । ऊ कुनै पनि बेला त्रिभुवन विमानस्थलको एराइभल कक्षबाट सुटकेस घिसार्दै आउन सक्छ अथवा आफैं सुटकेसभित्र बन्द भएर घिस्रँदै आउन पनि सक्छ ।

हलबाट निक्लिएको लामो समयसम्म पनि यी जिउँदा मान्छेहरूको धङधङी मनभित्र बाँकी रहँदा लाग्छ बुलबुलको सबैभन्दा ठूलो सफलता यही हो । नेपाली सिनेमाले जिउँदा मान्छेका आयामहरू यसरी विगतमा कहिल्यै खोतलेन । सूत्रबद्ध आर्किटाइप्सहरू थुपार्दै हाम्रा सिनेमाहरू ब्युटिफुल डेड बडीको संरचनामा लागिपरेका थिए । थुप्रै चिल्ला फेन्सी सिनेमाहरूको भीडमा एक फेर जोडले घन ठोकेको छ बुलबुलले ।


नाटकीय उतारचढावहरू सिर्जेर आरामदायी सिटमा बसिरहेको मान्छेलाई उचाल्दै थेचार्दै गर्ने संस्कारमा हामीले सिनेमा हेर्न सिक्यौं । थुप्रै अतिरञ्जित टुनामुनाहरूले मान्छेलाई दिग्भ्रमित पार्दै, स्वैरकाल्पनिक कथा भन्नु हाम्रो सिनेमाको परम्परा हो । दूधे बालकलाई झोलुङ्गोमा सुताएर ‘को खाइ को खाइ बाबु खाइ’ गर्ने हाम्रो सिनेमाको भाषाले दर्शकलाई सधैं मन्द बुद्धिको अविकसित बालक सम्झ्यो । यस्ता सिनेमाहरूको भीडमा बुलबुल एउटा ताजा र खरो सिनेम्याटिक यात्रामा निस्केको छ । कथ्यमा साँच्चिकै मान्छेहरू मात्र छैनन्, तिनीहरूबीचको सम्बन्धको सूक्ष्म अवलोकन छ । हाम्रा कथ्यहरूमा तिरस्कृत निमुखाहरू, जिउँदोजाग्दो रूपमा एकफेर पर्दामा आएका छन् ।


सिनेमाको सिर्जना तहतहमा परिस्कृत हुँदै जान्छ भनेर सिद्धान्तकारहरू व्याख्या गर्ने गर्छन् । जीवनको अवलोकन र परिकल्पना सधैं पर्दामा सोचे जसरी नउत्रन सक्छ । फरक परिवेश र मनोविज्ञानमा बचिरहेका अभिनेताहरूबाट आफूभन्दा बिल्कुल फरक मान्छेलाई जिउँदो बनाउन गरेको मिहिनेतलाई धाप दिनुपर्छ । कलाकारहरूको छनोट र उनीहरूबाट निचोरेर निकालेको जीवनका रसहरू चाख्दा लाग्छ निर्देशकाले एउटा अप्ठ्यारो युद्ध जितेका छन् ।


अबको सिनेमाका यात्राहरू कथ्यमा भन्दा सिल्पमा केन्द्रित हुन खोज्दै छ । भन्ने जति कथाहरू सकिइसके रे । अब कसरी भन्ने भन्ने पाटो मात्रै बाँकी छ । थुप्रै प्राविधिक कोड्सहरूले निर्माण हुने सिनेमाको भाषा जीवनको बोदो आरोहण मात्रै होइन यो त जिन्दगीको माटो मुछेर कुमालेले जतनले बुनेको भाँडोझैं हो । नेपाली सिनेमामा आकलझुकल मात्रै देखिने कुमालेको सानो समूहमा एउटा सिल्पी फेरि झुल्किएका छन् जसले बहुत जतनले सिनेमाका कोड्सहरूलाई कुँदेका छन् ।


सन् १९५० को दशकमा जब आन्द्रे बाजीले सिनेमालाई सैद्धान्तीकरण गर्न खोजे त्यसपछिका सम्पूर्ण सिनेमाको यात्रा दुईवटा ध्रुवमा बाँडिँदै गयो । एउटा ध्रुव भन्छ— सिनेमाले पाएका सम्पूर्ण प्राविधिक हतियारहरू प्रयोग गरेर तिलस्मी संसारको यात्रामा सिनेमा जानुपर्छ । अर्को ध्रुव निहुँ खोज्छ— होइन यदि सिनेमालाई जीवनसँगको नजिकको सिर्जना मान्ने हो भने यसलाई प्राविधिक हस्तक्षेपहरूको ठेड्काबाट बचाउनुपर्छ । शान्त र सरल प्रविधिहरूको घेरामा जीवनलाई खेल्न छोडिदिनुपर्छ । बुलबुलको सिनेम्याटिक यात्रा दोस्रो कित्तामा उभिएको छ । निरन्तर खिचिएका लङ टेक्सहरूभित्र जब पात्रहरू साक्षात्कार गर्छन्, उनीहरूको जीवन्त प्रवाहले, सुस्त बढिरहेको कथालाई पट्यारलाग्दो हुनबाट बचाएको छ ।

आजभोलिका कट्मेरा सिनेकर्मीमा लङ टेक्सको एन्टिथेसिस जानी नजानी फेसनझैं झाङिएको छ । बुलबुलका छायाँकार शुशन प्रजापतीसँग मिलेर निर्देशकले सिर्जना गरेको मिजा–एन–सिन भने सचेत र अर्थ पूर्ण लाग्छ । ध्वनिको सिर्जनशील प्रयोगले बुलबुलको कथ्यलाई सम्मोहनको यात्रामा पुर्‍याउन खोजेको छ । हाम्रा सिनेमामा प्रयोग हुने ध्वनि अक्सर कर्कश र भद्दा लाग्छन् । तर, बुलबुलमा पात्र र परिवेशलाई नजिकबाट छम्नका लागि ध्वनिमा गरिएको मिहिनेत उम्दा लाग्छ । जीवन भोगाइलाई नजिकबाट अनुभूत गराउन सक्नुमा ध्वनि सम्पादन र मिश्रणले ठूलो भूमिका खेलेको छ । ध्वनिको सिर्जनशीलताको नजरअन्दाज नेपाली सिनेमाका लागि दुख्ने घाउझैं थियो । उत्तम न्यौपानेको परिस्कृत हुँदै एउटा उचाइमा पुगेको कामले नेपाली सिनेमाको भविष्यलाई सुखद संकेत दिएको छ ।


सम्पादनमा तडकभडक छैन, त्यसैले भद्दा छैन । कैंचीलाई सन्तुलित ढंगबाट चलाएर अनिमेश सापकोटाले समयको यात्रालाई सटीक निरन्तरतामा पोखेका छन् । समग्रमा सबै प्राविधिक र कलाकारलाई सही बाटोमा डोर्‍याएर निर्देशकले आफ्नो उपस्थिति देखाएका छन् सिनेमामा । सिनेमालाई निर्देशकको माध्यम भनिन्छ । तर, हाम्रोतिरका निर्देशकलाई सिनेमा, मुर्गा फसाउने माध्यम मात्रै छ । धेरै निर्देशकहरू, निर्देशक कम ठेकदार ज्यादा लाग्छन् । विरलै भेटिने निर्देशकको उपस्थिति बुलबुल मार्फत एक फेर बलियो भएर आएको छ । बुलबुलले सर्जक सिनेमाको रूपमा नेपाली सिनेमाको फरक आयामको जग खनेको छ । किन्तु बुलबुल कथ्य सिलसिला हेर्दा कति ठाउँहरूमा यसका सर्जक आत्तिएका छन्, धर्मराएका छन् ।


कथावाचनको तीव्रतालाई सही सन्तुलनमा बढाउन नसक्दा बुलबुल बिझाउँछ कतैकतै । जिउँदा मान्छे र तिनीहरूको सम्बन्ध केलाउँदा केलाउँदै बुलबुल वाचकीको ग्राफबाट भड्किएको छ । परिवेशहरूले सिर्जना गरेका मीठा टेक्स्चरहरूलाई छोडेर, कथ्य जब आत्मकेन्द्रित हुन थाल्छ, कति परिवेश र भोगाइहरूलाई अधुरै अपुरै छोडिदिएको आभास हुन्छ । न्यारेटिभ ग्राफको इन्टेन्सिटीलाई सन्तुलित गर्न नसक्दा कथ्यले तादात्म्यता गुमाउँदै गएको छ ।सूत्रहरू लादेर स्पुन फिड गराउनुपर्ने नियमित सिनेमाका दर्शकलाई बुलबुलको अन्तर्मुखी न्यारेटिभले त्यति मजा नदिँदा, कति नियमित दर्शकहरू आफ्न अपेक्षा पूरा नभएर निराश भएका छन् । बेलाबेला आइदिने शैलीको क्रमभंगताले सिनेमाको टोनलाई विचलित बनाइदिएको छ र गहिराइतिर जाँदै गर्दा बेलाबेला फेरि किनारतिर हुत्याइदिन्छ ।


यथार्थको सटल यात्रामा लागिरहेको न्यारेटिभ, अचानक सिनेमाको पुरातन कोड्सहरूको प्रयोग गरेर मेलोड्रामाको ढोका ढकढक्याउन पुग्छ । जीवनका गहिराइसँग नजिकबाट साक्षात्कार गरिरहेका चरित्रहरू अचानक एक हूल कोरसलाई पछाडि राखेर उफ्रन थाल्दा सिनेमाले आफ्नो यात्राको लिक छोडेको अनुभव हुन्छ । बजारको भारी बोकेर सिर्जनामा उत्रँदा, सर्जकले सम्मोहनको स्वतन्त्र उडान गर्न चुकेका छन् कतिपय ठाउँहरूमा ।


कथावाचनका नयाँनयाँ आयामहरू सिर्जना हुँदै जाँदा सबै प्रश्नहरूलाई समाधान नगरीकन अनुत्तरित छोडिदिनु वाचनशैलीको मिठासको रूपमा लोकप्रिय छ । बुलबुलले कति अनुत्तरित प्रश्नहरूलाई दर्शकको जिम्मामा छोडेर वाचकीको नयाँ आयामलाई पछ्याएको छ । तर, सही तीव्रतामा ल्यान्डिङ गर्न नसक्दा भावनाको क्यथार्सिसको विन्दुसम्म वाचकी पुग्न सकेको छैन र सिनेमा सकिँदा दर्शकहरू थोरै बिसन्चो अनुभव गर्न बाध्य छन् ।


एउटा निर्देशकको पहिलो सिनेमा पहिलो सिनेमाजस्तै हुनुपर्छ रे । सिनेमालाई एउटा जिउँदो मान्छेसँग तुलना गर्दा, सिनेमामा पनि मान्छेका शरीरमा जस्तै प्वालहरू हुनुपर्छ । कमजोरीका छिद्रहरूबाट सिनेमाले सास फेर्ने गर्छ र सिनेमा जिउँदो हुन्छ भनिन्छ । कथावाचनका केही छिद्रबाट बुलबुलले सास फेरेको छ । बुलबुलमा जिउँदा मान्छेहरू र तिनीहरूको सम्बन्धको भार यति सघन छ कि केही कमजोरीहरूलाई यसले बिर्साइदिएको छ ।


बजारको अपेक्षामा बुलबुल कति खरो उत्रियो थाहा भएन तर एउटा इमानदार गहन नेपाली सिनेमाको कित्तामा बुलबुल नामको अर्को एउटा सिनेमा थपिएको छ । यस्ता सिनेमाहरू निरन्तर बनिरहँदा नेपाली सिनेमाले आफ्नो मौलिक स्वरूप भेट्दो हो । नेपाली सिनेमाको यस्तो प्रयास बलेसीमा खसेको पानीको फोकाझै नफुटोस् ।

प्रकाशित : फाल्गुन ११, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?