२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पानीको स्वास्थ्य

जीवहरू पानीमा भएको घुलनशील अक्सिजनको मात्रालाई लिएर संवेदनशील हुन्छन् । ढाड नभएका साना जीवहरू भनेको जैविक सूचकका आधार हुन् । पानीको अवस्थामा फरक आउनेबित्तिकै यी जीवहरूले प्रतिक्रिया दिन सुरु गर्छन् ।
गोविन्द पोखरेल

काठमाडौँ — शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको पानी मुहानको जैविक सूचकांक आधारमा हालै परीक्षण गरिएको थियो  । कुनै रसायन प्रयोग नगरी पानीको स्वास्थ्य अवस्था जाँच गरिएको यो आफैंमा नौलो घटना थियो  ।

पानीको स्वास्थ्य

हिजो आज रसायन प्रयोगै नगरी पानीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । जैविक सूचक आधारमा जलाधारको स्वास्थ्य परीक्षण गर्ने कार्य सजिलो हुने भएपछि यसतर्फ वैज्ञानिक तथा अनुसन्धानकर्मीको ध्यान तानिएको हो । हाम्रो मुलुकमा पानी परीक्षण गर्दा रसायनिक र भौतिक मानकलाई मात्रै प्राथमिकता दिने गरेको इतिहास छ । सतही पानी (सरफेस वाटर) को स्वास्थ्य परीक्षणमा विद्यार्थीको रुचि धेरै हुँदैनथ्यो । पछिल्लो समयमा वातावरण र हाइड्रोलोजीका विद्यार्थी सतही पानीमा भएका स–साना जीव र त्यहाँको पारिस्थितिजन्य प्रणाली अध्ययन–अनुसन्धानमा आकर्षित हुन थालेका छन् ।


त्रिभुवन विश्वविद्यालय र युनिभर्सिटी अफ नर्थह्म्टनमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो अनुसन्धानमा पनि जैविक सूचक आधारमा जलाधारको स्वास्थ्य परीक्षणलाई बढी केन्द्रमा राखेका छन् । युनिभर्सिटी अफ नथह्याम्टनको सम्बन्धन प्राप्त राजधानीको एक कलेजका छात्राहरू तपस्या सुवेदी, सोनी शेरचन, सुरभी उपाध्यायसहितले कर्णाली, वाग्मतीको क्षेत्रको जलाधार स्वास्थ्य परीक्षण गर्दै छन् । त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरिरहेकी ज्योति अर्यालले आफ्नो ‘केस स्टडी’ पनि पानीको स्वास्थ्य परीक्षण सम्बन्धित छ । यो विधिबाट स्वास्थ्य परीक्षणका साथै पानीमा पाइने नयाँ जीव पनि पत्ता लगाउन सकिने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।


पानीमा विभिन्न प्रजातिका जीव पाइन्छन् । जीवहरू पानीको बहाव र गुणस्तर आधारमा आफ्नो बासस्थान निर्धारण गर्ने फ्रेस वाटर इकोलोजिस्ट डा. दीपनारायण साहले बताए । यस्ता जीवमा केही यस्ता गुण हुन्छन् जसले पानीको शुद्धता र प्रदूषणबारेमा जानकारी दिन्छन् । जीवहरू पानीमा भएको घुलनशील अक्सिजनको माक्रालाई लिएर संवेदनशील हुन्छन् । यस्ता जीवहरू ‘म्यात्रो इन्भर्टिब्रेट’ हुन् । यिनीहरू ढाड नभएका साना जीवहरू हुन् । विभिन्न ठाउँमा छरिएर रहेका यी जीवलाई जैविक सूचकको रूपमा लिइन्छ । पानीको अवस्थामा फरक आउनेबित्तिकै यी जीवहरूले प्रतिक्रया दिन सुरु गर्ने भएकाले यिनलाई सूचक भनिएको हो ।


पानीमा इफिमेरोप्टेरा, पोलिकोप्टेरा, ट्राइकोप्टेराका विभिन्न प्रजातिहरू छन् भने पानी सफा रहेको बुझिन्छ । प्रदूषित पानीमा यी जीव हुँदैनन् । वाग्मतीको मुहान्मा पाउने जीवहरू पशुपति हुँदै बग्ने वाग्मतीमा पाइँदैनन् । वाग्मतीको तल्लो किनारतिर ट्युबिफिसिडे प्रजातिहरू पाइन्छन् । यी जीवहरूको बासस्थान प्रदूषित पानी हो । यस्ता जीवको उपस्थिति आधारमै हामी पानीको शुद्धता छुट्याउन सक्छौं । प्रदूषित पानीमा थोरै मात्रामा घुलनशीलन अक्सिजन हुन्छ, सफा पानीमा घुलनशील अक्सिजनको मात्रा धेरै हुन्छ । त्यही भएर पानीमा बस्ने जीवहरू पनि फरकफरक हुन्छन् । पानीमा प्रदूषण बढ्दै जाँदा सफा पानीमा पाइने जीवहरू पनि हराउँदै जान्छन् ।


पानीको स्वास्थ्य परीक्षणका लागि जैविक विधि प्रयोग उपयुक्त हुने फ्रेसवाटर इकोलोजिमा विधावारिधि गरेकी काठमाडौं विश्वविद्यालयको रिसर्चर डा.रामदेवी तचामो बताउँछिन् । एकनाशले बगिरहेको पानीको रासायिनक विधिबाट मात्र परीक्षण गरिंदा त्यसले सही तथ्यांक दिन सक्दैन । उनले भनिन्, ‘बगिरहेको पानीको परीक्षण गर्दा कुनै एउटा निश्चित समयमा निश्चित अवस्थाको पानीको मात्रा मात्र परीक्षण हुन्छ । पूरै जलाधार क्षेत्रको हुन सक्दैन । कसैले पानी धमिलो बनाइदियो भने पनि पानीको रासायनिक मानकमा असर परिहाल्छ ।’ उनका अनुसार जैविक जीवहरूको बासस्थानबाट पानीको स्वास्थ्य परीक्षण गर्न सजिलो हुन्छ । म्याक्रो इन्भर्टिब्रेटहरू लामो समयसम्म एकै ठाउँमा बसिरहने भएकाले यिनीहरूले पानीको अवस्थाबारे जानकारी दिने गरेको उनले बताइन् ।

जलाधार पहिचान
यो विधिमा जीवहरूका हरेक प्रजातिलाई जैविक ‘स्कोर’ दिइएको हुन्छ । स्कोर आधारमा पानीको अवस्था छुट्याइन्छ । स्कोर १ देखि १० सम्म राखेर १० स्कोर भएका प्रजातिहरू धेरै सफा पानीमा पाइन्छन् भने १ स्कोर भएका जीवहरू प्रदूषित पानीमा मात्रै पाइन्छ । बायोटिक स्कोर आधारमा तथ्यांक विश्लेषण गरिन्छ । नेपालमा यो विधिबाट विभिन्न खोलानाला, नदीको अध्ययन भएको छ ।


साहले भने, ‘वाग्मतीको कुरा गर्दा पनि यस्तै हो । विधि भनेको खोलामा शुद्ध सफा भएको ठाउँदेखि यसका अन्य क्षेत्रहरूमा परीक्षण गरिन्छ । अध्ययन स्थान छुट्याइन्छ । असरको आधारमा म्यापिङ गरिन्छ । म्यापिङका लागि मूल्यांकन प्रणाली (रेपिड एसेसेमेन्ट प्रोटोकोल) प्रयोग गरिन्छ । जाली लिएर १० ठाउँबाट कीरा छानिन्छ । कीरालाई ट्रेमा राखेर पहिचान गरिसकेपछि नम्बर दिइन्छ । कीराहरूको उपस्थितिको अवस्थामा स्वास्थ्य जाँचिन्छ ।’

जेकोही वैज्ञानिक
यो विधि सर्वसाधारण तहबाटै विकास गरेर प्रयोग गर्न सकिने भएकाले स्थानीयले सजिलैसँग जलाधार स्वास्थ्य मापन गर्न सक्छन् । रसायनिक गुणको परीक्षणभन्दा जैविक सूचकको आधारमा पानीको स्वास्थ्य परीक्षणले बढी ‘एक्युरेसी’ दिने भएकाले जोकोहीलाई वैज्ञानिक बनाउन सकिने साहको दाबी छ । लामो समयदेखिको पानीको स्वास्थ्य अवस्था देखिने भएकाले नयाँ पुस्ताका पानी विशेषज्ञ उत्पादनका लागि यसले मद्दत पुग्ने साहले बताए ।


विद्यार्थीले यो विधिबाट ‘रिभर इकोलोजी’ को अनुसन्धान गर्न पनि सक्छन् । नेपालमा विशेषगरेर रसायनिक विधिबाट खोलाको अवस्था अध्ययन गर्ने चलन छ । यो त्यति वैज्ञानिक मानिदैन ।

यस्तो छ विधि
जैविक सूचकको अध्ययनसँगै पानीको तापक्रम, घुलनशील पदार्थको मात्रा, पीएच, इलेक्ट्रिकल कन्डक्टिभिटी, सालिनिटी जस्ता तथ्यांकहरू ‘पोर्टेबेल ह्यान्ड प्रोभ’ मार्फत लिइन्छ । यस्तै स्पेक्टो फोटोमिटरले नाइट्रेट, एमोनिया, फोस्फेटको जानकारी दिन्छ । यसबाट क्लोराइड, पानीको कडापनबारे थाहा हुन्छ । त्यसपछि खोलाको गहिराइ, चौढाइ, पानीको फ्लो र भेलोसिटी नापिन्छ । यसपछि साइट प्रोटोकल भर्ने काम गरिन्छ । प्रोटोकलले अध्ययन गरेको ठाउँको सबै जानकारी डकुमेन्टेसन गरिन्छ ।

नेपालमा अनुसन्धान
म्याक्रो इन्भर्टिब्रेटको अनुसन्धान नेपालमा ९० को दशकबाट सुरु भएको तचामोको भनाइ छ । सुरुमा यससम्बन्धी अनुसन्धान विशेषगरी विश्वविद्यालय तहको अध्ययन–अध्यापनमा समिति थियो । यसकारण पनि नेपालका नदी तथा तालतलैयामा कहाँ–कति प्रजातिका जैविक सूचक छन् भन्ने आधिकारिक तथ्यांक नभएको अवस्था छ ।


साह र तचामो यो अभियानमा होमिएका छन् । युरोप–अमेरिकामा समेत यो विधिबाट जलाधार स्वास्थ्य परीक्षण गरिन्छ । ती मुलुकको पानीसम्बन्धी ऐनमा पनि अनिवार्य जलाधारको जैविक सूचक आधारमा जलाधारको स्वास्थ्य परीक्षण गर्नुपर्ने कुरा उल्लेख छ ।


पानीमा धेरै प्रकारका कीटवर्ग बस्छन् । यस्ता कीटहरूलाई संवेदनशील, मध्यम संवेदनशील र टोलेरेन्टमा वर्गीकरण गरिएको छ । कतिपय ठाउँमा अध्ययन नभएकाले नयाँ स्पेसिसहरू रेकर्ड हुन थालेका छन् ।

फाइदामा स्थानीय तह
यो विधिबाट नेपालका सबैवटा स्थानीय तहहरूले पानीको जलाधार मापन गर्न सक्ने साहले बताए । प्रदेशतिर यो विधि सहज ढंगले लागू गराउन सकिने उनको दाबी छ । स्थानीय सरकारले आफ्नो जलस्रोत पहिचान गरी कुन अवस्थामा छन् भन्ने कुरा सीमित स्रोत र साधनबाट समेत जानकारी लिन सक्छ । कुनै पनि जलाधारमा मुहानदेखि तल्लो तटीय क्षेत्रसम्म एउटै प्रकारका कीटवर्गहरू हुँदैनन् । जलाधारको अवस्था एउटै हुँदैन ।

घुलनशील अक्सिजनको मात्रा फरक हुन्छ, जसले जीवहरूलाई असर हुन्छ । खोलालाई ‘असर’ आधारमा वर्गीकरण गर्न सकिन्छ । मुहान तथा अन्य क्षेत्रबाट आएका फोहोरको असर फरक–फरक हुन्छ । उद्योगको ढलमा आएको पानी फरक हुन्छ र, फरक किसिमका सूचक हुन्छ ।

प्रकाशित : फाल्गुन १८, २०७५ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?