पानी अझै चल्दैन...

थुप्रै पात्रहरू जो टाँसिए हाम्रा जीवनमा, जसलाई दलित भनिए पनि उनीहरू हाम्रो समाज सन्तुलित बनाउने अंग थिए ।
साम्पाङ सञ्जु

काठमाडौँ — चारचक्केको पर्खाइमा थिएँ म कार्जेलयबाहिर  । विशेष लोकल बस, नत्र म्याजिक (सानो हात्ती)  । जे आउँछ घुस्रिन्छु, अटेसमटेस हुँदै । तीन–चार किमिको यात्रामा पनि विभिन्न कल्पना, विचार अनि सम्झनाहरूले छुत्ती खेल्छन् दिमागमा । कुनै बेला नयाँ कुराहरू सुन्न पाइन्छ यात्रुहरूबाट । कहिलेकाहीं नयाँ गीत वज्छ गाडीमा ।

प्रायः भक्कु भीडमा ठेलमठेल गर्दै बसिन्छ । आहा ! कुनै दिन त डल्लै गाडी रिजर्व गरेजस्तो उपरखुट्टी लगाएर एक्लै ‘दादा’ भइन्छ । त्यो दिन पनि यस्तै सोच्दासोच्दै कति छिटो आइसकेछ गन्तव्य । ल, मैले रु. १० को कुदाउनुपर्ने जति गाडी कुदाइसकेछु ।


निश्चय नै त्यो साँझ थियो । दिउसोको आयु लगभग सकिएको अनि बेलुकीको बैंस छिपिँदै गरेको अवस्थालाई जनाउने केही हुन्छ भने त्यो पश्चिम आकाश नै हो । आकाशमा घामका सुन्तले धर्साहरूले मायालाग्दो दृश्य बनाइरहेथ्यो । मायालाग्दो यस अर्थमा कि त्यो दिनप्रतिको मायाले हो कि खै सन्ध्याले निल्दै गरेको पल नीरस लाग्थ्यो मलाई । तर, हुन्छ रोमाञ्चक पनि । पुलमा सेल्फी लिइरहेका हुन्थे केही जोडीहरू । केही किशोरकिशोरीको समूह दुब्ली चट्पटेवाली आन्टीकोमा फोन खेलाउँदै पालो पर्खिरहेका । फुच्चेहरू खोलाको छेउकै स्यानो चौरमा फुटसल खेल्दै हुन्थे । उता भर्खरै ओपनिङ भएको होटलमा ‘कस्टमर’ हरूले मोमो, आलु चपहरू चपाउँदै गरेको दृश्य पनि बडो गज्जब लाग्ने । ओहो ! अनि त एकै छिनमा ख्याप्पै खाइहाल्थ्यो रातले त्यो झलमलाउँदो दिनलाई...! यता गाडीबाट ओर्लिनासाथ देखिहालेँ मेरा मान्छेलाई, जो भट्भटे लिएर रेडी पोजिसनमा थिए । म पनि ठ्याक्क बसिहालेँ पछिल्लो सिटमा । जसै हामी एउटा स्कुललाई देब्रे पारेर अघि बढ्दै थियौँ । ‘अँ सुन न, त्याँ मास्तिर खसी काटेको रैछ कि’,उसले सुनायो । ‘ला किन हौ फेरि ?’ बेला न कुबेला खसी काट्नु भनेको कि घरमा पालेको पशु चौपाया बिरामी भएर कि त घरमा आर्थिक समस्याले गाह्रो बनाएर हुन सक्छ भन्ने मेरो मनोविज्ञान । त्यसैले उसको कुरा नसक्दै प्रश्न गरिहालेछु ।

Citizen


‘हत्तेरी सुन न पैला चैं, जेसुकै भएर काटेको होस् नि । त्याँ धनमाया बडी र आमा जानुभा’को रैछ, अन्त खसी काट्ने घरकाले त छिःछिः र दुर्दुर गर्‍यो अरे । बडीलाई साह्रै नराम्रो लागेछ ।’ एउटा अत्यास, एउटा नमज्जा... तत्कालै अनुभव भयो मलाई । धनमाया बडी अर्थात् धनमाया विश्वकर्मा, हाम्री आमा (सासू) की एकदमै मिल्ने साथी र छिमेकी । म घर पुग्दा उनी अपमान र तिरस्कारले अत्यन्तै दुःखी थिइन् अनि, रिसले आँखा रातो पार्दै मनको गुनासो अरूसँग पोख्दै रहिछन् । ‘त्यो मरी भने त म शव पनि हेर्न जान्नँ, कस्तो हेप्नसम्म हेपेको हौ ?’ यता आफूलाई सबै कुरा सुन्ने हुट्हुटी भो मनमा, सोधेँ, ‘के भयो बडी ? के भने तिनीहरूले ?’ थकित आवाजमा उनले विस्तार सुनाइन्, ‘अम्बौ कस्तो घिन गरेकी नि बाबु, हामी त ओर पो उभिइरा’को थिउँ त हौ, एसो देख्नेबित्तिकै लुलुलु छिटो काटिसक, छिटो भागबन्डा गरिहाल, याँ छैछुत हुन्छ फेरि भन्छे है लु ।’ पोखिइन् फेरि ‘न त्याँ छेउमा जानु, न गएर छुनु, छक्कै परेँ नानी म त... !’ कताकता आत्मा चर्केको चरक्क आवाज सुनेँ आफैंभित्र । ज्यान भारी भएर दिमागलाई पनि शिथिल गरायो । रातिको खानपिन पूरै बेस्वादिलो । जब घुस्रिएँ ओछ्यानमा, लौ जिन्दगीकै पहिलो अनुभव, मरिकाटे निदाउन सकिनँ म । छेउमै घुरिरहेथ्यो ऊ, छट्पटाइरहेँ म तर भन्न सकिनँ, ‘किन सुनायौ मलाई यो घटना ?’

निद्रा त आँखाले स्वीकार नै गरेन, मनमा लगातार नमीठो अनुभूतिले पोलिरह्यो । सोचेँ, हैन त्यसरी हैट्–हैट् गर्दै परपर खेदाउने काम त जनावरलाई जस्तै कुकुर–बिरालोलाई पो गर्छन् त । मान्छेले मान्छेलाई त्यस्तो गर्दा के बित्यो होला खेदाइमाग्नेको आत्मामा, उसको मगजमा, उसको आत्मसम्मानमा अनि भावनामा ? ओहो ! अनि त रातभरि म ओल्टेकोल्टे हुँदै मन निचोरिएर आँखासम्म आइपुग्ने तरल पीडाहरूलाई तह लाउनमै तल्लीन भएँ । बिल्कुल म बसेँ उनै धनमाया बडीको ठाउँमा, उनको त्यो दिनको तिरस्कृत भोगाइमा, मुटु कोपरिने आलो घाउमा, खाटा बसेका पुराना दुखाइहरूमा... ! कस्सम, त्यतिको दुःख र चित्त फाट्ने गरीको अनुभूति जिन्दगीमा कहिले पनि भएको थिएन । म त्यो ‘एक दिन’ कसैलाई परेको चोटले त्यति विक्षिप्त थिएँ भने, जिन्दगीभर यस्ता दुर्व्यवहार र दुर्वचन खपेर बस्ने कथित ‘दलित’ लाई कस्तो हुँदो हो ?

साउन बिदौरी हुँदै गरेको दिन । एउटी दर्जिनीले अर्की राइनीलाई तीन दिनसम्म दिनरात नभनी प्रसव व्यथामा साथ दिइन् । उनै ‘सुँडेनी’ ले पछि नानीको नाम राखिदिइन्, शनिबार जन्मेको भएर ‘सञ्जु’ । छिमेकी गाउँ तिरिंग जाने घुमाउरो बाटोछेउमा थियो उनीहरूको घर । खुट्टा भाँच्चिएर अलि खोच्याउँदै हिँड्ने भएकाले गाउँलेहरूले ‘लंगडे दमाई’ भनेर नाम राखिदिए दर्जी बडालाई । लुगा पुरानो भएर च्यात्तिएर जान्थ्यो तर उनले सिलाएको सिउनी खुस्किन्थेन भन्छन् अहिले पनि हाम्रा गाउँलेहरू । उनका छोराछोरी पनि हाम्रा फुपू अनि दाजुदिदीका साथी थिए । मलाई अझै मधुरो सम्झना छ, दर्जी बडाको कान्छी छोरी देउकी दिदी र हाम्री चन्द्री दिदी दिनैभरि बलवान छाप खैनीको बट्टामा भात पकाउँदै खेलिरहन्थे अम्बकको बोटमुनि । पारिपट्टिको जुँगे कान्छा म्हेमेको खाली खेतमा गाईबस्तु चराउँथे, हाम्रा दाजुदिदी अनि उनीहरू मिलेर । बर्खामासमा हात्ती आएर वितन्डा मचाउँदा हाम्रै गाउँमा आउँथे उनीहरू । खै, मैले त मेरो संस्कारमै पाइनँ दलितलाई छिःछिः, दुर्दुर गर्नुपर्छ भन्ने कुरा । स्यानो खोल्सा कटेपछि अलि पर्तिर तामाङ, मगर, किसान अनि गहतराजहरूको बस्ती । त्यो हो हाम्रो छिमेकी गाउँ । मेलापात, अर्मपर्म, जन्ममृत्यु, बिहेबटुलो सबैमा समान उपस्थिति हुन्थ्यो र, हुन्छ । मैले जानेर वा नजानेर, चेतन अचेतन कुनै पनि दिमागले आजसम्म दलितप्रति जातीय हिंसा गरेको छुइनँ भनेर छातीमा हात राखेरै भन्न सक्छु म । अहिले पनि गाउँमा मलाई उनीहरूले नामले पनि बोलाउँदैनन्, सबैले छोरी नै भन्छन् । म पनि साइनोअनुसार काका–बडा भनेर नमस्ते गर्छु, आदर–अभिवादन गर्छु ।


सम्मान गरियो भने सम्मान पाइन्छ नै । ती दिनहरू सम्झेँ मैले, जहाँ तिरिंगबाट बिहानै आइपुग्थे दर्नाल बाबै र सुनाइरहन्थे दिनभर ‘सिलोक’ । हाम्री बोजु थिइन् मोटी ज्यानकी । सिकुवाको खाटमा पल्टिरहन्थिन् दिनैभरि । अनि उनी एक शान्त श्रोता हुन्थिन्, दर्नाल बाबैको श्लोकको । उनै बाबैका कान्छी श्रीमतीपट्टिका ससुरा आउँथे कहिलेकाहीँ ‘गजमेर बाबै’ । उनी झन् रौसे, हँसीमजाक ठट्टा गरिरहनुपर्ने मिजासका । हाम्रो घरमा गफ गरेरै दिन बिताइदिन्थे उनी । खै कहिले पनि हाम्रो परिवारले उनीहरूलाई हेलाहोचो, थिचोमिचो, अन्याय गरेको घटना थाहा भएन र अझैसम्म भएको पनि छैन ।अर्को फरक सम्झना भनेको, तल्लो देवीगन्जाका मुर्दुङ बाजे र माथ्लोकी कान्छी दमिनी आमैले चाहिँ चियापानी खाएको गिलास घरकालाई पानी मागेर पखालेर बाहिर राखिदिन्थे । अझै बाल्यकालको रमाइलो याद त तिहारको हो है ! लुहागुन माइला बडा र उनका फुच्चे छोरा देउसी खेल्न आइपुग्थे । उनी खुबै मजाले भट्याउने भएकाले हामी केटाकेटी झुरुप्पै भेला भएर सुन्दा जुन आनन्द थियो, त्यो अचेल खै कहाँ ?


हैन, दलितहरूसँग उठबस नै गर्न नहुने भन्ने चैं खै कहाँ कसले लेखेको होला नि ? अनि गुरुपूर्णेको त्यो माहोल नि झन्, जहाँ दर्नाल्नी आमै चिन्ता बसेको हेर्नलाई मात्र पनि जम्मा हुने घुइँचोले उनको घर झन्डै–झन्डै भत्काइदिन्थ्यो । देवीगन्जाबाट आउने धमला बाबै नै हुन्, हाम्रो घरको छपनी बनाउने शिल्पी । कतिओटा पुराना कुच्चिएका सिल्बरे भाँडा दिँदा नयाँ छपनी बनिन्छ भन्ने पनि बोजु र आमालाई राम्रै हेक्का हुन्थ्यो । सायद सिकेका थिए उनै धमला र गजमेर बाजेहरूसँगै । उता फलामका हातहतियार बनाउनुपर्दा खाती माल्दाजु ठिक्क छँदैछन् । हिउँदमा पहाडबाट झर्ने सहनाई बजाउने दर्जी दाजुहरूको जत्थालाई पनि हाम्रै घरमा बास मिल्थ्यो । उनीहरूमध्ये मुख्य नाइकेले हाम्री बोजुलाई ‘मुखिनी’ अनि आमालाई ‘माइली मालिक्नी’ भन्थे । अनि हामी केटाकेटीचैं आमा र बोजुलाई जिस्काउनमा रमाइलो मान्थ्यौं । यी अनेकौं अतीतलाई गमेर सोच्छु, अहँ मबाट ती धनमाया बडीसँग भएको जस्तो घटना भएकै छैनन् । थुप्रै पात्रहरू जो टाँसिए हाम्रा जीवनमा, जसलाई दलित भनिए पनि उनीहरू हाम्रो समाज सन्तुलित बनाउने अंग थिए ।

लेखक एवं चिन्तक आहूतिले लेखेको ‘तीन हजार वर्षदेखिको दलन’ पढ्दै गर्दा पनि सत्यको नजिक पुग्न सकेको अनुभव गरेँ मैले । आफ्नै समाजको अध्ययन गर्नलाई पनि उपयुक्त छ उनका लेखहरू । कोही कतै स्वार्थले आफ्नो समुदायप्रति गैरजिम्मेवार भएर लेख्ने र बोल्ने गरिरहेका पनि हुन सक्लान् । केही महिनाअघि एक जना मित्रसँग भेट भयो । उनी भारत बस्दै आएको निकै भएछ, उनी मात्र पहिलो व्यक्ति लाग्यो मलाई कि, जातीयताकै आधारमा विभेदको अनुभव नगरेका पात्र । उनले केही व्यक्तिहरूको नाम पनि लिए, जो पैसाको लागि दलित आन्दोलन, राजनीति र साहित्यमा देखिइरहेका छन् अरे । ‘मैले त कतिलाई अनफलो नै गरेको छु’,उनी भन्दै थिए । अर्की साथीले पत्रकार पर्वत पोर्तेलको अनुभव पनि सुनाइन् । नयाँ कोहीसँग चिनजान गर्दा धेरैले सोध्ने प्रश्न ‘पोर्तेल भनेको के जात पो हो ?’


उनले ‘विश्वकर्मा’ भन्नेबित्तिकै उनीहरूको अनुहारको भाव हेर्नलायकको हुन्छ रे । तर उनै पर्वतजीको घर गएर मजासँगले रात्री भोजन गरेर मेरी रेडियोकर्मी साथी बैनी सुजता शिवाकोटी र म कोठा फर्केका थियौँ । कतै केही बिसाएको, शरीर बिग्रिएको, जात झरेको केही महसुस भएन त । मसँग मिल्ने एउटी विश्वकर्मा बैनीले माथिल्लो जातसँग बिहे गरेकै आधारमा केटाको परिवारले उसको ‘किरियाकर्म’ गरेको खबरले पनि मलाई व्यथित गराउँछ ।


डेराको जीवन बाँच्दै गर्दाको एउटा अनुभव छ । सामुदायिक विद्यालयका शिक्षक थिए घरबेटी, जो हरेक बेलुकी स्थानीय रक्सीको ट्वाँक जति चढाउँथे, उति साइकलको गति बढाउँथे । अनि कुनै दिन त बाँसको भाटाको बार भत्काउने पाराले साइकलबाटै उछिटिन्थे । जब घर आइपुग्थे उनी, तब घरबेटी आन्टी कराउँथिन्, ‘धोक्नसम्म धोकेछन्, कामी दमाईजस्तो । कामी दमाईले पो यसरी खान्छन् त ।’ मलाई त्योभन्दा आश्चर्य अरू केही लाग्दैनथ्यो । माथिल्लो तलामा घरबेटीले त्यसो भनिरहँदा भुइँतल्लामा भाडामा बस्ने शिवा थरकी आन्टी चुपचाप सुनिरहन्थिन् । मनमा त उनलाई पनि लाग्दो हो, ‘उसको श्रीमान् जाँड खाने अनि गाली पाउने कामी दमाई ?’
अस्ति भर्खरै एउटा लेखमा लेखकले जात ढाँटेरै बस्दै र पढ्दै आएको अनि दलित हुँदाको मनोसामाजिक समस्या उल्लेख गरेको देखेर नमज्जा लाग्यो । यस्ता उदाहरण त लाखौं छन् मुलुकमा तर, यो युगमा आफ्नै घर छिमेकमा भएको घटनाले अहिलेसम्म पनि विचलित बनाइरहेछ । उही धनमाया बडीका छोरीहरूले मलाई पानी पनि अडिन नमान्ने मेरो गर्भावस्थाले शिथिल भएको समयमा तागतिलो खानेकुरा ल्याइदिएर ठूलो गुन लगाएको बिर्सिनसक्नु छ । ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ उहिलेदेखि पढ्दै र सुन्दै आए पनि वास्तविक व्यवहारमा प्रयोगमा आउन अझै समय लाग्ने रहेछ । अनि त उही गीत ‘तिमीले छोएको पानी अझै चल्दैन’ नै गाउने होला नि कति पुस्ताले अझै ?

प्रकाशित : फाल्गुन २५, २०७५ १२:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गुमनाम जाम्पा

जाम्पाको विचारमा नेपाली फिल्मले हिमाली लुक्सलाई कहिल्यै मूलधार मानेको छैन । कलिउड मात्र होइन, बलिउडले समेत हिमाली लुक्सलाई स्विकार्दैन ।
डिबी बस्नेत

काठमाडौँ — एरिक भ्याली  । फिल्मी क्षेत्रमा थोरै मात्र चासो राख्नेका लागि नौलो नाम होइन  ।

एरिकको नाम सम्झनासाथै फिल्म ‘क्याराभान’ (हिमालय) छुट्दैन । नुन र खाद्यान्नका लागि तिब्बत आवतजावत गर्ने हिमाली बासिन्दाको व्यथाकथा उतारेको ‘क्याराभान’ मा सहायक निर्देशक छन्— जाम्पा काल्साङ तामाङ । क्याराभानमा जाम्पाको छोटो भूमिकासमेत छ । जाम्पा यस्ता नेपाली कलाकार हुन् जसले डेढ दर्जन हाराहारी विदेशी फिल्म खेलेका छन् । कुनैमा मुख्य चरित्र त कुनैमा सहायक । अमेरिकी, फ्रेन्च, स्पेनिस, जर्मन फिल्ममा उनको अभिनय देख्न सकिन्छ । फिल्मी चरित्रमा समेत उनको नाम जाम्पा नै छ । तर, नेपाली फिल्म क्षेत्र भने जाम्पाबारे अनविज्ञ छ । ‘फिल्म मेरो प्यासन होइन । म झुक्किएर बनेको कलाकार,’ उनी धक नमानी भन्छन् ।

परिवारका सबै सोखिन थिए । जाम्पा पनि अमेरिका, बेलायत जाओस् भन्ने परिवारमा रहर थियो । जाम्पा निस्के बेग्लै । उनी बाटा ब्रान्ड चप्पल लगाएर ठमेलतिर डुलिहिंड्थे । बरालिंदै गर्दा एक जना अमेरिकी साथीले जाम्पालाई समात्यो र भन्यो, ‘नेपालमा फिल्म खिच्नुपर्ने । साउन्डमा काम गर्ने मानिस चाहिएको छ, तैँ हिँड् ।’ त्यो माइक्रोफोन समात्ने काम थियो । फिल्म निर्देशक बौद्धमा बसेको रहेछ । केही दिनमा सोही साथीले ठमेलेको पब जाँदा अर्को खबर चुहायो, ‘निर्देशकले जति अडिसन लिए पनि कुनै कलाकारप्रति चित्त बुझाएको छैन । एकचोटि तँपनि अडिसन दे न ।’ निकै कर गरेपछि अडिसनमा उपस्थितिसम्म हुन तयार भए जाम्पा । अडिसनमा एक जना अमेरिकीसँग बसेर गफ गर्नुपर्ने सिन थियो । उनले गरे । केही दिनमैं खबर आयो, फिल्ममा जाम्पा मुख्य कलाकार छानिएछन् । यसरी जाम्पा अकस्मात अभिनेता बने । फिल्म थियो— विन्डहर्स ।


तीन तिब्बती युवाको कथा समेटिएको विन्डहर्स जाम्पाको ऐतिहासिक फिल्म बन्यो । किनभने डिजिटल प्रविधिमा खिचिएको र सम्पादित विश्वकै पहिलो थिएट्रिकल फिचर फिल्म हो, यो । पावल वाग्नर निदेशित फिल्म तिब्बती शरणार्थीको विषयमा केन्द्रित छ । जोमसोम, नेपालमा पनि यसको केही भाग खिचिएको छ । दोस्रो फिल्म हो, हिमालय । त्यसपछि जाम्पाले संसारा, ड्रिमिङ ल्हासा, मिस्टिक माउन्टेन, भ्याली अफ फ्लावर्स, लापेल डु यति, स्विट रिक्विमजस्ता फिल्ममा अभिनय गरे । संसारा र भ्याली अफ फ्लावर्समा जाम्पा दोस्रो तहका सहायक निर्देशकसमेत हुन् । लापेल डु यती फ्रान्सेली फिल्म जाम्पा अभिनीत अर्को चर्चित फिल्म हो । नेपालको घात्लाङ, क्यान्जिन र फ्रान्समा यसको सुटिङ भएको छ । हिममानव यतिलाई तस्करहरूले समातेर बेच्न खोजेको र बुद्धिस्ट लामाले यतिलाई बचाउन खोज्ने परिधिमा फिल्म घुमेको छ । एनजीओ खोलेर नेपालमा बसोबास गरेको एक स्पेनिसको जीवनमा आधारित फिल्म काठमाडौंमा पनि जाम्पा देखिन्छन् ।


फ्रेन्च र जर्मन फिल्म कम्पनी मिलेर बनाएको भ्याली अफ फ्लार्स फ्रेन्च एलेक्जेन्डरले लेखेको कहानीमा आधारित छ । हिमालयका डाकु र देवताको कुरा यसमा छ । जाम्पा डाकु समूहका एक सदस्य हुन् । फिल्मको अन्तिम भाग जापानमा सुटिङ गरिएको छ ।
संसारा, ड्रिमिङ ल्हासा, स्विट रिक्विम फिल्ममा राजनीतिक एजेन्डासमेत सुषुप्त रूपमा भेटिन्छ । उनी अभिनीत फिल्म विभिन्न फिल्म महोत्सवमा छनोट भएका हुन्छन् । टोरन्टो फेस्टिबलमा उनी अभिनीत सबै फिल्म छनोट भएका छन् । उनलाई निम्ता आउँछ । तर, कहिल्यै जाँदैनन् । ‘म काम गर्छु । पब्लिकमा आउँदिन,’ उनी भन्छन्, ‘फिल्म बनाइसकेपछि संलग्न हुँदिन ।’ डेमोग्राफी । शारीरिक बनावट । जाम्पामा निहित यी दुई चीज नै हिमालसँग सम्बन्धित फिल्ममा आफूलाई खोज्ने कारण भएको जाम्पाको ठम्याइ छ । ‘मेरा यी कुरा फिल्मले खोजेको कहानीसँग मिलेर होला,’ उनी भन्छन्, ‘यी कुरा मिलेपछि मात्रै अभिनय क्षमता हेरिन्छ । लुक्स पनि हो एक्टिङ भनेको ।’


हुन पनि उनका सबै फिल्म उनको लुक्ससँग जोडिएका छन् । उच्च भेगको जीवन, समाज देखाउन फिल्ममा हिमाली भाषामै बोल्छन् । शैक्षिक योग्यता हासिल गरेको अभिनेता होइनन्, जाम्पा । तर, कलाकारको रूपमा उनी एकोहोरो हिंडे । साधनारत भेषमा । भित्र जे सोचिन्छ अनुहारमा त्यसको झल्को आउँछ । यतिबिघ्न चर्चित फिल्म खेलेर पनि उनी घरेलु फिल्मी क्षेत्रमा पाइला चालेका छैनन् । छिरिङ रितार शेर्पाको एउटा फिल्ममा केटी बेच्ने दलालको छोटो भूमिकामा छन् । जाम्पाको विचारमा नेपाली फिल्मले हिमाली लुक्सलाई कहिल्यै मूलधार मान्दैन । कलिउड मात्र होइन, बलिउडले समेत हिमाली लुक्सलाई स्विकार्दैन । भारतमा डेनी डेन्जोङपा आए । डेनी बौद्धमार्गी हुन् तर तिब्बती लुक्स छैन । ‘लुक्स ठ्याक्कै नमिलेर मात्र हो डेनी बलिउडमा टिकेको,’ जाम्पाको मूल्यांकन छ । सायद त्यसैले जाम्पालाई नेपाली फिल्म खेल्छु र यहाँ जम्छु भन्ने सोच छैन । फेरि फिल्म आएन भनेर खोजेर हिंड्ने जाँगर पनि छैन, उनमा । ‘खोजेर हिंड्दिनँ । त्यो प्यासन छैन ।’


जाम्पा सम्बद्ध फिल्म
भ्याली अफ फ्लावर्स (२००६) : पान नालिन (फ्रान्स र जर्मनी)
संसरा (२००२) : पान नालिन (फ्रान्स)
ड्रिमिङ ल्हासा (२००५) : रितु सारिन तेन्जिङ सोनाम (भारत)
हिमालय (१९९९) : एरिक भ्याली (फ्रान्स)
काठमान्डु (२०११) : इकार बोलिन (स्पेन)
विन्डहर्स (१९९६): पाउल वाग्नस (अमेरिका)
लापेल डु यती (२०००): जेरोम सेसिल अफ्रेट (अमेरिका)
स्विट रिक्वम (२०१७): राइट सारिन र तेन्जिङ सोनाम (भारत)
मिस्टिक माउन्टेन (२०१५): छिरिङ डोन्लुप (अमेरिका)

प्रकाशित : फाल्गुन २५, २०७५ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT