शेखर: एक अनुभव

कहिलेकाहीं दिक्क लागेका बेला शेखर बितेका दिनहरू सम्झिन्छ । गोदौलिया सम्झिन्छ । लंका सम्झिन्छ । बनारस हिन्दू विश्वविद्यालय सम्झिन्छ । महामना मदनमोहन मालवीयको सालिक सम्झिन्छ । असी घाटका तरंगहरू सम्झिन्छ । हरिश्चन्द्र घाट सम्झिन्छ ।
किशोर नेपाल

काठमाडौँ — शेखर  । उसले मनुष्य चोलामा जन्म लिएको चालीस वर्ष भइसकेको छ  ।

‘जीवन’ नामको नाटकको बहु–आयामिक अभिनय गर्न थालेको दुई दशक नाघेछ । दुई दशकअघिसम्म ऊ आकाशमा फिरिरिर्र उड्ने ‘आशका पन्छी’ थियो । दूध विनायकका गल्लीमा गाउँदै रमाउँदै उफ्रिने एउटा जवान केटो । ‘आशका पन्छी’ सिनेमाका हिरो थिए राजेन्द्र ‘जुवली’ कुमार । उनका सबै सिनेमा जुवली हिट हुने । पहिलो दिनको त कुनै पनि शोको टिकट नै नपाइने । सिनेमामा एउटा गीत थियो, ‘दिल मेरा ये आशका पन्छी... ।’ कृष्णले त्यसको अनुवाद गरेको थियो ः ‘मन मेरो यो आशको चरो... ।’ कहिलेकाहीं दिक्क लागेका बेला शेखर बितेका दिनहरू सम्झिन्छ । गोदौलिया सम्झिन्छ । लंका सम्झिन्छ । बनारस हिन्दू विश्वविद्यालय सम्झिन्छ । महामना मदनमोहन मालवीयको सालिक सम्झिन्छ । असी घाटका तरंगहरू सम्झिन्छ । हरिश्चन्द्र घाट सम्झिन्छ । ‘लासके वास्ते’ लखनउ–वाराणसी मेल लेखिएका थोत्रा बस सम्झिन्छ । शिघ्रोल रेल स्टेसन सम्झिन्छ । भारती सिनेमा सम्झिन्छ । सिनेमाको म्यानेजरको ‘प्रिय मोहनी’ सम्झिन्छ । जिन्दगीले निरन्तर कटाक्ष गरिरहेको हुन्छ उसलाई । बितेको समय, अर्थात् यो चार दशकमा, एक दिन पनि खेर गए जस्तो लागेको छैन उसलाई । केही न केही, केही न केही त भइरहेकै छ ।


समयको यो अन्तरालमा, मद्रासी सिनेमाका बहु–प्रतिभाशाली कलाकारले एकैसाथ हिरो र भिलेनको अभिनय गरेजस्तै उसले आफूलाई अनेकन भूमिकामा प्रस्तुत गरेकोछ । कहिले भिलेन र कहिले हिरो । कहिले साइड हिरो र कहिले क्यारेक्टर हिरो । यो समयमा शेखरले कुन मात्रै भूमिका निर्वाह गरेन ? आमाको आज्ञाकारी छोरा बनेन कि, बलात्कारी दानवबाट बहिनीको कुमारित्वको संरक्षण गर्ने दाजु बनेन कि । घर खर्चको जोहो गर्ने कर्तब्य परायण कुल्ली पनि बन्यो । धर्मपत्नीका आग्रह र आकांक्षाहरूको बन्दी पनि । कहिले एकै मुड्की उज्याएर विरोधीलाई आकाश घुमाउने चमत्कारी बाहुबलीका रूपमा देखा पर्‍यो, कहिले मुन्टो निहुर्‍याएर नाच्दै चाकडीको भाषाले जमघटलाई मुग्ध तुल्याउने कलाकारका रूपमा देखा पर्‍यो । एउटा मनुष्यको कति विधि अवतार । तर, अहँ, महा–नायक रजनीकान्तको जस्तो आकाशतिरबाट खस्दै गरेको सिगरेट ओठले टपक्क टिपेर सल्काउन कहिल्यै जानेन ।
धेरै पढेको नभए पनि पढ्दै नपढेको थिएन शेखरले । उसको पढाइ छ वर्षको उमेरदेखि एक्काइस वर्षको उमेरमा बा नबितेसम्म निरन्तर जारी रहेको थियो । बाले उहिलेको जमानामा बनारस बसेर कर्मकाण्ड पढेका थिए । त्यसैले होला, शेखरलाई उनले बनारसमा नै पढाए । ‘बाराणशेय संस्कृत विद्यालय’ मा भर्ना गरी दिए । दुई–चार जना ‘खातापिता’ जजमान चिनाइदिए । एक जना सानिमा बजै थिइन् नेपाली धर्मशालामा । मृत्यु कुरेर बसेकी । शेखरलाई उनैको जिम्मा लगाएर फर्केका थिए बा । शेखर सानिमा बजैसँग धेरै बसेन । त्यो उमेरमा पनि उनी आफ्नो अतृप्तिको झल्को दिन अचम्मको व्यवहार गर्थिन् ती बजै । उनको त्यो आदिम व्यवहार सहनुभन्दा बरु दुःखका साथ बाँच्नु नै राम्रो लाग्यो शेखरलाई ।


शेखर अलग बस्न थाल्यो, दरभंगाको काशी झासँग रुम पार्टनर बनेर लंकामा । त्यसपछि बा बाँचुन्जेलसम्मको समयमा, उसको पढाइ एक दिन पनि बिथोलिएन । बीचमा उसले बाले थाहा नपाउने हिसाबले अंग्रेजी पढ्यो, नौ कक्षासम्म । संस्कृतमा पूर्वमध्यमा भ्यायो । साहित्यमा उसको चाख थियो । प्रेमका कथा लेख्थ्यो । गीत र कविता लेख्थ्यो । साहित्यमा चाख राख्दाराख्दै उसले थाहा पायो— ऊ त कवि अज्ञेयको प्रिय पात्र शेखर पो रहेछ । आफू अज्ञेयको पात्र भएको थाहा पाएर ऊ दंग पर्‍यो । हिन्दीमा उसले खुब साहित्य पढ्यो । अमृतलाल नागर । विष्णु प्रभाकर । हरिशंकर प्रसाईं । रघुवीर सहाय । सर्वेश्वर दयाल सक्सेना । धर्मवीर भारती । प्रयाग शुक्ला । कृष्णा सोवती । कृश्नचन्दरको एक गधेकी आत्मकथा र एक गधेकी वापसी झन्डैझन्डै कण्ठ पारेको थियो उसले । बम्बईबाट निस्किने ब्ल्टिज साप्ताहिक छापाको अन्तिम पेजमा निस्किने ख्वाजा अहमद अब्बासका राजनीतिक टिप्पणी पनि खुब पढ्यो उसले । नौ कक्षासम्म अंग्रेजी पढेकाले त्यो भाषाको गूढ कुरो सिकी सकेको थियो । धुनिबेंसीको कोलले उखुको लाँक्रा पेलेर खुदो बनाएजस्तो, काठमाडौंको कोलमा शरीरबाट तेल निक्लने गरी पेलियो ऊ । काठमाडौंले उसलाई यति पेल्यो, यति पेल्यो कि, त्यसपछि, सबै बिर्सियो ।


बा बितेपछि फर्कियो शेखर काठमाडौं । काम खोज्न थाल्यो । शहरमा काम त टन्नै थियो । चिन्नु न जान्नु घचेडी माग्नु । काम दिने ठाउँमा आफ्ना इष्टमित्र र चिनजानका मानिस कोही थिएनन । उसको लागि कसले बोलिदिने ? गाउँकी सुबेदार्नी बजैले जागिर लगाइदिन्छु भनेकै भरमा चार पाथी मस्यौरा खाइन् होला । शेखरकी आमाले गर्नु नगर्नु चाकरी गरेकी हुन । बिचरी सुबेदार्नीको कसैलाई जागिर खुवाउने हुती नै थिएन । उनले चिनेका पेन्सन अड्डाका कारिन्दाले कताको जागिर खुवाउन् ? कतै जागिर नपाएपछि शेखर निकै दिन अलमलियो । धेरै घोरियो । धेरै सोच्यो । त्यसपछि उसले जागिर खाने विचार नै त्यागिदियो । जहाँ जे काम पाइन्छ त्यही गर्न थाल्यो । ऊ सानातिना काममा पर्फेक्ट हुँदै गयो । केही साहुजीहरू उसलाई काम दिन अघि सरे । साहुजीहरूको बाँधा मजदुर बन्न उसले मञ्जुर गरेन ।


शेखरको स्थायी जागिर थिएन । अस्थायी जागिर पनि थिएन । ऊ कहिले स्कुलमा ‘राहत’ मास्टर भयो । कहिले ‘हरेक सामानको दश रुपियाँ’ भन्दै मधुरो आवाजमा ठेला गुडाउँदै हिंड्यो । कहिले अस्पतालमा डाक्टरको च्याम्बर बाहिर बिरामीको नाम लेख्ने र पालो तोक्ने कारिन्दाको काममा लाग्यो । उसले दुनोट पसलमा पनि काम गर्‍यो । सबैभन्दा पछिल्लो पटक शेखरले बाह्र हजार रुपैयाँ बुझाएर कफी बनाउने बरिस्टा तालिम लियो । बूढा–बूढी नै काम गर्ने शहरियाका घरघरमा अर्डरअनुसारको खाना सप्लाई गर्ने रेस्टुराँको स्कुटर कुदायो साँझ सात बजेदेखि एघारसम्म । कलंकी चोकमा खीर बनाएर बेच्यो । तैपनि, उसले सुरु गरेको कुनै पनि काम स्थायी ढंगले जमेनन् । सर–सल्लाह लिऊँ भने कोसँग लिनु ? मनले खाएको जस्तो कोही थिएनन् । उसले आफ्नै मनसँग सल्लाह गर्‍यो र निर्णय लियो । लामो समय भौतारिएपछि उसमा वैदेशिक रोजगारीमा कतार, दुबई वा अन्त कतै जाने इच्छा पलायो । उसले चिट्ठा लगाएको थियो दुबईको । परेन । रोजगारको दोकानमा उसका एक जना भान्दाइ काम गर्थे । उनकै कृपाले भनौं, तै, नम्बर लाग्यो अबुधाबीको । भान्दाइले भने, ‘दुबई भन्नु र धाबी भन्नु केही होइन । काठमाडौं भक्तपुर भनेजस्तै हो ।’


शेखर खुसी भयो त्यस दिन । भान्दाइले ‘जमौं’ भनेका थिए । गणेशजीलाई लड्डु चढाउने भाकल गरेकाले उसले आजको सट्टा भोलि जम्ने प्रस्ताव राख्यो । भान्दाइले नाईं भन्ने त कुरै थिएन । यी भान्दाइ मात्रै कुनै अफिसमा जागिरे हुन्थे भने शेखरको पनि जागिर पक्का थियो । भान्दाइको स्वभावमा काँचो काँठको गन्ध आउँथ्यो । भान्दाइ हुने नहुने गफ दिन्थे । अन्यत्र कतै सुनेको गफलाई आफ्नो बनाएर गाउन खप्पिस थिए । दामी दौरा–सुरुवाल लगाएका भलाद्मी देख्नै हुन्नथ्यो । झुकेरै ठाउँका ठाउँ नमस्ते बजाउँथे । जो पावरको कोणमा छैन, छेकिएको छ, त्यसको वास्तै गर्दैनथे । यति हुँदाहुँदै पनि, शेखरको बारेमा उनी निकै संवेदनशील थिए । शेखर पनि उनलाई मान्न थालेको थियो— सबै त भाग्यकै खेल हो । सम्पत्ति नहुनेका लागि त्यही भाग्य नै त जन्मिँदाको लँगौटी र मर्दाको कात्रो बन्छ । देशमा गणतन्त्र आएर पनि के भो त ? आफन्तबिनाको अदना नेपालीले आफ्नै भरमा जागिर खान पाउँदैन । अरू त अरू, मूर्दा बनेर ढलेको क्षणमा पनि आर्यघाटको दुई नम्बर चितामा पोलिन भाग्य नै बलियो हुनुपर्छ ।

बेलुका घर फर्किंदा शेखरले सेता गणेशलाई एक्काइस लड्डु चढायो र हातमा प्रसादको थोंगा हल्लाउँदै घर पस्यो । घर पस्दा उसको मनमा एक लर्कन लेखक थिए । उसलाई मन पर्ने र नपर्ने सबै । बुझे पनि नबुझे पनि मोहन कोइराला र शंकर लामिछाने, कृष्णभक्त र द्वारिका, भूपि शेरचन र ईश्वरबल्लभ, पारिजात र भुवन ढुंगाना, शैलेन्द्र साकार र तोया गुरुङ । त्यस्तै मनभरि गीतहरू छटपटाइरहेका थिए । नारायण गोपाल र बच्चु कैलाश । तारादेवी र नातिकाजी । प्रेमध्वज, मीरा राणा र फत्तेमान । एक पटक एउटा जमघटमा भारतीय कवि अज्ञेयको पूरै नाम बताएर साथीहरूलाई छक्क तुल्याएको थियो शेखरले । ‘तिमी झारपातहरू, के था छ तिमीहरूलाई ? उनको नाम सच्चिदानन्द हीरानन्द वात्स्यायन हो । अज्ञेय त उनको साहित्यिक नाम भइहाल्यो । उनको श्रीमतीको नाम पनि सुनिराख मूर्खहरू । डा. कमला वात्स्यायन ।’


घरमा राति खाना खाने बेलामा उसले सबैलाई सुनायो, ‘म अब कतार दुबईतिर जान लागेको छु । पैसा नभै त काल पनि आउँदैन । दुई–चार वर्ष ढुक्कै काम गर्छु । त्यसपछि फर्किन्छु । पैसा हातमा भएपछि जे गरे नि भयो त ।’ उसको कुरा कसैले सुनेजस्तो गरेन । फिस्टुले मात्रै सोध्यो, ‘त्यहाँ चकलेट पाइन्छ बाबा ?’ शेखरको मन कटक्क काटियो । साला जिन्दगी । बच्चाको प्रश्नको उत्तर दिने ताकतसम्म छैन । हिजो साँझ भान्दाइलाई भेट्न जाँदै थियो ऊ । हिंड्दै थियो टुँडिखेलको छेवैछेउ । बाटो कतै थिएन टुँडिखेलभित्र छिर्ने । पहिलेको जस्तो मान्छेसम्म छिर्ने प्वाल पनि बनाएको थिएन कसैले । चारैतिर सुइरो आकारको बार ठडिएको थियो । उहिलेको कुरा, टुँडिखेललाई ठाडो नाघेर, संकटा मन्दिरबाट पुलिस क्लब छिचलिरहेको बेला, उसले गुरुमापाको सामना गर्नुपरेको थियो । लाखे अवतारमा होइन, साँच्चैको गुरुमापा । त्यतिखेर उसले गुरुमापासँग लाप्पा खेलेको थियो । गुरुमापा ऊभन्दा धेरै बलियो थियो र पनि उसले हराएको थियो । गुरुमापाको मुखबाट ह्वास्स हरक आइरहेको थियो । त्यस्तोमा गुरुमापा हार्नु अनौठो थिएन । यतिबेला पनि उसलाई गुरुमापा जिस्क्याउने रहर थियो । तर, अहिलेको टुँडिखेलमा गुरुमापा थियो कि थिएन ? के होला र ? भूत–प्रेत जति भागिसके भन्छन् । मानिसले मसान मिचेर घरै बनाइसके । उसलाई लाग्यो, भुइँचालोको धक्काले धरहरा ढलेको आवाज सुनेर तर्सिएको गुरुमापा नागार्जुनतिर भागेको हुन सक्थ्यो । गुरुमापाका बारे यसै भन्न सकिंदैन । भन्न पनि हुँदैन । सनातनदेखि गुरुमापा यो ठूलो चौर टुँडिखेलको रखवाला थियो । अब छैन होला । सिपाहीहरूले टुँडिखेललाई चारैतिरबाट घेरेका छन् । उनीहरूको अफिस, ब्यारेक र प्यारापिट सबै सानो टुँडिखेलदेखि ठूलो टुँडिखेलसम्मको विशाल हातामा खचाखच समेटिएका छन् ।


उसले भान्दाइलाई राम्रै ट्रिट दियो । वसन्तपुरमा नारायण दाइको मःम पसल जाऊँ भनेको भान्दाइले मानेकै होइनन् । उनलाई पुतली सडकमा पुष्करको सेकुवा पसलमा नै खानुपर्ने । अचेल सेकुवा कति महँगो भने कसैले त्यसको हिसाब नै नगरोस् । कालो दरबार एक हाफमा नै भान्दाइ लरबराइसकेका थिए । फेरि ‘खोइ अर्को हाफ ?’ भनेर कराउन थाले । त्यो हाफ सकेपछि ट्याक्सी चाहियो । एकै बसाइमा दुइटा हात्तीको सिकार भइगयो । काठमाडौं यति महँगो थिएन, यति नमीठो त कहिल्यै थिएन । अहिले त स्वादिलो भनेको फलानो चाउचाउ भन्छन् र हत्तपत्त साँध्न थालिहाल्छन् । चाउचाउ र ह्विस्कीको के कम्बिनेसन होला ? शेखर छक्क पर्ने गरेको छ । घरमा उसकी स्वास्नीबाहेक कसैलाई थाहा छैन, शेखर पनि रक्सी खान्छ । आमाले भनेकी छन्, अरू जे गरे पनि त्यो झोल मुखमा नहालेस् । आमाको सदिच्छा उसले मर्न दिएको छैन । आमाले अहिलेसम्म शेखर र कालो दरबारबीचको सम्बन्धको पत्तो पाएकी पनि छैनन् ।


शेखर अबुधाबी उड्यो । उसलाई पुर्‍याउन भान्दाइ र उसकी धर्मपत्नी एयरपोर्ट आएका थिए । उनीहरूलाई पुलिसले मूलढोकाबाटै भित्र छिर्नै नदिएपछि उसले दुवैलाई त्यहींबाट बिदा गर्‍यो । शेखरलाई लागेको थियो, उसको स्वास्नीको मनमा गाँठो पर्ला र कुनै नमीठो प्रतिक्रिया जन्मिएला । त्यस्तो केही भएन । ऊ प्रसन्न देखिएकी थिई । शायद भविष्यप्रति आश्वस्त । ऊ चेक–इन काउन्टरमा पुग्यो । चेक–इनपछि इमिग्रेसन । त्यसपछि सेक्युरिटी । एयरपोर्टमा यति धेरै तमासा होला । यसको अन्दाज नै थिएन उसलाई । त्यसपछि अबुधाबी जाने विमान देखेर शेखर छक्क परेको थियो । विमान त उसले पनि एकपल्ट चढेकै हो, जनकपुरबाट काठमाडौंसम्म । त्यो त सानो भँगेरा जत्रो विमान थियो । यो कति ठूलो अजंगको ।

शेखर अबुधाबी गएको चार वर्ष बित्यो । यसबीचमा उसले परिवार र साथीभाइलाई चार सय कलभन्दा बढी टेलिफोन गरेन । गोर्खा सिपाहीले जस्तो रेडियोबाट आफू मरे बाँचेको हाल परिवारलाई सुनाउन पाइने भए ऊ त्यो चार सय कल टेलिफोन पनि किन गर्ने थियो र ? ऊ वीतरागी भइसकेको थियो । खाली फिस्टुलाई मनबाट हटाइदिन सकेको थिएन । अबुधाबी उसलाई फापेको थियो । गर्मी भए पनि वातावरण शान्त थियो । समयमा गुणस्तरीय भोजन पाइने भएकाले ऊ गम्म मोटाएको थियो । भनौं सन्तोषमा थियो । एक दिन ऊ साप्ताहिक बिदाको दिन पारेर कोठा सफा गर्दै थियो । भान्दाइको फोन आयो । भन्दै थिए, ‘शेखर घर आइहाल्नुपर्‍यो । लालाबालाको बिचल्ली हुने भो ।’


शेखरले सोध्यो, ‘म घर नफर्की नहुने त्यस्तो के भयो र ?’
भान्दाइले जवाफ दिएका थिए, ‘आइहाल् न । यहाँ आएपछि कुरा बुझिहाल्छस् ।’
घर आएपछि शेखर अबुधाबी फर्किने संजोग मिलेन । ऊ मेरो छिमेकी थियो । एक दिन ऊसँग मेरो भेट भयो अनायास नै । ऊ ट्याक्सी चलाइरहेको थियो । म ट्याक्सी खोज्दै थिएँ । काठमाडौंमा अचेल ट्याक्सी पाइँदैन । पाइए पनि मिटरको नियम नमिच्ने ट्याक्सी त पाइँदै पाइन्न । सडकमा आफूतिर आइरहेको ट्याक्सी देखेर रोक्न हात उठाएँ । ड्राइभिङ सिटमा शेखर थियो । मलाई देखेर ऊ किञ्चित डरायो र हच्कियो । उसले भन्यो ः ‘सर, मिटर बिग्रिएको छ । बनाउन लाँदै छु । भाडा विचार गरेर दिनुहोला ।’


म ट्याक्सीमा बसें । मलाई खुलदुली लागेको थियो, ‘शेखर, तिमी त बाहिर थियौ होइन ?’
‘हो सर’, ऊ खुलेर बोल्यो, ‘स्वास्नी राम्री हुनेले सुख पाउँदैन नि सर । मोरीले पाँच वर्ष पनि पर्खिन सकिन । चारै वर्षमा पोइल गइछ । घरमा सानो छोरो, आमा र भान्जीमात्रै । राम्रो काम फेला पारेको थिएँ । छोडेर फर्किनैपर्‍यो । उता कमाएको पैसाले यो ट्याक्सी किने । अब अनेक लफडा बेहोर्दै छु । उतातिर त पेसेन्जरलाई राम्रो सर्भिस दिनेले सरकारको धाप पाउँथे । यतातिर त खोइ सर, नियम नै बुझिएन ।’ ऊ बोल्यो । उसको आवाज तीतो थियो । अनुहारमा विषाद वा पश्चात्ताप थिएन ।
उसले भन्यो, ‘कर्मको फल भनेको यही त होला सर ।’
मलाई लाग्यो, ‘शेखर एक सत्य हो । राम्रो भयो कि ऊ सकुशल देश फर्कियो । बाकसमा बन्द भएर आउनुपरेन । आफ्नै देशमा ट्याक्सी चलाउनु त जस्तै भए पनि राम्रो हो नि ।’
शेखर भन्दै थियो— ललाटमा जे लेखेको छ त्यो त भोग्नै परिगयो सर । बाले सुनाउँथे, रोइरहनुभन्दा गाइरहनु निको । फुच्चेलाई पढाउनु छ । भान्जी तरुनी हुँदै गएकी छन् । समय खराब छ सर । यिनको हुर्मत जोगाइदिन सके आफैंलाई स्याबासी दिनुहुन्थ्यो ।

प्रकाशित : फाल्गुन १८, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

मिथकजस्तो मान्छे

मनप्रसाद सुब्बा

काठमाडौँ — मैले आफ्नो उमेरको देउरालीबाट हेरिपठाउादातल... बेंसीमात्यो तन्नेरी उत्साह त्यो बैंसालु विद्रोह देखेथें अग्लो हिंडिरहेकोलामो जुलुसलाई डोर्‍याउादै

उसको देब्रे हात झन्डा उठेको अग्लिादो उमंगको
हातका पााच औंलाहरु पञ्चशूल ठडिएको शून्यको भ्वाङ छेंड्दै
मिसनको मिसाइल उसको दाहिने हात देख्थें देउरालीबाट

प्रतिवाद कराएको उसको आवाज
तातो प्रहार बज्थ्यो चिसा पर्खालहरूमा
म सुन्थें संगीत त्यसको थर्किादो प्रतिध्वनि
जो गुन्जिएको लाग्थ्यो आहृवानको दुन्दुभी क्षितिजहरु झक्झकाउादै
घरको बरन्डाबाट सिाडी टेक्दै
सडकमा ओर्लेका उसका पैतालाले
तरंग अदम्य उब्जाइदिन्थ्यो सारा बेसुर पैतालाहरुमा
र तिनीहरुले दिशा देख्थे गन्तव्यको
उसको नाकबाट निस्केको निःश्वासले
निस्फिक्री उभिएका रुखका पातहरु हल्लिन्थे बेस्सरी
अनि हुस्सेभित्र हराएको होस छ्यांग हुन्थ्यो
उसको आाखाको नानीमा थियो अर्को आाखा
जसको चमकले चिरिन्थ्यो चिराचिरा
अनिश्चितताको ध्वाासे पर्दा

यी सब देखेपछि
स्थगित गरी अनिश्चितकालसम्म देउरालीदेखि उताको यात्रा
मैले मेरो रहल समय अञ्जुलीभरि भरेर
त्यो बैंसालु बेंसीको शिरभरि पर्सिदिएा
र त्यसको अनुहारमा
घाम झुल्कनअघिको गुलाफी प्रभात देखेको थिएा
उल्लसित आाखा मेरा चिम्म भए केही बेर भरोसामा
अनि..
अनि त्यसपछि..
सुस्तरी आाखा खोलेर हेर्दा
त्यहाा न त त्यो अनुहार थियो
न त गुलाफी प्रभात नै !
थियो त त्यहाा यौटा खाली कालो छाया !
अनि त्यो छायाको आयतन बेरोकटोक बढिरहेको
बेंसी र पाखाभित्ता निल्दै
अझ माथिमाथि देउराली र पर्वततिर पनि उक्लिादै

फनक्क फर्केर पछिल्तिर क्षितिज समाउन खोजो
अनि पो थाहा पाएा
कि म त कहिले हो कहिले
फोसिल भइसकेको रहेछु
अचल अनि निर्वाक !

तर, ओ पाठक !
नियालेर हेर्नोस् त
कतै त्यो मिथकजस्तो मान्छे
म नै त थिइना ?
अर्थात् तपाईं नै पो हुनुहुन्थ्यो कि त्यो !

प्रकाशित : फाल्गुन १८, २०७५ १३:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्