विवशको सुन्दरीचोक

कान्तिपुर संवाददाता

काठमाडौँ — मौलिक ३० वटा निबन्ध समेटिएको ‘सुन्दरीचोक’ मा नेपाली प्रकृति, संस्कृति र जीवनशैली झल्कने खुराक छ  । कवि एवं नियात्राकार ज्ञानेन्द्र विवशले सधैंझैं लेखनमा आफ्नोपना भरेका छन्  ।

सुन्दरी चोक निबन्ध स्वयं उपत्यकाको सौन्दर्यमय कलाकौशल चिनाउने आँखीझ्याल बनेको छ । स्थानीय विषयहरू जस्तै ः आँखीझ्याल, टुँडीखेल, मजिपाः लाखे, श्वेत क्यानभास, ढुंगेधारा आदि मार्फत उनले नेपाली ललितकला र विशेषतालाई चिनाएका छन् । बराहपोखरी प्रकाशनले प्रकाशित गरेको झन्डै २०० पृष्ठको निबन्ध कृतिमा उनले केही साहित्यिक विषय पनि समेटेका छन् ।

Citizen

प्रकाशित : फाल्गुन २५, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

किशोरी आत्मालाप

राजकुमार बानियाँ

काठमाडौँ — साहसिक र रोचक छ, एनको गुप्तवास  । डायरीका पानापानामा उनको समय, परिवेश र निजी अन्तरंग लिपिबद्ध छन्  ।

तैपनि संसारभरिकै सारा किशोरकिशोरीले आफैँसँग साक्षात्कार गर्न सक्छन् ।

बाइबल’ पछि ‘बेस्ट सेलर’ क्लासिक गैरआख्यानको सूचीमा छ, ‘डायरी अफ अ योङ गर्ल’ । दोस्रो विश्वयुद्धकालीनयहुदी किशोरी एन फ्य्राङ्कको त्यो अमर डायरीका ६० भाषामा विविध संस्करण आइसकेका छन् । प्रतिलिपि अधिकारको दाबी नलाग्ने गरी नेपाली भाषामा आएकामध्ये एउटा चित्तबुझ्दो अनुवाद हो, ‘एक किशोरीको डायरी’ । कठोर निर्वासनमा रहेकी एक किशोरीका आँखाबाट प्रेम र जीवन अनि युद्ध त्रासदीको जीवन्त पोर्ट्रेट गरिएको छ किताबमा ।


डायरीको पहिलो पानामै एन यसरी पोखिएकी छन्, ‘प्रिय डायरी ! मैले आजसम्म कसैलाई भरोसा गर्न सकेकी छैन । आशा छ– तिमीलाई विश्वास गरेर म आफ्ना सारा रहस्य बताउन सक्छु । तिमी मेरो ठूलो सहारा हुनेछौ । सदा तिम्रो साथको कामना गर्छु ।’ अर्को दिनको डायरीमा उनको धुकचुक पनि समेटिएको छ, ‘१३ वर्षे स्कुले केटीको भावना र रहस्यप्रति कसले चासो राख्ला र ?’ एनलाई डायरी भएपछि केही पनि चाहिँदैन । उनलाई थाहा छ, आफ्ना भावना चिच्चाएर कहनुभन्दा कानेखुसी गर्नु सजिलो हुन्छ, आफूलाई कागजमा अभिव्यक्त गर्नु झन् सजिलो ।


एन फ्य्राङ्कको डायरी पढ्नुअघि अलिकति उनको जीवनको आँखीझ्यालबाट चिहाउनु उचित हुन्छ । सन् १९२९ जुन १२ मा यहुदी परिवारमा जन्मेकी थिइन् एन फ्य्राङ्क । दोस्रो विश्वयुद्धताका हिटलर र उसका नाजी सिपाही जर्मनी कब्जापछि होलोकास्ट (दमन) मा उत्रन्छन् । सन् १९४२ जुलाई ५ मा एनकी दिदी मार्गोलाई जर्मनीको श्रम शिविरमा जान नाजी सिपाहीको उर्दी आउँछ । अनि सुरु हुन्छ, एनको परिवारको दुईवर्षे भूमिगत जीवन । नेदरल्यान्डस्को राजधानी आम्सटर्डमको हेट अक्टरउइस (गुप्त भवन) मा बिताउन बाध्य हुन्छ ।


एनका चार जनासहित आठ जना कोचिएर बस्छन्, साँघुरो ठाउँमा । उनीहरूमा जतिबेला पनि समातिने र मारिने भय, खानेकुराको संकट, बाहिरी संसारसँग सम्पर्कविहीन भएर बस्नुपर्दाको अवस्था आफैँमा भयावह छ । डायरीमा एनले पटकपटक आफ्ना बाबुआमा, दिदी मार्गो र आफूसहित भान डान परिवारका अगस्टे, हरमान, पिटर र दन्तचिकित्सक अल्बर्ट डुसेलको चर्चा गरेकी छन् । युद्धकालीन अटेसमटेस र निषेधका बीचमा सन् १९४२ जुन १२ मा एनले लेख्न सुरु गरेको डायरी सन् १९४४ अगस्ट १ मा गएर अन्त्य भएको छ । जर्मन गुप्तचर प्रहरी गेस्टापोले गुप्तभवन पत्ता लगाएपछि एनको परिवारले सन् १९४४ अगस्ट ४ मा पक्राउ खाइहाल्यो । आम्सटर्डमका जेल, उत्तरी हल्यान्डको वेस्टरबोक श्रम शिविर हुँदै पोल्यान्डको अस्विच बन्दी शिविरमा पठाइँदा परिवारका महिला र पुरुषलाई अलग पारियो । त्यसपछि त्यो यहुदी परिवारको कहिल्यै पुनर्मिलन भएन ।


धन्य हो, फ्य्राङ्क परिवारका मूली ओटो मात्र यातना शिविरबाट जीवितै फर्किए । सोभियत फौजले मुक्त गराएपछि उनी आम्सटर्डम आइपुग्दा भेटे, प्यारी पुत्रीको डायरी । गुप्त भवनमा छुटेको एनको त्यो डायरीमा कसो गेस्टापोको आँखा गएको रहेनछ । नातेदार र साथीभाइमाझ सुनाउँदै अन्ततः त्यो डायरी सन् १९४७ मा डच भाषामा प्रकाशित भयो । त्यही किशोरीको डायरी बीसौं शताब्दीकै अमर रचनाका रूपमा प्रख्यात छ । साइरन, बम, गोली र बारुदका बीच उनले मानवता, शान्ति र स्वतन्त्रताको कामना गर्न छाडेकी छैनन् । साहसिक र रोचक छ, एनको गुप्तवास । डायरीका पानापानामा उनको समय, परिवेश र निजी अन्तरंग लिपिबद्ध छन् । तैपनि संसारभरिकै सारा किशोरकिशोरीले आफैँसँग साक्षात्कार गर्न सक्छन् । उनी प्रायः उदास हुन्छिन् तर निराश कहिल्यै हुन्नन् । जस्तै कठिनतम अवस्थामा पनि आशाको दियो निभ्न दिन्नन् ।


एनको परिभाषामा प्रेमका अर्थ हो, कसैलाई बुझ्नु, ख्याल राख्नु, दुःखसुख बाँड्नु । शारीरिक प्रेम पनि त्यसकै एक हिस्सा हो । डायरीमा एनले यौन सम्बन्ध, रजस्वला, गर्भाधान, परिवार नियोजनबारे आफ्नै बुतामा जान्नुपरेको गुनासो अभिभावकसँग गरेकी छन् । उनी
लेख्छिन्, ‘किट्टी, एन पागल केटी हो, म पागल समयमा र पागलपनयुक्त परिस्थितिमा बाँचिरहेकी छु । आफ्ना विचार र भावना लेख्नु छ । अन्यथा निस्सासिने थिएँ ।’


हो, एनका उमेरमा मान्छे उन्मुक्त हुन चाहन्छन् । उनीहरूका पनि स्वतन्त्र मत, विचार र सिद्धान्त छन् । सही र गलतको परख पनि छ । अभिभावकसँग उनको वैचारिक द्वन्द्व त छ नै, कहिलेकाहीँ आफैँसँग पनि मनोवैज्ञानिक द्वन्द्व हुन्छ । आफैँलाई विरोधाभासकी पुलिन्दा भन्न पनि पछि पर्दिनन् । साँच्चै भन्ने हो भनेयी किशोरीमा प्रौढता पनि प्रशस्त झल्कन्छ । आफ्ना कमजोरीमा ‘कन्फेसन’ पनि छ ।वास्तवमा यो डायरी एन फ्र्याङ्कको आत्मालाप हो । लन्डनको एक रेडियो कार्यक्रममा युद्ध समाप्तिपछि युद्धकालीन अभिलेख संकलन गरिने सुनेर उनलाई डायरी लेख्ने हुटहुटी जागेको थियो । एनको अनुभव र अनुभूति सिंगो समयको तस्बिर बोल्छ । डायरी पढ्दा उनको कलममा रहेको अद्भुत मसी अनुभूत हुन्छ । कतिपय स्कुलले कक्षा ८ र ९ को पाठ्यक्रममै राखेको यो किताबमा किशोरकिशोरीले एन फ्य्राङ्कको दृढनिश्चयी सपनासँग भलिभाँती परिचित मात्र हुनेछैनन्, नियमित डायरी लेखेर भाषिक र सामाजिक विकाससमेत गर्न सक्नेछन् ।यस्ता किताबको अनुवाद आफैँमा सुकर्म हो । अनुवादक र प्रकाशकहरूले यसमा प्रवाह थप्न अबेला भइसक्यो । ‘एन फ्य्राङ्कको डायरी’ को भाषा हिउँदको नदीजस्तो सुकिलो भएर बगेको छ । यो किताब पढेर युवकयुवती र प्रौढले भूतपूर्व किशोरावस्थालाई ‘रिकल’ गर्न सक्नेछन् ।
–राजकुमार बानियाँ

प्रकाशित : फाल्गुन २५, २०७५ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्