गल्लैलाउरे

दोस्रो महायुद्धताका गल्लावालहरू नेपाली गाउँघरमा पसेर युवालाई भर्ती गरेर लैजाने चलन थियो । गल्ला तथा गाउँले जवानको बिदाइ समयमा रातभर नाचगानका कार्यक्रम गर्ने चलन त्यसबेला थियो । प्रेम–वियोगको यो क्षणमा गल्लैलाउरे लोकगीत जन्मेको हो भन्ने विश्वास छ ।
तुलसी प्रवास

काठमाडौँ — गल्लैलाउरे’ नेपाली लोकगीतको बाह्रमासे गीतअन्तर्गत पर्ने एउटा महत्त्वपूर्ण प्रकार हो  । ‘गल्ला’ र ‘लाउरे’ शब्दको मेलबाट ‘गल्लालाउरे’ शब्द बनेको हो भने यही ‘गल्लालाउरे’ शब्द उच्चारण क्रममा अपभ्रंश हुँदै ‘गल्लैलाउरे’ हुन पुगेको गीत–गायनका विज्ञको दाबी छ  ।

गण्डकी प्रदेशको पर्वत जिल्ला र स्याङ्जा जिल्लाको पश्चिमी भूभागमा बसोबास गर्ने ब्राह्मण, क्षत्री, मगर तथा गुरुङ समुदायका महिला–पुरुषले अलिक ढिलो लयमा यो गीत गाउने गर्छन् । खेली गीतको एउटा प्रकार समेत हो— गल्लैलाहुरे । यो गीतलाई ठाउँअनुसार गल्लालाउरे, गल्लैलाउरे, गल्लैलागुरे, गल्लालागुरे आदि नामले सम्बोधन गर्ने गरिन्छ । यस्ता लोकगीतमा जानीनजानी लय, छन्द, विम्ब, अलङ्कारका काव्यात्मक गुण भित्रिएका हुन्छन् । संरचनागत कुरा गर्दा गल्लैलाउरे पंक्तिको अक्षर–संरचना प्रायः ६–७ को रहेको पाइन्छ । तर पनि गाउने क्रममा कहिलेकाहीँ अक्षरसंख्या तलमाथि हुन सक्छ । गल्लैलाउरे मूलतः भाकाप्रधान हुने भएकाले भाका मिल्यो भने अनुप्रास पनि यस्ता गीतमा अत्यावश्यक मानिँदैन । अक्षरको एकरूपता पनि यसमा बाध्य छैन । अधिकांश गल्लैलाउरे गीतको संरचना यस्तो हुन सक्छ :
जस्तै: आउँ दै र नु हो ला
लाउँ दै रहुँ ला पि र ति

यसरी हेर्दा गल्लैलाउरे गीतमा पहिलो पंक्तिमा छ अक्षर र दोस्रोमा सातको संरचना रहेको भेटिन्छ । गीत गाउँदा प्रत्येक अक्षरलाई ढिलो लयमा एक–एक गरी उच्चारण गरिन्छ । यो मानव हृदयको स्वस्फूर्त अभिव्यक्ति हो । गाउँदै जाँदा मानिसलाई जसरी सहज हुन्छ, त्यसरी नै यसलाई गाउने गरिन्छ । गल्लैलाउरेको लयमा पनि एकरूपता छैन । ठाउँअनुसार फरक तरिका र लयमा यो गीत गाइन्छ । हरेक लोकगीतमा कुनै न कुनै कथ्य विषय हुन्छ नै । गल्लैलाउरेमा पनि कथ्य विषय समेटिएको हुन्छ । विशेषतः प्रेम र वियोगका विषयवस्तु यसमा भेटिन्छ । विभिन्न धार्मिक उत्सवमा सुरुमा आरती, भजन प्रस्तुत गरिन्छ, त्यसपछि खेली–दोहोरी गाइन्छ । र, रात छिप्पिँदै गएपछि केही सीमित महिला–पुरुष बसेर गल्लैलाउरे गाइन्छ । शृंगार र करुण रसको प्रधानता गल्लैलाउरे गीतमा पाउन सकिन्छ । नेपाली ग्रामीण समाजका नारीले भोग्नुपरेको बाध्यात्मक परिस्थितिको विषय यस्ता गीतमा समेटिएका हुन्छन् ।
गल्लैलाउरे गीत एकप्रकारको भाषिक अभिव्यक्ति हो, यसमा लयात्मक भाषा हुन्छ । स्थानीयता झल्किएको यो गीत ग्रामीण अपठितले बढी गाउने हुनाले यसमा स्थानीय भाषिकाअनुसार शब्दोच्चारण भेटिन्छ । मौखिक अभिव्यक्ति भएकोले अनौपचारिक भाषा यसमा प्रयोग हुन्छ । गीतमा प्रयोग हुने शब्दहरू स्थानीय भाषिका, आगन्तुक र झर्रा नेपाली रहेका हुन्छन् । यस्तै भाषाले गर्दा यी गीतलाई प्राकृतिक एवम् जीवन्त तुल्याएका हुन्छन् ।

शैली भन्नाले गायन वा कथनको तरिका हो । यसको शैली सरल हुन्छ । यस्ता गीत अन्तरामुक्त शैलीमा गाइन्छ । सरलता, सहजता र कोमलता गल्लैलाउरे गीतका शैलीगत विशेषता हुन् । एकल वा सामूहिक दुवै रूपमा गाउन सकिने यी गीतमा प्रशस्तै विम्ब–प्रतीक हुन्छ । ‘आ...हा...’, ‘ए बाउ...’, ‘ए दाइ...’ आदि थेगोबाट गीत उठेको हुन्छ । यस्ता थेगोले गल्लैलाउरे गीतमा मीठास थपिदिएका हुन्छन् । थेगोलाई अत्यावश्यक मानिदैन । र, लौ, खै, त, नि जस्ता निपात गल्लैलाउरे गीतमा प्रशस्तै प्रयोग गरिन्छ । यस्ता गीतमा आलङ्कारिक, वर्णनात्मक, विवरणात्मक, संवादात्मक, वादविवादात्मक, मनोवादात्मक शैलीमध्ये कुनै एक वा अनेक शैली अपनाइएको हुन्छ ।

लोकगीतमा पटकपटक दोहोरिने पंक्ति वा पंक्ति समुह स्थायी हो । स्थायीलाई लोकसमाजले रिटक वा रहनी पनि भन्ने गर्छ । यही रिटक वा रहनीलाई गीतको बोल, गीतको बथन वा गीतको टुवा पनि भनिन्छ । गल्लैलाउरे गीतमा स्थायी दुई वा तीन पटक दोहोरिन्छ । एउटै स्थायीलाई २ देखि ३–४ पटकसम्म पनि दोहोर्‍याइन्छ । लोकगीत सन्दर्भमा लय र भाका भनेको एउटैजस्तो बुझिए पनि लय भनेको लोकछन्द हो भने भाका भनेको स्वरको आरोहअवरोह हो । गल्लैलाउरेको लयमा एकरूपता छैन । ठाउँअनुसार, फरक तरिकाले फरक लयमा गल्लैलाउरे गीत गाइन्छ । जस्तै ः
ए दाइ...
भे टै न हु न लाई

Citizen


हरेक लोकगीतका आफ्ना निजी सन्दर्भ हुन्छन् । गीतका अन्य तत्त्वले पुष्ट भए पनि सन्दर्भले पुष्ट नभएको गेय अभिव्यक्ति अपेक्षित लोकगीत हुन सक्दैन । हरेक लोकगीतको आफ्नो एउटा इतिहास हुन्छ । इतिहासको कुनै घटनासँग लोकगीतको कतै न कतै सम्बन्ध जोडिएको पनि हुन सक्छ, त्यसलाई पनि ऐतिहासिक सन्दर्भ मान्न सकिन्छ । गल्लैलाउरे गीत पनि विश्वइतिहासको त्यस मार्मिक घटनासँग सम्बन्धित छ जसले सारा विश्वलाई प्रभावित पारेको थियो । यस गीतलाई ‘गल्लैलाउरे’ भनेर नामकरण भने दोस्रो विश्वयुद्धको समयदेखि भएको अनुमान गर्न सकिन्छ ।
दोस्रो महायुद्धको समयमा गल्लाहरू नेपालका गाउँगाउँमा आएर नेपाली युवालाई भर्ती गरेर लैजाने चलन थियो । त्यतिबेला उनीहरूको चालचलन तथा व्यवहारबाट नेपाली युवतीहरू छिट्टै प्रभावित हुन्थे भने अर्कोतर्फ आ–आफ्ना दाजुभाइलाई भर्तीमा लैजाने लोभले पनि उनीहरू गल्लावालसँग नजिकिन चाहन्थे । त्यसरी अन्जानमै ती गल्लालाई प्रेम गर्न पुग्छन् । गल्ला तथा गाउँले जवानको बिदाइ समयमा रातभर नाचगानका कार्यक्रम गर्ने चलन त्यसबेला थियो । प्रेम–वियोगको यो क्षणमा गल्लैलाउरे लोकगीत जन्मेको हो भन्ने विश्वास छ ।

नेपाली लोकजीवन गरिबी र अनेक समस्याबाट गुज्रिरहेको छ। सधैँभरि अर्काको घरमा निमेक गरेर जीवन चलाउनेहरू ग्रामीण क्षेत्रमा अहिले पनि छन्। यस गीतको नामकरण नै अर्काको मुलुकमा लाउरे हुन जाने र लाउरे बनाउन गाउँपसेका गल्लावालसँग सम्बन्धित भएकाले बिरानो मुलुकमा नोकरी गर्न जाँदाको पीडा यसको मुख्य विषयवस्तु बनेर आएको हुन्छ । गीत गाउँदा–गाउँदै रुने, आँसु झार्नेजस्ता क्रियाकलाप पनि उनीहरूमा स्वतः देखापर्छ । त्यसैगरी अर्काको घरमा गोठालो बस्ने, साहुको काम गर्नेजस्ता कुरा गल्लैलाउरे लोकगीतमा व्यक्त भएका हुन्छन्। यो गीत अत्यन्तै विरहलाग्दोसमेत हुने भएकाले गायकगायिका गीत गाउँदा–गाउँदै रुने र अन्य दर्शक/श्रोतालाई समेत रुवाउने गर्छन् ।
ए दाइ.....
भे टै न हु न लाई
ला ग्यो पा पी ब रि खा ।।

नेपाली ग्रामीण जनजीवन कृषिमा आश्रित छ । मेलापात, घाँस, दाउरा आदि उनीहरूका दिनचर्या हुन् । वर्षायामलाई मानो खाएर मुरी उब्जाउने समयको रूपमा किसानहरूले लिएका हुन्छन् । यस्तो समय मायाप्रेम गरेर बस्ने समय होइन । काममा दिनरात व्यस्त रहँदा अब भेटघाट हुँदैन भन्ने चिन्ता माथिको गीतमा अभिव्यक्त भएको छ । वर्षायाममा भेटघाट हुन गाह्रो हुने अवस्थाको चित्र पनि यो गीतमा पाइन्छ ।
ए बाउ....
वन् को न्याउ ली प नि
सो झो छै न म सि त ।।


न्याउली चरीलाई विरह प्रतीकको रूपमा लिने नेपाली लोकविश्वास छ । न्याउली कराउँदा प्रेममा वियोग खेपेका कतिपय मानिसहरू शोकमा डुब्ने गर्छन् । अन्य सामाजिक चालचलन, ऐँचोपैँचो आदिजस्ता सामाजिक व्यवहारले गल्लैलाउरे गीतलाई बढी भावनात्मक र जीवन्त तुल्याएका हुन्छन् ।
गल्लैलाउरे लोकगीतमा पर्वत, स्याङ्जातिर बोलिने स्थानीय भाषिकाको प्रयोग पाइन्छ। गाउँघरमा बोलिने बोलचालको भाषाले गीतलाई प्राकृतिक र जीवन्त तुल्याएको हुन्छ। जस्तै ः
बोल न मयालो
तिम्रै बोली सुन्नर ।।
डाइको गलबन्डीमा
झुन्निएर मोरुँला ।।
हात काटेर रउतै
मन फाटेर बिरउतै ।।

गल्लैलाउरे गीतमा नायकनायिकाको मिलनको आशालाई जगाउने प्रवृक्ति विद्यमान हुन्छ । यस्ता गीतमा नायक–नायिकाका बीच वैयत्तिक, सामाजिक, आर्थिक वा अन्य कुनै बाधा बन्देजका कारण प्रेम सम्बन्ध कायम हुन नसकेको झल्को मिल्छ । यसमा विप्रलम्भ शृंगारको भाव अभिव्यक्त भएको पाउन सकिन्छ । विप्रलम्भ शृङ्गारमा रति (प्रेम) भने पूरा छ तर आफ्नो प्रिय वा प्रियाको लाभ भने भएको हुँदैन । यो पूर्वराग, मान, प्रवास र करुण गरी चार प्रकारको हुन्छ । यसमा रति स्थायीभाव रहेको हुन्छ । आलम्बन विभावको रूपमा नायक–नायिका, उद्दीपन विभावको रूपमा पूर्वस्मृति, स्मृति चिह्न, प्रकृति, एकान्त स्थल आदि रहेको हुन्छ । त्यसका साथै अनुभावको रूपमा छट्पटाउनु, पिरोलिनु, आँसु झार्नु, टोलाउनु, विह्वल हुनु आदि रहेका हुन्छन् भने व्यभिचारीभावका रूपमा धैर्य, स्मृति, विषाद, ग्लानि, चिन्ता, वितर्क, चपलता आदि आएका हुन्छन् । गल्लैलाउरे गीतमा घटीत विप्रलम्भ शृंगार रसलाई यसप्रकार उल्लेख गरिएको छ ः
ए दाइ...मरेँ असेटैले
मरिँदैन भन्थ्यौ नि ।।

यो गल्लैलाउरे गीतमा नायक (दाइ) ले नायिकालाई छोडेर कतै टाढा वा विदेश गएको प्रसङ्गको वर्णन भएको छ । प्रेमिकाले गीत गाउने सिलसिलामा आफ्नो प्रेमीलाई दाइ भनेर सम्बोधन गरे पनि उनीहरू दाजुबहिनीचाहिँ होइनन् । गल्लैलाउरे गीत गाउँदा गायिकाले ‘ए दाइ...’ र गायकले ‘बैनी हो...’ भन्ने थेगो प्रयोग गर्ने गर्छन् ।
सम्झी...रुन्छु दसै धारा
अचेल काँ छौ पियारा ।

यो गीतमा नायक (प्रेमी) लाई सम्झेर नायिका (प्रेमिका) दसै धारा रोएको प्रसङ्ग छ । कुनै बाध्यताले नायक र नायिकाको विछोड भएको छ । नायक सम्झनाले गर्दा नायिका विह्वल बनेकी छन् ।
गल्लैलाउरे लोकगीत नेपाली लोकगीतको अत्यन्तै महत्त्वपूर्ण उपविधा हो । पर्वतको पैयुँखोला क्षेत्र र स्याङ्जाको पश्चिमी भेगमा यस्ता गीत गाउने प्रचलन रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने विशेषगरी बाह्मण, क्षत्री र मगर जातिका मानिसले यो गीत गाउने गर्छन् । यस गीतलाई गल्लालाउरे, गल्लैलागुरे आदि नामले समेत सम्बोधन गरिएको पाइन्छ । शब्द र अर्थको चातुर्यपूर्ण प्रस्तुतिले यी गीत नेपाली समाजका सदावहार गीत बनेर गुन्जिरहेका छन् । लाहुरे संस्कृतिले जन्माएको एउटा पीडादायी लोकगीत गल्लैलाउरे हो ।

प्रकाशित : फाल्गुन २५, २०७५ १२:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विराटनगर रेल

चन्द्रशेखर कार्की

काठमाडौँ — हाम्रा नेतागणले हामी जनतालाई रेल चढाउने भन्दै सपना बाँड्न थालेको धेरै भइसकेको छ  । जनताले रेल चढ्न नपाए पनि कार्गो बोकेर आउने रेल अबको केही महिनामा विराटनगरको लाबाघाटसम्म पुग्छ कि भन्ने आशा पलाएको छ  ।

माघ अन्तिम साता रेल स्टेसन बनाइरहेको विराटनगर १८, भेडियारी पुग्दा निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको देख्न सकिन्थ्यो । तर, कार्गो रेल कहिलेदेखि यो लिकमा कुद्न थाल्छ भन्नेचाहिं यकिन थिएन। ढिलै भए पनि मालबाहक नै भए पनि नेपाली भूमिमा रेल कुद्न सुरु होला कि भन्ने छनक देखिन्थ्यो ।


भारतको बथनाहादेखि विराटनगरको लावाघाटसम्म रेलमार्ग निर्माण गरी परीक्षणसमेत भइसकेको छ । बथनाहादेखि विराटनगर–रंगेली सडकसम्म गत वर्ष नै निर्माण सम्पन्न गरिसक्नुपर्ने आयोजना मुआब्जा र अन्य कारणले गर्दा अल्झिएर बसेको छ ।


भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा रेलमार्ग निर्माण सुरु गरेको भए पनि अहिले लागत बढेर ५ अर्ब ९६ करोड ८० लाख पुगेको छ र, यो रकममा अझै १०/१५ प्रतिशत बढ्ने सम्भावना छ ।


भारतको बुधनगरदेखि कटहरीसम्मको १८ दशमलव ६ किलोमिटरमा रेलमार्गमध्ये ५ किलोमिटर भारतमा पर्छ भने नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव ६ किलोमिटर भूभाग पर्छ । गीतमा र भाषणहरूमा पूर्व–पश्चिम रेलको खुबै गफ भए पनि अब व्यवहारमैं केही महिनापछि नेपालीले रेल देख्न पाउने भएका छन्— विराटनगर रेलको चिनारीमा ।



यहाँ लेख्नुहोस्...



प्रकाशित : फाल्गुन २५, २०७५ १२:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT