'बुँख्याचा' बालकृष्ण

डा. तीर्थबहादुर श्रेष्ठ

काठमाडौँ —  विक्रम संवत् २०३६ सालमा गठन भएको प्राज्ञ–परिषदको नवग्रहजस्ता नौजना सदस्यमध्ये भाषातर्फका एक ग्रह अनायास अस्ताए भन्ने समाचारले निकै विह्वल भएको छु  । नेपाली भाषाका भीष्मपितामह मानिने विद्वान बालकृष्ण पोखरेल अब हामीमाझ हुनुहुन्न भन्ने कुराले पिरोल्दो छ  ।

'बुँख्याचा' बालकृष्ण

उक्त प्राज्ञ–परिषद्का नौ जना सदस्यमध्ये कुलपति कलाकार लैनसिंह बाङदेल, सदस्य सचिव प्रसिद्ध मूर्तिकार अमर चित्रकार, लोकप्रिय कवि भूपि शेरचन, विशिष्ट विद्वान नयराज पन्त, वरिष्ठ इतिहासकार ढुण्डीराज भण्डारीसमेत गरी ७ जना प्राज्ञ परलोक भइसकेका छन् आजका दिनमा ।


ती सहकर्मी र सहधर्मीहरू इहलोकबाट बिदा भएको पीडा सहनुपर्ने बाध्यता तत्कालीन उपकुलपति वर्तमान राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा विज्ञान विधाका तत्कालीन सदस्य यस पंक्तिकारमा आइपरेको छ । यो घडीमा विद्वान बालकृष्ण पोखरेलका दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी श्री परमेश्वरसँग प्रार्थना गर्दछु । र, शोकसन्तप्त परिवारजनलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी कामना गर्दछु । एकैसाथ, श्रद्धासुमनको केही संस्मरण पनि पस्कन चाहन्छु । प्रज्ञा–प्रतिष्ठानमा को आए र को गए भन्ने कुरा गौण हो । यहाँ बसेर कसले, कस्तो योगदान पुर्‍याए भन्ने कुराको स्मरण गर्नु उचित हुन्छ । बालकृष्ण पोखरेलको सन्दर्भमा त्यो कुरा नेपाली वाङ्मयको साधना र सिर्जनामा लागेका विद्वानवर्गबाट समीक्षा हुने नै छ । उहाँले नेपाली बृहत् शब्दकोशको सम्पादनमण्डल निर्देशकका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बस्दा कति खट्नुभयो, कसरी खट्नुभयो—त्यसको एकमात्र दर्शक थिएँ म । मेरो विषय प्राकृतिक विज्ञान र उहाँको विषय भाषा विज्ञान । प्राकृतिक विज्ञानमा विशेषगरी मानव प्रजातिको उत्पत्ति, डार्बिनका विकासवादी सिद्धान्त तथा जीव–प्राणीका सृष्टि, विकास र भौगोलिक वितरण सम्बन्धमा उहाँ निकै गहिरो चासो राख्नुहुन्थ्यो । बेलायतको ब्रिटिस म्युजियमबाट मैले ल्याएको एउटा सानो पम्पलेट ‘पिल्टडाउन म्यान होयस्क’ उहाँलाई पढ्न दिएको थिएँ ।


मनुष्यको विकासक्रमसम्बन्धी अनुसन्धानलाई कसरी अल्मलाउने भन्ने कुचेष्टा हुन सक्छ भन्ने त्यसमा खुलासा गरेको थियो । वर्तमान मनुष्यको वंश बाँदरबाट प्रादुर्भाव भएको थियो भन्ने डार्बिनको निर्क्यौल थियो । तर, बाँदर र मनुष्य बीचमा सेतुप्राणी कस्तो होला भन्ने खोजतलास सन् १९०८ र १९१२ तिरै भएको थियो, वैज्ञानिकहरूले बेलायतको ससेक्से, पिल्टडाउन भन्ने ठाउँमा केही मानव अवशेष पनि भेट्टाएका थिए । केही मानव खप्पर, दाँत र बङ्गाराका अवशेषले मानव र बाँदरबीच सेतुप्राणीको प्रतिनिधित्व हुने प्रमाण फेला पर्‍यो तर, ती अवेशषको रासायनिक एवं रेडियोधर्मी अनुसन्धानले त्यसको पुष्टि गरेन । ती अवशेषहरू नक्कली र कृत्रिम थिए भन्ने प्रमाणित भयो । भाषा विज्ञानको क्षेत्रमा पनि बालकृष्णजी यस्तै सेतुभाषाको खोजीमा रहेछन् । मानव इतिहासमा स्थानीय बोलीचाली र त्यहाँको भूगोल र वातावरणबाट भाषाको विकास हुन्छ । जीवप्राणीको विकास सिद्धान्तमा वंश र वातावरणको भूमिका खोजेजस्तै भाषा विकासको विज्ञानमा उहाँका विचारहरू सुन्ने मौका मिलेको थियो । त्यो वर्षको मलाई राम्ररी सम्झना छ किनभने प्रसिद्ध नाटककार बालकृष्ण समको निधनमा हामी शोकसभा गर्दै थियौं प्रज्ञा–प्रतिष्ठानमा । २०३८ साउने झरीको त्यो सम्झना २०७५ फागुनमा फेरि बल्झेर आयो— अर्को बालकृष्णको निधनमा ।


जन्मनु र मर्नु प्राकृतिक नियम हो । २०७५ साल फागुन १३ गतेका अखबार, पत्रपत्रिकाले ‘बालकृष्ण पोखरेल फागुन १२ गतेका दिन अस्ताए, ८६ वर्षको उमेरमा’ भनेर खबरहरू सम्प्रेषण गरेका छन् । ठीक त्यही ८६ वर्षको उमेर काटेर २०३९ सालमा निधन भएका प्राज्ञ धनशमशेर जंगबहादुर राणका संस्मरणमा बालकृष्ण पोखरेल लेख्छन्— ‘...नेपालका प्रख्यात तान्त्रिकको चोला उठ्यो ८६ वर्षेको उमेरमा । उहाँ जन्मनुभएको थियो— संवत १९५३ मा ।’ नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको रजत जयन्ती प्रकाशन मालाको १९ सौं अंकका निम्ति हामी सबै प्रज्ञा सदस्यहरू आ–आफ्ना अविस्मरणीय क्षणहरू लेख्दै थियौं । र, उहाँका अविस्मणीय क्षणमा धनशमशेरको चोला उठेको अवस्था थियो । निधन भए र चोला उठ्यो भन्नुमा कति फरक भन्ने कुरा विचार्दा आमा र माता भन्नुमा कति फरक छ भन्ने उहाँको तर्क थियो । त्यसो त झर्रो नेपालीका त उहाँ पितामह नै थिए । जगदम्बा प्रेसले २०६४ सालमा प्रकाशन गरेको ‘झर्रो शब्द्यौली’को मिठास हामीलाई प्राप्त छ ।


बालकृष्ण पोखरेल मोरङका बाहुन अनि म काठमाडौंको रैथाने नेवार । उहाँ मसँग नेवारीमा निकै ठट्टा गर्नुहुन्थ्यो । सधैं हँसिलो र सधैं ठट्यौली । टेलिफोन वार्तामा उहाँसँग फँसियो भने आधा घण्टाले पुग्दै पुग्दैनथ्यो । एक दिन ‘बुँख्याचा’ को प्रसंगमा फँसियो । नेवारी भाषामा ‘बुँ’ भनेको खेत वा बारी हुन्छ, ‘ख्याँ’ भनेको तर्साउने ख्याक र ‘चा’ जोड्छन् । रामे, श्यामे भनेझैं रामचा, श्यामचा, दाइचा, भाइचा आदि इत्यादि । अन्ततोगत्वा सबै माटोमा मिल्छ भन्ने यथार्थ बोध ‘चा’ले गराउँछ भन्ने मेरो मान्यता थियो । त्यही सन्दर्भमा मैले उहाँलाई ‘बालकृष्णचा’ पनि ठोकें । त्यही बँख्याचा (बुख्याचा) को प्रसंग जोडेर उहाँले आफ्नो निजात्मक निबन्ध २०६० सालमा ‘मैले जुलुङ्गो रोजें’ भन्ने शीर्षकमा नेराप्रप्रको समकालीन साहित्यमा प्रकाशित गर्नुभयो । त्यस निबन्धको सार बुझ्न मैले धेरैपल्ट दोहोराएर पढें । अझै बुझ्न सकेको छैन ।

बायाँबाट क्रमशः स्रष्टाहरु विजयबहादुर मल्ल, भूपि शेरचन, अमर चित्रकार, माधवप्रसाद घिमिरे, लैनसिंह बाङ्देल, ढुण्डीराज भण्डारी, डा. तीर्थबहादुर श्रेष्ठ, बालकृष्ण पोखरेल र नयराज पन्त ।

बालकृष्ण पोखरेल आज हाम्रा माझ हुनुह्न्नु । उहाँको ‘चोला उठ्यो’ तर उहाँ एक अमर प्राज्ञ हुनुहुन्छ । नेपाली भाषा–इतिहासको अनुसन्धान र निरुपणमा उहाँको अद्वितीय योगदान रहेको छ । नेपाली वाङ्मयको कुनै विधालाई पनि उहाँले छोड्नुभएको छैन । छेडेरै छाडेको छ उहाँका तिखा कलमका धारले ।
बालकृष्ण पोखरेलले नेपाली वाङ्मयलाई छाडेर गएका अमूल्य धनधान्यहरू सँगाल्यो भने नेपाली बृहत् शब्दकोशदेखि बृहत् नेपाली–अंग्रेजी–नेपाली कोशलगायत झर्रो शब्द्यौली, पाँचसय वर्ष, नेपाली भाषा र साहित्य, राष्ट्रभाषा, नेपाली निर्वाचन आदि कृतिहरूले नेपाली भाषाको उर्वरा फाँटमा विशाल क्षेत्र ओगट्छ होला । यसैगरी कथा, कविता, बालकविता, उपन्यास, निबन्ध, खण्डकाव्यहरू पनि धेरै प्रकाशित छन् । विविधताको सँगालो नै बालकृष्ण पोखरेल हो भन्ने कुरा विजयबहादुर मल्ल भन्नुहुन्थ्यो । सो कुरा उहाँका लेखकीय नाम र उपनामबाट झल्कँदो रहेछ । तीमध्ये रूपावासी, वसन्त, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिँलो, हिमाल पानेबराल आदि प्रचलित छन् । पोखरेल भए पनि आफ्नो निकट पुर्ख्यौली भूगोललाई स्मरण गरेर रूपावासी भन्न र भनाउन रुचाउँदथे— बालकृष्ण पोखरेल । र, सोही भूमि र भूगोलका स्मरणमा उहाँको अन्तिम कृति ‘रूपारानी’ नामक महाकाव्यलाई अधुरो नै छोडेर उहाँ जानुभयो । उहाँले सम्पन्न गर्नुभएका कृतिहरूको कीर्तिमानीका रूपमा उहाँले प्राप्त गरेका थुप्रै पुरस्कार, पदक, सम्मान, विभूषण र अभिनन्दनहरू संगृहीत हुनुपर्छ । बालकृष्ण पोखरेल एक अमर प्राज्ञ हुन् भन्ने कुरा तिनले नै बोल्नेछन् ।


विसं २०३६ सालको वैशाखमा उहाँलाई पहिलोपल्ट भेट्दा दाह्री जुँगा सफाचट चम्किलो अनुहार र हँसिलो मुद्राको सम्झना हुन्छ । प्रायः सधैं काखीमा किताब च्यापेरै हिँड्ने उहाँको बानी थियो । प्राज्ञ–परिषद्को बैठकमा बोल्दा पनि ‘म भन्न गइरहेको छु’ भन्दै आफ्नो कुरा अघि सार्ने उहाँको बानी थियो । अरूलाई निकै हँसाउने र आफू भने खित्का मात्र छोड्ने प्रकृतिका थिए— बालकृष्ण पोखरेल । प्रज्ञा–प्रतिष्ठानमा हामी सबैलाई २०४१ सालमा पुनः नियुक्तिका लागि चर्चा चल्दै गर्दा उहाँले संरक्षक राजा वीरेन्द्रछेउ दोस्रो नियुक्ति नहोस् भनेर बिन्ती गरेका रहेछन्— राजाको धनकुटा सवारीमा ।


तसर्थ २०४१ बाट उहाँ काठमाडौं छाडेर विराटनगरस्थित आफ्नै निवास तीनटोलिया बस्न थाल्नुभयो । विसं २०४६ सालपछि उहाँलाई काठमाडौंमा भेट्दा दाह्री–जुँगाले ढपक्कै छोपेको अनुहार देखेर छक्कै परेको थिएँ । त्यसपछिका दिनहरूमा उहाँको मुखारी चिह्न नै बाक्लो दाह्री–जुँगा र उही मसिनो स्वरको मिठास तथा खित्के हाँसो मेरो स्मृतिपटलमा झल्किरहन्छ । र, नेपाली वाङ्मयको फराकिलो फाँटमा ‘बुँख्याचा’ बनेर जुलुङ्गोको रूपमा ठडिरहनेछ भन्नेमा म विश्वस्त छु । मेरो विश्वास, मेरा श्रद्धाञ्जली ।

प्रकाशित : फाल्गुन १८, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?