२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

केपीको कविमन

केपी कथनलाई 'उखान' भनेर उडाउन खोज्छन् कतिपय उनका आलोचकहरू ।
ऋषिराम शर्मा

काठमाडौँ —  दुईवर्षे उमेरमा आमाको माया गुमाएर टुहुरो बनेको एउटा ‘ध्रुवे’ पौराणिक पात्र ध्रुवको जस्तो अठोट, त्याग, विश्वास र धैर्य लिएर लोकतन्त्रका लागि निरन्तर अघि बढ्छ  । १४ वर्ष जेलनेल भोग्छ र मुलुकको कार्यकारी प्रधानमन्त्रीका रूपमा सत्ताको वागडोर सम्हाल्छ  ।

केपीको कविमन

दुई तिहाइ स्थिर सरकारको नेतृत्व गरेपछि २०७५ साउन १० गते आयोजित प्रज्ञा प्रतिष्ठानको स्रष्टा भेलामा उहिलेका ध्रुव उर्फ अहिलेका केपी ओलीले भिन्न अनुराग जनाउँदै भने, ‘कवि नभएपनि कविमन भएको सरकार छ ।’


प्रधानमन्त्री ओलीको प्रत्युत्फन्न मति र वाककला (अर्थात् व्यञ्जनाशक्ति वा वत्रता वैचित्र्य) पनि त्यत्तिकै बेजोड छ । जुन १७, २०१८ का दिन देशको शिक्षाबारेमा शैक्षिक सर्टिफिकेटधारी बेरोजगारका व्यथा र त्यसका उत्पादकप्रति उनले व्यञ्जनात्मक शैलीमा भने, ‘सर्टिफिकेट नै पीडाको विषय हुने शिक्षा अब काम लाग्दैन ।’ आफू बालकै छँदा देखेको मुलुकको समृद्धि दृष्टिलाई एउटा टेलिभिजन अन्तर्वार्तामा गत साल उनी भन्दै थिए, ‘नेपालजस्तो देश गरिब हुनै सक्दैन झन्ने मलाई लाग्थ्यो ।’ ९ वैशाख, २०७५ को कुनै एक कार्यक्रममा एक टुत्रो रोटी र एक धरो लुगा नहुनेका हातमा महँगा हातहतियार हुने गरेको सन्दर्भमा ओलीले भनेका थिए, ‘मैले पहिले पनि भन्ने गर्‍या छ, धेरैधेरै देशमा... फाटेको गन्जी किन लाउँछन् भनेर गन्जी डोनेसन दिने मान्छे छैन, बरु उसलाई बन्दुक डोनेसन दिने मान्छे छन् ।’ टीका भण्डारीको क्यासेट विमोचन समारोहमा नेपालको समृद्ध लोकगीतको वैशिष्ट्यलाई व्यक्त गर्न एउटै वाक्यमा उनको ‘उक्तिवैचित्र्य’ यसरी प्रस्तुत भयो, ‘एक मुठो घाँस काट्दा तिनोटा गीत रचना गरेर, संगीत भरेर र गाएर भ्याइदिन्छन् ।’


विद्वान्का सिर्जना दुरूह हुनुहुँदैन भन्दै समारोहमा उनले आफ्नो कथन कलाको जादु यसरी पस्के, ‘विद्वान् बिग्य्रो भने यस्तो (सिर्जना) हुन्छ— स्वस्तिश्रीगिरिराज– चक्रचूडामणिविविधविरुदावलीविराजमानमानोन्नत...ओंरामपट्ट...।’ विद्वान् सप्य्रो भने यस्तो (सिर्जना) हुन्छ, ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ...’ केपी कथनलाई ‘उखान’ भनेर उडाउन खोज्छन् कतिपय उनका आलोचकहरू । केपी प्रयोग भइसकेका, घिसिएका, खिइएका, शक्तिहीन र सेकेन्डहेन्ड उखान होइन— अर्गानिक उक्ति प्रयोग गर्छन् ।दोस्रो संविधानसभाको निर्वाचनपछि कांग्रेस नेतृत्वको संयुक्त सरकारमा उनका बारेमा उपप्रधानमन्त्री बन्ने हल्ला चलाइएपछि उनको भनाई थियो, ‘केपी ओलीले कुनै पनि कक्षा दोहोर्‍याएर पढ्न जान्दैन र पढ्दैन पनि ।’केपीको स्वभाव प्रायः पछाडि नफर्कने खालको छ भनिन्छ तर, लक्ष्यभेदन गर्नै परे लेनिनको दुई कदम अगाडि एक कदम पछाडि नीति अवलम्बन गर्न पनि पछि हट्दैनन् रे । पहिलो संविधानसभा चुनावमा आफू पुरानो निर्णयबाट पछि हट्ने सन्दर्भ उठेपछि उनले वक्रतापूर्ण रूपमा भने, ‘केपी ओलीको गाडीमा ब्याक गियर छैन ।’


एकातिर मुलुकमा नयाँ संविधानको उज्यालो जगमगाएको र अर्कातिर मुलुकमा नाकाबन्दीको अन्धकार पोखिएको विरोधाभासपूर्ण तत्कालीन अवस्थाको कलात्मक चित्रण गर्न एक समारोहमा उनले भूपी शेरचनको ‘मैनबत्तीको शिखा’ लाई सम्झिए, ‘एकातिर धप्पधप्प बलिरहेछ अनुहार/अर्कातिर तप्पतप्त ढलिरहेछ अश्रुधार ।’ केपीले भाषणमा कथ्यको सघनताका लागि प्रयोग गर्ने वक्रतामय, ध्वन्यात्मक, व्यञ्जनात्मक एवम् रेटोरिक कथन वा उक्तिको वैचित्र्यताभित्र अनौठो जादु छ । जनमनमा सहज सम्प्रेषित हुने उनको भाषणले दिमाग होइन, दिल छुन्छ । मस्तिष्क होइन, मुटु छुन्छ ।


आफ्नो एकवर्षे कार्यकालबारे २०७५ माघ ३ गते उनले एक घण्टा लामो भाषण गरे । त्यहा केपी भाषिक चमत्कारसहित प्रतिवादी बनिरहेका थिए, ‘...भाँडो खाली थियो, मैले आधा भरियो भनेँ, विरोधीहरू आधा खाली छ भनिरहेकै छन् ।’लोकविम्ब, ग्राम्यविम्ब मिथकलाई नयाँ सन्दर्भसँग जोडेर विनिर्माण गर्ने केपीले प्रयोग गरेका यस्ता विम्बमध्येकै सबैभन्दा रोचक कथनपद्धति पनि जोड्नु उपयुक्त हुनेछ । बिगतमा माओवादी नेतृत्वको सरकार कटुवाल–काण्डमा राजीनामा दिन बाध्य भएपछि तत्कालीन माओवादीका कटु आलोचक केपीले भनेका थिए, ‘हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो, फ्यास्स हावा खुस्कियो ।’


अधिनायकवादी आरोपको अस्त्र र निरंकुशताको आरोपका शस्त्रसँग भिडिरहेका ओली बेलाबेला दुई तिहाइका बीच एक्लो ‘फिल’ गर्छन् । एउटा विशाल सन्दर्भ समेट्ने गरी कुनै पनि डिस्कोर्सलाई एउटै वाक्यमा व्यक्त गर्ने उनको अद्भुत, चामत्कारिक, ऊक्ति वैचित्र्ययुत्त एवम् अप्रतिम कथनकला उच्च शिक्षामा साहित्यिक अध्ययनको शोध विषय बन्न सक्ने सम्भावना पनि त्यत्तिकै छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?