ध्यानी बकुल्ला

रमेशकुमार पौडेल

काठमाडौँ — भरतपुर बरन्डाभार जंगलभित्र छ राइनो ताल  । यस तालमा विभिन्न प्रजातिका पानी चराहरू फाट्टफुट्ट भए पनि देखा पर्न थालेका छन्  ।

फागुन १८ गते शनिबार तालको बीचमा रहेको सुकेका रुखको टुप्पामा एउटा अलि अनौठो चरा देखियो । त्यो चरा ‘पर्पल हेरन’ अर्थात नेपालीमा ध्यानी बकुल्ला थियो । चरा संरक्षणकर्मी बासु बिडारी यो बकुल्ला चितवनमा निकै घट्दै गएको बताउँछन् । पछिल्लो गणनामा यो हिउँदे पानी चरा पूर्वी चितवन क्षेत्रमा दुईवटा मात्रै देखा परेको बिडारीले बताए ।लामो खुट्टा र लामो घाँटीले गर्दा यो अन्य बकुल्लाभन्दा फरक देखिन्छ । माछा/भ्यागुता यसको मुख्य आहार हो । त्यसैले यसले पोखरी, तलाउ वा खोला नजिक बसेर बडो ध्यानपूर्वक माछा–भ्यागुताको चाल पहिल्याउने गर्छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्

मःम नोस्टाल्जिया

त्यसभन्दाबाहेक पाटनको अशोक सिनेमा अगाडिको ॅकैलाश’ पनि थियो । तिबेतियन मोमो जसलाई होटल साहुनी म्हो–म्हो भन्थिन्, हामी मोमो । यसको आकार लाम्चो हुन्थ्यो, हाम्रो घरमा पाक्ने डल्लो ममचाभन्दा हेर्दा पनि फरक, स्वाद पनि फरक ।
किरणकृष्ण श्रेष्ठ

काठमाडौँ — काठमाडौँमा अचेल अनेकथरीका मःम पाइन्छन्  । मःम नसमेटी कुनै पनि रेस्टुराँको मेनु पूर्ण हुँदैन  ।

चिकेन, मटन, बफ, भेजिटेबल, मसरुम...स्टिम, फ्राइड, झोल, झानेको, पोलेको, साँधेको... आदि । मेरो स्मरणमा भएको मःमको सुरुआती रूपको मःमलाई अहिलेको बजारले निकै परिस्कृत गरिसक्यो । त्यसै स्मरणमा भएका मःम नोस्टाल्जिया केही सेयर गर्न चाहन्छु । सबैभन्दा पहिले मैले मःम कहाँ खाएको हुँ, भनी घोतलिन्छु । एक छिनमै निर्क्योलमा पुग्छु, घरमै खाएको हुँ । त्यसबेला न रेस्टुराँको चलन थियो न त्यहाँ जाने चलन । काठमाडौँको रेस्टुराँमध्ये मेरो स्मरणमा भएको पहिलो आकृति भनेकै, भूगोल पार्कछेउको इन्दिरा रेस्टुराँ हो । सडकछेउको भ‍र्‍याङ उक्लेर एक तलामाथि । आफू स्वयम् गएको भन्दा पनि, बुबाआमाले विदेशबाट पाहुना आउँदा खुवाउन त्यहाँ लान्थे । कस्तो होला त्यो ठाउँ, कस्तो होला खाना ? बालक मनमा कौतूहल हुन्थ्यो ।


मःमचा मैले पहिलो पटक घरमै खाएको हुँ, पक्का । घरमा पाक्ने मःमलाई हामी सबै मःमचा भन्थ्यौं । मःम पकाउने दिन उत्सव नै हुन्थ्यो । बिहान बगरेकोमा गएर फल मासु ल्यायो । राम्रो सेतो मैदा, पाएसम्मः बालाजु मैदा माग्थ्यौं । नपाए हेटौंडा मैदाले काम चल्थ्यो । अचारका लागि गोलभेंडा पनि । मासुलाई घरमै अचानोमा खुकुरीले मसिनोसँग चुँला (किमा) बनाएपछि, मासु साँध्ने काम हुन्थ्यो । त्यस बेला किमा गरेको मासु किन्न पाइन्नथ्यो । बगरेकोमा मासु पेल्ने मिसिन आएको पनि पछिमात्र हो । मासु साँधेपाछि नुन पुगेको नपुगेको चाख्न हामी सबै बच्चाहरूको हरालुछ चल्थ्यो । चुँला पनि कचिलाजस्तै स्वादको लाग्थ्यो । मःमका लागि साँधेको मासु, गज्जब मीठो हुन्थ्यो तर यो साँधेको मासु थोरै चाख्नका निम्ति मात्र पाइन्नथ्यो । मःम बनाउन सबै व्यस्त हुन्थे । कोही पिठो मुछ्न, कोही बेल्न, कोही मासु राख्न, अनि पोका पर्नचाहिँ जान्नेले मात्र । खाने बेलामा, प्लेट, गोटा होइन– एक जनालाई पूरै एक पाख । घ्याप्प खान्यायो, पोलेको गोलभेंडालालाई सिलौटामा पिनेर बनाएको अचारमा चोप्दै क्वापक्वाप । कहिलेकाहीं त बाजी पनि पर्ने । कसले धेरै खान सक्ने भनेर । एक जनाले ४०–५० खानु भनेको साधारण । एक पटक कस्सेर १०० वटासम्मः खाइएको थियो । उमेर त्यस्तै १२–१४ थियो होला ।


पसलको मःम भने १०–१५ वटाभन्दा खान सकिँदैन । यसको कारण के होला खै ? मःम खान जडो महिना नै किन आउनुपर्ने, मैले अझै बुझेको छैन । जाडो, अझ बदलिपरेको साँझ मःमका लागि उपयुक्त मानिन्थ्यो । तर, अचेल त मःम बाह्रमासे भइसक्यो । मःमसँगै जाडोमा मात्र पाइने काउली, काँक्रो आदि पनि त बाह्रमासे भइसके । त्यसताका मःम नितान्त सिजनल परिकार थियो । गरम महिनामा बिरलै पाक्ने । त्यसैले मःम विशेष नै हुन्थ्यो । घरमा कहिलेकाहीं मात्र पाक्ने, बाहिर पनि धेरै ठाउँमा नपाइने । घर बाहिर मःम खाने ठाउँ हुँदै नभएका होइनन्, सीमित थिए । ८–१० क्लास पढ्ने भएपछि घरबाट लुकीलुकी यी ठाउँहरू जान थालियो । एकाध तिब्बती शरणार्थीहरूले खोलेको रेस्टुराँहरूमा मोमो (मःम होइन), थुक्पा, चाउमिन खान पाइन्थ्यो । म ताहाचलमा हुर्कें । मेरालागि, घरबाहेक मोमो खाने ठाउँ भनेको कालिमाटी वडा कार्यालय अगाडिको ग्यारेजजस्तो कोठामा रहेको एउटा अग्ली तिब्बती महिलाको ‘होटल पसल’ थियो । अलि पर भनेको ठहिटीको ‘दोर्जे’ र ठमेलको ‘उत्से’ । बौद्धमा पनि थिए तर बौद्ध त्यसबेला हाम्रालागि अर्कै प्रान्तजस्तै टाढा लाग्थ्यो । त्यसभन्दाबाहेक पाटनको अशोक सिनेमा अगाडिको ‘कैलाश’ पनि थियो । तिबेतियन मोमो जसलाई होटल साहुनी म्हो–म्हो भन्थिन्, हामी मोमो । यसको आकार लाम्चो हुन्थ्यो, हाम्रो घरमा पाक्ने डल्लो मःमचाभन्दा हेर्दा पनि फरक, स्वाद पनि फरक ।


असीको दशकको सुरुआतसँगै काठमाडौँमा भिडियो भित्रियो । भिडियो देखाउने गल्लीहरूसँगसँगै मःमचा बेच्ने पसलहरू पनि खुल्न थाले भन्ने लाग्छ मलाई । हुन त वसन्तपुर, असनमा सानो भाँडामा साना गुच्चा जत्रा मःम सालको पातमा राखेर बेच्ने केही थिए तर मःमको व्यापकता भिडियोसँगै मौलाएको जस्तो लाग्छ । मःमको लोकप्रियतासँगै पकाउने भाँडो र चुल्होको आकार पनि ठूलो हुँदै गयो । बिस्तारै मःम नाङ््लो जत्रो ठूलो भाँडामा पाक्न थाल्यो । मट्टीतेलको ठूलो स्टोभमा, टोलै थर्कने गरी आवाज निकाल्दै । ठूलो डेक्चीमा उमालिएको पानीमा बफाइएको मःमचाको प्रचलन मासं गल्ली, महाबौद्ध, रञ्जना गल्ली आदि टोलबाट सुरु भएको जस्तो लाग्छ मलाई । खानेकुरा खाने ठाउँहरू प्रायः सिनेमाहल र भिडियो देखाउने गल्ली वरिपरिबाट नै फस्टाएका हुन्जस्तो लाग्छ । मःम पकाउने ती स्टोभ यति ठूला हुन्थे कि, हातले दम दिन नभ्याएर साइकलमा हावा भर्ने पम्पबाट दम दिन्थे । यो बुद्धि कसको थियो कुन्नि तर सम्झँदा, गज्जब युक्ति लाग्छ ।

मध्यअसीको दशकमा तिब्बती मोमो प्रतिप्लेट तीन रुपैयाँ र मःमचा अढाई रुपैयाँमा खाएको याद छ । कोक त्यसबेला डेढ रुपैयाँमा पाइन्थ्यो ।
तिब्बती मोमो एक प्लेटमा ८ गोटा दिन्थे भने, मःमचा १० गोटा दिन्थे । मःमचालाई हामी छ्वाइँ मःम पनि भन्थ्यौं । यो नाम त्यो छ्वाइँ, भ्यारारा आवाज निकाल्ने स्टोभबाट आएको हुनुपर्छ । अस्ति काठमाडौँका डाँडाहरू सेताम्य भई फुलेको चिसो साँझ पुल्चोकको ‘बोसोरहित’ मा मःम खान रोकिएको थिएँ, मःमचाको दाम एक सय पुगेछ । हिसाब गर्छु, पहिलो पटक खाएको र पछिल्लो पटक खाएकोमा कति फरक भएछ । पहिलो पटक अढाई रुपैयाँ, अहिले सय । ३५ वर्षमा मःमको दाम ४० गुनाले बढेछ । यो हिसाबले त्यस बेलाका अरू दर रेटहरू सम्झन पुग्छु । मलाई याद भएअनुसार त्यसबेला, ज्यामीको दैनिक ज्याला ३५ रुपैयाँ थियो । अहिले ७०० पुग्यो क्यार । यानिकि कमाइ २० गुनाले बढ्यो । घरमा इँटा बोक्न आउने एक जना कान्छा दाइ नामको ज्यामीले भनेको याद छ, ‘आजकल खाना पकाउने झन्झट कल्ले लिओस्, कामबाट गएर राति ५ रुपैयाँको मःम खायो, भट्टीमा २ रुपैयाँको स्वाट्ट पार्‍यो सुत्यो ।’
त्यसबेला शाखा अधिकृतको तलब १,५०० हाराहारी थियो । अहिले करिब ३०,००० छ । तलबमा करिब २० गुना वृद्धि भएछ ।
त्यसैबेला सुन प्रतितोला करिब ३००० थियो । अहिले ५५००० को हाराहारी छ । सुनको दाम पनि २० गुना बढेको छ ।


डलरको दाम १२–१५ थियो, अहिले १२० । डलरको दामःमा १० गुनाको वृद्धि
यी सबै हेर्दा सबैभन्दा बढी मूल्य वृद्धि भएको चीजमा मःमचा पर्छ कि जस्तो लाग्यो । काठमाडौँको मुद्रास्फीति र अर्थतन्त्रलाई मःमको अर्थतन्त्रले मापककै काम गर्ला कि ? अर्थशास्त्रका विद्यार्थीलाई ।
३५ वर्षमा ४० गुना मूल्य वृद्धि भएको अरू दैनिक उपभोग्य सामान छ जस्तो लाग्दैन । चियाको त जम्मःा एक रुपैयाँ पर्थ्यो अहिले २० पर्छ, त्यो पनि २० गुना त भयो । कुखुराको फुल १ रुपैयाँ गोटा थियो अहिले १० पर्छ ।
यसरी भाउ बढ्नुमा के कारण होला ? मःम बनाउन चाहिने मुख्य सामान मैदा र मासु दुवैको भाउ त्यति बढेको छैन । त्यसबेला राँगाको मासु प्रतिकिलो ३०–४० पर्थ्यो, अहिले ४०० जति छ ।
खर्च र आम्दानीको स्रोत २० गुनामा रुमल्लिरहँदा मःमको वृद्धि दरचाहिं किन यति होला ? हुन त सडके खाना र त्यसको रेटमा केको लजिक ?

पहिले मःम भन्नेबित्तिकै बफ नै मानिन्थ्यो । त्यसैले राँगा नखाने ‘जात’ ले मःम नै खाँदैनथे । बिस्तारै मःम मुखमा नराख्ने मान्छे पाउन गाह्रो हुँदै गयो । मःम मुखमा नहालेका मान्छे दुर्लभ भएजस्तै, अचेल त राँगाको मासु भन्ने उच्चारण पनि दुर्लभ भइसक्यो । बफ भन्नेबित्तिकै धेरैले निर्धक्क भैंसीको मासु भन्न थालिसके । पहिलेको काठमाडौँका बगरेहरूले बरु धर्म राख्थे, भैँसी, बाख्री आदि ‘जन्माउने र दूध दिने’ चौपायाहरू काट्दैनथे । कानुनमा पनि बर्जित नै थियो क्यारे । अचेल धर्म हरायो, कानुन परिवर्तन भयो कि चलन बदलियो खोइ ?
बेच्न राखिएको मासु राँगा, खसीकै हो भनेर देखाउनका निम्ति पनि उत्तनो पारेर ‘चिनो’ देखाएर राख्ने चलन थियो । खसीको त अझै पनि ‘चिनो’ देखाएर बेच्ने चलन छ, राँगा यानिकि बफको भने ‘चिनो’ देखिन छोड्यो ।
मःम बफबाट चिकेन, मटन, भेजिटेबलको अवतारमा आएको धेरै पछि मात्रै हो । लोकल भ्यारभारे स्टोभमा पाक्ने डल्लो मःमलाई रेस्टुराँको मेनुमा अपग्रेड गरेको, १९९० मा तीनधारामा खुलेको बकेरी क्याफेले नै हो जस्तो लाग्छ । चिकन मोमोको सम्भावना देखाएर लोकप्रियता बढाएको श्रेय पनि बेकरी क्याफेलाई नै जान्छ । लोकल छ्वाइँ मःमको हाइजिनबारे सचेत हुन थालेका मःमका पारखीका लागि बेकरी क्याफेले राम्रो विकल्प दिएको थियो । तर, बकेरीले डल्लो मःमको आकार, स्वाद, अचार सबै नयाँ पस्क्यो । पुरानो छ्वाइँ मःमको क्यारेक्टर खासै थिएन ।


सडक किनारमा टोकन लिएर लाइन लागेर खाइने छ्वाइँ मःमसँग मिल्दो आकार, स्वाद र क्यारेक्टरसहित रेस्टुराँमा पहिलो पटक मःम खाएको पुल्चोकको ‘ले ट्रियो’ मा हो । बकेरी खुलेको २ दशक यानिकि २०१० मा खुलेको ‘ले ट्रियो’ ले काठमाडौँको रेस्टुराँ वृत्तमा ल्याएको इन्नोभेसन थियो त्यो । त्यहाँ मःमलाई बाउलमा अचारमा डुबाएर सर्व गर्थे, झोलमा डुबेको मासुजस्तै । र त्यो परिकारलाई ‘ले ट्रियो’ को मेनुले नाम दियो, ‘झोल मःम’ । त्यहाँबाट सुरु भएको झोल मःमको लोकप्रियता अब धेरै रेस्टुराँको मेनुमा अटाइसक्यो ।
अचेल त्योबेलाको छ्वाइँ मःमको रूप र नाम फेरिएर, झोल मःम भएको छ ।
जाडोको एक दिन म पुरानै छ्वाइँ मःम खोज्दै नक्सालको एभरेस्ट मःम पुगें । डेढ प्लेट अर्डर गरेर खान थालें । अचेलको नयाँ चलनलाई आत्मसाथ गर्दै फोनले फोटो खिचें र फेसबुकमा पोस्ट गरें, ‘यस्तो मःमलाई कहिलेदेखि झोल मःम भनियो, हेक्का भएन । हामी त छ्वाइँ मःम भन्थ्यौं । मःम पकाउने स्टोभबाट आएको हो यो नाम । छ्वाइँ... य... । यो झोललाई चाहिँ हामी अचार भन्थ्यौं । झोल त मःमभित्र हुन्थ्यो, टोकेपछि झ्वाल्ल मुखभरि पिच्किन्थ्यो जिब्रो डाम्लाजस्तो गरेर... जाडोमा मःमको याद...’
धेरैले मेरो यो कुरा चित्त बुझाए । लाइक ठोके । सञ्चारकर्मी तीर्थ कोइरालाको कमेन्टलाई चाहिँ मैले पनि लाइक ठोकें । उहाँले लेख्नुभएको थियो, ‘किरणजी अचेल मःम पनि नक्कली पारखी पनि नक्कल्ली ।’
नक्कली, सक्कली छुट्याउने काम त पारखीहरूकै हो ।
तपाईं स्वयं पारखी हुनुहुन्छ, आफैँ छुट्याउनुस्।

प्रकाशित : फाल्गुन १८, २०७५ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्